~अज्ञात~
कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर खरदारबाजे भनेपछि पिताजीलाई चिनिन्थ्यो, त्यसैगरी प्रधानमन्त्री भन्नासाथ मान्छेहरू मलाई चिन्थे ।”
एक दिनको कुरो हो । कथावाचकले कुनै महत्त्वपूर्ण घटनाको सम्झना गर्नुभो । कास्कीतिरको सिस्लेकबाट गृहमन्त्रीले एक जना अधबैँशेलाई समातेर ल्याए । तिनले मलाई उनको परचिय गराउँदै भने, “यी सज्जन साह्रै उपयोगी मानिस हुन् ।” मैले तिनलाई सोधेँ, “को हौ तिमी ?”
उनले आफूलाई जङ्गलतिर बसेर सिकार खेल्ने मानिस हुँ भनी बताए । प्रत्येक वाक्य बोल्दा बीचबीचमा कुम उचाल्दै, भुँडी भित्र र बाहिर पारेर हाँस्ने तिनलाई मैले सोधेँ, “कति सिकार गर्यौ ?” तिनले भने, “त्यस्तै १२-१५ हजार ।” मैले भनेँ, “तिमी आतङ्ककारी रहेछौ ।” तिनले प्रतिवाद गरे । उनले भने, “म आतङ्ककारी होइन, क्रान्तिकारी हुँ ।”
मैले यस विषयमा धेरै विवाद गरनिँ । भनेँ, “तिमी पक्कै कम्युनिस्ट हुनुपर्छ ।” उनले स्वीकार गर्दै भने, “हो, म मिसावटरहित कम्युनिस्ट हुँ ।” मैले बताएँ, “त्यही भएर त यतिका मानिसको सिकार गर्न सक्यौ ।” त्यसपछि थपेँ, “सच्चा कम्युनिस्ट क्रूर र धूर्त हुन्छन् ।”
ती भुँडी हल्लाएर हाँसे । भने, “गिरिजाबाबु पनि मजाक गर्नुहुन्छ ।”
मैले सोधेँ, “अब के गर्र्छौ ।” तिनले आफ्नो योजना बताए । मैले सोधेँ, “सिकार खेल्न छाड्छौ -” उनले जवाफ दिए, “होइन । सिकारको शैली परविर्तन गर्छु, जङ्गलमा भौँतारिएर सिकार गर्दा ठूलो कष्ट भयो, अब त्यसो गर्दिनँ ।”
“कसको सिकार गर्र्छौ ?” मैले सोधेँ ।
“तपाईंको,” तिनले जवाफ दिए र एकपटक पुनः भुँडी उचालेर हाँसे ।
“ठट्टा नगर !” मैले उनलाई गम्भीर हुन आग्रह गर्दै भनेँ, “बरु यसो गर !”
“कसो ?” तिनले सोधे ।
“पार्टी कार्यालय खडा गर, चुनाव लड र जित्यौ भने मन्त्री बन,” मैले उनलाई सल्लाह दिएँ ।
तिनले भने, “एउटा र्सतमा ।”
मैले सोधेँ, “कुन र्सत ?”
उनले आफ्ना सहयोगीहरूलाई पुनःबासको माग गरे । सरकारले तिनको भरणपोषणको ग्यारेन्टी गर्नुपर्ने बताए । मैले ‘हुन्छ’ भनेँ । उनले आफ्ना थप सहयोगीलाई सत्ता र भत्ताको व्यवस्था गर्नुपर्छ भने । मैले पनि एउटा र्सत राखेँ । भने, “तिमीले मेरो र्समर्थन गर्नुपर्छ ।” सोधेँ, “यहाँ एकथरी कम्युनिस्टले मलाई दुःख दिएका छन्, तिमी अर्कोथरी कम्युनिस्ट थपिएर मलाई अझ अप्ठ्यारो पार्न पाउँदैनौ ।”
ती गम्भीर देखिए । तिनले भने, “तपाईंलाई दुःख दिनेहरू कम्युनिस्ट होइनन्, ती चिप्लेहरू घरी यता चिप्लिन्छन्, घरी उता चिप्लिन्छन्, त्यस्ता चिप्लेलाई हामी ठेगान लगाउँछौँ ।”
मलाई तिनका कुरा सुनेर खुसी लाग्यो । सोचेँ, एउटा कम्युनिस्टका विरुद्ध अर्को कम्युनिस्टलाई घोडा चढाउँछु, म भने कुर्सीमा चढिरहन्छु ।
मैले तिनका हरेक कुरा मानेँ । कालान्तरमा चुनाव भयो, चुनाव हुनुअघि एउटा कुरा भयो । राजा नराख्ने टुङ्गो भयो । चुनावपछि राजाको साटो राष्ट्रपति राख्नुपर्छ भन्ने निधो भयो । चुनावमा दुईथरी कम्युनिस्ट दुईतिर फर्किएर एकअर्कालाई गाली गर्थे, मलाई सञ्चो लाग्थ्यो ।
कम्युनिस्टको भोट काटाकाट हुँदा मलाई फाइदा हुन्छ, चुनाव जितिहालिन्छ भनेर म चुनाव प्रचारमा समेत हिँडिनँ । तर, सोचेजस्तो भएन, मेरातिरका उम्मेदवार सोत्तर भए । तैपनि मैले भनेँ, “मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।” ती मानिस केही बोलेनन् । तिनले भने, “मलाई आतङ्ककारी भन्ने
तपाईं होइन ?”
मैले भनेँ, “तिमीलाई जङ्गलबाट बोकाएर सहर पसाउने पनि मै हुँ ।” तिनले भने, “देशमा अशान्ति मच्चाउने भनेर मलाई आरोपित गर्ने तपाइं होइन ?” मैले भनेँ, “शान्तिप्रक्रियामा सामेल गरेर तिमीलाई इज्जत दिलाउने मै हुँ ।” उनलाई हरेक तरहले सम्झाउने कोसिस गरेँ तर तिनले मानेनन् ।
उनले उल्टै भने, “तपाईंले प्रधानमन्त्री छाड्नुपर्छ ।” म केही बोलिनँ । उनले दोहोर्याएर पद छाड्न आग्रह गरेपछि मैले सोधेँ, “तिमीले मलाई के गरेको ?”
“सिकार गरेको !” तिनले आफ्नो मुखाकृतिलाई कठोर बनाएर भने, “तपाईंको सिकार नगरी मेरा भावी योजना सफल हुँदैनन् ।” कुनै बेला तिनले ठट्टा गरेको ठानेको कुरो सत्य सावित होला भन्ने मैले सोचेको थिइनँ । तथापि, मैले भनेँ, “मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।”
उनले आफूलाई मिलेर जाने र बाँडेर खाने कुरामा विश्वास नभएको बताए ।
उनले सोधे, “तपाईंसँग के छ र बाँडेर खानू ?”
मैले भनेँ, “प्रजातन्त्र ।” उनले भने, “त्यो त तपाईंले बेचेर खाइसक्नुभो ।” मैले सोधेँ, “कसलाई बेचेँ ?”
तिनले भने, “मलाई बेचेको बिर्सनुभयो !” अनि, उनले १२ बुँदेदेखि २७ बुँदेसम्मका अनेकथरी कागजमा मैले गरेका सहीछाप देखाए ।
मैले भनेँ, “यो धोका हो, मैले शान्ति प्रक्रियामा तिमीलाई सामेल गर्न गरेका हस्ताक्षरलाई प्रजातन्त्रको बिक्रीनामा भन्न मिल्दैन ।” उनले मानेनन्, तिनले प्रजातन्त्रको लालपुर्जा आफ्नो नाममा आइसकेको जिरह गर्दै भने, “तपाईंसँग अब प्रजातन्त्रको ‘प’समेत बाँकी छैन ।”
म तिनका कथनले आहत भएँ । प्रजातन्त्र मेरो जन्मथलो र कर्मथलो दुवै थियो, यसबेला त्यसको स्वामित्व मसँग थिएन । मैले आफ्नो स्वरलाई यथाशक्य नरम बनाएर भनेँ, “अझै मिलौँ, मसँग राष्ट्रियता बाँकी छ ।”
ती मानिस मेरो कुरा सुनेर तेस्रोपटक भुँडी हल्लाएर हाँसे । अनि सोधे, “राष्ट्रियता बन्धकी राखेर प्रजातन्त्रको छाप्रो हालेको बिर्सनुभो ?”
तिनले मसँग क्रूर प्रश्न गरे, “छिमेकी साहूकहाँ बन्धकी राखेको राष्ट्रियता कसरी तपाईंसँग हुन्छ !”
म केही बोल्न सक्ने अवस्थामा थिइनँ । थकित स्वरमा मैले भनेँ, “ठीकै छ, प्रजातन्त्र तिम्रो जिम्मा भो, राष्ट्रियतासमेत मबाट उम्कियो, एउटा राष्ट्रपतिसम्म मलाई छाड ।”
तिनले भने, “डुँडुलो नै मलाई दिइसक्नुभो, औँलाको लोभ किन गर्नुहुन्छ !” त्यसपछि उनले पुनः भुँडी हल्लाउन थाले । सोच्दैछु, यिनले खूब भुँडी हल्लाए भने म तिनको गिदी हल्लाउनेछु ।
कथा सकिएको छैन ।
(नेपालबाट)
(स्रोत : Purbelitimes.com )