~भिष्म भुसाल~
बा !
तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल
भत्किंदा झोला सहित पुरिएछ
म जस्तै सानु विद्यार्थी,
त्यो म भैदिएको भए
तपाइँलाई कति दुख्दो हो बा !
तपाइँले ठेक्का लिएको पुल,
पौने दुई बर्षमै चुँडिंदा,
महिना दिनको सुकोमल बच्चा सँगै
मेरी आमा जत्तिकै मायालु आइमाई
बौलाहा खोलाले बगाएछ,
बा ! एम्बुलेन्स चढेर हामी पिक्निक गएकै दिन
सर्पले टोकेर मरेछ- भर्खर बिहे गरेको युवक।
च्यातिएको झोला बोक्ने त्यो स्कूले ठिटो
बामे नसर्दै खोलामा खस्ने त्यो चन्द्रमुखी बच्चो
त्यो वसन्तको उल्लास साँचेको स्वप्नशील युवक
बोकेर आएका हुँदाहुन् यो देशको भाग्य काँधमा
हामीले नै खोसेका हैनौ र बा तिनका जीवन र सपना ?
बा ! मेरा साथीहरू कानेखुसी गर्छन् –
मेरा अत्तर सुवासित लुगाहरूमा
लूटको गन्ध आउँछ रे
हाम्रो घरका वातानुकूलित कोठाहरूमा
निरन्तर प्रवाहित चिसो हावा
जनताका रगत, पसिना र आँसूको चिसो हो रे
जे पनि किन्ने हैसियत छ रे बा तपाइँको,
तपाइँका प्रिय सन्तानहरूका लागि
अलिकति किन्दिनु हुन्थ्यो कि बा –
राष्ट्रप्रेम, आचरण र नैतिकताका डब्बाहरू?
बा !
म उडे पनि मेरै पखेटाले खुला आकाशमा
ती भन्ने छन् मेरा पखेटा नक्कली हुन्
मैले चुमे पनि शिखर सफलताको
ती भन्नेछन् मेरो घाँटीको मेडल किनिएको हो
मैले बोले पनि मंगल वचन
ती ठान्नेछन् – त्यहाँ छन् शकुनीका सम्मोहनहरू
मेरो पाइलाहरू बुद्धका जस्तै पवित्र भएपनि
लोकले भन्नेछन्- यी हुन् अंगुलीमालका पाइलाहरू।
त्यसैले बा !
यी गरीबहरूका नाङ्गा खुट्टाहरूका
पैताला लुछ्ने बाटाहरू हुन्,
नखाउँ कि बा, अलकत्रा, सिमेण्ट र गिटीहरू ?
भङ्गालो तर्ने जीवनदायी पुलहरू हुन्
नखाउँ कि बा ! कब्जा र काँटीहरू
नैतिकताको कमीमा कमिसन थप्दै जाँदा
भ्रष्टाचार, अनाचार, व्यभिचार र दुराचार
अचार सरह पचाउन खोज्दा,
भोकाहरूको भागमा बिरालो झैं पल्किंदै जाँदा
एक्कैछिन स्वादे जिभ्रोमा लोभिएर
कलङ्कको डोरीले कसिन्नन् र हाम्रै घाँटीहरू ?
बा !
मेरो साथी आधा पेट खाएर स्कूल आउँछ
तर अघाउँञ्जेल हाँस्छ छाती तन्काएर
उसका बा प्लाष्टिक टिप्छन् र आमा छिमेकीका लुगा धुन्छिन्
तर धनी छ ऊ- मेहनत, इमान्दारी र सच्चरित्रको
त्यस्तै स्वच्छन्द हाँसो मैले किन्न मिल्छ र बा ?
त्यस्तै निडर आवाजमा मैले बोल्न मिल्छ र बा ?
मलाई ती स्वाभिमान, आँट र आत्मबल
रजिष्ट्रेशन पास गरिदिनु हुन्छ त बा ?
म चाहन्छु, यो देशको भाग्यको सुवर्णप्रभामा
एक किरण मेरो आफ्नै पनि होस्
म चाहन्छु, मेरो छेउको सडकको धूलो
मेरा पसिनाले भिजेको होस्
म चाहन्छु मेरो बाटोको झोलुङ्गेपुलमा
मेरो पनि काँध खोल्सिएको होस्।
म चाहन्छु- आर्यघाटमा म धुवाँ हुँदाको दिन
नदी किनारको बस्ती रोओस्
के पो लिएर जानु छ र बा आखिरीमा
केवल ८१५ रूपैंयाको दाउरा न हो।
मलाइ साह्रै माया गर्ने बा!
म चाहन्न- जनताका आँखा खुलेको दिन
हाम्रो इज्जत चौबाटोमा नाङ्गिएको होस्
कसैले ढुङ्गा हान्दै कतै नभनोस्
हाम्रो महल तिनकै रगतले रङ्गिएको हो
म सुन्दैछु पर क्षितिजमा गुञ्जने त्यो नाद
“ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयन्”
द्रव्यको कालो-जादूमा लठ्ठिएर
हजारौं लोभ र लालसाको समुद्रमा
डुबुल्की मार्न खोज्नेहरू उत्रने छैनन् रे कहिल्यै
तपाइँ भन्नुहुन्छ-
“सबै तेरै लागि त कमाएको हो”
भो, मलाई चाहिंदैन बा!
हजार बेइमानी इँटाले बनेको यो महल
मलाई मेरो पसिनाको कमाइले भरिएको
सिलेभरको बटुको नै प्रिय छ।
(प्रस्तुत कविताले सन् २०१३ मा भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत विश्वव्यापी कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी १००० अमेरिकी डलर राशीको हेम-सरिता अन्तराष्ट्रिय साहित्य पुरस्कार प्राप्त गरेको थियो।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७१ २०:४९:२२
(स्रोत : Setopati.com )