छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’
छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु झट्टै हात छोडिदिनुस् न प्लेन उड्नै लाग्यो ।’
‘किन जाने नेपाल ?’–आमा इबोलाले प्रश्न राखि छोरीसँग ।
‘हाम्रालागि प्रशस्त र छानी–छानी खाने खानेकुरा पाइन्छ अरे क्या त्यसैले जान लागेकी, बरु हिड न तिमी पनि’–छोरीले कारण खोली र आमालाई पनि आफुसँगै हिड्न अनुरोध गरि ।
‘कसले भन्यो तिमीलाई यस्ता कुरा ?’–आमा इबोलाले जिज्ञासा राखि छोरीसँग ।
‘मेरो फेसबुक फ्रेण्ड नेपाली भइरसले भनेको’–उसले सूचनाको श्रोत खुलाइ र थपी–‘मलाई ठाउँ मन प¥यो भने त म पनि त्यही नेपाली भाइरससँग बिबाह गरेर उतै घरजम गरिबस्छु है आमा !’
‘के भएर त्यो देशमा त्यतिका खानेकुरा पाइने रहेछ हँ छोरी ?’–आमा इबोलाले जिज्ञासा राखि छोरी इबोलासँग ।
‘आफुलाई फाइदा नदेखे आफ्नै दाजुभाइ बाढी, पहिरो, भोकमरी र अन्य सामान्य रोगबाटै भटाभट मारिँदा पनि कसैले कसैको मतलबै गर्दैन अरे क्या आमा त्यो देशमा, त्यसैले पाइने रहेछ नि’–छोरीले थप सूचना बाँडी ।
‘अनि एयरपोर्ट मै पक्राउ खाइस भने त ज्यान जान्छ त खै त्यतातिर ध्यान दिएकी ?’–आमा इबोलाले सतर्क गराउँन खोजि ।
‘त्यो नपढेकाले देश चलाउँने र पढेकाले थपडी बजाउँने मूर्खहरुको देश हो अरे क्या आमा, पहिले इण्डिया जाउँला अनि मोटरबाटोबाट नेपाल छिरौला न त्यस्ता मूर्खहरुले म छिरेको कहाँबाट सुइको पाउँनु र !’–छोरी इबोलाले ढुक्क भएर भनि ।
जुरोपानी-४,झापा
हाल: काठमाडौँ |
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )