म कुजे पोखरी हुन चाहन्नँ
कुजे पोखरीको पानीजस्तै
चुपचाप चुपचाप पलेटी कसेर
बसिरहन चाहन्नँ म यहाँ यसरी
मुर्दा घाटको चिहान जस्तै
चुपचाप चुपचाप हात बाँधेर
बसिरहन चाहन्नँ म यहाँ यसरी।
दापभित्रको खुकुरी जस्तै
चुपचाप चुपचाप खिया चाटेर
बाँचिरहन चाहन्नँ म यहाँ यसरी
भित्तामा झुण्डिएको नक्सा जस्तै
चुपचाप चुपचाप फाँसी जान
चाहन्न म यहाँ यसरी
बसाइँ सरेको घरजस्तै
चुपचाप चुपचाप मुखमा ताला ठोकेर
बसिरहन चाहन्नँ म यहाँ यसरी।
बगरको नपुंसक ढुङ्गाजस्तै
उत्तानो परेर दिनभरि-भरि
खोलाको चिसेनीको बर्को ओडःएर
घाम तापिरहन चाहन्नँ म यहाँ यसरी।
बरू मलाई त जङ्गली बाघकै मुटु
एकै दिन भए पनि पैँचो मागेर
मूल सडकबीचै मेरा पाइतालाका डामहरू
छाडिराख्न मन लाग्छ
ताकि नेपोलियनको घोडा तर्सियोस
हिटलरको हातबाट पिस्तोल खसोस्
चिहानभित्र सुतेको बलभद्रलाई
फेरि तिर्खा लागोस्॥
(स्रोत : Veergorkha.com )