~कुसुम शर्मा~
”आमा ! प्रमोदको घरमा खेल्न जाउँ ?” आयुषले आमासँग सोध्यो । ”पर्दैन । खुरुक्क पढेर बस्ने ।“ आमाले आयुषलाई हकार्नुभयो । आयुषको अनुहार अध्यारो भयो । ऊ लुरुक्क परेर आफ्नो कोठातिर लाग्यो ।
एकदिन आयुष र उसका साथीहरु जम्मा भए । साथीहरुले शनिबारको दिन नजिकैको खोलामा पौडी खेल्न जाने योजना बनाएका थिए । त्यतिबेला साथीहरु सबैजना पौडी खेल्न जान राजी भएका थिए । आयुषलाई भने आपत् परेको थियो किनकि उसले आमालाई सोध्नु नै बाँकी थियो । त्यसैले त्यति बेला उसले साथीहरुलाई केही भन्न सकेन ।
आज शनिबारको दिन थियो । पौडी खेल्न जाने समय हुँदै थियो । तर, आयुषले आमासँग पौडी खेल्न जानको लागि अनुमति लिन सकेको थिएन । उसले मनमनै सोच्यो –“कतै, आमाले जान नदिनुहुने पो हो कि ?” त्यसैले आमालाई नसोधी जाउँ कि जस्तो उसलाई लाग्यो । “ जे होस् , आमालाई नसोधि जानु राम्रो हुँदैन ।” भन्ने विचार गरेर ऊ भान्छामा गयो । आमा भात पकाउँदै हुनुहुन्थ्यो ।
”आमा ! आज साथीहरु पौडी खेल्न जादैछन् । म पनि जान्छु है ?“ आयुषले नरम स्वरमा सोध्यो । “अहँ पर्दैन ।” आयुषको कुरा सुन्ने बित्तिकै आमाले रिसाउदै भन्नुभयो । आमाले पौडी खेल्न जान नदिनुभएकोमा उसलाई नरामाइलो लाग्यो । उ दिनभरि घरमा नै बस्यो । साथीहरुले धेरै रमाईलो गरिरहेका होलान् भनेर कल्पना गरिरह्यो । “आमाले मलाई केही पनि गर्न दिनुहुन्न । जहिले पनि “हुँदैन” भन्नुहुन्छ । आमाले मलाई प्रमोदको घरमा पनि जान दिनुहुदैन अनि आज पौडी खेल्न पनि जान दिनुभएन ।” आयुषको मन साह्रै कुडियो । उसलाई आमासँग रीस उठ्यो
“किन चुप्प लागेर बसिरहेको छस्, सन्चो छैन कि क्या हो ?” सुलभले आयुषसँग सोध्यो । सुलभ आयुषको मिल्ने साथी थियो । ”मेरो आमाले मलाई जहिले पनि यो नगर, यो न खा, यहाँ न जा बाहेक केही भन्नुहुन्न । मलाई त वाक्क लागिसक्यो । कहिलेकाही त घरमा नै नबसौ जस्तो लाग्छ ।” आयुषले गुनासो ग¥यो ।
”धत् घरमा नै नबस्ने कुरा पनि कसैले गर्छ ? बरु, आमाले किन तैले भनेका कुराहरु नगर वा हुँदैन भन्नुहुन्छ भनेरे आमासँग राम्रोसँग सोध्नु नि । अनि आफूलाई चित्त नबुझेका कुराहरु पनि आमालाई राम्ररी भन्नु नि ।” आयुषको कुरा सुनेर सुलभले सम्झाउदै भन्यो ।
”आमाले मेरो कुरा सुन्नुहुने भए पो त । मेरो स्वर सुन्नासाथ उहाँ रिसाइहाल्नु हुन्छ ।” आयुषले मसिनो स्वरमा सुलभलाई भन्यो ।
” यदि तेरो कुरा आमा सुन्नुहुन्न भने तिम्रोे कुरा बुवाले त सुन्नुहुन्छ होला नि ? बुवालाई भन न वा आफूले भनेको कुरा कसले सुन्ने गरेको छ उसलाई भन्ने गर न ।” सुलभले सल्लाह दियो ।
सुलभको सल्लाह अनुसार उसले सबै कुरा बुवासाग गर्ने विचार ग¥यो । बेलुकाको खाना खाइसकेपछि आयुष बुवा बस्नुभएको कोठामा गयो । बुवाले पनि आयुषसँग उसको विद्यालयको, पढाइको अनि साथीहरुको बारेमा सोध्नुभयो । आफूले केही गर्न खोज्दा सधै आमाले गर्न नदिनु भएको भन्ने गुनासो आयुषले बुबासँग ग¥यो । आयुषको कुरा सुनेपछि बुवाले आमालाई बोलाउनुभयो । र आयुषको गुनासो आमा समक्ष राख्नु भयो ।
”बावु मैले त तिम्रो राम्रोको लागि नै भनेकी हूँ । प्रमोद राम्रो केटा होइन । उसको सङ्गतले तिमीलाई केही पनि फाइदा हुदैन । साथी भनेको त राम्रो मान्छेलाई पो बनाउनुपर्छ । जसले तिमीलाई परेको बेलामा सहयोग गरोस् ।” सबै कुरा सुनेपछि र बुझेपछि आमाले आयुषलाई सम्झाउँदै भन्नुभयो ।
”अनि तपाईँले मलाई पौडी खेल्न जानदिनु पनि भएन नि !” आयुषले फेरि गुनासो ग¥यो ।
“तिमीले थाहा नै छ । अचेल खोलाको पानी फोहर हुन थालेकोछ । दुषित भएकोछ । त्यस्तो फोहर पानीमा पनि पौडी खेल्नु राम्रो होला र ? अस्ति भर्खर मात्र तिमीलाई ज्वरो आएको थियो । बल्ल बल्ल अहिले तिमी स्वस्थ भएको छौं । फोहर पानीमा पौडी खेलेर फेरि तिमीलाई ज्वर आयो भने के गर्ने नि ? त्यसमा पनि तिमीलाई त राम्रोसँग पौडी खेल्न पनि आउदैन । साथीको लहलहैमा लागेर तिमीलाई केही भयो भने के गर्नु नि । त्यसैले मैले नजाउ, नगर भनेकी हूँ ।” आमाले आयुषलाई माया गर्दै भन्नुभयो ।
आमाको कुरामा आयुषको चित्त बुभ्mयो । “तपाईले जहिले पनि मलाई नजा, नगर मात्र भन्नु भयो तर कहिल्यै त्यसको कारण बताउँनु भएन । त्यसैले त्यो सबै कुराहरु मेरो राम्रोको लागि हो भन्ने कुरा मैले बुझ्न सकिन । उल्टै, तपाईलाई नराम्रो भने । बरु आमाले पहिला नै यी कुराहरु भन्नुभएको भए मैले सबै बुझ्ने थिएँ । अनि मेरो चित्त पनि दुख्ने थिएन ।” आयुषले आमालाई पुलुक्क हेर्दै भन्यो ।
“तिमीले ठिकै भन्यौ । मैले कहिल्यै पनि तिमीलाई राम्ररी कुरा बुझाइन ।” आयुषको कुरामा पनि आमाले चित्त बुझाउँनुभयो ।
आमा र छोराको कुरा सुनेर बुवा मुसुमुसु हाँसी रहनु भएको थियो ।
Published By Hatemalo Sanchar
Year 2, Issue 8
Total Issues 95, Falgun 2060
(स्रोत : Ketaketi.org