कथा : विदा

~अनिल यक्खा~

विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको थियो । त्यहि हाँसो, त्यहि मृगनयनी आँखा, त्यहि उत्ताउलो स्वभाव । तर अहँ अझै उनी आइनन् । मनमा वेचैनी बढ्न थाल्यो । सोचेँ के उनी मलाई मेरो विदाईमा हात हल्लाउन नि आउदिन त ? अहँ, उनी त्यति साह्रो मलाई चाँडै माया मार्ने त होइन ।
-‘नानी, लु अब जानुपर्छ,’ ममीले गाडीमा चढ्दै भन्नुभयो । ड्याडी गाउको लोकमान बाजे, विरु अङ्कल, हस्तमाया आण्टीहरुसंग गफ गर्दै हुनुहुन्थ्यो ।
मैले आफूले बोकेको व्याग भित्र लुकाएर खोज्ने हुदै भनेँ –‘ममी, मैले व्याग कता राखेछु म खोज्दैछु । एकछिन है’
-‘छिटो खोज’
-‘ह्वस’
मैले केही दिन अगाडी मात्रै आस्थालाई हामी शहर जाने भनी भनेको थिएँ । उनले मलाई खुशी हुदैँ सोधी – ‘अवशेष मलाई के ल्याइदिन्छौ, शहरबाट ?’ तर म शहरमा दुई दिनको पाहुना हुन शहर जान लागेको होइन ।
-‘थाहा छैन, आस्था हामी त कहिल्यै फर्कदैनौँ रे,’ मैले भनेँ –‘ड्याडीको जव ट्रान्सफर भाको रे ।’
उनले दुःखी हुदै भनिन् –‘तिमी नजाँदा हुदैन रे ? तिम्रो ड्याडीको मात्र त ट्रान्सफर भाको हो नि हैन ?’ उनको आँखाले मेरो प्रतिक्रिया खोजिरहेको थियो तर म मौन रहेँ । केही भन्न सकिन । उनी पनि रुमालले अनुहार ढाकेर घर फर्किन् ।
मैले सोधें –‘किन मुख छोपेकी ?’
-‘धुलो आएर ।’
त्यसदिनबाट उनी र म त्त्यति भेटेनौँ । तर उनी धेरै दु;खी भएको मैले थाहा पाएँ । आज म शहर जाने दिनमा नि उनी नआएको देख्दा कता कता रोउँरोउँ लाग्यो । फिल्ममा विछोड भएजस्तो ।
आस्थाको ममी सिवानी आण्टी पनि हातमा केही बोकेर आउनु भयो । म खुशी भएँ । पक्कै पनि आस्था संगै आएको हुनुपर्छ । तर उनी त्यहाँ थिइन ।
मैले निराश हुदैँ सोधेँ –‘आण्टि, आस्था आएन ?’
-‘यहाँ छैन र ?’ उहाँले मलाई आश्चर्य हुदै हेर्नुभयो –‘विहानै घरबाट नानीकोमा जान्छु भनेर हिडेकी थिइ ।’
उहाँको कुराले म झन् दुःखी बनेँ । झनै त्यो क्षण आस्था कति दुःखी थिइ होली !
-‘ओइ, अवशेष,’ टाढैबाट अविरेले चिच्यायो –‘यहाँ आइजा त ।’
म अविरे भएको ठाउँमा गएँ । ममीले मलाई हेर्दै हुनुहुन्थ्यो । तर ड्याडी अरु नातेदारसंग व्यस्त हुनुभएकोले गर्दा म अविरेसंग हिडेँ ।
-‘आस्थालाई देखिनस् ?’ मैले हतारहतार सोधेँ ।
-‘उनैले त तलाई लिन पठाको ।’
म खुशीले दुइ वित्ता उफ्रदै सोधेँ –‘कहाँ छे उनी ?’
-‘हामी खेल्ने ठाउँमा रुदै बसिरहेकी छे ।’
मेरो मनमा फेरी पहिरो गयो । होइन यो आस्थाले त मैले के हिरोनी जस्तै राम्री लाग्छ, तँ हिरोनी बन्छस् भन्नु बितिक्कै हिरोनी ठानेर फिल्ममाझैँ गर्न थाली त गाँठ्ठे । आफू चैँ घरमा उनको बाटो हेर्ने, उनी चैँ अन्तै पर्खिने ? अरु दिन भएको भए त म उनलाई भेट्न सदाझैँ त्यही चौरीमा जान्थेँ नि जहाँ हामी सँधै भाँडाकुटी, विवाहवाजी अनी पाहुना जाने खेल खेल्थ्यौँ । तर नक्कली हिरोनीले आज नि त्यही ठाउँमा कुर्नु पर्ने रे । तर म पनि त हिरोझैँ उनको वाटोमा हरपल नजर डुलाइरहेथेँ नि ।
उनको नजिक म पुग्नै लाग्दा अविरे परै अडियो । मैले उसलाई हिड भन्दा नि मानेन । म आस्थाको नजिक पुगेँ तर उनी एकोहोरो विपरित दिशातिर फर्केर उभिइरही । मैले उनलाई बोलाउन खोजेँ तर सकिन । सायद उनलाई पनि त्यस्तै भएको हुनुपर्छ । सायद यहि नै वालप्रेम हो । जुन सत्य,‍ निश्चल, स्वार्थरहीत हुन्छ । उनको कपालमा त्यही हाँसीरहेको फूल थियो । तर पनि ती फूलहरु मेरो विदाइमा रोइरहेझैँ लाग्यो । हेरेँ क्षितिजमा हिमालहरु पनि रोइरहेछन्, चराहरुको आवाजमा पनि केवल व्यथा लुकेको छ अनि ती सधैँ खेल्ने चौरी पनि आज मलाई विरानो लागिरहेको छ । मलाई ती चौरीहरुले अन्तिम हात हल्लाईरहेका छन् र ती चौरीहरुमा म अन्तिम पदछाप छोड्दैछु ।
आहा ! आस्थाले धुलोमा सफा पारेर आइ मिस यु अवशेष एण्ड आइ लभ यु फरएभर लेखेकी रहीछ । मलाई पनि उनलेझैँ त्यसरी नै धुलोमा अनेक कलाको सम्मिश्रण गरेर लेख्न मन थियो । उनलाई चकित पार्न मन थियो । तर समय मेरो अगाडी आकाश बनेर उभिएको थियो । फर्केर हेरेँ अविरे पनि रुन खोज्दै हामीलाई हेर्दे थियो । अव सोचेँ मैले नै आस्थालाई वोलाउनुपर्छ नत्र त उनले नि नवोलाउने र मैले नि नवोलाउने हो भने त हामी नवोली छुट्टिनु पर्ने छ ।
-‘आस्था,’ ,मैले सुस्तरी बोलाएँ ।
-‘हँ,’ उनी झस्किन् । उनी कहाँ एकान्तको संसारमा हराइरहेकी थिन् । सायद उनले करिव ५ मिनेट अगाडिबाट म उनको सामु आएको पनि थाहा पाएकी थिइनन् ।
-‘अवशेष, तिमी कहिले आयौ ?’ उनले खुशी हुदै मतिर फर्केर सोधि तर उनको आवाज माया लाग्दो भएको थियो । उनको आँखामा तप्किरहेको आँशुले केही बताइरहेको थियो ।
-‘भर्खरै,’ मैले ढाँटेर भनेँ, ‘ढिलो भएकोमा सरी ।’
उनी मात्र मुस्कुराइ त्यही कालो पानी पर्न लागेको मुहार लिएर ।
-‘सायद तिमीले त मलाई बिर्सिन्‍छौ होला है, अवशेष ?’ उनले फिल्मी स्टाइलले सोधी ।
तिमीले होला भनेर भन्न मन त थियो तर सकिन भनौँ, उनलाई छुट्ने बेलामा पनि दु;खी बनाउन चाहिनँ । र भनेँ –‘अहँ’
-‘पछि हाम्रो भेट भयो भने पनि हामी एक-अर्कालाई चिन्न सक्दैनौँ होला हगि ?’ फेरी फिल्मको डायलग चोरी हेहे ।
म मौन रहेँ । मेरो मौनतालाई चिर्दे उनको आँखामा भेल ‍बर्सियो सायद यसले महिलाको संवेदनशीलतालाई झल्काउदै थियो । मैले उनको आँखाम सिधै हेर्ने हिम्मत गर्न सकिन ।
-‘जहाँ पुगे पनि मलाई नभूल ल अवशेष,’ उनको आवाज मधुर हुदै गयो –‘म तिमीलाई कहिले भुल्ने छैन । तिम्रो याद आयो भने म यही चौरीमा आएर बस्ने छु र तिमीसंग खेलेको कुरा सम्झिने छु ।’
उनको कुरा यति गहकिला भए कि मैले ती थेग्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । केही आँशुका ढिक्काहरुले आत्मसमर्पण गर्न शुरु गर्दै थियो । टिट..टिट….. गाडीको हर्न बज्यो । सायद त्यो हर्नले मलाई नै डाकिरहेको थियो । अव मैले उनीसंग विदा माग्नु पर्ने थियो । तर कस्तो विडम्वना विदा पनि भरे स्कूलबाट छुट्नको लागि होइन, न त बजार गएर आउनका लागि नै हो । उनीसंग म अनिश्चित कालको लागि विदा माग्दै थिएँ । र यो सदाको लागि पनि हुन सक्थ्यो । भगवानसंग कामना गर्दै थिएँ यो हाम्रो दुरी क्षणभरको मात्र रहोस् ।
-‘अवशेष,’ उनले सुस्तरी बोलाइ –‘मलाई तिमी पनि माया गर्छौ ?’
मन त थियो उनलाई झ्याप्प अङ्गालोमा बेरेर उनको ती सुन केशरी कपालमा लुकेर त्यो सधैँ मुस्कुराइरहने ओँठहरुलाई हलका चुम्वन गरेर कति माया गर्छु भनी देखाउन तर सानो वच्चाले कहाँ हिरो जस्तो गर्न सक्छु र ? त्यसैले मैले मुण्टो मात्र हल्लाएँ ।

फेरी गाडिको हर्न बज्यो । म अलि सशंकित बनेँ । उनले मलाई हेरी र भनि –‘जम हिड ।’ हामी हिड्न थाल्यौँ । पछिपछि अविरे पनि निराश भइ पछ्याइरहेको थियो । खुट्टाका कदमहरु पनि कति गह्रौँजस्तो लाग्यो । मानौँ म आफ्नो खुट्टामा १०/१० के.जी. को मुङ्ग्रो साँढेलाई झुण्ड्याएर हिडाएझैँ हिडिरहेछु । एक मनले सोचिरहेको थियो आस्थासंगको यो यात्रा जीवनभरी यतिकै रहोस् कहिले नछुटोस्, हिडिरहन पाइयोस् कहिले म गाडि भएको ठाउँमा नपुगु र समयको सेकेण्ड पनि अगाडि नबढोस् । तर लाचार भगवानले मेरो पुकार कहाँ सुन्थ्यो र ?
हामी करिव-करिव गाडी भएको ठाउँमा आइ पुग्न लागेको थियौँ । मैले अविरेलाई हेरेँ वजिया त रुदै पो रहेछ । सायद मेरो अनुपस्थितिमा अनेक केटाहरुसंग अव अविरे एक्लैले मुकाविला गर्नु पर्ने छ अनि आस्थाको सुरक्षा पनि ।

-‘ओइ, हामीलाई नबिर्सि ल,’ अविरे बोल्यो –‘राम्ररी पढ् । अनि गाउँमा नि आउदै गर ल ।’
मैले मुण्टो मात्र हल्लाएँ । पढ्न त म पढिहाल्छु नि तर अव म नहुदा जाँचमा तलाई सिकाउने कोही हुदैन भन्नेमा चिन्ता छ । तर आस्थाले पनि निकै हेल्प गर्न सक्छे ।
हामी गाडि भए नजिक आएपछि रुखको आडमा छेकिएर आस्थाले उनको गोजीबाट रुमाल झिकेर मलाई दिदैँ भनि –‘तिम्रो लागि केही दिन नसके नि यो रुमाल चिनो । मेरो याद आएमा यो हेर्नु र हमेशा साथमा राख्नु ल ।’ अव चैँ लाग्यो उनी साँच्ची नै हिरोइन भइसकेछिन् । मेरो हातहरुले चिनो थाप्न सकिरहेको थिएनन् । मानौँ त्यो अजीव रुमालको तौल पनि आठ सेरे गिलेनको जति भएको थियो ।
-‘थ्याङ यु ।‘ मैले रुमाल थाप्दै भनेँ । रुमालको व्याकग्राउण्ड निष्पट सेतो रंगको थियो सायद उनको माया पनि त्यस्तै निश्चल र सफा थियो । रुमालको विचमा रातो कलरले पानाको चित्र कोरेकि थिन् । सायद रातो कलरले कोरेको पानाले उनको हृदयको भावनालाई देखाउथ्यो । पानालाई डायगोनल सेपमा तिरले काटेर दाँयापट्टि कालो कलरले अवशेष भनेर लेखेकी थिन् भने वाँयातिर आस्था लेखेकी थिन् । सायद कालो रंगझैं हाम्रो सम्बन्धलाई अमिट राख्न चाहान्थिन् ।

उनी केवल आँखा चिम्म गरेर उभिरहेकि थिन् । म उनको छातीभित्र गइरहेको भुइचालोलाई अनुमान लगाउन सक्थेँ । तर मेरो शरीरमा गइरहेको ज्वालामुखी पनि कम त थिएन नि । मैले मेरो देव्रे हातको काइली औँलामा लगाएको चाँदीको औँठी झिकेँ र उनको औँलामा लगाइदिएँ । एक मनमा त हाँस नि उठ्यो यति सानो बच्चामै हामीले के के जानेको है । उनी रोइरहेको मसिनो आवाज अस्पष्ट आइरहेको थियो ।
-‘अवशेष, तिमी रुएको सुहाउदैन के । आँशु पुछ त अरुको छेउमा केटा मान्छे भएर आँशु बोकेर कसरी हिड्छौ ?’

म झस्केँ । अनि मात्र थाहा भो मेरो आँखामा नि मेरो वेदना झर्न थालेका रहेछन् । म हत्तपत्त आँशु पुछेर तयार भएँ । आस्था र अविरे पनि तयार भयो । फेरी मलाई गाडिले हर्न बजाएर बोलायो ।
अगाडि अविरे हिड्यो भने म र आस्थासंगै हिड्यौँ तर फिल्मझैँ भने पक्रेनौँ । मसंग सँधै झगडा गरिरहने गणेश पनि आएको रहेछ । नजिक आएर शुभयात्रा भन्यो । मैले नि राम्ररी पढ भनेँ । हाम्रो घरअगाडि निकै मानिस जम्मा भइसकेका रहेछन् । सबै हाम्रो विदाइमा हात हल्लाउन आएका थिए । तर आस्था र मेरो मुटुलाई भने ति हातहरुले टुक्राइरहेको भान हुन्थ्यो ।
-‘छिटो गरौँ सर ।’ ड्राइभर केही हतारिदै बोल्यो । जवाफमा ड्याडी मात्र मुस्कुराउनु भयो । ममी पनि बाहिर नै हुनुहुदोरहेछ । म सिधैँ ममी भए ठाउँमा गएँ । सायद ममीले मेरो औँलामा हेरेर थाहा पाउनुभयो तर केही भन्नु भएन । ममीसंगै म पनि गाडिभित्र छिर्ने तरखरमा थिएँ । शिवानी आण्टीको खुट्टामा समाएर आस्था रोइरहेकी थिन् । र म पनि ।

-‘अव, बाबु गएपछि त यो आस्था कसरी बस्छे होली । खेल्ने साथीकै रुपमा अवशेष मात्र त थियो ।’ म पनि आस्थाबिना एक्लै खेल्न, पढ्न कहाँ सक्थेँ र ? यो कुराले फेरी आस्थाको आँखामा भेल आएको हुनुपर्छ ।
-‘यो पनि त कहाँ जानु मानेकै थिएन । ड्याडीको सरुवाको कारणले गर्दा मात्र म पनि जानु परेको ।’ ममीले मलाई मिनेरल वाटरमा पानी दिदै भन्नु भयो । तर के खाउँ पानी पनि मेरो आँशुकै प्रकृतीजस्तो त छ ।
सबैले मलाई राम्ररी पढ्नु, ठूलो मान्छे बन्नु भनेर सुभेच्छा दिनुभयो । सबैले मलाई नै हेरीरहनु भएको थियो मानौँ म नै विशैष अतिथि हुँ । तर आस्थालाई कसैले हेरेन । उनलाई आफ्नै ममीले पनि हेर्नु भएन । सबैको नजर ममा थियो । तर ममाथि भएको वेदना, मेरो क्रन्दन, मेरो चाहानालाई किन कसैले देख्न सकेन ? अझ आस्थाको भावनालाई कसले बझ्ने कोसिस गर्‍यो र ? भन्थे प्रेममा वलिदान हुन्छ रे । तर म कसरी यो देखाउन सक्थेँ र एउटा सात वर्षको वच्चाले ? म कसरी एउटा हिरोझैँ आस्थालाई लिएर भाग्न सक्छु ? वाध्य भएँ सहनलाई, चुपचाप सहेँ । त्यति मेरो उज्ज्वल भविष्यको चिन्ता हुनेले किन मलाई गाउँमै हुर्कन दिनु भएन ? अनेक प्रश्नहरु मनमा उब्जिन थाल्यो ।

गाडि स्टार्ट भयो । सबै अझ नजिक आए । ड्याडि पनि गाडिमा पस्नुभयो । सबैको आँखामा विछोडको पीडा स्पष्ट देख्न सकिन्थ्यो । आस्थालाई चियाएर हेरेँ । उसरी नै शिवानी आण्टिको छातिमा लुकिरहिकी थिन् भनौँ वेदना ममीको छातीमा लुकाइरहेकि थिन् । लाग्यो के वालवालिका मानव होइनन् ? हो भने किन मेरो र आस्थाको भावनाको कदर गरिएन ? के हाम्रो चैँ इच्छा हुन्नन् र ? हामी संगै पढ्न, खल्न र हुर्कन चाहान्थ्यौँ तर किन कसैले वास्ता गरेनन् ? के विछोडमा झरेको आस्था र मेरो आँशु चैँ आँशु होइन र ? के हामीलाई विदाईमा कुनै पीडा छैन र ? के वालवालिका भन्दैमा उनीहरुको भावनाको कदर गर्नु हुदैन र .? के हामीमा मानवीय गुण छैन र ? सबैलाई वालापन नै जीवनमा मन पर्छ रे ! तर मलाई वालक भएकोमा पश्चताप लाग्यो । म यदि किशोर वा युवा भएको भए म यो पारिवारीक एवम् सामाजिक बन्धनमा फसिने त थिइन । न त आस्थाले कहिले निको नहुने घाउ नै बोक्नु पर्थ्यो ।

गाडी थोरै अगाडि बढेको थियो ड्याडि उत्रिनु भयो । उहाँले व्याग छुटाउनु भएछ क्यार । म नि फुत्त उफ्रेँ । आस्था दगुर्दै आई मानौँ हामी वर्षौँअघिबाट भेट नभई आज भेटिएजस्तो । ड्याडी आउनु वितिक्कै म पनि जानु पर्थ्यो त्यसैले मैले हतार हतार उनलाई आइ लभ यु टु भनेँ । उनी मुस्कुराइन् । केही अगाडि मात्र रोएको ती आँखाका डिलहरुमा उत्साह भरिएका थिए ।
-‘राम्रो पढ है पछि हिरोनी बन्नु पर्छ ।’ मैले भनेँ । उनी लाजले रातै पाकी । भर्खरै कालो भएको उनको मुहार फेरी रातो भयो ।
उनले मुण्टो हल्लाउदै भनी –‘तिमी पनि हिरो बन्नु पर्छ नि है ।’ मैले नि मुण्टो हल्लाएँ । भन्न त मन थियो, म त तिम्रो मनको हिरो हुने, तिम्रो जीवनको हिरो हुने । मलाई कुनै कृत्रिम नाटकको हिरो हुनु छैन । म त तिम्रो सपनाको हिरो हुन चाहान्छु ।

-‘ल, नानु हामी जान्छौँ ल ।’ ड्याडी कति छिटो फर्कनुभएछ । उहाँले आस्थालाई बोक्दै भन्नुभयो –‘हामी अलि पछि आउँछौँ । अनि फेरी अवशेषसंग खल्ने नि है ।’ आस्थाले सहमतिमा टाउको हल्लाइ । साँच्चि नै मेरो ड्याडी महान् हुनुहुन्थ्यो । कहिले हामीलाई गाली गर्नु भएन र मलाई जे ल्याइदिनुहुन्थ्यो त्यहि आस्थालाई पनि । तर ड्याडीले कति सजिलै अलि पछि आउछौँ भन्नुभयो । तर मलाई यो अलि पछि भनेको कति हो त्यो थाहा भएन ।

-‘सर यस्तै हुन् साना नानीहरु । छुट्दा रुन्छन् भोलीदेखि खेल्दाखेल्दै बिर्सिन्छन् ।’ प्वाक्क ड्राइभर बोल्यो । ड्याडि मात्र मुस्कुराउनुभयो । मलाई ड्राइभरदेखि औधि रिस उठेर आयो । तर आस्थाले मलाई सधैको लागि माया गरेकी हो । म ढुक्क भएँ । फेरी एक पटक ठूलो स्वरमा चिच्याउन मन लाग्यो आइ लभ यु आस्था एण्ड आइ मिस यु फरएभर भनेर । हाम्रो प्रेम अरुको सामू नखोलिए पनि हामीलाई थाहा थियो । हामी कुने चलचित्रकोभन्दा कम माया गर्देनौ थियौँ ।

गाडी चल्न थाल्यो । मैले पछाडि फर्केर हात हल्लाएँ । तर मेरो हातको प्रतिउत्तरमा सयौँ हात हल्लिए । त्यसैमा सबभन्दा मुनी सानो हात हल्लिइरहेको थियो आस्था भन्ने फुच्चीको । मैले उनलाई हात हल्लाएको थिइन किनकी म उनीबाट टाढा पक्कै भएको होइन । उनलाई म जहाँ पुगे पनि सम्झिरहनेछु । र हामी फेरी भेट्नेछौँ भन्ने कुरामा आस्था राख्नेछु ।
गाडि अलि अगाडि पुगेपछि फेरी फर्केर अन्तिम पटक आस्थाको मुहार हेर्न मन थियो । तर विदाइ हुने क्रममा पछाडि फर्केर हेर्नु हुदैन भनी मावलाको हजुरमुमाको भनाइ याद आयो । र मैले मैल पछाडिबाट नहेरे पनि उनलाई गाडिको फ्रन्ट मिररबाट हेरेँ । सबेको हात हल्लिन छोडेको थिए तर एउटा सानो हात निरन्तर हल्लिरहेको थियो । बसाइ हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ भनेको यहि रहेछ सायद । सबै मानिसहरु विदाइमा रोइरहेका थिए । ममी र ड्याडी पनि रोइरहनु भएको थियो । म झन् कति धेरै रुदै थिएँ केवल आस्थाको लागि । म केटा मान्छे भएर रुनुहुदैन भनेर आस्थाले सम्झाएको याद आयो । झन् अनायासै आँशुका थोपाहरु बर्सिन थाले ।

ममीले मलाई आफूतिर तानेर काखमा लिनुभयो । म पनि ज्ञानी छोरा भएर उहाँको काखमा पल्टेँ । सायद शिवानी आण्टिले पनि आस्थालाई काखमा लिनु भएको होला । ममीले मेरो आँशु पुछिदिदै नरोऊ भन्नु भयो । अनि मेरो मन बहकाउन होला मलाई मोवाइल गेम खेल्न दिनुभयो । तर मेरो मनलाई एउटा मोवाइलले कहाँ रोक्न सक्थ्यो र ? मोवाइलमा फोटो हेर्न थालेँ । फेरी त्यही आस्था र म खेलेको फोटो, नाच्दै गरेको फोटो मेरो माइन्डलाई फेरी सताउन आइपुग्यो । सायद शिवानी आण्टिले पनि आस्थालाई भुलाउन चित्र कोर्न भनी ड्रइङ पेपर दिनु भयो होला । तर विचरीले कसरी गर्न सकून् ड्रइङ ? पेपरभरी मेरो मात्र चित्र कोरकी थी दुरुस्त म जस्तै । उनी सायद त्यही चित्रसंग बोल्दै होली । म भने उनको अमूर्त तस्वीरसंग बोलिरहेछु पागलजस्तो ।
गाडि निरन्तर अगाडि बढिरहेको थियो । तर मेरो मनमा त्यही आस्था अनि अविरेसंग खेलेको यादहरु चलचित्रझैँ घुमिरह्यो । गाडिहरु कति धेरै गुडिरहेको थियो, रमणीय वाहिरी दृश्यमा ध्यान पटक्कै जान सकेन । के गर्दै होली आस्था ? मजस्तै सोचिरहेको छिन् कि अझै रुदै होली ? म अगाडि बढिरहे पनि मेरो मन त्यही गाउँमै थियो अझ आस्थासंगै थियो । बल्ल मेरो नामको सार्थक अर्थ थाहा भयो । म त्यही अवशेष भएँ । जो आस्थाको यादमा अल्झिरहेको छु । उनको मुटुमा, उनको दिमागमा कहिल्यै निशेष हुनेछैन म, अवशेष भइरहनेछु । म पनि आफ्नो रित्तो याद अवशेषको रुपमा छोड्दै र फेरी अवश्य भेट्ने कुरामा आस्था राख्दै मेरो अनिश्चित गन्तव्यमा सहभागी भएँ ।

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.