कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~Purushottam Bhandari

एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म जहाँ गए पनि मालभोग केरा भेट्ने बित्तिक्कै किनिहाल्थें ! मालभोग केरा प्रति यत्ति धेरै प्रेम बसेको थियो कि जुनसुकै मौसम मा पनि म चाहिं
मालभोग केरा खोज्न थालेको थिएँ ! आफ्नै घर मा दुई ओटा गाई पालेकै थिए , जुन अहिले पनि छँदै छन ! दुध सजिलै उपलब्ध भै हाल्ने हुनाले मैले हरकिसिमले मालभोग केरा चाहिं जुटाउने प्रयास गरेको थिएँ !

नभन्दै, मालभोग केरा प्रतिको प्रेम ले नै होला , भगवानले एउटा बडो सजिलो उपाय निकालिदिए ! एकदिन ठुलो मिल (पोखरिया ) गएकोबेला , एउटी बुढी आमैले मालभोग केरा ढाकिमा राखेर दक्षिण (बजार ) तर्फ गैरहेको देखें ! उनलाई मैले केहि प्रश्नहरु सोधें ! जवाफमा उनले बताए अनुसार दिनै पिच्छे एक ढाकि केरा जसमा मालभोग केरा पनि हुन्थे बजार लगेर बेच्दिरहिछ्न ! मैले उनलाई आफ्नो घरको बाटो देखाएँ र अनुरोध गरें कि हाम्रो घरको बाटो भएर पनि बजार पुग्न सकिन्छ ! बरु हाम्रो घरको बाटो गए , म उनको एकदर्जन केरा को नियमित ग्राहक हुनेथिएँ ! त्यो कुराले ति बुढी आमै खुशी देखिईन ! त्यतिबेला ठुलो मिल पट्टि सुनसान हुन्थ्यो ! एक दुई ओटा मात्रै घर हुन्थे !उनको केरा पोखरिया भट्ट चोक नपुगुन्जेल कसैले किन्दैनथे !उनलाई मेरो अनुरोध मन परेछ र उनि अर्को दिन देखि हाम्रो घर मैं धाउन थालिन ! यसरि म ति बुढी आमैको मालभोग केराको नियमित ग्राहक हुनाथालें !

त्यो बेला भनेको मेरो ट्युसनको चल्तीको बेला थियो ! एक दर्जन राम्रा मालभोग केरा रु दश हाले पछि सजिल्यै अऊँथे ! संयुक्त परिवारमा ति १२ ओटा केरा दिन भरि टिक्न पनि पऊँदैनाथे ! रमाईलो कुरो त के थियो भने बुबा-आमाका वैष्णव साथि-भाई र मेरा व्यक्तिगत साथि-भाई अऊँदा तिनै केरा बाँडेर खाईन्थ्यो ! त्यसिले समय र दिन अनुसार जस्तोकि एकादशी वा ब्रतको दिन २/३ दर्जन पनि किनेर राख्ने चलन थियो !अचेल पो डाक्टरले मालभोग केरा नखानु युरिक-एसिड बढ्छ भन्छन र त्यत्ति साह्रो खोजि-खोजि खाईदैना तरपनि भेटेका बेला चाहिं एक कोसो त खाई हालिन्छ ! यसरि ति केरा बेच्ने बुढी आमै हाम्रो घरकी नियमित “बनाना-सप्लाएर ” भईन !

एक चोटी आमाले केरा किन्दै गर्दा एउटा उखान सुनाउनुभयो ,” पुष का केरा सौताका छोरा !” यसबाट बुझिन्छ कि पुष जस्तो चिसो मौशम मा पनि म मालभोग केरा किन्दोरहेछु ! ति केरा बेच्ने बुढी आमै ले कहिल्यै पनि नछुटाईकन केरा बेच्न ल्याईरहिन र मैले पनि बाचा गरेअनुसार नियमित रुपले केरा किनिरहें ! हाम्रो घर संयुक्त परिवार मात्रै हिन कि मूल घर पनि हो ! हाम्रो घरमा हामि सबैले हाम्री हजुरआमाको न्यानो माया र प्रेम पायौं ! बरु हामि नाति नातिना आफ्नी आमा संग सवाल-जवाफ गर्थ्यौं तर हजुरआमा संग कहिल्यै रिसाएनौ ! आमा र हजुरआमा को बिचको कहिलेकाहीं को साशु-बुहारी द्वन्दमा हामि हजुरआमाको पक्ष लिन्थ्यौं ! हजुरामाकै प्रेरणाले मैले मालभोग केरा खान शुरु गरेको थिएँ ! मालभोग केरा र गाईको दुध खाँदा पेट बढ्दैन भन्नु हुन्थ्यो ! मलाई ति केरा बेच्ने बुढी आमै ठ्याक्कै मेरी आफ्नै हजुरआमा जस्तै लाग्न थालिसकेको थियो ! हामीले त्यत्ति बेलासम्म हाम्री हजुरआमा गुमाईसकेका थियौं ! अर्को महत्वपुर्ण कुरो , अरु केटा-केटि जस्तो हामि कोहिपनि ” ए बुढिया !” भनेर ति बुढी आमैलाई सम्बोधन गर्दैनथ्यौं !

नभन्दै , ति केरा बेच्ने बुढी आमै मायालु स्वाभाव कि थिईन ! आफुलाई थारु समुदाएकी बताउने ति बुढी आमै करले भन्दा पनि रहरले केरा बेच्न हिडेकी जस्तो लाग्थ्यो मलाई ! मैले सुनेको मात्रै हो है हुन पनि सक्छ नहुन पनि थारु समुदाय मा त्यतिबेला जत्ति सुकै धनि भए पनि केरा , धनिया , चना , चिउरा जस्ता घरेलु उत्पादन ढाकिमा हालेर बेच्न हिड्ने चलन थियो अरे , हो कि हैन ? अझै पनि त्यस्तो चलन छ कि ? ति केरा बेच्ने बुढी आमै छाला ले मात्रै हैन लगाउने सारी पनि सेतो र सुकिलो भएकी हुन्थिन ! मेरा केहि स्कुलका साथीहरु थारु समुदाएका थिए ! उनीहरुलाई मैले जहिल्यै सफा-सुग्घर देख्थें ! उनीहरु दह्रा/ बलिया देखिन्थे ! उनीहरुका घरमा पनि पुगेकोथिएँ म ! उनीहरुका घर साना भएपनि आँगन देखिनै गोबरले लिपेका सफा हुन्थे ! घरको दलान्का भित्तामा विभिन्न किसिमका चित्र कोरेका हुन्थे , हेरिरहुँ जस्ता ! अचेलका आधुनिक घरमा पुगेको छूईन ! के गर्या होलान नि ? ति केरा बेच्ने बुढी आमै सांच्चिक्कै आकर्षक थिईन ! सफा सुग्घर पनि त्यस्तै ! हामि पहाडमा बस्दा राई गाऊँ नजिकै पर्थ्यो ! हाम्रो बुवा ज्योतिष भएको हुनाले उनीहरु चिना लेखाउन र देखाउन आई रहन्थे ! मलाई राई हरु र थारु हरुको शारीरिक स्ट्रक्चर उस्तै लाग्छ ! मैले देखेका राईहरु पनि गोर्हा र सुकिला थिए , हृष्ट-पुष्ट पनि !ति बुढी आमै पनि मलाई रइनि आमै जस्तै लाग्थिन ! केवल पोशाक मात्रै फरक !कहिले काहीं म केरा किन्दिन भनेर छाक्याउनु पर्यो ,के गर्दिरहिछन भनेर उनीहरुकै जस्तै लवज पारेर बोल्थें ! त्यस्तोबेलामा उनि हक जताएर भन्थिन,” ले कि नै ले ! छोरी जैबे ! पैसो ना लेबे !”

म अहिले पनि केहि जाति समुदाएको बोलि को नक्कल गर्न सक्छु र कहिलेकाहीं बिद्यार्थी संग बोलेर आफ्नो त्यो सौख पुरा गर्छु ! हिन्दि गाएक किशोर कुमारले केटीको आवाजमा पनि गीत गाऊँथे भन्ने सुने पछि मैले पनि केटीको जस्तै आवाज निकालेर गीत गाउने कोशिश गर्थें र अझै पनि कोशिश गर्छु !कुनै जमानामा साथि हरु भन्थे कि म किशोर कुमारका गीत राम्रै गाउन सक्थें !उनीहरु सुझाव दिन्थेकि कहीं कतै गीत गाउने अनुरोध आएमा किशोर कुमार कै गीत गाए राम्रो ! केटि साथीहरु संग टेलिफोन मा कुरा गर्दा मैले यो तरिका धेरै पटक अपनाएको पनि छु ! “फरेब” भन्ने हिन्दि सिनेमा हेर्दा त्यसमा मूल भिलियन ले केटीको जस्तै श्वर पारेर केटि संग टेलिफोन वार्ता गरेको देखेपछि मलाई अलिक डर पनि लाग्यो ! मनमनै सोचें कि कतै ममा पनि भिलियन को जस्तै अवगुण पो छन कि ! धेरै दिन सम्म त्यस्तो केटीको जस्तै श्वर बनाएर नबोलेको हुँदा मेरी एकदमै मिल्ने केटि साथीले सोधिन पनि ! मैले ति केरा बेच्ने बुढी आमै संग आफ्नो लवजमा बोल्नु भन्दा बढी उनकै लवजमा कुरा गर्न थालेको थिएँ , राम्रो या नराम्रो के गरें ?

समय बित्दै गयो ! अचानक ति केरा बेच्ने बुढी आमै हाम्रो घर केरा लिएर आउन छोडिन ! केरा बेच्नको लागि साईकल मा दुई तिर ढाकी बाँधेर लोग्नेमान्छे हरु हाम्रै घरको बाटो हुँदै बजार तिर लाग्थे ! तिनै लोग्ने मान्छे हरुलाई ति बुढी आमैको बारेमा सोद्धा थाहा भयो कि उनले त केरा बोकेर हिड्न छोडिन ! त्यसपछि पनि केरा त किनिन्थ्यो तर बार्गेनिङ्ग गर्दै अरु नै केरावाला संग ! ति बुढी आमैको जस्तो मित्रता अरुसंग हुन पाएन ! एक त उनीहरु घर पस्दैनथे, सडक बाट नै कराएर बेच्थे ! दोश्रो कुरा बुढा-बुढी प्रति पो एक किसिमको लगाव हुँदोरहेछ !ति केरा बेच्ने बुढी आमैलाई अलि अलि गर्दै बिर्सिन थालियो !

अचानक एक दिन कन्चंबारिको शुक्रबारे हटिया /हाट मा तिनै केरा बेच्ने बुढी आमैसंगा भेट भयो ! राम्रा-राम्रा केरा खोज्दै हिडेको म उनकै ढाकी अघि पो पुगेंछु म त ! उनको ढाकिमा यसो हेरेको थोरै केरा रहेछन , त्यो पनि भित्र काला दाना हुने ऐंठे कि के भन्छन हौ , त्यस्तै केरा ! त्यतिबेला सम्म सपनामा पनि सोचेको थिईन कि तिनै बुढी आमै होलिन भनेर ! जब ढकिवाल को अनुहार तिर हेरें , अनि पो चिने तिनै बुढी आमै ! आबूई ! हैन केरा बेच्दै ? मेरो प्रश्न भूईमा झर्न नपऊँदै उनले भनिन ,” कि कार्बो ? आज बुहारी पठेल्के !” उनले बोलेको मिल्यो कि मिलेन , मैले यस्तै बुझें है ! उनले बेच्न राखेको केरा मैले किन्दिन भनेर रहेछ कि क्या हो उनले आफ्नी एउटी साथीको ढाकि तिर देखाएर भनिन , ” ल्या लिह ! तोहार मन पसन्द केला !” मैले म संगै हिडेका मेरा दुई जना सहयोगी भाईहरुले खान्छन भनेर उनको ढकिका करीब डेढ दर्जन जति केरा थिए होलान सबै किनिदिए ! साँझ -साँझ पर्न लागेको थियो ! उनको ढकिका केरा सिद्धिए ! उनीसंग एकछिन भलाकुसारी गरेर म मेरा सहयोगी भाईहरुलाई लिएर नहर तिर लागें ! नहर नजिकै एउटा सानो रेस्टुराँ छ !त्याहाँ बाहिर नै केहि कुर्शी हरु भैरहन्छन ! मेरा सहयोगी भाईहरु कुर्शीमा बसे ! म संग त आफ्नै कुर्शी छंदै थियो ! म तिनै केरा बेच्ने बुढी आमैलाई सम्झदै उनीसंग किनेको केरा खान थालें ! त्यो दिन मैले मालभोग केरा पनि किनिन ! सोचें कि भित्र काला दाना भएको केरा खाँदा मेरो पेट झन् राम्ररि पो सफा र स्वस्थ हुन्छ कि त ! मेरा दुई सहयोगी भाई हरुले पनि केरा मिठो मानि मानि खाए ! ति दुवै भाईले मलाई सोधे, ” हैन ! तपाईं त मालभोग केरा किन्न आउनु भएको हैन ?यस्तो केरा खाएको त थाहा थिएन त !” उनीहरुलाई म के भनेर अर्थ्याउन सक्थें र ! त्यहिपनि भने,” पहिले म तिमीहरु जस्तै सानो हुंदा यिनै बुढी आमैले बेचेका केरा खान्थे ! उनि हाम्रो घर आई रहन्थिन ! धेरै पटक हामीले संगै संगै चिया खायौं , गफ गर्यौं र माया साटासाट गर्यौं ! तिमीहरु पनि मलाई यसरि नै माया गरौला के ? मोराहरु ! पछि स्वास्नीको पछि लागेर मलाई बिर्सियौला नि ?” उनीहरु गलल्ल हाँसे ! केहीबेर त्यहि रेस्टुराँ को आँगनमा समय बिताएर हामि घर फर्कियौं !

आज अचानक अजित बराल द्वारा सम्पादित “फस्ट-लब” भित्रका प्रेम कथाहरु पढ्दा मलाई मेरो जीवनमा घटेका प्रेम कथाहरु को सम्झना आयो ! मैले कस्ता-कस्ता मानिसहरु संग कस्ता कस्ता क्षण हरु बिताएंछु, क-कसलाई माया वा प्रेम गरेंछु र अहिले अचानक तिनीहरुलाई भेट्न पाएंछु भने म भित्र कस्ता भावना उर्लिएलान ? ति केरा बेच्ने बुढी आमै अहिले कहाँ होलिन ? जीवित वा ………..के होलिन ?” तेतरियामा मेरो घर छ !”, उनि मलाई सुनाउथिन ! हुन त उनको घर म बसेको ठाऊँ बाट निक्कै टाढा छ तर पनि अचानक उनलाई भेट्न गयो भने उनले कस्तो भाव ब्यक्त गर्छिन होला ? उनि त छैनन् भन्ने सुन्नु पर्यो भने म भित्र कस्तो भाव अऊँछ होला ?आफ्नै हजुरआमालाई त यो बुढी कैले मर्छे र शान्ति हुन्छ भनेको मैले मेरै एकजना साथीको मुख बाट बारम्बार सुनेको छु ! त्यस्तो सुन्दा मलाई चाहिं अचम्म लाग्थ्यो, कसरि त्यसो भन्न सक्या होला जस्तो लाग्थ्यो ! भलै , प्रेम कथा पढेर भावना उर्लिएर बाढी आएको बेला नै सहि ,मलाई ति केरा बेच्ने हजुरआमाको सम्झना साँच्ची नै हृदय देखि नै उर्लिएर आयो !

एउटी केरा बेच्ने बुढी आमैको सम्झना अऊँदा त यो माया भन्ने चिज यसरि उर्लिएर अऊँछ भने आफ्नो मन बेच्ने /चोर्ने वा चोराउने एउटी रुपवती केटि साथि संग बिताएका बिगतका क्षण हरु सम्झनु पर्यो भने कस्तो होला ? एउटी मात्रै नभएर जीवनको अन्तरालमा धेरै जना संग त्यस्तै अन्तरंग क्षण बिताएको अनुभव झन् कस्तो होला ? ति सबैका गुण-अबगुण हरु बिच तुलना गर्दै सम्झदै , भावुक हुँदै ,सराप्दै , धिक्कार्दै र रोमाञ्चित हुँदै प्रेम कथा हरु लेख्नु को मज्जा कस्तो हुन्थ्यो होला ? के ति सबै प्रेम कथा हरु यो कथा लेखे जस्तै सहज होला ? एउटा पेशा गरेर खाईरहेको शिक्षक भनाउदो व्यक्तिले आफ्ना प्रेम कथा हरु भन्दै लेखेर पोस्ट गर्दाको परिणाम कस्तो होला ? क-कसले रुचाईदेलान त ?

पुरु !

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.