“माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो ।
उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु बाहिरिदै थियो ।
“सर आज के पढ्ने ? माकुरा र झिंगा नपढ्ने ? सर, सर के भयो ? कहाँ जाने तपाई, कहाँ जाने सर बोल्नुस् न सर?” स्कुलका साना साना विद्यार्थीहरूले उसलाई घेरेर सोध्न थाले ।
उसले एक पटक स्कुलका नानीहरूको टाउको सुम्सुम्याए अनि केही नबोली चुपचाप लुरुलुरु बाहिरियो । अलि वर आई पुगेर स्कुललाई अन्तिम पटक हेर्दै भावुक बने उनी ।
“आजबाट बौलाहा मास्टर सधैंको लागि बिदा हुने भयो हा हा हा,” दुई जना शिक्षकहरू उस कै छेउबाटकुरा गर्दै गए ।
“आज बौलाहा मास्टरलाई के भएछ ?” छेउ छाउका बटुवाहरूले भनेको नसुने झैं गरी ऊ लुरुलुरु आफ्नो डेरातिर लम्किरह्यो ।
बौलाहा मास्टर । यो उसले बिगत १० वर्षदेखि कमाएको उपनाम हो । उसको खास नाम नै हराउन थाल्यो । सुरु सुरुमा उनको पछाडि कुरा काट्नेहरूले मात्र बौलाहा मास्टर भन्थे । पछि उनकै अगाडि बौलाहा मास्टर भन्न थाले । यतिसम्म कि स्कुलमा कखरा सिक्न आएका साना साना विद्यार्थीहरूले समेत उसलाई बौलाहा मास्टर नै भनेर चिन्न थाले । गाउँदेखि जिल्लासम्म, जिल्लादेखि केन्द्रसम्म बौलाहा मास्टरको चर्चा चल्यो । कति विद्यार्थीहरू आफूलाई बौलाहा मास्टरको शिष्य भनेर सगौरव चिनाउथ्यो भने कति चाहिं उनको नामै लिन हिचकिचाउँथे । चाहेर नचाहेर बौलाहा मास्टरको नाम चर्चाको विषय बन्न पुग्यो । बौलाहा मास्टर बैठकहरूमा बिना एजेण्डा आफ्से आफ घुस्यो । बौलाहा मास्टर कक्टेल पार्टीहरूमा आफ्से आफ विषय बनेर घुस्यो । चिया पसलमा, भट्टी पसलमा, दोवाटोमा, गल्लीहरूमा चर्चाको विषय बन्यो बौलाहा मास्टर । एउटा स्कुल पढाउने मास्टर बौलायो । तर किन सारा दुनियाँलाई खस्खस् ? मानिस बौलाउँछ आफ्नै कारण तर किन जगतलाई टाउको दुखाई ?
बौलाहा मास्टर बिगत १० वर्ष देखि बौलायो र आज बाहुलाएकै कारण स्कुलबाट समेत निस्कासित भयो ।
ऊ सरासर कोठामा पुग्यो । कोठामा सुन्यता थियो । उसका सामानहरू असरल्ल छरिएको देख्यो उसले । जीवनमा मात्र पटक विवाहमा लगाएको जडौरी कोटप्यान्ट भुँइमा लडिरहेको देख्यो । केही थाल बटुकाहरू लडिरहेको देख्यो । स्टोभ माथि रातो कितावका पानाहरू जलेको खरानी देख्यो । चुरा पोतेका मसिना दानाहरू कोठै भरि छरिएको देख्यो उसले । पुरानो ब्लाङकेट कोठाको कुनामा थुप्रिएको देख्यो । ढोका निर ऐना दुई टुक्रा भएर उसैलाई हेरिरहेको थियो । कोठा भताभुङ्ग थियो । भताभुङ्गसँगै रित्तो रित्तो पनि थियो । उसको कोठामा कति नै सामान थियो र, तर त्यो पनि बाँकी देखेन उसले । ऊ भुँईमा थचक्क बस्यो । पुर्पुरोमा हात रार्यो । भित्रैबाट उकुस मुकुस भक्कानो फुटेर आयो । तर रुने भने सकेन ।कुनामा एउटा पत्र फ्याँकिएको देख्यो । बौलाहा मास्टरले उक्त पत्र टिपेर पढ्न थाल्यो ।
“मलाई माफ गरिदेऊ । तिम्रो जीवनको साथी बन्न सकिन । तिम्रो सपनाको संसारमा म जिउन सकिन । पाँच पाँच वर्षसम्म मैले साथ दिएँ तिमीलाई । तर अब नसक्ने भएँ । तिमी जस्तो बौलाहा पागलसँग सधैंको लागि आजबाट छुट्टिने निर्णय गरें मैले ।”
“तिमी यो दुनियाँभन्दा बिपरित छौ । यो समाजको गतिभन्दा उल्टो छ तिम्रो यात्रा । तिमी मलाई मेकअप गर्न दिदैनौं । तिमी भन्छौ मेकअपले नारीलाई खेलौनामा परिणत गर्छ । तिमी मलाई डिस्को जान दिदैनौं ।डिस्कोले मानिसलाई बिगार्छ भन्छौ । तिमी मलाई टि. भी. धेरै नहेर टि.भि.ले मानिसलाई बिखण्डित बनाउछ भन्छौ । तिमी मलाई गाउँको पाखे श्रीमती बनाउन चाहान्छौ । म भुर्रुर उड्ने पंछी बन्न चाहन्छु । तिमी मलाई गहना त नारीको हतकडी हो भनेर केही पनि किनिदिदैनौ । तिमी स्कुलमा सिंगाने बच्चाहरूलाई क्रान्ति र चेतनाका कुराहरू गरेर दिन बिताउँछौ । तिमी समानता र स्वतन्त्रताको गफ छाँटेर हिड्छौ । रुढीवादी परम्परा भन्दै त्यसको ठाउँमा बैज्ञानिक संस्कृतिको वकालत गरिहिड्छौं । तिमी यो संसार भगवानले होइन मानिसको पौरखी हातहरूले बनाएको हो भनेर हिड्छौं ।”
“तिमी संसारमा महिला र पुरुष मात्र दुई जाति छ त्यसैलेश्रमको आधारमा भेदभाव गर्नु अपराध हो भनेर हिड्छौं । तिमी स्कुल कलेज र समाजमा भएकोभ्रष्टचारको बिरुद्ध रात दिन डटिरहन्छौ । कोही भोक भोकै मर्ने, कोही मोजमस्तिको जिन्दगी बाँच्ने चलनको अन्त्य हुनु पर्छ भन्दै हिड्छौ । तिमी कही नभएको स्वाभिमानी स्वावलम्वि नेपाली वीर बनेर पाखे ढाका टोपि र दौला सुरुवाल लगाएर हिड्छौ । सडकमा हिंड्दा भोट माग्ने नेताले झैं नमस्कार गर्दै हाँस्दै हिड्छौ । तिम्रो साथी सुकुम्बासी टोलकाहरूभन्दा को छ आज? तिमी सँगैका मास्टरहरूले के के प्रगति गरिसके । तिमी स्वाभिमानको नफस्टाउने खेती गरेर रात दिन हिड्छौ ।”
teacher
“बदलामा के पायौ तिमीले ? स्वाभिमानले तिम्रो पेट भरियो ? आखिर तिमीले के पायौ ? यही रित्तो चुल्हो र भोको पेट होइन ? समाजले तिमीलाई के दियो उपहार ? यही पागलको उपमा होइन ? कस्ता कस्ता नेताहरूलाई मतलब छैन । तिमीलाई देशको चिन्ता ? आफ्नो पेटको जोहो गर्न नसक्नेले के देशको चिन्ता गर्छौ?सारा गाउलेले मलाई खिसि गर्छ । बौलाहा मास्टरको श्रीमती भनेर गिल्ला गर्छ । “के छ नानी, तिम्रो बुढाको स्वाभिमान कहिले पाक्छ ? मलाई पनि बोलाउ है” भनेर दोबाटोमा बसी जोकर बनाउछ । मैले तिमीलाई जुन सपनाले रोजेको थिएँ त्यो मेरो ठूलो भुल भएछ । मैले आजै बिहान पँधेरोमा सुनें । स्कुलमा भएको भ्रष्टचारको बारेमा तिमीले पत्रिकामा छापेको निउमा तिमीलाई स्कुलबाट निकाल्दै छ रे ।तिमी आफ्नो जीवन आफ्नै तरिकाले बिताउ । तिमीसँग अब म एक छिन पनिबस्न सक्दिन । अल बिदा ……….”
पत्र पढिसकेर ऊ मुसुक्क हाँस्यो । असरल्ल छरिएको सामानहरू हेर्यो । उसकोछाती भित्रैबाट अव्यक्त पीडाहरू मडारिदै आयो । भुँईमा फुटेको ऐना उठाई आफैलाई हेर्यो अनि बेस्सरी रोयो ।रुँदा रुँदै रातो कितावका मसिना अक्षरहरू सम्झ्यो उसले । स्कुलका साना साना नानीहरूलाई सम्झ्यो । अनि सम्झ्यो उसले भोलिको सुन्दर संसार । आफैसँग सम्हालियो ऊ । डढेर आदि भएको स्टोभ माथिको रातो किताव सम्हाल्न थाल्यो । रातो किताव आदि डढेर खरानी भइसकेको थियो । उसले जवरजस्ती कितावका पन्नाहरूलाई जोड्न खोज्यो । तर अक्षरहरू खरानीबाट उठ्न सकेनन् । जुन अक्षरलाई सकैले जलाइसकेको थियो । एक्कासि सडकतिर एम्बुलेन्सको आवाज जोड जोडले बज्न थाल्यो । आवाज उनको कोठा नजिकै आएर रोकियो अनि ढोका ढक् ढक् ढक् ढक् गर्यो । उसलेसम्हालिदै ढोका खोल्यो । ढोकामा चार पाँच जना सेतो पोषक लगाएकाहरू देख्यो । “बौलाहा मास्टर तपाई नै हो ? एक जना सेतो पोषकधारीले उसको कठालो समाउँदै सोध्यो । “हजुर मै हुँ, तर तपाईहरू को हो ? किन आउनु भएको ? मलाई केही पनि भएको छैन, मलाई छोडी दिनुुस्, म बौहाला होइन, म पागल होइन ।” उसको कुरा कसैले सुनेनन् र उसलाई जवरजस्ती एम्बुलेन्समा राखियो अनि लगियो मानसिक अस्पतालतिर ।
अँध्यारो कोठामा बिजुलीको तिखो झिल्का देख्यो उसले एक पटक । अर्को पटक तातो र रातो दुखाई अनि भयङ्कर ठुलो चिच्याहटसँगै उसँग बाँकिरहेन अब कुनै स्मरण शक्ति । आँखा खोल्दा उसलाई रिङटा लाग्यो । टाउको बेस्सरी दुख्यो । आकाश जमिनतिर जमिन आकाशतिर देख्यो उसले । ऊ अगाडिको प्रत्येक दृष्यले उसलाई जिस्क्याइरहे झैं लाग्यो । उसले देखेका प्रत्येक बस्तु उसलाई हेरेर हाँसे झै लाग्यो । उसलाई पनि हाँसु हाँसु लाग्यो । उसले देख्यो ऊ अगाडिको पर्खाल उसलाई हेरेर हाँसिरहेको छ । पर्खाल देखेर ऊ पनि हाँस्यो । उसलाई देखेर आकाश जमिन सबै हाँस्न थाल्यो । ऊ पनि सँगसँगै हाँस्न थाल्यो । सेतो पोषक लगाएको मान्छेले कतै फोन गरेर भन्यो “बौलाहा मास्टर अब सद्दे भो साप् कुनै समस्या छैन ।”
सेतो पोषक धारीले उसलाई मानसिक अस्पतालबाट बाहिर निकालेर सडकमा छाडिदियो । उसले देख्यो, सडक पनि हाँसिरहेको छ । सडकमा गुड्ने गाडी पनि हाँसिरहेको छ । हिजो उसलाई पागल भन्ने वरपरकारमितेहरू पनि हाँसिरहेका छन् । रमितेको भीडलाई हेर्दै ऊ पनिमुर्छा परि परि हाँस्दै सडक नै सडक हिंडिरह्यो । सडक वरपरका रमितेहरू ऊ सुधृएकोमा हाँसिरह्यो । तर सडकको पल्लो किनारमा कलिला विद्यार्थीहरू र उसका सुकुम्बासी साथीहरू मानसिक अस्पतालतिर फर्किएर गगनभेदी नारा लगाइरहेका थिए, “बौलाहा मास्टर जिन्दावाद ! सद्दे समाज मुर्दावाद ! !”
राजु स्याङ्तान
महोत्तरी खयरमारा ६
April 16, 2014
(स्रोत : Sahityasansar.com )