कथा : गङ्गा विसर्जन

~उदास विनायक~Prem Khadka 'Udas Binayal'

पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ ।

कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर लाग्यो । चुरोटको धुवाँ उडाउँदै उकालो हिंडिरहेको बलबीरेलाई देखेपछि आरुबारी बैदार बाजेलाई अनुमान लगाउन कुनै गाह्रो परेन । ‘सन्तेका घरतिर जान लागे होलान् । सन्तेका छोराहरू हिजो मात्र इंडियाबाट फर्किए रे । धने मान्छे मस्तराम ! खै कसैको सम्पर्कमा थियो कि थिएन । भए पनि के आउँथ्यो ? जेवमा दुई पैसा भए पो ? सन्तेका छोराहरू पो लयमा लागेका, कमाइ–धमाइ गरे, खेतीपाती गर्ने बेला घर आए । तर यस्तो बेला एक बचन फोन गरेर हाली–खबरी भनीदिनु पथ्र्यो । उसलाई फिव्रmी नभए पनि बा आमाको मन न हो, चिन्ता त लागी हाल्छ ।’

अलि चाँडो गरी शुरु भएको मनसुन र त्यसका कारण आएको बाढी पहिरोले सुदूरपश्चिमका दार्चुला, बैतडी, कंचनपुर, बर्दिया लगायतका जिल्लाहरूमा ठूलो क्षति पुरयाएको खबर सल्लीकुसुमको आगो झैं सारा गाउँभरि फैलियो । हातहातमा मोबाइल, रेडियो अनि हुने खानेका घरमा त टेलिभिजन पनि । पहिलाजस्तो कहाँ हो र ? एउटा खबर पाउन महिनौ कुर्नुपर्ने ।

भर्खर एस्.एल्.सी. को नतिजा प्रकाशित भएको, गाउँ त्यसै चिन्तामा डुबेको थियो । गाउँबाट एस्.एल्.सी. दिने एक जना पनि उत्तिर्ण भएनन् । पोहोर परारजस्तो सयमा चालिस पचास जना उत्तिर्ण भएको भए त हुन्थ्यो, यसपाली त जम्मा चार पाँच जना मात्र पास भए, त्यो पनि त्यस गाउँका एकै परेनन् । त्यसैमाथि थप पीडा थपियो, बेमौसमी बाढी पहिरोको ।
‘पानी परेन, रोपाइँ कसरी गर्ने ? मकै नटुसाउँदै सुक्न थालिसके, अब दोहोरयाएर मकै रोपेपछि त मकै उम्रने चान्स नै छैन’ भनेर चिन्तित हुने दिनहरू हुन् यी पोहोर परारका ।
शुरुको खबर थियो, दार्चुला बगायो । दार्चुला सदरमुकाम नै सखाप पा¥यो रे ! केही बाँकी छैन । यस्तै खबर दिनदिनै सुन्न पाइन्थ्यो गाउँभरि ।

धेरैलाई त दार्चुला भन्ने कहाँ हो, थाहै छैन । दार्चुला बगाएको खबर मात्र ‘समाचार’ भएको थियो गाउँलेहरूका लागि । दार्चुला गए–देखेका वा सुनेका गाउँलेहरू ‘पारी इंडियाको धार्चुला, वारी नेपालको दार्चुला ।’ अनि यत्तिकै अडकलको भरमा भनिदिन्थे कतिपयले ’पारिपट्टि पक्की तटवन्ध छ, केही पनि भएन रे ! वारी दार्चुला, त्यसै त नेपालको अवस्था यस्तो, त्यसमा पनि महाकाली आधै ओगटेर बनाएका घर, कहाँ बाँकी रहनु र ?’
अर्को दिन खबर आयो, भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेश सखाप । अधिकाँश बुढापाकाहरूको मन त्यहीँ पुग्यो, आफै उपस्थित भएजस्तै कुमाऊँ गढवालतिर । अल्मोडा, नैनीताल, गरुड, कर्णप्रयाग, रुद्रप्रयाग, नन्दप्रयाग, बाङथाल, गोपेश्वर, बद्रीनाथ, जोशीमठ, गुप्तकाशी, देवसाल, सोनप्रयाग, गौरीकुण्ड, केदारनाथ सबैतिर एकै क्षणमा । पूरा गाउँ चिन्तामा डुब्यो । चार दिनदेखि अविरल वर्षा भएको छ । अस्ति मात्र पल्लो गाउँको बिर्खे कुमालका सातै जना एकै घान भए, घर भत्केर । दिनदिनै थप खबर आउँदैछन्– लाखौं मानिस अलपत्र परेका छन्, कति मरे कति पत्तै छैन ।

कतैबाट केही खबर आइहाल्छ कि भनेर रातदिन मोबाइलबाट एफ् एम् खोलिरहन्छ बलबीरे । या त फोन आउला, नत्र खबर त हाउला । घंटैपच्छिे समाचार दिइरहन्छ ध्रुबतारा एफ्. एम्. अचेल । भेरी आवाज र कहिले काहीँ त कृष्णसार पनि सुनिन्छ । सबैमा पहिलो समाचार बाढी पहिरोकै हुन्छ । चार पाँच सय नेपाली तीर्थयात्रीहरू सम्पर्क बाहिर छन् भन्ने समाचार दोहो¥याइ, तेहे¥याइ आइरहन्छ । यसले बलबीरेलाई रिस पनि उठ्छ । ‘कामकाजको लागि गएका नेपालीहरू पनि त हजारौं होलान् नि पहाडतिर ।’

बलबीरेले मोबाइल आफ्नो कान नजिकै ल्यायो । टक्क उभिएर समाचारतिर ध्यान दियो, मानौ धनेका बारेमा समाचार आइरहेको छ । ‘भारतीय सेनाद्वारा पहाडबाट बग्दै आएका पचास लास देहरादून नजिकै गंगा नदिबाट निकालिए ।’ बलबीरेको मन चस्स भयो । ती पचासवटै लास बलबीरेका स्मृतिपटलमा घुमे । कतै धने पो थियो कि ? ‘धत् कस्तो नराम्रो कल्पना !’ ऊ अगाडि बढ्यो ।
जतिसुकै शोक परे पनि कामकाज त चलाउनै प¥यो । नत्र दिनचर्या कसरी चल्छ ? वनपाखा, खेतबारीतिर जाने गाउँलेहरू हिंड्न थालिसकेका थिए । घाँस काट्न हिंडेका घँसिनीहरू फर्की फर्की सोध्न थाले– ‘धनेको केही खबर आयो ?’ बलबीरे टाउको हल्लाएर ‘नाइँ’ मात्र भन्थ्यो र अगाडि बढ्थ्यो । ‘कामी गाउँका पाँच छ जना केटाहरू पनि त्यतैतिर डोली ढाकर बोक्थे रे’ भनेर घँसिनीहरू अगाडि बढ्थे ।
गोरु–पाटा लिएर खेततिर हिंडेकाहरू पनि यस्तै प्रश्न सोध्थे । तर बलबीरेको तन मन एकोहोरो सन्तेका घरतिर लागिरहेको थियो । खुट्टाहरू झन गतिशील हुँदै थिए ।

सन्तेका घर नजिकै पुगेपछि बलबीरेका खुट्टा रोकिए, चाल गतिहीन भयो । ‘के खबर सुनाउने हुन् खै ?’ केही अशुभ खबर रहेछ भने बलबीरेका कानले सुन्न सक्लान् ? बढ्नु त प¥यो नै अगाडि ।
दुबैजना छोराहरू फर्केको खुशियाली अबेर रातिसम्म भएकाले चुलोचौको गर्ने बुहारीहरू बाहेक अरु उठिसकेका थिएनन् । सन्तेका छोराहरूले त केही कुरा पक्कै गरे होलान् घरमा, सबैजना सँगै थिए रे उत्तरकाशीतिर भन्ने सोचेर डोकोमा गाग्री राखेर धारातिर जान लागेकी सन्तेकी जेठी बुहारीलाई सोध्यो– ‘केही कुराकानी भएको थियो धनेका बारेमा बुहारी ?’
सन्तेकी जेठी बुहारी धेरै समय नखर्चेरै ‘भएन’ भनेर पँधेरातिर लागी ।

दैलो पोत्दै गरेकी माहिली बुहारीलाई बलबीरे आएको खबर सुनाइदिन भरेर ऊ चुरोट सल्काएर आगनको डिलमा बस्यो । चुरोट आधाजति बाँकी रहँदा जीउ तान्दै सन्तेका दुबै छोराहरू बिर्खे र तुले आइपुगे । ढोगभेट सकिने बित्तिकै बलबीरेले सोधिहाल्यो– ‘धने र तिमीहरू सँगै थियौ कि ?’

बिर्खेको अनुहार मलिन भएर कुनै जवाफ नआएको देखेपछि बलबीरेले फेरि भन्यो– ‘यदि केही भएकै हो भने पनि भैहाल्यो, अब चिन्ता मानेर नभन्ने हो भने पनि हुन्न । जे अवस्था छ, त्यो भनिदियौ भने हामीलाई पनि सजिलो हुन्छ ।’ बिर्खे र तुलेका अनुहारमा एक किसिमको डर स्पष्ट देखिन्थ्यो । ‘अप्ठ्यारो केही मान्नु पर्दैन, यदि केही भएको छ भने पनि भनी देऊ बाबु ! जे जस्तो अवस्था आयो, त्यसको बेलिबिस्तार लगाइदेऊ, मेरो मन हल्का हुन्छ । उता उसकी आमाले अन्नपानी मुखमा नहालेको तीन दिन भइसक्यो । रेडियोमा खबर आउन थालेदेखि उसका आँखा ओवाएका छैनन् । मध्येरातदेखि मलाई उठाउन थालेकी हो, तिमीहरूलाई भेट्न जा भनेर ।’

बलबीरेका कुममा हात राखेर नजिक बस्दै तुलेले मुख खोल्यो– ‘अवस्था यस्तो आयो काका ! को कता को कता खबर लिने मौकै पाइएन । मध्यरात थियो, अचानक खोला बढ्दै आएपछि भागमभाग मच्चियो । बाहिर निस्केर हेर्दा चिच्याहट र माथिबाट उर्लेर आएको पहिरो अनि मुसलधारे पानीको आवाजले अरु केही सुनिन्थेन । हामीले सबै भाग, नत्र बाँचिदैनसम्म मात्र भन्न भ्यायौं ।’
‘तिमीहरू सबै सँगै त थियौ नि ? कुन ठाउँमा थियौ ? बसाइ कस्तो ठाउँमा थियो ? –बलबीरेले फेरि साध्यो ।

‘त्यो अवस्था सम्झिँदै जीउमा काँडा उठेर आउँछ काका, वर्णन गर्न त गलै बसेर आउँछ । घर त एउटै हो हामी सबै बस्ने । हामी दुई भाइ र दुईजना जाजरकोटतिरका केटाहरू एउटा कोठामा र बझाङ् बाजुरातिरका चारजनासँगै धने बस्थ्यो अर्को कोठामा । हामी भाग्नेबेला उनीहरूको ढोकामा हिर्काएर भाग, ज्यान बचाऊ भनेको मात्र सम्झना आउँछ । हामी जेनतेन माथि लेकतिर लाग्यौं । कमाएको दुई चार पैसा र सुत्दा लगाएको लुगाबाहेक केही निकाल्न पाइएन । लेकमा मान्छे नै मान्छे । तीन दिनसम्म त्यो चिसो पानी, न खाना, न सुतना, केही छैन काका । मालिकाको जात्रामा के मान्छे हुन्छन् र ? त्यति धेरै मान्छे । कति त लेक लागेरै मरे । बुढाबुढी, गर्भवती, साना केटाकेटी त के बाँचे होलान् र । छिचिमिरा उम्रेजस्तै लेकैभरि । पानी रोकिएपछि हामी बिस्तारै तल झ¥यौं । त्यतिबेलासम्म न धने कतै देखियो, न उससँगै बस्ने बझाङ् बाजुराका मान्छे । हामी बसेको घर कुन ठाउँमा थियो, पत्तै नहुने गरी बगाएछ । –बिर्खेले घटनाको सबै बेलिबिस्तार लगायो ।

‘भाग्न सफल भए त बाँच्यो होला बाबु, नत्र खै के भयो होला । के गर्ने गर्ने ? यता काज किरिया गरिहालौं भने पनि भोलि टुप्लुक्कै आइपुग्ने हो कि ? नगरौं भने पापमा कति दिन काट्ने । छोरो खेतीपाती गर्न आज आउला कि भोलि भनेर बाटो हेर्दै बसेको बेला, हे भगवान !’ –बलबीरेले बुढी औंला र चोर औंलाको सहायताले दुबै आँखाबाट बगेका आँसु तर्कायो ।

‘त्यसको अघिल्लो दिन हामी सँगै काम गर्न गएका थियौं । उसको कमाइ यसपल्ट राम्रै थियो काका । घटना नघटेको भए पनि यतिबेला त घरतिर आउने भन्ने हामी सबैको सल्लाह थियो । म भन्छु काका, हरेस नखानुस् । धनेजस्तो चलाख मान्छे त्यत्तिकै सुतिरह्यो होला भनेर म भन्न सक्दिन । हजारौं लाखौं मान्छे डाँडापाखाभरि छरिएका थिए, कता गए भन्न सकिन्न । दुई चार दिनमा फर्कीहाल्छ कि ? इंडियाको आर्मी लागेको छ उद्दार गर्न । हेलिकप्टर उडेको उड्यै छ । हेलिकप्टरबाट खाना पनि फालिरा’थ्यो पाखातिर ।’ –बिर्खेले ढाढस दियो ।

‘अहिलेसम्म सत् गरेको रहेछु र देउता दाहिने रहेछन् भने मेरो छोरो सकुशल घर आउला । नत्र भने दैवको लीला यस्तै रहेछ भनेर सहुँला बाबु ! एउटा छोरा गंगामा विसर्जन भयो भनेर चित्त बुझाउँला ।’ –यति भनेर बलबीरे घरतिर लाग्यो ।

बाटामा माइला टमाटाको कान्छो छोरो हस्ते भेटियो । ऊ पनि हिजै मात्र सन्तेका छोराहरूसँगै आइपुगेको थियो । ‘जदौ गरें जेठा बा ! काँ पुगेर आउनु भो कुन्नी एकाबिहानै ?’ –हस्तेले उभिएर बलबीरेलाई ढोग दियो ।
‘धनेको हालीखबरी थियो कि भनेर सन्तेका घरतिर गएको । उनीहरूलाई नै आफ्नो ज्यान जोगाउन गाह््रो भएछ । खै केही थाहा भएन भने । बस्न त एकै ठाउँमा बस्थे रे । तँ पनि त हिजै फर्केको रे, तँलाई केही थाहा थियो कि ? कता जान लागेको ? हिँड सँगै जाउँ कुरा गर्दै ।’ दुबैजना सँगै ओरालो झरे । बाटामा घाँस अलि ठूलै भएको थियो । ‘दुई चार दिनको पानीले कति प्राण दिएछ, घाँस पलाएर यति ठूलो भइसकेछ । यस्तै पानी परिरहे त ठिकै छ, नत्र मध्यवर्षामा खडेरी पर्ने हो कि ?’ –बाटोमा बढेको घाँसतिर हेर्दै बलबीरेले भन्यो ।

‘चार दिनको पानीले तेत्रो भारत देश बगाइदियो जेठा बा, घाँस पलाउने नै भयो । अँ, के भने त बिर्खे–तुलेले ? एउटै घरमा डेरा गरेर बस्ने त उनीहरू नै हुन् । मेरो डेरा त अलि माथि थियो, बाढी पहिरोले खासै असर नगर्ने ठाउँतिर ।’ –हस्तेले भन्यो ।

‘के भन्नु ? मध्यरातमा बाढी पहिरो आयो रे । धनेहरूको कोठा अर्कै थियो रे । भाग्ने बेलामा भाग सबैजना भनेको, त्यसपछि कतै सम्पर्क भएन, चिन्ता नगर्नु काका, धनेजस्तो मान्छे आफ्नो ज्यान बचाउन सफल भएकै हुनुपर्छ भने । हेरौं, साक्षात देउताले हात थापेका रहेछन् भने मेरो छोरा तिमीहरूजस्तै टुप्लक्क आइपुग्ला । पर्खिनु र हेर्नु बाहेक अरु के नै बाँकी रह्यो र अब ? सँगै बस्ने मान्छेले त्यस्तो भनेपछि ।’ –बलबीरेले पारिपट्टि एकलास उभिएको कुलदेवताको मन्दिरतिर हात जोडेर भन्यो । हस्तेलाई एकछिन त ‘पर्खेर केही हुँदैन जेठा बा, मरेको मान्छे फर्किंदैन’ भनी दिऊँ जस्तो लाग्यो । तर ऊ चुपचाप हिंडिरह्यो । पारिपट्टि दलित बस्ति मलामी गएपछिको निरस र सुनसान उभिएको छ ।

बाटैमा खरिदारको घर पर्छ । खर्दारनीले कोही आएको थाहा पाएपछि हेरिहालिन् । अनि बलबीरेलाई देखेपछि छोराको खबर सोधेर आए होलान् भन्ने लख् काट्दै चिया खाएर जान भनिन् । खर्दारनीले बलबीरेलाई पींडीमा गुन्द्री र हस्तेलाई आँगनको डिलमा चकटी ओछ्याइदिइन् र भित्र पसिन् । बलबीरे चिन्तित टाउको निहु¥याएर बसिरह्यो । हस्तेका मनमा के चल्दै थियो कोही भन्न सकिंदैन । ऊ चारैतिर हेरिरहेको थियो ।
‘के भने त सन्ते जेठाजूका छोराहरूले ? हस्ते पनि त सँगै काम गथ्र्यो रे । यसले पनि त केही भन्यो होला नि ? को को कहाँ कहाँ काम गथ्र्यौ ?’ –चियाको गिलास बलबीरेका हातमा थमाउँदै खर्दारनीले सोधिन् । हस्ते केही बोलेन । बलबीरेले उही बिर्खे–तुलेले भनेका कुरा दोहो¥यायो– ‘मध्यरातमा बाढी पहिरो आयो रे । धनेहरूको कोठा अर्कै थियो रे । भाग्ने बेलामा……………………… ।’

हस्ते द्विविधामा प¥यो । के भनौ के नभनौ । एकपल्ट उसलाई लाग्यो– ‘धने, बिर्खे, तुले, दुई जना बझाङ्तिरका मान्छे बसेर तास खेल्दै थिए मध्यरातसम्म । म कहिल्यै जुवा तास छुँदै नछुने मान्छे, उनीहरूले खेलेको हेर्ने र दारु, चुरोट, खैनी, गुठ्का जे भन्छन् त्यहि ल्याइदिने गर्थें । सबै रक्सी खाएर टिल्ल थिए । तासतिर कसैको ध्यान थिएन । मात्र पैसातिर थियो सबैको ध्यान । बेला बेलामा पैसा खोसाखोस हुन्थ्यो । धने दिनभरि जति कमाउँथ्यो, त्यसभन्दा बढी रातमा जाँड र तासमा सिध्याउँथ्यो । तास खेलेर कहिल्यै नहार्ने भनेका त बिर्खे–तुले मात्र हुन् । खै कसरी खेल्थे ? कहिल्यै नहार्ने । धनेलाई यो कुराको चित्त कहिल्यै बुझ्दैनथ्यो । बेलाबेलामा भनाभन भइरहन्थ्यो । त्यसदिन धनेले भन्यो ‘तिमीहरू दुई भाइ सँगै बसेर खेल्ने भए म खेल्दिन ।’ यस्तैमा भनाभन भयो । तुलेले धनेको कठाल्नो समातेर पहिलाको बाँकी पैसा तिर्न वा चुपचाप खेलिरहन भन्यो । धनेलाई अलि बढी नै लागेको थियो, ऊ डङ्लङ्गै अगाडि ढल्यो, च्यापु तास खेलिरहेको दरीमा घिसारियो । नाकबाट रगतै आयो । त्यतिबेलासम्म ख्याल ख्यालजस्तै थियो । नाकबाट रगत आएको देखेपछि धनेले पनि एक चोट हिर्कायो र भन्यो ‘हिजोका चल्लाहरू हो तिमीहरू । यस ठाउँमा बसेको बीसौं वर्ष भइसक्यो । तिमीहरूको लास बेपत्ता पारिदिएँ भने पनि कसैले केही भन्दैन मलाई ।’ बिर्खेले पनि हात छोड्न थालेपछि बझाङी उठेर हिंडे । मैले छुट्याउने हर प्रयास गरें । तर मेरो के लाग्थ्यो जण्ड दुई भाइका अगाडि ? धने खुट्टा टेक्न सक्ने अवस्थामा थिएन, दारुको नशाले । फेरि बिर्खे र तुलेका लात्ता र घुस्सीले ऊ उठ्नै सकिरहेको थिएन । मध्यरातमा कसको हार गुहार माग्न जानु ? भएका दुईजना पनि हिंडिहाले । धने लखतरान मरेतुल्य सुतिरह्यो । म त्यस रात त्यहीं सुतें । यो बाढी पहिरो आउने दुई दिन पहिलाको कुरा हो । बिहान उठ्ने बेलासम्म धने जहाँको त्यहीँ थियो । न बोल् न चाल् । म काममा लागें ।’ भनी दिउँ कि भनेर । तर उसलाई आँट आएन । एक किसिमको डर थियो उसमा ।

खर्दारनी र बलबीरेका बीचमा कुरा भइरहेकै थियो । ‘मकै छर्ने काम जेनतेन गरें । अब रोपाइँ हुन्छ धमाधम । पहिलाजस्तो जाँगर अब छैन, नत्र सबै एक्लैले गरेकै हो । अब त बाटो हेर्ने बाहेक अरु उपाय पनि छैन ।’ –बलबीरे निन्याउरो मुख लाएर भन्दै थियो ।

हस्ते आफ्नै सोचाइमा मग्न थियो– ‘भोलिपल्ट धनेलाई कतै नदेखेपछि म फेरि गएँ । धने त्यही ठाउँमा सुतिरहेको थियो । मैले उठाउन खोजें, तर बिर्खेले आराम गर्न दिन भनेपछि उठाइन । बिर्खे भन्दै थियो, टाउको दुख्ने र ज्वरो आउने गरेको छ, सिटामोल ल्याएर खान दिएको, खाना खाएको छैन भनेर । ऊ खुट्टा खुम्च्याउने र टाउको हल्लाउने चेस्ठा गरिरहन्थ्यो । बझाङीहरू कोठामा थिएनन्, ताल्चा लगाइएको थियो उनीहरूको कोठामा । मुसलधारे पानी दुई तीन दिनदेखि लगातार परिरहेको थियो । त्यसको भोलिपल्ट रातमा त्यो दैवी प्रलय आयो । सबै थोक गङ्गामा समाहित भयो ।’
खर्दारनीलाई पनि ढाढस दिनु बाहेक अरु केही सुचेन र भनिन्– ‘देवी–देउता दाहिना भएर आज–भोलि टुप्लुक्क आइदिए त हुन्थ्यो । पैसा जाबो हातको मैला हो, आज आउँछ, भोलि जान्छ । ज्यान बाँचे लाखै । चिन्ता मान्नु पर्दैन, धने अरुजस्तो लाटो होइन, ढुङ्गामाथि पछारे पनि नमर्ने मान्छे, बाटो हेर्दा हेर्दै आइपुग्छ । जानुस्, निश्चिन्त भएर बस्नुस् ।’
बलबीरे र हस्ते बाटो लागे । दुबैका मनमा भिन्न भिन्न तर्कनाहरू खेल्दै थिए ।

११ असार, २०७०, वाफल, काठमाडौं

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.