‘तपाईंको नाम ?’
‘क्रान्ति ।’
उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु व्यवस्था विरोधीहरु हुन्छन् । पञ्चायतका विरोधीहरु । त्यसैले धेरै त उनीहरुका झुट्टा मुद्धाहरु हुन्छन् । राजाका मान्छेहरुलाई आफ्नो विरोधी थान्को लाउने ठाउँ भएको छ यो जेल । सजिलो छ । कसैलाई मन परेन कि चुक्ली लाइदियो । व्यवस्था विरोधी मुद्धा हालिदियो र जेल पठायो । गतिला र पढेलेखाहरु जेलभित्रै छन् । दुर्जनहरु बाहिर छन् र सज्जनहरु जेल लखेटिएका छन् ।
उसलाई केही दिनअघि मात्र यो जेलमा ल्याइएको थियो । उमेरले ऊ भर्खरको देखिन्थ्यो । मलाई काका भन्थे । फरासिला थिए । रमाइलो स्वभाव । बोली मीठो थियो । मेरो आठ वर्षसम्मको यो जेलको बासले पनि यहाँ आउनेहरु को के भनेर उनीहरुको बोली व्यवहारबाट उनीहरुको स्वभावको हेक्का राख्न सक्थें । उनीहरुको सामान्य जीवन व्यवहारको कुराले मलाई पनि उनीहरु जत्तिकै प्रशिक्षित बनाइसकेको थियो । उनीहरु जेलभित्र क्रान्तिका कुराहरु गर्थे । परिवर्तनका कुराहरु गर्थे । व्यवस्था फेर्ने कुरा गर्थे ।
म क्रान्तिकारी थिइनँ । उनीहरुझैं व्यवस्था फेर्ने कुरा गरेर जेल परेको पनि थिइनँ । परिबन्दले जेल पु¥यायो । अहिले लाग्छ परिबन्द आफै बन्दो रै’नछ । व्यवस्थाका टाठाबाठाहरुले बनाउँदो रै’छ । सायद गाउँका पर्धानसँगको झगडा नहुँदो हो त यसरी म यो जेलभित्र हुन्नथे हुँला । ममाथि यो द्रोहको मुद्धा पनि हुँदैनथ्यो होला । अहिले पो यसो बुझ्छु यो सबै पर्धानको जालसाजी थियो ।
एकदिन मैले सोधें क्रान्तिबाबुलाई – ‘बाबुको मुद्धा के नि ?’
किताब पढ्दै थिए उनी । मलाई हेरेर फिस्स हाँसे । उनको हाँसोले मलाई अप्ठ्यारो बनायो । मैले नसोध्नु पो पथ्र्यो कि झैं पनि एकमन लाग्यो । मनमा अड्याएर राख्न नसक्ने मेरा प्रश्नहरुले उनको पढाइलाई असहज बनायो कि ? झैं लाग्ने घरीघरी ।
‘काकालाई म मेरो कथा भन्छु ।’ अलिबेरपछि उसले किताबलाई बन्द ग¥यो र मतिर फर्किएर भन्यो । यतिले नि मेरो मन रमायो । उसले हलुकापूर्वक आफूले बसिरहेको आसनलाई परिवर्तन गरे । र पलेटी कसेर हातले भुइँमा टेका लाएर बसे । उसको अनुहारको मुद्रामा विगतको एउटा कथा खेल्यो ।
र मैले उत्सुकतापूर्वक उसलाई हेरिरहें ।
००००
‘रमेश ….. ’
परबाट आएको एउटा चर्को स्वर मेरो काननिर ठोक्कियो । र, त्यो स्वर पर पहाडको भित्तामा ठोक्किएर प्रतिध्वनित हुँदै तल मस्र्याङ्दीको किनारतिर हावामा लहराउँदै हरायो । जोत्दै थिएँ म । अडिएँ । र, त्यो स्वरलाई पछ्याएँ । कान्लाहरु फाल हान्दै निकै हतारले मतिर दौडदै आइरहेको त्यो आकृतिलाई अलि वर आइपुगेपछि मैले ठम्याएँ, विष्णु थियो । निकै अताल्लिएको देखिन्थ्यो । छिट्छिटो दौडन खोज्दा उसका खुट्टाहरु अल्झिएर ऊ लड्थ्यो । मैले एउटा असामञ्जस्यताले उसलाई हेरिरहेँ । र अल्मलिएँ । थुप्रै आशङ्काहरुले मेरो अघिल्तिर सर्पहरुले झैं फँणा उचाल्यो । र, एउटा अनिष्ट आँखाअघि खेल्यो ।
ऊ हस्याङ्ग र फस्याङ्ग गर्दै मेरोअघिल्तिर आइपुग्यो र मेरो हातलाई च्याप्प अँठ्यायो । बेस्सरी अताल्लिएको थियो । सास फुलिरहेको थियो । केही बोल्न सकिरहेको थिएन । उसको त्यो असामान्य अवस्थाले एउटा अज्ञात परिस्थितिको अप्रिय घट्नाको सङ्केततिर धकेल्योे मलाई । मैले उसलाई नियालें ।
र, हठात् सोधें– ‘के भो ?’
‘चन्द्रमाथि ……….. गुण्डाहरुको आक्रमण ……. ।’ उसको सास अड्कियो । उसले एकसासले बोल्न पनि सकेन । बोल्नलाई जोड गर्दै थियो, खोकी निस्क्यो ।
उसको अनुहारमा भय स्पष्ट देखिन्थ्यो । शरीरभरि दर्फरिएका चोटहरु थिए । शरीरका केही ठाउँहरुमा गहिरा घाउहरु देखिन्थे । रगताम्मे । हेर्दा ती सामान्य चोटहरु लाग्दैनथे । कसैेले हतियारले हिर्काएजस्तो लाग्थ्यो । उभिनै पनि गाह्रो हुने गरी ऊ धर्मराइरहेको थियो । उसका ओंठहरु थर्थराइरहेका थिए । आँखाहरुले डरभन्दा पनि सायद बढी आक्रोश पोखिरहेका थिए ।
‘तल बजारमा … गुण्डाहरुले …. चन्द्रको हत्या ।’ उसले अरु बोल्न खोज्यो ।
चन्द्रको हत्याको यो अप्रत्यासित खबरले मलाई एकचोटि लल्याकलुलुक बनायो । एउटा गहिरो शुन्यताले एकैछिन छोप्यो हामी दुवैलाई । मैले विष्णुलाई हेरिरहें, अव्यक्त । सायद म उसका आँखामा चन्द्रको मृत्युको एउटा विश्वसनीयता खोजिरहेको थिएँ । उसका आँखाहरु निकै हतास देखिन्थे, छट्पटी खेलिरहेका । उसका ती आँखाहरुले मलाई झस्काइरह्यो । सयौं बिच्छीहरुले एकैचोटि मेरो मस्तिष्कमा खील गाडेझैं एउटा विक्षिप्ततामा मैले उसलाई बेस्सरी समातेँ । र, हलोलाई ढुङ्गाको एउटा कापमा अड्काएर विष्णु र म बजारतिर हान्नियौं, एउटा आवेगले । बजार पुग्दा सडक सुनसान थियो । सबै पसल र घरका ढोकाहरु बन्द थिए । घरका झ्यालहरु समेत कतै खुलेका देखिँदैनथे । मान्छेहरुको उपस्थिति कतै पनि देखिँदैनथ्यो । र, सम्पूर्ण बजार नै गहिरो आतङ्कमा डुबेको थियो । भयङ्कर आँधीले भर्खरै मडारेर गएपछिको एउटा श्मशान क्षणझैं देखिन्थ्यो बजार । संत्रस्त । केहीक्षण अघि गुण्डाहरुको जत्थाले यो बजारमाथि गरेको ताण्डव बुझ्न अब मलाई बेर लागेन ।
हामी चन्द्रको पुस्तक दोकानतिर दौडिरहेका थियौं । चन्द्रलाई खोज्नु थियो । र, उसको अज्ञात अवस्थाको बारेमा खोजी गर्नु थियो । बजारमा हामीलाई हिँड्नु सहज छैन भन्ने पनि मैले बुझें । बजारको यो परिस्थिति हाम्रो लागि सुरक्षित छैन भन्ने पनि मलाई लाग्दै थियो । नभन्दै एउटा घुम्तीनिर आइपुग्दा पछाडिबाट हान्निँदै आएको एउटा जीपले घच्याक्क हामीलाई बाटो छेक्यो । एउटा अनपेक्षित दुर्घट्नाले गाडीमा ठोक्किनबाट जोगिएर हामी पर उछिट्टियौं । र, भुइँमा बजारियौं । भुइँमा बजारिएको चोटले म रनाहामा परें । आँखाहरु तिरमिराए । कान डम्म थियो । जिउ शितलाङ्ग बन्यो । एउटा कालो अँध्यारोले मेरो आँखाअघिल्तिर विस्तारै छोप्यो । र, मलाई लाग्यो ऐंठनजस्तो एउटा कालो अज्ञात भारले म विस्तारै थिचिँदै छु ।
र, त्यो भारले थिच्चिनबाट जोगिन मैले बेस्सरी बल गरेर आफूलाई जमीनबाट जुरुक्क माथि उठाएँ र उभिएँ । मैले सबै शक्तिलाई केन्द्रित गरेर पाइतालालाई दरो गरी जमीनमा टेकेँ । जीपभित्रबाट उठेको एउटा अराजक अट्टहासको हाँसो विस्तारै मेरो अघिल्तिर खेल्यो ।
‘एई हो ।’ एउटाले मतिर इङ्गित ग¥यो । मानौं त्यहाँ भएकाहरुमध्ये ऊ मलाई राम्ररी चिन्छ । ऊ सुराकी हो र त्यहाँ मेरो सुराकी दिइरहेछ ।
मैले विस्तारै त्यो जत्थाभित्र नियाँले । कोही छुरा खेलाइरहेका थिए । कसैको हातमा साइकलको चेन थियो । कोही लाठी समाइरहेका थिए । कोही फलामका रडहरु बोकिरहेका थिए । मानौं हत्याका लागि उद्यत रक्तपिपासुहरु थिए तिनीहरु । र त्यहाँ उनीहरुको उन्मादको चर्को कोलाहल थियो । पुरै बजारलाई आतङ्कित गरेर मृत्युको क्रीडा खेलिरहेका यी गुण्डाहरु मेरो हत्याको एउटा अर्को उत्सव खेल्न खोज्दै थिए । तिनीहरु मलाई विस्तारै घेर्दै थिए र मेरो नजिकै तिनीहरुका मुखबाट आएको रक्सीको चर्को गन्ध छरिएर उठिरहेको थियो ।
‘अई बजाइहाल न ।’ जीपबाट आएको एउटा चर्को स्वर थियो ।
जिरिङ्ग भएर आङ् फुल्यो । अघिल्तिर मृत्युको एउटा भयावह रुप थियो । र मलाई त्योसँग सामना गर्नु थियो । मैले बलियो गरी आफ्नो मुठ्ठीलाई कसें । कायरतापूर्वक मैले यिनीहरुबाट भाग्न चाहिनँ । मलाई थाहा थियो म भागें भने पनि यिनीहरुबाट लखेटिएर मारिनेछु । र नभाग्दा यिनीहरुसँग प्रतिरोध गरेरै मर्नेछु । कम्तिमा पनि यो मेरो एउटा साहसको मृत्यु त हुनेछ । यिनीहरुका एक दुईजनालाई पनि त जिउँदो छाड्दिनँ । एक मनले सोचें ।
तिनीहरु मलाई हेरेर त्यहाँ एकअर्कासँग व्यङ्ग्यपूर्वक भन्दै थिए–
‘यसलाई नि आजै मर्नु लेखेछ ।’
‘विचरा ।’
‘त्यो काँडे लौरोले यसको शरीर छिल्न ओई ।’
‘एकैचोटि चाँहि नहान् है ।’
‘थिल्ल्या न, थिल्ल्या ।’
तिनीहरु मलाई आतङ्कित बनाउँदै थिए । र शारीरिक र मानसिक रुपमा मलाई थकाउँदै र कमजोर बनाउँदै थिए । त्यसैबेला पछाडिबाट एकजनाले मलाई बेस्मारी लात्तो हान्यो ।
‘कायर कुकुरहरु, सक्छौ भने अगाडि छातीमा आएर मलाई लात्तो हान ।’ म चिच्याएँ । क्रोधले मेरा दुबै मुठ्ठीहरु उचालिएर तिनीहरुतिर उठे । र, तिनीहरु एकैचोटि ममाथि खनिएर चेन र लाठीहरुले मलाई पिट्न शुरु गरे । तिनीहरुलाई छेक्ने र प्रतिरोध गर्ने मेरा सबै उपायहरु निरीह हुँदै थिए । र म शिथिल बन्दै थिएँ । ठिक यति नै बेला माथि डाँडाबाट मान्छेका चर्को कोलाहलपूर्ण आवाजहरु सुनिए । जुलुुुस थियो । नारा लगाउँदै थिए र उनीहरु तल बजारतिरै ओर्लिरहेका थिए ।
‘सालेहरु आइपुगे ।’ एउटाले करायो ।
‘गाडी छिटो स्टार्ट गर । तेरा बाजेहरु आइपुगे ।’ तिनीहरु हतासपूर्वक गाडीतिर दौडिए ।
एकैछिनमा जीप सडकको धुलो उडाउँदै त्यहाँबाट कुद्यो । म झटपट उठें । विष्णुको ख्याल आयो । केहीपर ऊ अझै निश्चल लडिरहेको थियो । बोलाएँ । झक्झक्याएँ । ऊ बेहोस थियो । त्यतिन्जेलसम्म जुलुस हामी नजिकै आइसकेको थियो । जुलुसको अगाडि दिनेश र दिलीप थिए ।
‘के भो ?’ दिनेश अत्तालिएर मेरो नजिकै आइपुग्यो ।
‘बेहोस छ ।’ मैले छोटो जवाफ दिएँ ।
उसले एकपल्ट चारैतिर निरीक्षण ग¥यो र सोध्यो– ‘चन्द्र खोई ?’
‘थाहा छैन । हामी पनि उसलाई खोज्दै यहाँ आइपुगेका थियौ । एक्कासी गुण्डाहरुले हामीलाई घेरा हाले ।’ मैले उसलाई घटनाको यथार्थता बताउँदै भनें– ‘यी सबै घटना पछि बताउँला । पहिले त चन्द्रलाई खोज्नु प¥यो ।’
विष्णुलाई लिएर केही साथीहरु नजिकैको मेडिकलतिर दगुरे । हामी चन्द्रलाई खोज्दै पुस्तक पसलतिर लाग्यौं । दोकानका सबै सामानहरु लथालिङ्ग र भत्काइएका थिए । सोकेस र दराजका सिसाहरु फुटालिएका थिए ।
‘कहाँ लगे होलान् ती पिपासुहरुले चन्द्रलाई ? कतै हत्या गरेर फ्याँकिदिए कि ?’ दिलीपको शङ्का थियो । सबैको आँखामा आक्रोश र चिन्ता थियो । त्यतिन्जेल बजारका पसलहरु विस्तारै खुलिसकेका थिए । केहीक्षणअघिको बजारको मौनता अब विस्तारै आक्रोशमा बदलिदै थियो र
त्यहाँ मान्छेका भीडहरु जम्मा हँुदै थिए । चन्द्रलाई खोज्ने क्रम चलिरह्यो । भीड विस्तारै जुलुसमा परिणत भयो र नाराबाजीहरु शुरु भए –
‘गुण्डागर्दी – बन्द गर ।’
‘नालायक सरकार– मुर्दावाद ।’
‘हत्यारालाई – कारवाही गर ।’
‘हाम्रो साथी – फिर्ता दे ।’
नाराबाजी गर्दै जुलुुस अगाडि बढ्यो । जुलुस चोकनिर पुगेपछि अचानक प्रहरीको भ्यान आएर हाम्रो अघिल्तिर घच्च्याक्क रोकियो । २०÷२५ जना हतियार बोकेका प्रहरी भ्यानबाट ओर्लिएर जुलुसलाई छेक्न अगाडि बढे । नारा झन् चर्क्यो । प्रहरीले जुलुसको भीडलाई रोक्न सकिरहेको थिएन । र, भीड प्रहरीको अवरोधलाई धकेल्दै अगाडि बढ्दै थियो । भीड शान्त नहुने देखेपछि प्रहरीका नाइके आत्तियो र उसले थप प्रहरी फोर्सको माग ग¥यो । एकैछिनपछि प्रहरीको थप फोर्स बोकेको एउटा ट्रक आइपुग्यो र असी सय जनाको शसस्त्र प्रहरीहरु ट्रकबाट ओर्लिए ।
‘ठोक ……।’
प्रहरी अधिकारीको एउटा आदेशसँगै प्रहरीका असङ्ख्य लाठीहरु भीडमाथि बज्रन थाले । छिनभरमै बजार एउटा अर्को युद्धग्रस्त क्षेत्र बन्यो । भीडले प्रहरीका लाठीहरुसँग सामना र प्रतिरोध गरिरहे । प्रहरीका अश्रुग्याँसहरु चले । अश्रुग्याँसको धुवाँले पुरै बजारलाई छोप्यो । आक्रान्त बन्यो भीड र अश्रुग्याँसलाई छल्न भीड यता र उता छरियो । मैले भीडलाई सम्हाल्न एउटा सानो ढिस्कोमाथि उभिएर आफ्नो हातलाई हल्लाएँ । पछाडिबाट मेरो पिठ्युँमा एउटा बलियो लाठी बज्रियो र हलचल गर्न नसक्ने गरी म बेस्सरी भुइँमा बजारिएँ । दुईतीन जना प्रहरीहरुले मलाई बेस्मारी अँठ्याए र मलाई घिसार्दै ट्रकमा कोचे । अरु धेरै साथीहरु पनि त्यहाँ समातिएका थिए ।
हाम्रो गिरफ्तारी र जुलुसको भीडको उत्तेजनाले हामीलाई धेरैबेर राखेनन् र हामीलाई बोकेर ट्रकलाई त्यहाँबाट हिँडाइयो । साँझ पर्दा सदरमुकामको जिल्ला प्रहरी कार्यालयको अघिल्तिर चौरमा हामीलाई ओरालिए र गोदामजस्तो एउटा चिसो साँघुरो कोठाभित्र लगेर हामी थुनियौं । हाम्रो लागि त्यो साँघुरो कोठा सजिलो गरी बस्न सक्ने अवस्थाको समेत थिएन । पालैपालो गरी हामी रातभरि कोही बस्ने र कोही उभिने गरिरह्यौं । भोकै रह्यौं । पानी समेत दिइएन । तिर्खाले हामीलाई रातभरि अँठ्याइरह्यो । थकाइ र निद्रा उस्तै थियो । कोठामा बत्ती थिएन । र बाहिर कतैबाट पनि त्यो कोठासम्म आउने उज्यालो थिएन । अँध्यारोमा मान्छे खोकेको र खस्र्याकखुसुक आवाजले बाहिरबाट प्रहरीहरु हामीलाई कडा निगरानी गरिहेका छन् भन्ने हामीलाई लाग्यो ।
भोलिपल्ट डिएसपी कार्यालय अघिको चौरमा हामीलाई उभ्याइएको थियो । बाहिर जेठको मध्यान्हको चर्को घाम थियो । र भित्र सोधपुछ कोठामा सोधपुछ चल्दै थियो । डिएसपी एकएक गरेर बोलाउँदै सोधपुछ गर्दै थियो । उसको अभद्र गाली बाहिरसम्म सुनिन्थ्यो । उसका लाठीहरु यातनापूर्वक साथीहरुको जिउमाथि बर्षन्थ्यो । र साथीहरुको मुर्छामा डुबेको स्वर बाहिरसम्म आउथ्यो । त्यो चर्को घाम हाम्रो निम्ति यसै पनि एउटा कठोर यातना थियो । भित्रबाट आएको साथीहरुका यातनाका चीत्कारहरुले बाहिरका साथीहरु आक्रोशित देखिन्थे ।
‘ओ पुलिस दाइ, पानी चाहियो ।’ एकजना साथी बोल्यो ।
अलिपर सियाँलमा उभिएर हामीलाई निगरानी गरिरहेको एकजना पुलिस करायो – ‘अई, त्यसले पानी मागेको होइन ? त्यसको मुखमा एकपल्ट मुति दे त ।’
‘पातकीहरु ।’ त्यसका शब्दहरुले असह्य भएपछि अर्को साथी मुर्मुरियो ।
‘यो चर्को घाममा हामीलाई मार्न उभ्याएको ?’
‘ओई, त्यसको ढाँडमा खुस्किने गरी हान न । त्यो किन करा’को ?’ अघिल्लो प्रहरीको त्यो आदेशको स्वर थियो । नजिकै बसेको प्रहरीको लाठी अनायासै साथीको तिघ्रामा बेस्मारी बज्रियो । साथी इन्तु न चिन्तु भएर थचक्क बस्यो । नजिकैको साथीले प्रहरीको लाठी खोसेर पर हुत्याइदियो ।
‘तिमीहरुसँग मान्छेको दया छैन ?’ ऊ करायो
निकैबेरसम्म त्यहाँ प्रहरीसँगको हाम्रो छिनाझपटी चलिरह्यो । र हामीमाथि लाठीहरु प्रहार भए । एकैछिनपछि एकजना साथी उभिँदाउभिँदै डङ्ग्रङ्ग भुइँमा लड्यो । सायद चर्को घामको यातनालाई सहन सकेन र ऊ बेहोस भएर लड्यो । दुईजना साथीहरुले उसलाई बोकेर सियाँलतिर लगे ।
‘पानी ल्याउ, पानी ल्याउ ।’ साथीहरु भन्दै थिए ।
केही प्रहरीहरु उनीहरुनिर आए ।
‘अई जा, पानी ल्याइज ।’ एउटा प्रहरीले अर्कोलाई आदेश ग¥यो ।
‘तिमीहरु लाइनमा जा ।’ उसले साथीहरुलाई फेरि कडा स्वरमा भन्यो । साथीहरुलाई पूर्ववत उभिइरहेको देखेर ऊ फेरि चिच्यायो– ‘सुन्दैनस् ?’
त्यो पुरै दिन त्यो यातनाले बित्यो । बेलुकी हामीलाई दुई छुट्टाछुट्टै समुहमा बाँडियो । एउटा समुहमा कृष्ण, दिलीप र म लगायत बाह्र जना थियौं । अँध्यारो खसेपछि हामीलाई हिजोकै त्यो साँघुरो कोठाभित्र पठाइयो । बाँकी साथीहरुलाई कहाँ पठाइए थाहा भएन । एक महिनासम्म त्यो कोठा हाम्रो निम्ति यातनाको कालो कोठा बनिरह्यो । कतैबाट अलिकति बाहिर चियाएर हेर्ने छिद्रसम्म पनि त्यहाँ हामीले पाएनौं । हाम्रो लागि प्रायः अँध्यारोमा खाना ल्याइन्थ्यो । खाना खाइन्जेल सानो टुकी बल्थ्यो । खाना खाइसकेपछि टुकी निभ्थ्यो ।
एकदिन दिउँसो हाम्रो निम्ति त्यो कोठाको ढोका खुल्यो । हामीलाई त्यहाँ त्यसरी एक महिना राखिएपछि हामीलाई अदालत लगिएको थियो । तर आँखामा कालो पट्टी बाँधेर समानताको तराजू बोक्ने न्यायालयको त्यो मुर्तिले हाम्रो शरीरका नीलडामहरुलाई देख्न सक्ने कुरा पनि थिएन । कानुन राजाको, न्याय राजाको र शासनप्रणाली राजाको । हामी यो राज्यमा राजाको विरोधी थियौं । अनि किन सुनुवाइ हुन्थ्यो हाम्रो चीत्कारको ? हामीलाई दुई वर्षको कैद सजाय सुनायो अदालतले । हामीमाथि विप्लवको मुद्धा थियो । शान्ति सुरक्षाको मुद्धा थियो ।
हामीलाई जेल चलान गर्ने अदालतको आदेश थियो र हामीलाई प्रहरीको भ्यानमा राखिएको थियो । तर अदालत बाहिर जमेको मान्छेको भीडबाट भने चर्का नाराहरु उठिरहेका थिए । हामीलाई लिएर प्रहरी भ्यान भीडलाई छिचोलेर अघि बढ्यो । भ्यान भीडबाट निकै पर पुगिसक्दा पनि नाराहरु गुञ्जिरहेको सुनिदै थियो ।
‘झुट्टा मुद्धा – खारेज गर ।’
‘हत्यारा सरकार – मुर्दावाद ।’
‘निर्दोष बन्दी – रिहा गर ।’
पछाडि फर्किएर कृष्ण भन्दै थियो – ‘साथीहरु, हेर्नोस् त क्रान्ति कहिल्यै मर्दैन ।’
हामी सबै एकपल्ट मुस्कुरायौं । र, न्याय र अन्यायको यो कुरुमैदानमा फेरि पनि भेट हुने सङ्कल्प गर्दै हामीले भीडतिर बिदाइका हातहरु हल्लायौं ।
०००००
ऊ बोल्दाबोल्दै एकैछिन अडियो । र एउटा उन्मुक्तको उच्छवास लियो ।
क्रान्तिबाबुको अनुहारमा दृढतापूर्ण हाँसो थियो यतिखेर । उसको आँखामा कतै पनि अलिकति विचलन थिएन । क्रान्तिप्रतिको एउटा दृढ विश्वास थियो उसको । र एउटा बलियो आस्था पनि । जेलभित्रका एकांकीहरुले कहिल्यै पनि उसलाई हतास बनाएन ।
‘र, त्यसपछि काका थुप्रै जेल सरुवाहरु भए । र, आज म यहाँ छु तपाईहरुसँग ।’– उसले भन्यो ।
एकैछिन ऊ मौन रह्यो । र, फेरि भन्यो– ‘हामीलाई अट्ने जेल पनि भएनन् । प्रशासनले हामीलाई कहिल्यै एउटा जेलमा राख्न चाहेनन् । हामी एउटै जेलमा बस्नु उनीहरुलाई डर हुन्थो ।’
र, ऊ हाँस्यो ।
एकदिन बिहानैदेखि क्रान्तिबाबु देखिएन । बिरामी पनि होइन । ऊ यहाँ खासै बिरामी भएर सुतेको थाहा छैन मलाई । ऊ अबेलासम्म सुत्ने मान्छे होइन । ऊ सुत्ने कोठामा पनि ऊ थिएन । दिउँसोसम्म पनि जेलभित्र उसको उपस्थिति कतै देखिएन । बोली पनि कतै सुनिएन । मेरो मनले उसको अनुपस्थितिमा एकप्रकारको रिक्त अनुभव गरिरह्यो । पछि मात्र थाहा लाग्यो, अघिल्लो रात नै उसलाई जेल सरुवाको लागि यहाँबाट लगिएछ ।
उसको जेल सरुवाको खबरले मेरो मन बोझिलो बन्यो । मध्यरातको उसको जेल सरुवाले मलाई छटपटी खेलाइरह्यो । खै ! किन मेरो मन खुलदुल खुलदुल बनिरह्यो । एउटा अपशकुनजस्तो आज रातीको सपनामा देखेको कालो आकाश मडारिएर मेरो आँखाअघिल्तिर खेलिरह्यो । आजको दिन जस्तो नरमाइलो मलाई कहिले लागेको होइन । साँझ छिट्टै ओछ्यानमा पसेर ढल्किरहें । रेडियोले साँझको समाचार फुक्यो– ‘क्रान्ति नाम गरेको बन्दी हिजो साँझ जेल सरुवा गर्ने क्रममा हिरासत तोडेर भाग्दा प्रहरीको गोली लागि मृत्यु ….. ।’
एकैचोटि खङ्ग्रङग भए म । एउटा बलियो भुकम्पले जेलको म बसेको छत भत्किएर ममाथिबाट मलाई सयौं भारहरुले च्यापिरहें झै सास लिनु पनि उकुसमुकुस बनाइरह्यो मलाई । एउटा औडाहा उठ्यो छातीभित्र । छटपटीहरुले मनलाई थीर हुन दिएन । कतिखेर आँखाबाट आँसु छुट्यो थाहा भएन । अँध्यारोमा एक्लै बर्बराइरहे –
‘क्रान्ति मर्दैन ।’
‘अहँ, क्रान्ति मर्दैन ।’
२०४९ फागुन २५
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )