कथा : देहघाटकी माया

~विनोदविक्रम केसी~Binod Bikram KC

प्रेमबाबुले मायालाई बजार बनाइदियो।
मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो।
‘मेरी गुलाब, मेरी गुलाब’ भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो।

राजधानीको शरीरहाटबारे म एउटा बुलन्द रिपोर्टिङ गर्न चाहन्थेँ। यहाँको सेक्स मार्केटको क देखि ज्ञ सम्म वृत्तान्त छापामा ल्याएर पत्रकारका रूपमा मलाई आफ्नो मार्केट भ्यालू बढाउनुथियो।

यही अभियानअन्तर्गत मैले एउटा देहघाटमा भेटेको थिएँ मायालाई। छ महिनाको संगत (संसर्ग सम्मिलित) पछि मात्र उसले आफूलाई उघारेकी थिई, मेरासम्मुख। म ऊमार्फत यौन बजारको सटिक सिनारियो बुझिरहेको थिएँ, ऊजस्ता हजारौँ मायाहरूको कथाव्यथा जानिरहेको थिएँ।

एकप्रकारले म मायासँग प्रेममा थिएँ। समागम प्रेमको एउटा आयाम त पक्कै हो। भनिहालेँ नि, स्वार्थप्रेरित थिएँ म। एक्काइसौँ शताब्दीका जटिलताहरूबीच प्रेम स्वार्थविहीन हुन बाध्य छैन। आदर्श फगत ‘कुरै त हो नि सम्धीज्यू’ भएपछि स्वार्थरहित प्रेम आफैँमा रोगी, अपुरो, त्रुटिपूर्ण र हास्यास्पद हुने जोखिम रहन्छ।

एक साँझ मैले मायालाई मदिराप्रदत्त भावुकतामा भनेँ, ‘आई रियल्ली लभ यू माया!’ मेरो ‘रियल्ली’मा सघन स्वराघात थियो।

उसले झर्काे मानेर भनी, ‘ग्राहक र वेश्याबीच प्रेम हुँदैन। सेक्स हुन्छ, केबल सेक्स।’

उसले भद्दा भाषामा धेरै थोक भनी। जसको तथाकथित भलाद्मी बेहोरा यस्तो हुन्छ– ‘ग्राहक वेश्यालाई पतनको रसातल ठान्छ र आफूलाई चाहिँ उत्थानको आकाश। ग्राहकले मुटु खोज्दैन, स्तन खोज्छ। उसले भावना होइन, भोग खोज्छ। संवेग होइन, सम्भोग खोज्छ।’

‘के म तिम्रा लागि ग्राहकमात्रै हुँ?’ म तिलमिलाएको थिएँ।

‘त्यसबाहेक तपाईं के हो त?’ उसले रुखो बोली।

‘म तिम्रो प्रेमी हुँ।’

‘रातको अँध्यारोमा सबै ग्राहक आफूलाई प्रेमी भन्छन्।’

‘म दिनको उज्यालोमा पनि भन्न सक्छु।’

‘कष्ट नगर्नुहोला।’

‘कम्तीमा हामी साथी त हौँ।’

‘छ महिनादेखि चिनजानमा छौँ। साथी त हौँ नि। साथी ठानेरै त तपाईंलाई मैले आफ्ना सबै कुरा सत्य–सत्य बताएकी हुँ।’

‘नामबाहेक।’

‘बाउआमाले राख्देको नाम मैले पनि बिर्सिसकेँ। हरेक पुरुषले मलाई एउटा नाम दिन्छ। अर्काे पुरुषले त्यो नाम नफेर्देसम्म म त्यसैले काम चलाउँछु। पुन्टी, भुन्टी, गोरी, काली, सानी, रानी, गाजली, फाजली…सयौँ नाम छन् मेरा। हाललाई मेरो नाम माया हो।’

०००

माया राम्री थिई। गाउँभरिकी राम्री। गरिबकी छोरी थिई। किनभने, गाउँभरि गरिबैगरिब थिए।

तरुनी हुँदै थिई। चौध पार गरेर पन्ध्रमा टेकेकी थिई। जिउज्यानको सुन्दर टापू तयार हुँदै थियो। र, अंग्रेजी पढाउने सरले कहिले स्पेलिङ नमिलेको निहुँमा, कहिले ह्यान्ड राइटिङ बांगोटिंगो भएको निहुँमा मायाको शरीरमा हात बत्ताउन थालेको थियो। नयाँ टापूमा आधिपत्य जमाउन हत्ते हाल्ने अंग्रेजहरूको भाषा पढाउने सर मायाको शारीरिक भूगोलमा ध्वजोत्थान गर्न व्यग्र थियो। उत्तिकै व्यग्र थियो, गाउँमा पहिलोपटक डोजर लिएर बाटो खन्न आएको ठेकेदार। अनि, थरी बा। अनि, उद्दण्ड केटाहरू। अनि, जडीबुटी साहूजी। अनि…अनि… अनि…। र, यी सारा बद्नियतपूर्ण हेराइहरूलाई माया सराप्थी मनमनै, ‘मुर्दाे, मरे नि हुन्थ्यो!’

एक दिन मायाको आँगनमा झुल्कियो प्रेमबाबु। उसको खलकले गाउँ छोडेको युगौँ भइसकेको थियो। गाउँको ठूलो मान्छे। काठमाडौँमा पनि ऊ ठूलै मान्छे थियो। घर ठूलो थियो, ठूला मान्छेहरूसँग संगत थियो। ठूलठूला काममा सक्रिय थियो र छ। राजनीतिमा, व्यापारमा, गुण्डागर्दीमा, धार्मिक गतिविधिमा। बेथितिग्रस्त मुलुकको ऊजस्तो परम छट्टु नागरिक जेमा पनि सक्रिय हुन्छ।

वर्षमा एकचोटि गाउँ पुग्छ प्रेमबाबु। पैतृक सम्पत्तिको आम्दानी असुल्न। खेतीपातीको हरहिसाब लिन। गाउँलेको दोहोलो काढ्न। रबाफ जमाउन। सबै गाउँले ऊदेखि थर्कमान हुन्थे भन्ने होइन। धर्मराज थापाले उहिल्यै गाएको ‘प्रजातन्त्रको काफल पाक्यो हजुर’ कण्ठस्थ गरेका गाउँले पनि थिए। अनि रामेशको ‘गाउँगाउँबाट उठ’ पनि उनीहरूले सुनेकै थिए। केही जनसँग यति हिम्मत त थियो कि उनीहरू भन्थे, ‘प्रेमबाबु, यो लोकतन्त्र हो। ठूलाबडाले मनपरी गर्ने दिन गए। गरिबका पनि केही अधिकार छन्।’

लोकतन्त्रले गरिबहरूलाई केही अधिकार दिएको छ, केही सुविधा दिएको छ। जस्तो, छनोटको सुविधा। उनीहरू कांग्रेस नभए एमाले, एमाले नभए माओवादी, माओवादी पनि नभए अर्काे वादी छनोट गर्न सक्छन्। तर, गरिबले गरिबी र सम्पन्नताबीच छनोट गर्न पाउँदैन। उसले दुइटा गरिबीमध्ये एउटा गरिबी छनोट गर्नुपर्छ। उसले दुइटा दुर्दशामध्ये एउटा छान्नुपर्छ। दुइटा दुर्भाग्यमध्ये एउटा रोज्नुपर्छ।

मायाको बाउलाई पनि प्रेमबाबुले छनोटको लोकतान्त्रिक सुविधा प्रदान गर्योछ– ‘कि मायालाई काठमाडौँमा मेरो घरमा काम गर्न पठाइदे कि मेरो खेतबारी कमाउन छोड्।’

मायाको बाउ संकटमा पर्योब। उसको परिवारको माड संकटमा पर्योन। छोरीलाई पठाऊँ भने प्रेमबाबुको स्त्री शिकारी चरित्र दुनियाँलाई थाहा छ, नपठाऊँ भने परिवारको भात टुट्ने भो। तीन छोरालाई लेखपढ गराएर खर्दार–सुब्बा बनाउने विराट सपना पनि टुट्ने भो। माया र उसकी बहिनीका सन्दर्भमा उसले त्यति भविष्य चिन्तन गरेको थिएन। गर्न जरुरी पनि ठानेको थिएन। बस, छोराहरूलाई समर्थ बनाउनुथ्यो, छोरीहरू त एकजना टिपेर गइहाल्छन्।

र, यसरी प्रेमबाबु भन्ने हुँडारलाई शिकार सुम्पियो मायाको बाउले। अत्तरप्रेमी प्रेमबाबुलाई गुलाबको भेट!

०००

सात वर्षसम्म माया प्रेमबाबुको घरमा बसी। कुचो लाउँथी, भात पकाउँथी, बगैँचा र करेसाबारीमा गोडमेल गर्थी, लुगा धुन्थी, तरकारी किन्न जान्थी, सबै थोक गर्थी।

र, रातमा ऊ केही पनि गर्दिनथी। जे गर्थ्यो, प्रेमबाबुले गर्थ्यो। ऊ त बस आँशु झार्थी। पीडाका आँशु, घृणाका आँशु। सम्पूर्ण जगत्प्रति कटुताभावको आँशु।

भनिराखोस् धर्मशास्त्र, ‘आत्मा नष्ट हुँदैन, देह नष्ट हुन्छ।’ मायाको देह बाँकी थियो, आत्मा नष्ट भएको थियो।

प्रेमबाबु रातभरि मायालाई बलात्कार गर्थ्यो। बिहान पूजापाठ गर्थ्यो। महाकाली, भद्रकालीहरूको आराधना गर्थ्यो।

बलात्कारका दौरान ऊ मायासँग थुप्रै प्रतिज्ञा गर्थ्यो। दोहोर्याठइरहन्थ्यो, ‘तँलाई मेमसाहेब बनाउँछु, मोरी।’ मेरी रानी भन्थ्यो, मेरी गुलाब भन्थ्यो। मायालाई मधुबालादेखि कटि्रनासम्मको हैसियत दिन्थ्यो।

प्रेमबाबुको अटल मान्यता थियो– ऊजस्तो ठूलो मान्छेको व्यभिचार व्यवस्थापनकै लागि मायाहरूको जन्म भएको हो। त्योबाहेक गरिबका सुन्दर छोरीहरूको जन्मको अर्को प्रयोजन के हुन सक्छ?

मायाले थाहा पाई– यो शहरमा प्रेमबाबुभन्दा ठूला मान्छेहरू पनि थिए। प्रेमबाबु उनीहरूसँग बडो अदबका साथ झुक्थ्यो। र, उनीहरूलाई भेट चढाउँथ्यो– माया।

माया कहिलेकाहीँ सोच्थी– पुलिसकहाँ जान्छु।

प्रेमबाबुको मालीकी बुद्धिमति पत्नी मायालाई सम्झाउँथी, ‘के गर्छेस् मोरी, पुलिस पनि प्रेमबाबुकै हो, मिल्ट्री पनि प्रेमबाबुकै हो, सरकार पनि प्रेमबाबुकै हो।’

र, एक दिन धर्मकर्ममा विघ्नै विश्वास गर्ने प्रेमबाबुलाई लाग्यो– यो संसार मायामोहको जञ्जाल हो। मायामोहबाट अब मुक्त हुनुपर्छ।

उसले मायालाई उपत्यकामा सेक्स र्या्केट चलाइरहेकी एउटी खुँखार महिलाको जिम्मा लगाइदियो। र, माया मोहबाट मुक्त भयो।

०००

पर्सि भ्यालेन्टाइन्स डे।

म मायासँग सिभिल मलमा छु।

सिभिल मलमा अर्कै नेपाल फर्या कफुरुक गरिरहेको छ। अर्कै नेपाल मतलब पैसा भएको नेपाल, सुकिलो नेपाल, फरर अंग्रेजी बोल्ने नेपाल, एक दर्जन फ्लेभरको आइसक्रिम खाने नेपाल, मस्त रमाउने नेपाल, उन्मुक्त हाँस्ने नेपाल। अर्कै नेपाल अर्थात् दुःखी नेपालको बिलकुल विपरीत नेपाल।

‘ओ कवि, यसपालिको भीडेमा त मलाई भिœयाउलास् नि?’ फेसबुकमा मेरी भर्चुअल प्रेमिका मेसेज गर्छे। मैले उसलाई प्रतिष्ठाको लागि प्रेमिका बनाएको हुँ। एउटी भर्चुअल प्रेमिका नहुनु प्रविधि युगको युवाका लागि सबैभन्दा ठूलो बेइज्जती हो।

म सन्देश फर्काउँछु– ‘म अहिले एउटी वेश्यासँग छु। रियल प्रस्टिट्युट, भर्चुअल होइन।’

‘फ… यू बास्टर्ड!’ ऊ तुरुन्तै फर्काउँछे।

‘फ… यू बिच!’ म पनि तुरुन्तै फर्काउँछु।

भ्यालेन्टाइन सप्ताह मनाइरहको छ शहर। आज हग डे। अंकमाल दिवस। सिभिल मलको प्रांगणमा अँगालोमग्न जोडीहरू असंख्य छन्।

‘दिक्क लाग्यो, न्युरोडतिर जाऊँ,’ माया भन्छे।

‘बसौँ न एकछिन, रमाइलो हेरौँ न,’ म भन्छु।

‘के रमाइलो छ र? सब नाटक गरिराछन्,’ ऊ जंगिन्छे।

हामी न्युरोडतिर सोझिन्छौँ। काठमाडौँ मल नपुग्दै, हरियो घुम्ती शौचालयनजिक एउटी बच्चीको याचनाग्रस्त स्वर लाउडस्पिकरमा घन्किन्छ– ‘आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू!

हाम्रा धनुषा जिल्ला घर भई हाल काठमाडौँ, अनामनगर बस्दै आएका श्याम मगरको अकस्मात् दुवै मिर्गाैलाले काम नगरेको हुनाले र यस परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले र उपचारको लागि हजुरहरूको सहयोग अमूल्य भएको हुनाले सबै महानुभावहरूमा सहयोग गरिदिनु हुनका लागि हार्दिक–हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूको सहयोग नै अमूल्य हुनेछ। हजुरहरूको सहयोगले कसैको ज्यान बच्नेछ। सहयोग नै सबैभन्दा ठूलो धर्म हो। आफू पनि बाँचौं र अरूलाई पनि बचाऔँ। धन्यवाद।’

भित्तामा टाँसिएको फ्लेक्सबोर्डबाट श्याम मगर बटुवाहरूलाई नियालिरहेको छ। सायद मानवताको अनुहार नियालिरहेको छ। सायद राज्यको अनुहार नियालिरहेको छ। उसका आमाबाउ सीता र जीतबहादुरका अनुहार राँकिएका छन्। भन्न सकिन्न, घामले राँकिएका हुन् या दुःखको रापले?

साँच्ची, आफ्ना नागरिकका फेल भएका मिर्गौलाहरूको माला लगाएर राज्य उभियो भने कस्तो देखिएला?

माया बीस रुपैयाँको नोट राखिदिन्छे। सीता र जीतबहादुर उसलाई एकसरो हेरिदिन्छन्।

मौन, मौन हिँडिरहेका छौँ हामी।

माया अकस्मात् बोल्छे, ‘यो दुनियाँमा प्रेम भन्ने चिज छ र?’

‘किन नहुनु? दुनियाँ प्रेममै अडेको छ भन्छन् त!’

‘त्यसो भए श्याम मगरका बाउआमा किन त्यहाँ पसारो परिरहेका छन्?’

मसँग कुनै जवाफ छैन।

सायद श्याम मगर शहरको भ्यालेन्टाइन्स डेको मुडमा विघ्न पुर्यानइरहेछ।

आज अंकमाल दिवस। म आफ्नै स्वार्थलाई अंकमाल गरेर मायासँग न्युरोडतिर गइरहेको छु।

सन्त भ्यालेन्टाइन निःसन्देह बिरामी छन्।

(स्रोत : Nagariknews.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.