चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने अवस्था थिएन! जीवन कति विरोधाभासपूर्ण हुन सक्तोरहेछ!
कमाइ नहुँदा अझ धेरै भोक लाग्नु र मीठो खाने इच्छा जाग्नु गरिबीको अर्को विरोधाभासपूर्ण मनोविज्ञान हुनसक्थ्यो ! यसलाई मनोविश्लेषकहरूले जसरीसुकै व्याख्या गरून्— हिजो बेलुकी मौवाको रक्सी र भैँसीको मासु दन्काएर सुतेको आइते बिहान अबेर उठेर आङ तन्काउँदै थियो । यस्तो लाग्थ्यो— दुई दिनदेखि काम नगरी खाएकोले उसको ज्यान बाउँडिएको थियो!
उसले शिखर चुरोट सल्कायो; मज्जाको सर्को तान्यो; साँगुरो कोठामा खैरो धुवाँ उडायो र त्यही धुवाँमा टोलायो । त्यति नै बेला एक झुन्ड मान्छे गल्लीको बाटो ठूल्ठूलो स्वरमा बन्दको विरोध गर्दै प्रभातभ्रमणमा हिँड्दै थिए । एकजनाले कुनै पत्रिकामा पढेको समाचार सुनाउँदैथ्यो—
“एक दिन नेपालबन्द हुँदा राष्ट्रलाई एक अर्ब रुपियाँ घाटा पर्छ रे ! आज तेस्रो दिन पनि नेपालबन्द हुँदैछ…तीन अर्ब घाटा पर्ने भयो । हामीजस्ता उद्योगी, व्यापारी र राष्ट्रलाई यति धेरै घाटा पार्ने बन्दकर्तालाई झ्यालखानामा कोच्न नसक्ने सरकार कस्तो सरकार ! यस्तो सरकारले तुरुन्तै. राजिनामा दिनुपर्थ्यो।”
अर्कोले अलिक झिनु स्वरमा भन्यो— “यस्तो सरकारलाई राजाले किन पालिराखेको होला? यो तोरीलाउरे राजा त खत्तम रहेछ। बरु राणाकाल नै राम्रो थियो भन्छन्…पञ्चायकाल पनि ठीकैठीकै थियो । यो बहुदलले देस बिगा¥यो।”
आइतेको कानभित्र ‘बन्द’ शब्द सियोझैँ छि¥यो । उसले हत्तपत्त आफ्नो अँध्यारो कोठाको आँखीझ्यालबाट गल्लीतिर आँखा लगायो…श्यामसाहुसहित आठ-दस जना मान्छे गल्लीको बाटो गफिँदै गइरहेका थिए! श्यामसाहुप्रति आइतेलाई ठूलै चासो थियो, त्यसैले ऊ हतार गर्दै कोठाबाट निस्क्यो र त्यो झुन्डको पछिपछि सुराकीझैँ हिंड्यो।
पन्ध्र-बीस मिनेटजति हिंडेपछि तिनीहरू जिर्णोद्वार हुँदैगरेको महादेवमन्दिर परिसरतिर मोडिए । मन्दिरअघिल्तिर मान्छेहरू लाम लागेर धीरतापूर्वक विस्तारै अघिअघि सर्दै थिए। त्यहाँ एकजना ढाकाटोपी र ठाडोटीको लगाएको सुगाठुँडे नाक भएको चङ्ख मान्छे मेचटेबुल राखेर चन्दा लिँदै, रसिद काट्दै थियो । श्यामसाहु चन्दादाताको लाइनमा उभियो । आइते पनि त्यही लाइनमा श्यामसाहुभन्दा पाँच–जनापछाडि मुन्टो फर्काएर उभियो। उसले आफ्नो फाटेको कालो टोपी फुकालेर खल्तीमा हाल्यो र हप्तौँदेखि ननुहाएको जगल्टालाई दुबै हातका औँलाहरूले खजमज्यायो। आइतेको स्वरुप उत्निखेर बिरुप बन्यो ।
कथमकदाचित स्यामसाहुले पछाडि फर्केर हेरिहाल्यो र आइतेसित आँखा जुध्यो भने पनि आफूलाई नचिनोस् भन्ने आइतेको उद्देश्य थियो।
श्यामसाहु दायाँ-बायाँ र पछाडि कतै फर्केन, एक्काझैँ अगाडि बढ्यो । उसले खल्तीबाट हजार–हजारका नयाँ नोट झिकेर आफ्नो निधारमा ढोगायो र गर्विलो स्वरमा बोल्यो—“श्यामसाहुको नाममा रु. ५००१ को रसिद काट्नुस्!”
लाइनमा बस्नेहरू आपसमा ठूलो स्वरले कुराकानी गरिरहेकाले श्यामसाहुले आफ्नो नाम भनेको आइतेले सुनेन।
श्यामसाहुले सुगाठुँडेलाई रु. ५००१ नगदनारायण दियो र रसिद लियो; उसले रसिद पट्याएर कमीजको खल्तीमा हाल्यो र साथीहरूसँग गफिँदै त्यहाँबाट फर्क्यो । आइतेले श्यामसाहुलाई आँखाले देखुन्जेल हेरिरह्यो। कहिल्यै पाँच रुपियाँ पनि चन्दा नदिने मख्खीचुसले पाँचहजार चन्दा दिएको देखेर आइतेको मनमा कुरा खेलिरहेको थियो—
“कतै यो मान्छे स्यामसाहुको बहुरुप त होइन! हुन पनि सक्छ… किन सक्तैन? बहुरुप नभए उसैको जुम्ल्याहा दाइ–भाइ पनि हुनसक्ला।”
मनमा कुरा खेलाउँदै विस्तारै अघि-अघि सर्दै गरेको आइतेलाई आफू चन्दा बुझाउने टेबुलअघि पुगिसकेको हेक्कै भएन!
“ए हजुर! कति अङ्क लेखूँ?”— सुगाठुँडेले सोध्यो।
आफूलाई ‘हजुर’ सम्बोधन गरेको सुनेर आइते जिल्लियो…अरुको मुखतिर हेर्न थाल्यो।
“चन्दा कति लेखूँ… हजुरलाई सोद्धैछु?”— सुगाठुँडेले आइतेलाई कोट्ट्याएरै सोध्यो।
आइते झस्क्यो—“म ‘हजुर’ होइन, ‘कुल्ली’ हुँ ! आफूसित सिरीखुरी सयको एउटा नोट छ!”
“देउतालाई सयको नोट भए नि हुन्छ! जसले जति सक्छ त्यति दिन्छ ! भगवानको निम्ति सबै बराबर ! तिम्रो नाम के हो? लौ, १०० रुपियाँ देऊ!”
आइते किंकर्तव्यबिमूढ भयो। आफूसित भएको जम्माजम्मी रू. सय दिऊँ कि नदिऊँ उसलाई दोमन भयो; निधारमा पसिना छुट्यो! अन्तत: गाला रातो पार्दै सय रुपियाँ चन्दा दिने विचारले उसले बिस्तारै खल्तीमा हात हालेको मात्र थियो, त्यति नै बेला पछाडिको चन्दादाताले आइतेलाई दुई हातले घचेट्दै भन्यो—“भाग्, मोरो कुल्ली ! तँ के जात हो? अछुत त होइनस् नि हगी? कसरी यहाँ आइपुगिस्?… हे भगवान! बहुदलले मन्दिर पनि बिटुल्यायो।”
आइतेको अनुहार कालो-नीलो भयो । उसले आफूलाई घचेट्नेको चेहरामा पुलुक्क हे¥यो… मनमनले उसलाई धन्यवाद दियो र ऊ आफैँ पनि जानीबुझी अलिक पर घचेटियो, अनि चोर बिरालोझैँ लुसुक्क बाटो लाग्यो।
सडकमा हिंडुन्जेल उसको मनमा एउटै प्रश्न खेलिरह्यो— “रु. ५००१ चन्दा दिने त्यो मान्छे पक्कै पनि स्यामसाहु नै हुनुपर्छ । उसको स्वर र हाउभाउ ठ्याक्कै मिल्छ, तर त्यसले पाँचहजार चन्दा किन, कसरी दियो?”
डेरा पुग्नुअघि आइते निम्नकोटीको रक्सी–भट्टीमा पस्यो; बेन्चीमा थुचुक्क बस्यो; दाहिने हातले देब्रे खल्तीबाट सयको नोट झिक्यो; साहुनीको हातमा नोट थमायो; एक गिलास ठर्रा माग्यो; साहुनीले रक्सी दिई; आइतेले त्यो रक्सी एक सासमै स्वाट्ट पा¥यो…त्यसपछि ऊ जुरुक्क उठ्यो र टाउको हल्लायो। टाउको हल्लाउँदा उसको लामो जगल्टा बेस्करी हल्लियो। सायद, आइते बेन्चीबाट उठ्दा सात रेक्टरको भुइँचालो गएको थियो क्यार! आइतेको टुपीदेखि पैतलासम्म नसानसामा ठर्राको नशा संचार भरहेको थियो! ऊ लर्खराउँदै डेरामा पुग्यो र जोसिलो पारामा आफ्नी जोईलाई मर्निङवाकबारे बेलीविस्तार लगायो—
“ए फ्याउरी ! आज मैले पनि मर्निङवाक गरेँ। ‘मर्निक–वाक’ भनेको के हो…तैँले बुझेकी छेस्? के बुझ्नु ! सुनेकी पनि छैनस् ! सुनेकी भए तेरो आँखा बोलिसक्थ्यो । यो गोराहरूको लवज हो । गोराहरू मर्निङवाक किन गर्छन् था’छ तँलाईं? था’ छैन ! थाहा भएको भए तेरो ओठ चलिसक्थ्यो! लौ मेरो कुरो सुन ! बुझ्! एकथरी मान्छे ब्वाँसोजस्तै सधैँ भोका हुन्छन्… काम गर्दैनन्, तर हात्तीले झैँ हसुर्छन् र श्रीगणेशको जस्तै भुँडी हाल्छन् । हो…त्यस्तै ठूल्ठूला भुँडी हुनेहरू खा’को पचाउन र ज्यानको बोसो पगाल्न मर्निङ्वाक गर्छन्!”
आइतेले रक्सीको सुरमा स्वास्नीलाई रमाइलो ढङ्गले पढाउँदै थियो । जब ऊ रक्सी धोक्थ्यो यसरी नै ठट्यौलो पारामा मनको कुरो पोख्थ्यो। आईतेले कहिल्यै नजानेको, नबुझेको कुरो राजधानीमा बसेपछि दुई–तीन वर्षमै बुझेको थियो र आफूले सिकेको कुरा पोख्ने ठाउँ नपाएर ऊ भित्रभित्र उकुसपुकुस भइरहेको अवस्था थियो।
त्यो दिन आइतेको चाला देखेर फ्याउरीलाई रमाइलो लाग्यो; त्यसैले उसको कुरोमा निकै चाख लिँदै जिज्ञासा राखी—“केजाति ‘वाक’ भनेको के हो त नि? खै त मैले बुझ्ने गरी तिमीले बुझाएको?”
“तँ साँच्चै आँधी रहिछेस् ! ‘रातभरि रामायण सुनायो, सीता कस्की जोई?’ मर्निङवाक भनेको ठूला–ठूला भुँडी हुनेहरूले अपच हुने गरी खाएको पचाउन र ज्यानको बोसो घटाउन बिहानबिहान लखर–लखर हिँड्नु हो क्या! पहिलेपहिले गोराहरूमात्र मर्निङवाक गर्थे रे ! आजकाल भने गोराहरूको सङ्गत गर्ने अरुहरू पनि मर्निङवाक गर्छन्…कुरो बुझिस्?
आइते बोल्दै गयो— “आज विहान बिउँझेर सिगरेट सल्काएको मात्र थिएँ… भुँडेसाहुको स्वर मेरो कानमा बतासझैँ पस्यो । सपना हो कि बिपना मलाई थाहा भएन। अनि हत्तपत्त कोठोको आँखीझ्यालबाट गल्लीतिर हेरेँ…साँच्ची हो रहेछ— एक जत्था मान्छेसँगै ऊ निकै फुर्तिले मर्निङवाकमा हिँड्दै रहेछ । म पनि के कम…त्यसको चियो गर्दे पछिपछि लागेँ । यो सारङ्गी–पेटलाई एक चक्कर घुमाएर भर्खर फर्कँदैछु!”
“तिमीचाहिँ सारङ्गी–पेट लिएर किन लखरलखर डुलेर आयौ त नि?”—फ्याउरीले ठट्यौलो पारामा सोधी।
“मेरो सुखको कथा तँलाई थाहै छैन ! था’छ त ? थाहा छैन! तैँले थाहा पाएकी भए तेरो थुतुनो चलिसक्थ्यो ! हाम्रो बिहे भएको भर्खर त चार महिना भयो, भित्री कुरो के थाहा पाउँथिस् । लोग्नेस्वास्नीको कुनैकुनै कुरो थाहा पाउन चालीस वर्ष लाग्छ रे! हुन त मैले पनि जिन्दगीभरिमा थाहा नपाएको कुरा यो दुई–तीन वर्षमा थाहा पाएको छु । तैँले पनि चार महिनासम्म थाहा नपाएकी कुरा अब चार मिनेटमा थाहा पाउँछेस् ! लौ सुन् !”— आइते थोरै गम्भीर भएर बोल्यो।
“पोहोरसालसम्म मैले त्यो भुँडेसाहुको पसलमा महिनावारी तलब खाएर काम गरेको थिएँ—बिहानदेखि बेलुकीसम्म गधाले झैँ काम गर्थेँ । उसकहाँ जम्माजम्मी पच्चीस महिना र पाँच दिन काम गरेँ ! मरीमरी काम गरेको देखेर होला तिनका जोईपोइले मलाई घरमा पालेको कुकुरलाई जस्तै माया गर्थे । भुँडेसाहुले सधैँ मलाई आफूले खाँदै गरेको ठूटो चुरोट खान दिन्थ्यो । साहुनीले मलाई कहिलेकहीँ पसलको काम सकेपछि दस–पन्ध्र रुपियाँ सुटुक्क दिन्थिन् र भन्थिन्—“आइते, तँलाई गोदामको चिसो लाग्छ! ला रक्सी किनेर खा! तर मैले पैसा दिएको कुरो साहुलाई नभन् नि!”— आइते बोल्दै गयो।
“एक दिन नहुनुपर्ने कुरो भयो… पसलको पैसा हरायो भनेर साहुसाहुनी गाइँगुइँ गर्न थाले ! आखिर, तिनले चोरदोष मलाई लगाए । मैले चोरेको होइन भनेँ, तिनले पत्याएनन्। तिनले मलाई पुलिसथानातिर डोरयाए, भाकलको बोकोझैँ म लुरुलुरु डोरिएर गएँ। माघेसङ्क्रान्तिको दिन— बिहानैदेखि अकास हुस्सुले ढाकिएको थियो; सिमसिम पानी परिरहेको थियो; सिर्रसिर्र चिसो बतास चलिरहेको थियो…औधी ठण्डी थियो। हवल्दारले मलाई चिसो भुइँमा बसायो; लुगा काढ्न लगायो र सिस्नुपानीले गोद्यो । त्यतिले मात्र नपुगेर मेरो अनुहारमा बुटले हिर्कायो । मैले दुखाइ सहन सकिनँ; चोरेको हुँ भन्देँ ! त्यसपछि, साहुले एउटा लिखतमा ल्याप्चे लगाउन लगाएर मलाई थानाबाट छुटाएर पसलमा लगे र ग्राहकहरूसित हात हल्लाउँदै भने—“अबदेखि यो आइतेलाई मेरो मान्छे भनेर नपत्याउनुहोला ! यो चोर हो । यसले हाम्रो पसलको कन्तुरबाट धन चोरेको हुनाले यसलाई आजदेखि मैले निकालेँ!”
“त्यसपछि, के भयो तँलाई थाहा छ? भुँडेसाहुको पसलबाट म चोर बिरालोझैँ लुसुक्क निस्केँ र नाम्लो काँधमा हालेर उत्निखेर पहिलेजस्तै भरिया बनेँ।”—आइतेले भन्यो।
आइतेको कुरो सुन्दासुन्दै फ्याउरीको अनुहार तेल सकिएको टुकीजस्तै मधुरो हुँदै गयो।
“लौ सुन्दै जा ! कथा अझ रमाइलो छ—मैले भुँडेसाहुको पसलमा काम गर्न थालेदेखि साहुनीको सल्लाहबमोजिम मेरो बिहे–खर्चको निम्ति भनेर मेरो तलबबाट महिनैपिच्छे दु–दुई सय रुपियाँको दरले कट्टा गरेर उनै साहुको ढुकुटीमा धन जम्मा गरेको थिएँ । मलाई पसलबाट निकाल्दा भुँडेसाहुले त्यो पैसाको कुरै उठाएनन् ! मैले कुरो उठाउन सक्ने अवस्था पनि थिएन।”—देब्रे हातको नङले घुच्चुक कन्याउँदै आइतेले भन्यो।
हुन पनि हो, भुँडेसाहुले त्यो पैसाको कुरो धरि उठाएको थिएन। किनभने साहुसाहुनीको दृष्टिमा पसलको पैसा आइतेले नै चोरेको हुनुपर्थ्यो। त्यसैले आइतेले २५ महिनासम्म साहुकहाँ दु-दुई सयको दरले जम्मा गरेको रकम उसलाई फिर्ता दिएका थिएनन्।
“अहो ! भुँडेसाहु त ठ्याक्कै हाम्रै गाउँको कालेसाहुजस्तै ब्वाँसो पो रहेछ !”—फ्याउरी क्रोधित हुँदै बोली।
आइते फेरि बोल्दै गयो— “एक दिन भारी बोकेर भुँडेसाहुको पसलको बाटो भएर जाँदै थिएँ, साहुनीले मेरो नाम काढेर बोलाइन्: “ए आइते, पसलको पैसा हराएको होइन रहेछ ! हिसाब राख्दा गल्ती भएको रहेछ! साहुजीले तँलाई बोलाउनू भनेको छ । काम गर्न आइस् भने तेरो पैसा फिर्ता दिउँला भन्नुभएको छ, आउँछस्?”
“तिमी गयौ त पैसा लिन?”—फ्याउरीले हत्तपत्त सोधी।
आइतेले निकै सोचविचार गरेर भुँडेसाहुकहाँ पैसा लिन गएको थिएन । किनभने उसले सुनेको र बुझेको थियो— एकपल्ट धोखा दिने मान्छेले अर्कोपटक पनि धोखा दिनसक्छ।
“त्यो भुँडेसाहुकहाँ म फेरि कहिल्यै फर्केर गइनँ!”— भनूँ कि नभनूँ गर्दै आइतेले भन्यो।
“किन नगएको त आफ्नो पसिनाको कमाइ लिन ! त्यसै गरिब मार्न पाइन्छ? अहो, पाँच–पाँच हजार ! त्यति पैसाले त हाम्रो गाउँमा एकहलको पाखो नै आउँछ। लौ हिंड जाऊँ ! त्यो भुँडेसाहुको पसल मलाई चिनाऊ ! त्यसको उछित्तो काढेर म पैसा उठाउँछु ! गरिबको पसिना त्यसै चुस्न पाइन्छ !”—अकासै थर्कने गरी फ्याउरी च्याँट्ठिई ।
“गरिबको पसिना चुस्न पाइन्छ यहाँ ! म तँलाई कुरो बुझाउँला । मैले पनि आठकक्षासम्म पढेको छु । अहिले चलिरहेको आन्दोलनले मलाई स्कूलका किताब र मास्टरले भन्दा धेरै कुरा पढाएको छ। अहिले चुप लाग ! बरु हिजोको ठर्रा बाँकी छ भने झिक् ! नभए किनेर ले ! “खाई सार कि लाई सार मरेपछि लम्पसार!”— आइतेले खल्तीबाट नोट झिक्यो।
“तिम्रो मुख ह्वास्स गनाइसकेको छ ! काम नहुँदैमा एकाबिहानैदेखि रक्सी धोक्नुपर्छ र ! मैले तिमीलाई ‘‘जहाँ पायो त्यहाँको रक्सी नखाऊ’ भनेकी थिइनँ र? कता–कताका रक्सी बनाउनेहरूले छिटै पैसा कमाउन रक्सीमा केके विषादी पनि मिसाउँछन् रे ! त्यस्तो रक्सी खानेको कलेजो–मुटुमा छिट्टै रोग सल्कन्छ रे भन्ने सुनेकी छु ! म अनकन्टार गाउँकी कालो अक्षर भैँसीबराबरले बोलेको कुरो तिमी सहरमा बस्नेको कानमा के पस्थ्यो!”
फ्याउरीले फतफताउँदै चुह्लोको तख्ताबाट अघिल्लो दिनको बाँकी रक्सी र गिलास झिकी र रक्सी गिलासमा खन्याई। आइतेले गिलासको रक्सी एकसासमै स्वाट्टै पारयो र एक टुक्रा प्याज नुनखुर्सानीमा चोबेर चपायो । त्यसपछि, जिब्रो पड्काएर ऊ फेरि बड्बडाउन थाल्यो—बिहान श्यामसाहुको पछिपछि लागेर मन्दिर पुग्दा त्यहाँ सुगाठुँडेले आफूलाई ‘हजुर’ सम्बोधन गरेर चन्दा मागेको; आफूले झन्डै सयको नोट चन्दा दिएको; त्यही बेला एउटा टुपीवाल धर्मात्माले—’यो त ‘कुल्ली’ मोरो पो रहेछ…कसरी यहाँ आइपुगिस्? भन्दै आफूलाई चन्दादाताको लाइनबाट घचेटेको; त्यसपछि उसले ‘‘तँ अछुत त होइनस् नि हगि? भनी आफूलाई सोधेको र ‘बहुदलले मन्दिरलाई समेत बिटुल्यायो’ भनेको आदि सबै घटना जोईलाई बेलिबिस्तार लगायो। जोईपोइ पेट मिचीमिची हाँसे । क्षणभर तिनले सबै दुःख बिर्सेर खुसी भएजस्तो देखिन्थ्यो। तिनीहरू कति धेरै हाँसे भने हाँस्दाहाँस्दा तिनका गहबाट आँसु बगिरहेको थियो…
हाँस्दाहाँस्दै एकाएक आइतेको निधार लज्जावती झारझैँ खुम्चियो । उसले गम्भीर हुँदै भन्यो—“अहो, बल्ल मेरो दिमाग छ्याङ्ग भयो, फ्याउरी ! श्यामसाहुले बिहान चन्दा दिएको पाँचहजार पक्कै मेरो हुनुपर्छ ! त्यसले रु. ५००१ चन्दा दिएको थियो… त्यसमध्ये एक रुपियाँमात्र त्यस्को हो । मैले पच्चीस महिनासम्म दु–दुई सयका दरले त्यसकहाँ जम्मा गरेको हिसाब ठ्याक्कै पाँच हजार हुँदोरहेछ! हिसाब गर् त! अहो ! त्यसो भएर पो त्यो कन्चुसले मन फुकाएर चन्दा दिएको रहेछ! बल्ल यो आइतेको आँखा खुल्यो…बल्ल यो आइतेले आँखा देख्यो। यो कुरो ईश्वर–भगवानले पनि देखेका होलान् त? यत्रो पनि दखेका छैनन्! देख्ने भए मलाई झुट्टा चोरदोष लगाएको पनि देख्थे! देख्ने भए यो निर्दोषको अनुहारमा हवल्दारको बुटले कुल्चेको पनि देख्थे! यो निमुखाको नाकमुखबाट रगत बगेको पनि देख्थे! यस्तो कुरा सम्झेर ल्याउँदा त देउतासेउता केही पनि छैन जस्तो लाग्छ!”
“हो त नि, कहिलेकहीँ मलाई पनि त्यस्तै लाग्छ… भगवान–सगवान केही पनि छैनजस्तो लाग्छ! तर यस्तो कुरो देउताले सुन्ला कि भन्ने डर पनि लाग्छ !”—फ्याउरी अबरुद्ध हुँदै बोली।… बोल्दाबोल्दै उसको आँखाबाट पिलपिल आँसु बग्न थाल्यो। उसको आँखाअघि आइतेमाथि भएको अत्याचारको दर्दनाक दृश्य नाचिरहेको थियो।
आइतेले फ्याउरीलाई अँगाल्दै भन्यो— “भयो, नरोएस् प्यारी! आँसु नबगाएस्! आँसुमा नुन हुन्छ… तँलाई थाहा छ? नेपालमा नुन महँगो छ। आँसु सस्तो छ।… त्यो भुँडेसाहु चोर हो; डाँका हो! डाँकाले रुवाउँदैमा रोइन्छ? त्यसले मलाई टीपैपिच्छे चामलको एक-एक बोराबाट सुइरो घुसारेर एक–डेढ केजीको दरले चामल भुइँमा झार्न लगाउँथ्यो र भुइँको चामल सोरेर खाली बोरामा भर्न लगाउँथ्यो ! त्यो चोर कि म चोर? त्यसै साहु भा’छ त्यो डाँका ! यो कुरो देख्ने कसले? सरकारलाई उजुर गरौँ भने प्रहरीलाई उसैले पोसेको छ ! भगवानलाई गुहारौँ भने मन्दिर बनाउने चन्दा पनि उसैले दिएको छ!! गरिखानेको कुरो सुन्ने कोही छैन यहाँ! भयो, यो कुरो मनभित्र राख् ! गरिबको छाती ठूलो हुनुपर्छ… ठूलो भएरमात्र पनि अझ पुग्दैन, रबरझैँ तन्कनुपर्छ…अन्याय, अत्याचार, भ्रष्टाचार, दुख, दर्द, पीडा खाँदीखाँदी भर्नुपर्छ! तब न मान्छेको छाती उकुसपुकुस भएर कुनै दिन ज्वालामुखीझैँ फुट्छ! ‘आजकाल कुन्नि कता–कताको देसमा अत्याचारमा परेकाहरूले अत्याचार गर्नेलाई ठेकान लाउन आफ्नै ज्यानमा बम बाँधेर पड्काउँछन् रे ! तैँले यो समाचार सुनेकी छस्? सुनेकी छैनस्!’ यसै खत्तम्! उसै खत्तम्!! आफूपनि खतम्! अत्याचारी पनि खतम्!!”
कहिल्यै कल्पना नगरेको कहालीलाग्दो कुरो आइतेको मुखबाट सुनेपछि फ्याउरी थुरथुर काँपी; आत्तिई र हत्केलाले पोईको मुख थुन्दै भनी— “भयो, यस्तो डरलाग्दो कुरो गर्दै नगर! यस्ता कुरा देउताको कानमा पस्यो भने फेरि अर्को विपद आइलाग्छ! मार्ने र मर्ने कुरो गर्दै नगर !! यस्तो कुरो सम्झ्यो कि मेरो मुटु थुरथुर काँप्छ! सास फेर्न अप्ठ्यारो हुन्छ ! पापी अत्याचारीहरूले एक दिन आफैँ सजायँ भोग्ने छन् । दुई–चार छाक नखाएर मरिँदैन । हाम्रा हातखुट्टा सग्ला छन् । कमाएर खान सकिन्छ । भुँडेसाहुसित त्यो पैसा माग्नुपर्दैन… छोडिदेऊ! त्यसलाई अझ पुग्या छैन !… म सहरमा आएको चार महिना भएछ। यहाँ वरिपरि आउनेजाने बाटो चिनिसकेकी छु । म अन्त पनि लुगाधुने र भाँडा माज्ने काम खोज्छु…कस्सो नपाइएला र! मजस्ती नोकर्नीको जताततै खाँचो होला । म अनकन्टार गाउँकी गरिब चेलीलाई यो सहरमा काम गरेर खान केको लाज! म जाबोलाई यहाँ कसले चिन्छ र ! चिने पो के फरक पर्छ र ! अब म तिमीलाई मात्र धेरै दुःख दिन्नँ । मेरो बिन्ती छ— अब यस्तो डरलाग्दो कुरो कहिल्यै नगर!”
फ्याउरीले गाउँमा हिंसा–प्रतिहिँसाको बिभत्स दृश्य देखेकी थिई। दसैँको बोकोलाई झैँ जिउँदो मान्छेलाई मौलोमा बाँधेर खुकुरीले छप्काएको आफ्नै आँखाले देखेकी थिई। त्यतिखेर उसको सातो गएको थियो…सात दिनसम्म ओछ्यान परेकी थिई।
फ्याउरी निकै डराएकी देखेर आइते संयम हुँदै खित्खित् हाँस्दै बोल्यो—“फ्याउरी, तँ त डरछेरुवै पो रहिछेस् ! अघि त निकै चम्केकी थिइस् त नि ! ‘भुँडेसाहुको पसल चिनाऊ, म त्यसको उछित्तो काढेर पैसा माग्छु’ भन्दै थिइस्! मागेर पैसा पाइने भए चोर, डाँका, फटाहा र चुसाहाहरू किन बर्खे च्याउझैँ उम्रन्थे ! भैगो, मैले मुखको तितो फ्याँकेको मात्र हुँ । तँसित कुरा बिसाएपछि यो मन रुवाजस्तै हलुँगो भएको छ । सुनेको कुरो भनेको हुँ। मलाई पनि मार्नु–मर्नु परेको छैन । समयले अत्याचारलाई लघार्दै छ ! अत्याचारीहरू विस्तारै लघारिँदै छन्…एक दिन ती मासिने छन् ! अनि यो देसमा शान्ति हुनेछ! उन्नती र प्रगति हुनेछ! तब ढुक्कले काम गरेर एकपेट खान पाइने छ! एकआङ लाउन पाइने छ! हाँसीखुसी बाँच्न पाइने छ! इमान्दारको शिर उचो हुनेछ ! फ्याउरी ! जा, एक बोत्तल ठर्रा किनेर ल्या ! यसै नेपालबन्द! उसै नेपालबन्द!! आज पनि काम गर्ने कुरो आएन क्यार! म भैंसीको मासु उधारो ल्याउँछु ! त्यो चोकको बगरेले मलाई उधारो पत्याउँछ ! अघाउँजी आनन्दले खाऊँ! तँ पनि आज ठर्रा धोक्! मलाई अग्घोरै भोक–प्यास लाग्या छ, फ्याउरी!”
“अहिले होइन, भरै खाउँला! तर भोलि पनि नेपालबन्द ग¥यो भने के खान्छौ नि?”
“भोलिको कुरो छोड्दे! गरिबले आज बाँच्न सिक्नुपर्छ! भोलि आजैबाट सुरु हुन्छ!”
आइतेको कुरो नबुझेर फ्याउरी टोलाइरहेकी थिई…।
रचनाः शरद २०६४
(स्रोत : फेस्बुक पेज “कथा” )