संस्मरण : लाग्छ कोही अहिले पनि मलाई पुकारिरहेको छ

~गौरी मल्ल~Gauri Malla

जीवन जिउने क्रममा हामीसँग धेरै घटनाहरु मानसपटलरुपी हार्डडिस्क भित्र पत्रपत्र जमेर बसेका हुन्छन । कहिलेकाहीं कुनै प्रशंगबस ती कहीं कतै लुकेर, थिचिएर, गुम्सेर बसेका घटनाहरु बाहिर निस्किन पनि थाल्छन। मलाई अहिले तेस्तै केहि भइरहेको छ । दुइ चार दिन अघि एउटा समाचार हेर्ने अवसर बन्यो जसमा भनिएको थियो Caravan चलचित्र तथा Honey Hunter जस्ता Documentary बनाएका प्रसिद्ध निर्देशक एरिक भ्यालीले अर्को पनि वृतचित्र बनाएका छन् नेपालको अत्ति नै महत्वपूर्ण जडिबुटी यार्सागुम्बाको बिषयमा । यो समाचार नेपाल र नेपालीका लागि राम्रो थियो । एरिक भ्याली नेपालको सुन्दरता र नेपाली जनजीवनसँग प्रभावित मानिस हुन् भन्ने स्पष्ट थियो तर मेरो लागि यो समाचार सायद त्यति महत्वपूर्ण थिएन जति केहि समय अघि आफुसंग घटेको घटना थियो। त्यो मेरो लागि कुनै साधारण घटना मात्र थिएन जबकी एक असाधारण पीडायुक्त अन्तरद्वन्द पनि थियो।

USAID ले 2008 मा एउटा campaign चलाएको थियो “You Are No Exception,” HIV /AIDS को बारेमा चलाइएको यो campaign मा newcomer director हरु बीच short movie competition गराइएको थियो। competition मा 8 जना director हरु थिए र उनीहरुले जम्मा 8 देखि 9 मिनेटको short movie बनाउनु पर्ने थियो । हरेक movie मा एक या दुइजना established professional actors राख्न पाउने सुबिधा पनि दिइएको थियो सबै निर्देशकहरुलाई। सबै निर्देशकहरुले आफ्नो आफ्नो script अनुरुप कलाकारहरु राखेका थिए जसमा मेरो निर्देशक थिए गणेश प्रसाद सुबेदी। मैले त्यस चलचित्रमा डाक्टरको भूमिका गरेकी थिएँ। हामीले उक्त चलचित्रमा काम गरेर मात्र हाम्रो काम सकिंदैनथियो। चलचित्रलाई लिएर सबै कलाकार तथा निर्देशक देशका विभिन्न स्थान लगाएत काठमाडौँ भित्रका campus, school तथा बताइएका स्थानमा गएर सिनेमा देखाउने र HIV / AIDS awareness बारे चर्चा परिचर्चा पनि गर्नु पर्ने थियो। सबैलाई आफ्नो आफ्नो क्षेत्र दिईएको थियो जसमा हाम्रो क्षेत्र परेको थियो नेपालगन्ज , गुलरिया तथा दाङ ।

यी सबै भूमिका पढ्दा सायद मेरा पाठकहरुलाई ‘ अनावश्यक कुरा पढिरहेका त छैनौ ? ‘ भन्ने भान परिरहेको पनि हुन सक्छ तर म जे लेख्न जाँदैछु तेस्को सन्दर्भमा यो भूमिका अत्ति नै आवश्यक हुन जाने भएकोले लेखेकी हुँ।

चलचित्र बनिसके पछी हामीलाई विभिन्न ठाउमा जानुथियो र हामी हाम्रो गन्तव्य नेपालगन्ज लाग्यौं। मध्यान्न १२ बजेको समयमा नेपालगन्ज .. गर्मी त छंदैथियो त्यसमाथि दिमागमा भरे प्रहरी तालिम केन्द्रमा फिल्म देखाउन छ भन्ने पनि थियो। हामीले सल्लाह गर्यौं कि पहिला होटेलमा जाउँ । फ्रेश भएर लन्च गरेर अनि कता कता, कहाँ कहाँ कसरी जाने छलफल गरौंला। होटेलमा हाम्रो लागि रुम पहिला नै बुक भैसकेको थियो। लबीमा गयौं र आफ्नो-आफ्नो रुमको चाबी लिएर माथि उक्ल्यौं। गणेशको रुम भरेंगको छेउमै रहेछ ‘ फ्रेश भएर एकछिनमा तल रेष्टुरेन्टमा भेटौं है त ‘ भन्दै हामी अलग भयौं। म हरेक रुमको रुम नम्बर हेर्दै-हेर्दै अगाडी बढ्दै गरे, मेरो रुम सबै भन्दा कुनामा रहेछ । मैले चाबी घुमाएर ढोका खोलें। सुटकेश तान्दै भित्र छिरें तर जसै भित्र पाइला राखें मन अचानक कस्तो कस्तो भएर आयो। एकछिन त्येहीं उभिरहें। चारैतिर नजर घुमाएँ, थाहा छैन किन मलाई त्यो रुममा कुनै सकारात्मक उर्जा महशुश भैरहेको थिएन। ‘ हम्म ….., यहाँ पनि ….? ‘ सोच्दै अगाडी बढें र पहिला कोठाको पर्दा हटाएँ। कोठामा अलिकति उज्यालो फैलियो। तेस्पछी बेडमा बसें अनि टीभी खोलें । टीभी चल्न थाल्यो म चाहिं सुटकेश खोलेर कपडा निकाल्न थालें, नुहाएर तल रेस्टुरेन्टमा जो जानु थियो ।

टीभी चलिराखेको थियो म लुगा निकाल्दै थिएँ अचानक मलाई लाग्यो कोहि मेरो पछाडी छ। मैले फरक्क फर्केर हेरें तर त्यहाँ कोहि थिएन। मेरो सम्पूर्ण शरीर एकछिनको लागि झननन भएर आयो। लुगा झिक्न छाडेर ओछ्यान छेउमा रहेको सोफामा बसें। बसेको एक मिनेट पनि भएको थिएन मलाई फेरी यस्तो लाग्यो कोइ मेरो कपाललाइ बिस्तारै फुक्दैछ किनकी मेरो काननेरको कपाल बिस्तारै उड्दै थियो। ‘उफ़्, म नै किन …? ‘मनमनै सोचें र लागें बाथरुम तिर । बाथरुम भित्र छिरें, तेसो त त्यहाँ कोहि थिएन तर पनि मलाई थाहा छ त्यहाँ म एक्लै नुहाइरहेकी भने थिईन।

ओछ्यानमा आएर निर्णय गरें कि ‘अब म यो कोठामा बस्दिन, दिउँसै यस्तो छ राती के होला ?’ रुम बन्द गरेर रिसेप्शनमा गएर भने ‘ मलाई कोठा अर्को दिनुहोस् म त्यो कोठामा बस्न चाहन्न। ‘ रिसेप्शनमा जो थियो उसले एकपटक मलाई पुलुक्क हेर्यो अरु केहि त भनेन तर यो जरुर भन्यो ‘ सरी दिदी , अर्को कोठा कुनै खाली छैन, यो कोठा पनि हजुरहरुलाई बल्ल बल्ल मिलाको। केहि बोलिन , रेस्टुरेन्ट तिर लागे। गणेश पर्खिरहेको रहेछ। उसले देख्ने बित्तिकै भन्यो ‘ आउनु दि, खाना खाउँ … ‘ मैले सहमतिमा टाउको हल्लाएँ र एउटा मेजमा बसें। खानाको दौरान मैले गणेशलाई प्रश्न गरें ‘ तिम्रो कोठा ठिक छ गणेश ?’ उसले ‘ एकदम राम्रो छ दि फस्टक्लास …. भन्यो र प्रश्न पनि राख्यो ‘ किन दि हजुरको कोठा मन परेन ? नभए हजुर हाम्रो कोठामा बस्नु भए पनि हुन्छ दि, हामी हजुरकोमा सरौंला हुन्छौं ( हामी अर्थात् गणेश र उसको असिस्टेन्ट )’ मनमनै सोचें, मेरो कोठा …. बिचरा गणेश … , मैले ‘ हैन पर्दैन गणेश ठिक छ।’ भनेर कुरा त्येहीं टुंगाई दिएँ। तेस्पछी आज के के गर्ने एकछिन सल्लाह गर्यौं र फेरी केहि घन्टाको लागि छुट्टीयौँ । भरे प्रहरी तालिम केन्द्रमा सिनेमा देखाउनुको साथै HIV / AIDS को बारेमा बोल्न पनि थियो।

कोठामा फर्के र त्येहीबाट अन्य होटलमा कोठा खोज्ने काम गर्न थालें तर सम्भव भएन। सानो ठुलो हरेक होटलमा बुझें तर जुन होटलमा पनि ‘एउटा पनि रुम खाली छैन’ भन्ने उत्तर बाहेक केहि आएन। वास्तवमा त्यो बेला नेकपा माववादीको अधिबेशनको लागि भनेर एक साता अघिदेखि नै त्यहाँको होटलहरु बुक भैसकेका थिए शीर्ष नेता तथा कार्यकर्ताको नाममा। त्यसैले जे छ त्येस्मै सन्तोष मानेर बस्नु बाहेक मसँग अरु उपाय पनि त थिएन । थाकेर एकछिन निदाउन पर्यो भनेर बेडमा पल्टें तर जस्तो कि मलाई आशा थियो म संगै बेडमा कोइ पल्टेको आभाष भो मलाई। हुम्म्म … ‘अब चै अत्ति भो कत्ति जिस्काको मलाई ‘ सोच्दै आफ्नो माला निकाले। ९ बर्षको उमेर देखि अदृश्य शक्तिहरुको बिभिन्न अनुभवले मलाई पनि उनीहरुकै एउटा अंग बनाइदिई सकेको थियो। जत्ति जत्ति उनीहरु मलाई दुख दिन्थे म त्यति नै उपाय खोज्दै हिड्थे। उपाय खोज्ने क्रमसंगै मेरो आत्मबल पनि बलियो बन्दै जाँदैथियो। कैयन घटना यस्ता पनि भए जसलाई यदि म कसैलाई भनु, म आफै बेबकुफ हुन्थें। बस् म, अनि मेरा अनुभव ….।

माला निकाले तर तेतिकैमा गणेशको फोन आयो। उसले भन्यो कि ‘दि, तालिम केन्द्र जानुपर्यो डीएसपी साबलाइ भेट्न , उहाँलाई भेटेर भरेको कार्यक्रम मिलाउन पर्नेभो। ‘ वास्तवमा मलाई कुनबेला कोठाबाट निस्कुँ जस्तो भैरहेको थियो मैले पनि ‘हुन्छ हिड न त’ भनिहालें। कोठाबाट निस्कनु अघि सरसर्ती एक नजर कोठाको चारैतिर घुमाएँ। त्यहाँ कोहि नभएर पनि कोहि थियो। तर को …..? को …….?

डीएसपी साबलाई भेट्यौं र बेलुकीको कार्यक्रमको सरसल्लाह पनि गर्यौं। होटलमा नफर्की त्यतैबाट सिनेमा देखाउन गयौं । हामीले आफुले सक्दो सिनेमाको उदेश्य प्रहरी जवानहरुलाई स्पष्ट गरायौं। समग्रमा भन्ने हो भने तालिम केन्द्रको कार्यक्रम सफल भयो भन्दा अतिसयोक्ति नहोला। भोलि पल्ट हामीलाई गुलरिया जानु थियो सिनेमा देखाउन। बिहान गुलरिया गएर सिनेमा देखाएर सोहि दिन दाङको यात्रा गर्नु थियो। हामी फेरी होटल फर्कियौं । रेस्टुरेन्टमा रातिको खाना खायौं । खानाको बिचबिचमा आजको कार्यक्रमको सफलताको चर्चा पनि भइरह्यो हामी तीनजना बीच ।

अब मलाई आफ्नो उही रुममा जानु थियो । मनमा भएभरको साहस बटुलेर गणेशहरूसंग भोलि बिहान नौ बजे तल लबीमा भेट्ने भन्दै छुट्टिएं। कोठाको ढोका खोल्न पहाड फोड्नु भन्दा चर्को भैरहेको थियो, थाहा छैन यो अन्धकारमा कुन कुराले मेरो स्वागत हुने हो ….. सोच्दै ढोका खोलें र पहिला हत्त न पत्त ढोकाको साइडमै भएको बत्तिको स्विच नि अन गरें। कोठामा प्रकाश त फैलियो तर मेरो मन भित्र अन्धकार अझै ब्याप्त थियो । उफ़्, पर्दा पनि नलागाइ गएकी रहेछु … सोच्दै झ्यालनेर गएर बाहिर येसो नजर दौडाएँ। अलि अलि मधुर उज्यालोमा ठिंग उभिएका ती नरिवलका रुखहरु यस्तो देखिंदैथियो मानौ कुनै विशाल राक्षसहरु राता राता नजरले म तिरै हेर्दैछन। भन्न पर्दैन कत्ति छिटो पर्दा लगाएँ मैले।

पर्दा लगाएर हतपत्त बाथरुममा छिरें । विचार त नुहाउने थियो तर त्यो बाथरुमको मधुरो उज्यालोमा नुहाउने हिम्मतले पनि जवाब दियो। अलिअलि मुख धोएर कोठामा आएँ। बेडमा बस्नु अघि सोचें ‘ माला जप्छु, मन्त्र पढ्छु …. लौ हेरौं त तेसपछी कल्ले छुदो रहेछ मलाई ?’ छिटो छिटो माला निकालें र ओछ्यानमा बसेर जप्न शुरु गरें। अरु बेला एक माला जप्ने म त्यो रात तीन माला जपें। भगवानसँग प्राथना गरें ‘हे भगवान हरेक अप्ठ्यारोबाट बचाऊ ….’

तेसो त मलाई बत्ति ननिभाई निन्द्रा पर्दैन तर स्वाभाविक थियो बत्ति निभाउने साहस म मा थिएन। बिस्तारै ओछ्यानमा पल्टें। आँखा सिधा माथि गयो, पंखा आफ्नो स्पीडमा चलिरहेको थियो। मैले हिम्मत गरेर आफ्नो आँखा बन्द गरें तर तेस्को दुइ तीन मिनेटमै मलाई आभाष भयो कोहि अरु पनि म संग बेडमा छ किनकि मैले सिर्फ मेरो मात्र स्वास प्रस्वास सुनिरहेकी थिईन त्यहाँ अरु कोहि पनि मसँग सास लिंदै छाड्दै थियो । मैले आँखा खोल्न एक सेकेन्डको पनि समय लिईन, झ्वाट्ट आँखा खोलेर हेरे कोहि थिएन। मैले सोचें कतै मलाई डरको कारण भ्रम त भएन ? एकछिन ध्यानले अर्को स्वास-प्रस्वास सुन्ने चेष्टा गरेँ, एकछिनको चेष्टा पछी मलाई पुरा विस्वास भो त्यहाँ सिर्फ मेरो मात्र सास चलेको थिएन कोइ अरु पनि थियो जो मेरो स्वाससँग स्वास मिलाउँदै थियो।

म सुतिरहेको मान्छे जुरुक्क उठेर बस्न पुगें। त्यो मध्यरातको समय, जुन बेला म एक्लै छु अनि मलाई थाहा भयो कि म एक्लै छुईन कोहि अर्को अस्तित्व पनि छ त्यो कोठामा जसलाई म देख्न सक्दिन। यो एउटा विचार मात्र काफी थियो मलाई त्यो कोठाबाट भगाउन तर, म पनि सायद अलि ढीठ नै थिएँ हार मान्न। ब्यागबाट एउटा अचुक मन्त्र निकालें र पढ्न थालें तर मन्त्रको बिचमा नै कोहि मेरो कानमा थाहा छैन के के फुस्फुसाउन थाल्यो। मलाई यती त बुझ्न गाह्रो भएन कि यहाँ मेरो मन्त्र या मालाको कुनै असर हुनेवाला छैन तर पनि मैले आफुले सिकेका, जानेका, बुझेका सबै मन्त्र बोल्न थालेँ यहाँ सम्म कि साबर मन्त्र पनि भने। आफुले सम्झिनु पर्ने सबै शक्तिहरुको आब्हान गर्न थालें।

निन्द्रा कोशौं टाढा भागिसकेको थियो, तेसो त निन्द्रा नै कहाँ लागेको थियो र ? अचानक गर्मी महशुश हुनथाल्यो। स्वाभाविक रुपमा आँखा पंखामा गयो , जुन बन्द भैसकेको थियो। पंखा बन्द यो गर्मीमा ? मैले टाइमरमा त राखेकी थिईन तर कसरी बन्द भयो ?

उठेर ‘ पंखा फेरी चलाउन पर्यो’ भनेर स्विच निर पुगेर अन गर्न खोजेकी मात्र के थिएँ, देख्छु त्यो त अन नै छ। फर्केर फेरी बेडमा आएर बसें, लाग्यो कोहि अरु पनि संगै आएर बस्यो म सँग, म बिबस प्रार्थना गर्नु बाहेक केहि गर्न असमर्थ थिएँ। माला लिएर फेरी जप गर्न थालें । अचानक पंखा पनि आफै चल्न शुरु भयो। भगवानसंग प्राथना गर्न थालेँ ‘ हे भगवान, पंखा बन्द भए जस्तो लाइट बन्द नहोस् ….
‘अब मलाई यसै सुत्न दिएन उसै सुत्न दिएन बरु टीभी हेरेर रात बिताउँछु…,’ येही सोचेर टीभी अन गरें।

ध्यान त टीभी को प्रोग्राममा हुने सवाल नै थिएन, सिर्फ च्यानल बदल्नु बाहेक अरु के नै गर्न सक्थेँ म ….। रातभर कसैलाई आफूसंगै बसेर टीभी हेरेको महशुश हुदाहुँदै पनि केहि गर्न सकिन। बिबसतामा कति पटक आँखाबाट आँशु झरे मलाई आज पनि याद छैन। बिहानको प्रतिक्षा गर्दा गर्दै बिहान भएको पनि पत्तो रहेन। जब बाहिर चराहरु कराउन थाले बल्ल महशुश भो ‘ ओह .. उज्यालो भयो …. , उठेर झ्यालको पर्दा हटाएँ र हत्त न पत्त बाथरुम भित्र छिरें। जोर जोरले मन्त्र पढ्दै हतार हतार नुहाएँ र त्येही स्पिडमा लुगा लगाएर त्यो कोठाबाट बाहिर निस्केँ। निस्कनुअघि एक नजर त्यो कोठामा हेर्न भुलिन। जस्तो कि मलाई आशा थियो, कोहि थिएन त्यहाँ अहिले पनि .. बस् पंखा आफ्नो स्पिडमा घुमिरहेको थियो। ढोका बन्द गरेर बाहिर निस्कें, यसो समय हेरेको भर्खर छ बजिरहेको थियो। गणेशलाई नौ बजे तल लबीमा भेट्ने भनेकी थिएँ। अब के गरूँ भनेर सोच्न थालें। सुतिरहेको मान्छेहरुलाई उठाउन पनि मन लागेन तेसैले त्येही बाहिरको कौसीमा जहाँ लामो टेबल र कुर्सीहरू थिए । त्येहीं कुर्ने विचार गरें र समान सहित बसेँ । जब आठ बज्यो म तल रेस्टुरेन्टमा गएँ र चिया अर्डर गरेर चिया पिउन थालें। चियाले मलाई केहि राहत दियो। केहि बेरमा गणेश पनि आइपुग्यो अनि हामीहरु ब्रेकफास्ट गरेर लाग्योउ गुलरिया तर्फ तर गुलरियामा हलको व्यवस्था राम्रो हुन सकेन र हामी तुरुन्तै फर्क्यौं।

नेपालगन्ज आएर हामीहरु दाङ तिर लाग्यौं कारण हाम्रो अन्तिम ‘शो’ दाङ मै गर्नु थियो । बाटोमा दाङमा कुन ठाउँमा प्रोग्राम देखाउने, कसरी मानिसहरुलाई सिनेमा सम्बन्धि जानकारी दिने भन्ने सल्लाह गर्दै गयौं।

जस्तो कि दाङ एउटा सानो ठाउँ थियो, त्यहाँ नेपालगन्जमा जस्तो व्यवस्थित होटल त छैन तर पनि हामीलाई त्यहाँको एउटा राम्रै होटलमा ब्यवस्था गरिएको रहेछ। मेरो पहिलो मनोप्रश्न येही थियो आफुसँग कि ‘यहाँको रुम कस्तो होला …?’

कोठामा पुगेर ढोका खोलें र बिस्तारै कोठाभित्र छिरें। कोठा सामान्य थियो। सानो १४”को टीभी पनि राखिएको रहेछ। झ्याल पनि सानो सानो …..। सबै भन्दा सकारात्मक पक्ष मलाई त्यहाँ के लाग्यो भन्दा, कोठा जत्तिसुकै सामान्य भए पनि मलाई त्यहाँ कुनै नकारात्मक संकेत महशुश भएन । एउटा लामो सास लिएर कोठा भित्र छिरें। एउटा मिठो मुस्कान मेरो अनुहारमा छरिएको थियो तर चाहेर पनि म आराम गर्न सक्दिन थिएँ, भरेको सिनेमा प्रदशनको तयारी जो गर्नुथियो। गणेश र म अनि उसको असिस्टेन्ट भएर दाङको बसपार्कमा सिनेमा देखायौं। सोचे भन्दा राम्रो रह्यो हाम्रो उद्देश्य । त्याहाँका दर्शकहरु अन्य ठाउँका भन्दा अलि चन्चल त देखिए तर हाम्रो सटिक उत्तरले उनीहरु शान्त पनि भए।

कार्यक्रम सकियो, खाना खाएर जब होटेल पुगें गणेशलाई ‘ल भाइ, म चाहीं सुत्छु … ‘ भनेर भोलि चाडै नेपालगन्ज फर्किने सल्लाह गरेर कोठा तर्फ लागें। कोठा पुगेर २-३ मिनेट जत्ति टीभी के हेर्दैथिएँ कुन बेला निदाएँ पत्तो नै पाइन। बिहान गणेशको फोन रिंगले पो ब्युझियें। उठेर तयार भएर सरसामान सहित तल झरें। चिया खाजा खाइवोरी हामी हाम्रो गन्तब्य तर्फ लाग्यौं किनकि नेपालगन्जबाट हामीलाई काठमाडौँ जाने प्लेन समाउनु थियो।

बाटोमा फर्किदा मैले यसै गणेश संग सोधे ‘ गणेश तिमीलाई निन्द्रा त राम्रो पर्यो होला हैन ?’ गणेशले हास्दै भन्यो ‘ राम्रो पर्यो दि … हजुरलाइ परेन र ? ‘
अब भने मैले आफुलाई रोक्न सकिन भनिहालें ‘ यहाँ त हैन गणेश तर नेपालगन्जमा भने म सुत्न सकेकी थिईन ….। उसले पनि सोधिहाल्यो ‘ किन र दिज्जु …? ‘ उसको स्वरमा आश्चर्य , उत्सुकता, शंका सबै मिसिएको थियो। त्यसपछि मैले पनि कथा भने झैं रातभरिको कहानी एक्कै सासमा भनेर भ्याएँ। गणेश र असिस्टेन्ट भाइ आश्चर्य मान्दै मेरो कुरा सुनिरहेका थिए। मेरो कहानी सुने पछी गणेशलाइ याद आएछ उ झट्ट बोल्यो ‘ओह , दि त्येही भएर पो हजुरले नेपालगन्जमा तिम्रो रुम ठिक छ भनेर सोध्नुभाको ….? मैले पनि हो भनेर उत्तर दिएँ।

अचानक त्यहाँ एक अर्को स्वर सुनियो अनि त्यो स्वर हाम्रो जीप चलाइरहेका चालकको थियो ‘ दिदी हजुरहरु कतै त्यो फलाना ( बिशेष कारणबस होटेलको नाम उल्लेख गर्न चाहिन ) होटेलको कुरा त गरिरहनु भएको हैन ?’ मैले पनि ‘हो हो ‘ भनेर भने। त्यसपछि उसले ‘भन्यो कोठा त्यो होटेलको कुना पट्टि थियो होला, हो दिदी ?’

मैले झन् उत्सुकताका साथ हो, सबै भन्दा कुनाको कोठा थियो त्यो …’ भनेर जवाफ दिएँ।

तेस्पछी उसले जे कुरा हामीलाई भन्यो त्यो सुनेर हामी तीनैजना आश्चर्य अनि दुखित भयौं। जीपका चालक बोल्दैथिए अनि हामी सुन्दैथियौ।

‘मलाई एकदम सम्झना छ त्यो दिन जुन दिन बागलुंगका दुइजना ब्यापारी भनिएका व्यक्तिहरु मेरो जीप रिजर्भ गरेर नेपालगन्ज जाँदैथिए। येही पछाडिको सिटमा बसेका थिए दुइ जना नै अनि तिनीहरुको कुराबाट मलाई लागिराथ्यो तिनीहरु यार्सागुम्बाका दलालहरु हुन्, एक जना भन्दैथिए कि ‘बीस पच्चीस लाख भन्दा बढी नै छ जस्तो छ, अलि बढी भने पनि काम बन्छ जस्तो होला … ,’ अर्कोले ‘ पैला भेटौं अनि के भन्छे बुझौ न ….। ‘ भन्दैथियो।

“तिनीहरुलाई मैले येही जीपमा त्येही होटेलमा लगेर छाडेको हुँ। तेसको एक दुइ दिन पछी सोहि होटेलको सोहि रुममा, जहाँ सायद तपाईं सुत्नुभाको थियो दिदी एक विदेशी महिलाको लाश भेटिएको थियो। ” लाश …???? कहिलेको कुरा हो यो ? मेरो मुखबाट भय मिश्रित आवाज निस्कियो। ” हजुर दिदी , लाश ….. अँsss भयो होला तेस्तै एक डेढ बर्ष जति त, म पनि गएको थिएँ हेर्न किनकि मैले २ दिन अघि ती दुइ जना यार्सागुम्बाका दलालहरुलाई त्येही छाडेको थिएँ र मैले हल्ला सुने अनुसार जुन महिलाको लाश त्यहाँ भेटियो ती महिला यार्सागुम्बाको ब्यापारी थिईन र यार्सागुम्बा खरिद गर्न नेपाल आएकी थिईन।”

ओह ….. , मेरो मुखबाट येत्ति नै निस्कियो।
गणेशले उसलाई सोध्यो ‘ अनि किन आत्महत्या गरेकी रहिछिन् केहि पत्ता लागेन ?’

‘अब तेत्रो पैसा बोकेर बिजनेस गर्न आउने मान्छेले किन आत्महत्या गर्नु र सर ….? मलाई आत्महत्या हैन कसैले मारेको नै होला भन्ने लाग्छ … पंखामा झुन्डेको रहेछ लाश पनि ….’

पंखामा ? फेरी मेरो अगाडी रातिको दृश्य घुम्न थालिरहेको थियो …. येही कारणले पंखा चल्दा चल्दै बन्द भएको थियो सायद ….,

मैले उसंग सोधें ‘ अनि त्यसपछि कुनै कारवाही भएन ? केहि त पत्ता लाग्यो होला …?’

“केहि भएन दिदी , ठुलाबड़ाको होटल …हत्यालाइ आत्महत्या बनाउनु कुन ठुलो कुरो हो र ठुलाठालुको लागि ? नाम बदनाम हुने डरले सबै गुपचुप राखियो नि …. कसले के गर्यो … किन गर्यो … आजसम्म कसैलाई थाहा छैन। हामीले बोल्ने कुरा आएन। हाम्रो कुरा कसले सुन्ने हजुर … फेरी त्यो झन्झटमा परेर फस्नु भन्दा आफ्नो परिवारको चिन्ता लिनु बेस नि …”

‘सिर्फ बीस पच्चीस लाखको लागि कोहि कसैको ज्यान यसरी पनि लिन सक्छ ?’ म सोच्दैथियें ….’ सायद येही कारण थियो त्यो पीडित आत्मा मसंग आफ्नो पीडा पोख्न खोज्दैथियो … आफ्नो बर्बादीको कहानी भन्न चाहन्थ्यो सायद …. कत्ति फुस्फुसाएको थियो उ मेरो कानमा कत्ति शंकेत गरेको थियो मलाई आफ्नो अतृप्त अनि बाध्यताको कहानी बुझाउन तर म…., म आफ्नो बचावटको बाटो खोज्दै थिएँ….??

मैले आफ्नो आँशुलाई रोक्न सकिन, मैले रुदै गणेशलाई आफ्नो मुर्खता भने ” भाइ सायद गल्ती गरें मैले …. , मैले एकफेर बुझ्ने कोशिश गर्नु पर्थ्यो …. उसले मलाई केहि हानि गरेको थिएन …. सिर्फ आफ्नो परिस्थितिसंग अवगत गर्न चाहेको थियो तर मैले बुझ्न सकिन ….”

गणेशले मलाई सम्झायो त्यतिबेला कि ” दि, हजुरको गल्ति हैन त्यो अवस्था नै त्यस्तै थियो … जो कोहि पनि आत्तिन्थ्यो …. अब हामी केहि गर्न सक्दैनौ दि …”
चालक भाइ भन्दैथियो ” त्यो कोठा त त्यसपछि खोलेकै छैन भन्ने पो सुनिन्थ्यो त दिदी … फेरी कसरी हजुरलाई चाहिं दिएछन त ….?”

यसको उत्तर त हामी कसैसंग पनि थिएन तर पनि मैले भने ” सायद रुमहरु नपुगेर होला ……?”

केहि घण्टापछि हामी नेपालगन्ज एअरपोर्टमा थियौं। मन एकदम उदास थियो। घडी घडी त्येही रातको एकएक घटना आँखा ओरिपरी घुमिरहेको थियो।
गणेश बोर्डिंग पास लिएर मेरो नजिक आयो ‘दिदी जाउँ अब प्लेन आइसकेको छ।’ मैले सहमतिमा टाउको हल्लाएर उसको पछी लागें।

प्लेन एकछिनमा नेपालगन्जको आकाशमा उडिरहेको थियो। मैले प्लेनको झ्यालबाट नेपालगन्ज बजार तिर नजर दौडाएँ। थुप्रै घरहरुको बिचमा त्यो होटेल पनि देखियो … मलाई लागिरहेको थियो कोहि मलाई अहिले पनि पुकारिरहेको छ …. होटेलको त्यो बन्द कोठाबाट …., नजर कोहि आएको थिएन तर , आवाज अझै उही फुस्फुसाहटमा मेरो कानमा गुन्जिरहेको थियो ……

“अस्तु “

न्युयोर्क, २३ नोभेम्बर

(स्रोत : Nepalipost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.