विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ ।
सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु पर्यो । दिनको करिव २ वजेको समयमा म शौचालयवाट फर्केर आएर अफिसको मेचमा वसेर झ्यालवाहिर हेर्दा अचानक चक्कर लाग्यो । झ्याल वाहिरको दृष्य हल्लिएको झैं देखियो । यस्तो कहिलेकाहीं हुन्छ, जो कसैलाई पनि । मलाई पनि भएको छ, तर क्षण भरमै त्यो अवस्था रहन्न र सामान्य हुन्छ । त्यस्तै सामान्य होला भनेर म मेचवाट उठ्न खोजें तर मेरा खुट्टा उभिनका लागि तयार भएनन् । म थुचुक्क वसें र पुन उठेर उभिन प्रयास गर्दा पनि सकिंन र टाउको झन् घुमेको र ढलुँलाजस्तो अनुभव भएपछि मलाई स्थिति सामान्य होइन भन्ने लाग्यो र मैले सँगैको साथी चेङ्गप्पालाई भनें ।
उनले के भयो भनेर सोधे । मैले चक्कर लागेको वताएँ र भनंे मलाई गाहृ्रो होला जस्तो छ । उनले साहृ्रै गाहृ्रो भएको हो भनेर सोधे । मैले हो, साहृ्रै गाहृ्रो भो ९११ मा फोन गर्न लगाउनोस् भनें । उनी रिसेप्सनिष्ट मार्टीलाई फोन गर्न लगाउन गए र त्यतिन्जेल अफिसभरि हल्ला भैहाल्यो र सवै स्टाफहरु झुम्मिन आई पुगे ।
कसैले भन्यो, घरमा फोन गर्नोस् । तर फोन नं थिच्न मेरो शक्ति भएन र मैले मेरो ठूलो छोराको नम्वर मुखले वताएँ । तर मेरो दृष्टि धमिलोधमिलो भैरहेको थियो ।
मैले आफ्नो फोन सेट समातें र श्रीमतीको नं थिचें । अनि फोन सुपरभाइजर सुमनले लिइन् र मेरो वारेमा संक्षिप्त स्थिति वताएर मलाई कुरा गर्न दिइन् । मैले मलाई चक्कर लागेको र इमरजेन्सी जान लागेको वताएर फोन राखें ।
यसैवीच दुइ साथीहरुले पाखुरामा समातेर रिसेप्सन कक्षमा रहेको सोफासेटमा ल्याएर सुताइसकेका थिए ।
त्यसको केही क्षणमा साइरन वजाउँदै एम्वुलेन्स र दमकल आइपुगे । दमकलमा पनि प्राथमिक उपचार गर्न सक्षम व्यक्ति हुन्छन् र एम्वुलेन्सले त अस्पतालमा आकस्मिक कक्षमा लैजाने नै भयो ।
मलाई सामान्य सोधपुछ गरे केके भएको भनेर अनि दुइ जनाले वोकेर अफिसवाहिर ल्याई स्ट्र्रेचरमा राखे र स्ट्र्रेचरलाई एम्वुलेन्समा चढाए ।
त्यसपछि मेरो व्लड प्रेसर नापियो, इको कार्डियोग्राम गरियो र अस्पतालमा फोनवाट रिपोर्टिंग गरेपछि एम्वुलेन्स अस्पतालतिर लाग्यो । अनि अस्पताल लैजाँदै गर्दा मलाई अक्सिजन पनि लगाइयो । यो सव १५ मिनेटजतिमा भैसकेको थियो र म अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्याइसकिएको थिएँ ।
०००
अस्पतालको आकस्मिक कक्षमा पुग्नासाथ नर्स र डाक्टरहरु आए र मेरो स्वास्थ परीक्षण गर्न थाले र के के भएको थियो सारा विवरणहरु लिन थाले । तत्काल पिसाव परीक्षण र रगत परीक्षणका लागि नमूना लिए र मेरो व्लड प्रेसर र मुटुको परीक्षण निरन्तर रुपमा गर्नका लागि मोनिटरसँग छातीमा तारले जोडेर आवद्ध गरिदिए ।
यतिन्जेलसम्म घरबाट श्रीमती र छोरा आइसकेका थिए र थप डाक्टरहरु आएर थप परीक्षणहरु गर्न थालेका थिए ।
यौटा डाक्टर आएर मलाई उभ्भिन लगाए तर म सिधा उभ्भिन नसकेर एकातिर ढल्केजस्तो भएँ । यो स्ट्र्रोकको लक्षण हुन सक्ने अनुमान छ भने । तर त्यसको लागि सिटी स्क्यान गर्नुपर्छ भने र केही समय पछि म सिटी स्क्यानका लागि लगिएँ । सिटी स्क्यानमा लग्ने परिचारक सिटी स्क्यान सकिंदा मलाई लिन आइपुगेको थिएन । सिटी स्क्यान गर्ने नर्सले मलाई तिमीलाई जाडो भयो होला भनेर न्यानो मन तातो वनाइएको कम्वल ओढाइदिइन् । त्यसको केही क्षणमा अघि मलाई सिटी स्क्यान गराउने ठाउँसम्म ल्याइदिने परिचारक आएर मलाई पुनः आकस्मिक कक्षको उही वेडमा लगिदियो ।
मलाई यतिन्जेल केवल रगत पातलो बनाउन एस्पिरिन मात्र दिइएको थियो र पुनः मुटुको गति, व्लड प्रेसर निरन्तर परिक्षणका लागि मोनिटरसँग जोडिसकिएको थियो ।
यो सभ्यता हो कि दैनिकी, परम्परा हो कि शिष्टाचार, जव कुनै नर्स, परिचारक हुन् वा डाक्टर आउने वित्तिकै अभिवादन गर्दै सोध्छन् म फलानो हुँ, तपाईलाई कस्तो छ ?
त्यसपछि आवश्यक सोध पुछ गर्छन्, परिक्षण गर्छन्, हाँसी हाँसी ठट्टा गर्दै प्रफुल्ल मुद्रामा कुरा गर्छन् । अनि जाने वेलामा भन्छन् , मैले गर्नु पर्ने केही छ भने भन्नुस् ।
झण्डै २ घण्टामा म सहज भैसकेको थिएँ र अघिको डाक्टर फेरि आएर मेरो परिक्षण गर्न थाले । उनले उभिन लगाए । म राम्ररी उभिन सकें । हिंड्न लगाए, म हिंड्न सकें । ओर्कन फर्कन लगाए, त्यो पनि गर्न सकें । त्यतिन्जेलमा सिटी स्क्यानको रिपोर्ट पनि आयो, त्यसमा केही अन्यथा देखिएन । तर पनि डाक्टरको भनाई थियो, यो स्ट्र्रोक नै हुन सक्छ । तर पक्का पक्की गर्न एमआरआइ गर्नु पर्छ र त्यसको रिपोर्ट भोलिमात्र आउने हुँदा आज एक रात हस्पिटलमा भर्ना भएर वस्नु पर्छ ।
अव अस्पतालमा भर्नाको प्रकृया शुरु भयो र मलाई छैठौं तल्लाको कोठा नम्वर ६३८ मा पुर्याइयो ।
०००
अव म अस्पतालमा औपचारिक रुपमा भर्ना भएको थिएँ ।
यौटी दक्षिण भारतिय रुपकी हँसिली नर्स आएर बताइन्, उनी आजका लागि मेरी नर्स हुन् ।
उनले मेरो तापक्रम लिइन्, व्ल्ड प्रेसर र मुटुको चाल लिइन् । अनि भनिन्, केही चाहिन्छ कि ?
मैले सव ठिक छ भनेपछि उनले वताइन्, कुनै पनि वेला केही चाहिए यो वटन दवाउनु होला ।
मेरो वेडमा रिमोट थियो जसवाट टिभी खोल्न, च्यानल वदल्न सकिन्थ्यो । त्यसै रिमोटवाट कोठाको बत्ती वाल्न निभाउन सकिन्थ्यो र सकिन्थ्यो आकस्मिक सेवाका लागि नर्स वोलाउन पनि । रातो ठूलो वटन आकस्मिक सेवाका लागि बोलाउनका लागि रहेछ ।
एकैछिन पछि यौटी अर्की नर्स आएर मेरो हातमा यौटा कागज थमाउँदै भनिन्, यो खानाको मेनु । आज त क्याफ्टेरिया बन्द भैसक्यो । भोलि व्रेकफास्ट साँढे ६ वजे मगाउन सकिन्छ । अहिलेलाई यो खानु भनेर टर्की स्याण्डविच र जुस दिएर गइन् ।
केहीवेरपछि यौटी फुच्ची गोरी आएर मेरो तापक्रम र व्लड प्रेसर लिन आइन् । उनी थिइन् विद्यार्थी प्रशिक्षणमा आएकी । उनैले सो वताइन् र सोधिन्, तपाईं कुन देशबाट हो ?
मैले नेपाल भनें ।
उनले तुरुन्तै भनिन्, यहाँ मेरा २ जना साथी नेपाली छन्, मजस्तै विद्यार्थी । यौटीको नाम दीपा हो, अर्कीको नाम अलि अप्ठ्यारो छ । म उनीहरुलाई वताउँछु है ।
मैले हुन्छ भनें ।
केही वेरपछि दीपा आइन् र केही वेर चिनाजानी र सामान्य कुरा भए ।
त्यसपछि त्यो गोरी केटीले नाम उच्चारण गर्न गाहृ्रो भएको नानी आइन् । ती रहिछन् शिखा । भरे कुरा गर्दै जाँदा त उनी मेरा मित्र मनोज दवाडीकी छोरी पो रहिछन् ।
त्यसपछि त कुराको सिलसिला लम्बिने नै भयो ।
नेपाली नेपाली बीच भेट हुँदा हुने आत्मियता, भावुकता र सद्भाव त्यहाँ छचल्किएको थियो ।
उनीहरु ११ बजेसम्मको १० घण्टे ड्यूटी सकेर घर जान उठे ।
त्यसको केहीवेरमा मैले अन्जु र अनुभवलाई पनि घर जान भनें । किनभने उनीहरुले मलाई कुरेर वस्नुपर्ने अवस्था र आवश्यकता दुवै थिएन ।
त्यसपछि पनि नर्स आएर तापक्रम र व्लड प्रेसर निर्धारित समयमा लिने काम भैरहृयो ।
राती झण्डै २ वजे न्यूरोलोजी डिपार्टमेण्टका डाक्टर आएर विस्तृत रुपमा जाँच गरे र जाँदा जाँदै भने, बाँकी रात राम्रोसँग बिताउनु है ।
रात बास्तवमा टुक्राटुक्रा भएको थियो । चोइटिएको थियो । मेरा विचार श्रृङ्खला पनि छरपस्ट भएका थिए ।
अप्रत्यासित रुपमा अस्पतालमा वास वस्न आइपुगेको थिएँ ।
पुनः आँखा लागेछ । निदाएछु । व्यूँझदा झरिपछिको आकाश र आँखाले देखेजति धर्तीको भाग उज्यालो र रमणिय देखियो । सिसाको झ्यालवाहिरको दृष्य फ्रे्रम हालेको तस्वीर झैं देखियो र मैले आइफोनवाट त्यो दृष्यको तस्वीर लिएँ ।
०००
विहानै नर्स आएर भनिन्, मेरो पालो सकियो अव यिनले ति म्रो सेवा गर्नेछिन् ।
नयाँ नर्सले मेरो तापक्रम र व्लड प्रेसर मापन गरिन् । त्यसको केही वेरमै यौटा पुरुष आएर भन्यो, अब ति म्रो एमआरआईका लागि तल लैजाने हो, तिमी तयार छौ ?
मैले आफू तयार भएको वताएपछि वेडवाट गुड्ने स्ट्र्रेचरमा सुतें र उसले एमआरआई गर्ने कोठाको ढोकामा पुर्याएर छाडिदियो र एमआरआई गर्ने महिलाले मलाई कोठाभित्र लगिन् र उनले वताईन्, अव त्रि्रो एमआर आई गरिन्छ । यसका विभिन्न चरण हुनेछन्, आधा घण्टा, बीस मिनेट, बाहृ्र मिनेट आदि । झण्डै डेड घण्टा लाग्नेछ । वीचमा कुनै बेला पनि अप्ठ्यारो, गाहृ्रो भयो भने मैले हातमा दिएको वल थिच्नु । हलचल नगरी बस्नु ।
यति भनेर एमआरआईका लागि विशेष रुपले बनाइएको स्ट्र्रेचरमा मलाई सुताइन् र टाउको अड्ने ठिक्कको ठाउँमा टाउको राख्न लगाएर त्यसको छेउछाउमा फोमका टुक्राटाक्री राखिसकेपछि हक्की खेल्दा लगाउने हेल्मेटको जस्तो धातुको फ्रेम लगाइदिंदै भनिन् आँखा हेर्न पनि सकिन्छ तर चिम्लिए राम्रो । ठूलो टूलो आवाज पनि आउँछ, नआत्तिनु है ।
सवै तयारी गरेपछि तिनले मेरो हातमा वल जस्तो गिलोगिलो बस्तु राखिदिइन् । क्यै गाह्रो भयो भने यो थिच्नु ।
अव शुरु हुन्छ । तिमीलाई ठिक छ ? तिनले सोधिन् ।
मैले ठिक छ भने पछि एमआरआई लिने काम शुरु भयो । मलाई राखिएको स्ट्र्रेचर मेसिनभित्र हालियो । म कताकता अँध्यारो सुरुङ्ग्रभित्र प्रवेश गरे झैं भयो । अत्यासलाग्दो लाग्यो मलाई । हिजो क्याट स्क्यान गर्दा पनि यस्तै यस्तै भएको थियो । तर आजको फरक थियो । विचित्र प्रकारका आवाजहरु निकै जोडले आउन थाले र माइलौं माइल सुरुङ्गभित्र लगातार पसेझैं आभासले एकदमै अत्यासपूर्ण लाग्यो र एकदम मुटु हल्लिएझैं भयो । तर पनि दाहृ्रा किटेर त्यो अत्यासलाई सहन गर्ने प्रयास गरें र लगातारको त्यो आवाजलाई पनि सहन गर्ने प्रयत्न गरें । कतै टाढा निर्जन अन्धकारमा पुगेको अनुभव गरें । यत्तिकैमा ती एमआरआई गर्ने परिचारिकाको आवाज कानमा गुञ्जियो, आर यू अलर्राईट, अर्थात् तिमीलाई ठिक छ ?
मैले यस भनेपछि तिनले भनिन्, अव अर्को शुरु हुन्छ ।
त्यो पनि सकियो ।
अर्को पनि सकियो र अर्को अर्को पनि ।
अन्तमा सवै सकियो र मेसिनवाट मलाई वाहिर ल्याइयो । मलाई कसकास गरिएका सवै वस्तु हटाएपछि तिनले भनिन्, तिमी राम्रोसँग बसेकोले सवथोक राम्रोसँग गर्न सकियो ।
तर तिनलाई मेरो मनोदशाको के अन्दाज ? झण्डै होस् उड्ला जस्तो भएको त्यो क्षण अव वितिसकेको थियो ।
०००
अव म पुनः आफ्नो कोठा नं ६३८ मा आइसकेको थिएँ र आफ्नो कोठाको ओछ्यानमा पल्टिसकेको थिएँ । कताकता एमआरआई गर्दाको धङ्धङी बाँकी रहेको अनुभव भैरहेको थियो ।
यसै बीच मैले फोन गरेर व्रेकफाष्ट मगाएँ ।
व्रेकफाष्ट आउनु अघि नै नर्स आएर सोधिन्, ब्रेकफाष्ट खायौ ?
मैले भर्खर मगाएको छु भनें ।
त्यसपछि यौटा व्यक्ति आएर आफ्नो परिचय दिंदै परिक्षणका लागि रगत लिन आएको बतायो र रगत लिएर गयो ।
बल्ल व्रेकफाष्ट आयो र मैले बेकफाष्ट खाएँ ।
ब्रेकफाष्ट खाएको एकैछिनमा यौटी नर्स आएर आफ्नो परिचय दिंदै भनी अब मैले एस्पिरिन मात्र होइन व्लड प्रेसरको औषधी पनि नियमित रुपमा खानुपर्छ र खानुपर्छ कोलोष्ट्र्रलको औषधी पनि ।
उसले औषधीको नाम बताई र ती औषधीबाट हुनसक्ने साइड इफेक्टको बारेमा पनि बताई । त्यति मात्र नभएर त्यसको वर्णन गरेको कागज पनि मेरो हातमा थमाइदिई ।
अनि उसले मलाई औषधी खान दिई ।
अव मैले जीवनभर यी औषधी खानै पर्छ ।
यौटा हँसिलो गोरे डाक्टर आएर बतायो, उ मेरो लागि डाक्टर हो । अनि उसले भन्यो तिमीलाई स्ट्र्रोक भएको भन्न त म सक्दिन, तर न्यूरोलोजिष्टले आएर सम्भवत त्यो भन्नेछन् । शायद उनी आज आएर त्यसो भनेपछि तिमीलाई डिस्चार्ज गर्न सकिन्छ ।
अनि उसले आफ्नो विजिनेस कार्ड थमाउँदै भन्यो, मेरो आवश्यकता पर्यो भने सर्म्पर्क गर्नु होला ।
दिउँसोतिर एकजना चिनियाँ मूलको अनुहारधारी परिचारक आएर आफ्नो परिचय दिंदै भन्यो, त्रि्रो थुप्रै परिक्षणका लागि निक्कै नै थुप्रै रगत लिनु छ । तर आत्तिनु पर्दैन आधा घण्टा जतिमा सव ठिक हुन्छ ।
उसले साना ठूला ४०।५० वटा शिशीमा रगत निकाल्यो, एउटै नसावाट नसकेर फरक फरक तीन ठाउँमा गरेर ।
उसले वतायो, यसमध्ये केही चाहीं यो अस्पतालवाहिर पनि पठाइन्छ ।
मलाई यो वाक्यले अलि झस्कायो, यी सवको रिपोर्ट आउन त हप्तौं लाग्ने भो भने के म हप्तौं वस्नु पर्ने भो त अस्पताल ?
यसको जवाफ त्यो परिचारकसँग थिएन ।
त्यो त रगत लिएपछि गयो ।
अव प्रतिक्षा थियो त्यो न्यूरोलोजिष्टको जसले स्ट्रोक भए नभएको वताएर डिस्चार्जको प्रकृया अगाडि बढाओस् ।
तर अन्तमा त्यो न्यूरोलोजिष्ट नआउने भएपछि एक रात थप वस्नुको विकल्प थिएन र मैले डिनर मगाएँ ।
न्यरोलोजिष्टसँग कुरा गर्न र थप जानकारी लिन तथा डिस्चार्ज गर्ने भए साथै लिएर जान पर्खि बसेका श्रीमती र छोरा घर गए र म पुनः अस्पतालको एकान्तमा एक्लिएँ ।
यसैबीच मैले आई फोनवाट आफ्नो फोटो लिएर पेनलवर्स इन नेपालका लागि किशोर पहाडीलाई पठाइसकेको थिएँ र आफ्नो स्वास्थ्यको बारेमा बताएको थिएँ । त्यो फेसवुकको वालमा पोष्ट हुनासाथ संसारभरिवाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कमेण्ट गरिरहेका थिए, परिचित, अपरिचित शुभचिन्तक सवैवाट । कैयन् ठाउँबाट त फोन पनि आयो । मलाई कताकता महशुश भयो, मैले जीवनमा मित्रहरु कमाएकै रहेछु ।
०००
तेश्रो दिन शुक्रबार विहान पनि कोठा नं ६३८ को झ्याल वाहिरको दृष्य उस्तै थियो । अव आज त पक्कै घर गइन्छ होला भन्ने लाग्यो । तर डाक्टरले के भन्ने हुन् त्यसको पत्तो थिएन । विहानदेखि नै रगत लिने, तापक्रम लिने, व्लड प्रेसर लिने काम भइरहेको थियो ।
अव ब्रेकफाष्ट खानु पर्यो भनेर फोन गरेको त आज तिम्रो लागि व्रेकफाष्टको अर्डर छैन भनियो । छक्क परें म । कतै विशेष क्यै जाँचको लागि क्यै खान नहुने भएर खानेकुरा बन्द गरेका हुन् कि भन्ने तर्कना गरें । के हो बुझ्न मैले रातो वटन थिचेर नर्स वोलाएँ र ब्रेकफाष्ट किन अर्डर नभएको बुझ्न भनें । उ फोन गर्न थाली ।
वास्तवमा स्वस्थकर तर स्टार होटलको स्तरको खाना पाइन्छ अस्पतालमा । यो भन्दा अघि पनि एकपल्ट ५ दिन यही अस्पतालमा बसेको अनुभव छ मसँग । अझ कस्तो रोग लागेको, कस्तो विरामी हो सोही अनुसारको खाना मात्र दिइन्छ । मेनुमा भए पनि तपाईंले यो खाना खान सक्नुहुन्न भनिदिन्छन् ।
केहीवेरपछि नर्स आएर भनी व्रेकफाष्ट अर्डर गरे हुन्छ ।
मैले ब्रेकफाष्ट अर्डरगरें । आयो । खाएँ । र पर्खन थालें कहिले घरवाट श्रीमती र छोरा आउलान्, कहिले डाक्टर आउलान् भन्दै ।
मध्यान्हतिर हिजोकै डाक्टर झुल्किए । यतिन्जेल घरवाट श्रीमती र छोरा आइसकेका थिए ।
डाक्टरले वताए, न्यूरोलोजीका डाक्टरसँग उनको सम्वाद भयो र अब उनी आउँदैनन् । मलाई स्ट्रोक त भएको हो, तर एकदमै माइल्ड, जुन मष्तिष्कमा पुगेको संकेत एमआरआईले त देखायो तर भाग्यबस त्यसको कुनै असर छाडेन, कुनै खरावी गरेन, एक प्रकारको वार्निंग मात्र हो । तर अर्कोपल्ट परिस्थिति यस्तो सुखद नहुन सक्छ, अत मैले रगत पातलो बनाउन वेवी एस्पिरिन, व्लड प्रेसर लेवलमा राख्न ५ एमजीको लिसिनोप्रिल र ४० एमजीको सिम्वास्टाटिन जीवनभर खानुपर्छ । यी औषधी रोग निको पार्नका लागि नभई स्वस्थ रहनका लागि हो ।
अब डाक्टरको काम सकिएको थियो र मैले अस्पतालमा वस्नुपर्ने आवश्यकता पनि रहेन र डिस्चार्जको प्रकृया शुरु भयो ।
डिस्चार्जको प्रकृया भन्नु के र, मैले खानुपर्ने औषधीको लागि प्रेस्कृप्सन लिने, औषधीको बारेमा मलाई जानकारी दिने र मैले सबै जानकारी पाएँ भनेर सही गर्ने मात्रै हो ।
त्यो सबै गरेपछि मलाई अस्पतालको ढोकासम्म पुर्याउन आई र मेरो सुस्वास्थ्यको कामना गरेपछि गई ।
अनि अस्पतालको वील ?
त्यसको त पत्तो नै छैन । त्यसो त मेरो स्वास्थ्य बिमा छ अफिसले गरिदिएको त्यसले व्यहोर्ला, नवेहोरेजति मैले व्यहोर्नु पर्ला । तर मुख्य कुरा त उपचार हो, त्यो भएको थियो । अस्पतालले पुनर्जिवन दिएको थियो ।
हुन पनि अस्पतालको आकस्मिक कक्षमा साइनवोर्ड नैछ, यहाँ तपाई आइपुगिसक्नु भएको छ, उपचार पाउनु तपाईंको अधिकार हो । तपाईंको स्वास्थ्य विमा भए नभएको, तपाईंको कानूनी कागजात भए नभएको सँग सरोकार छैन । यदि यहाँ उपचार हुन नसके उपयुक्त ठाउँसम्म पुर्याउने कर्तव्य पनि हाम्रै हो ।
शायद मानवियता भनेको यही नै हो । मान्छे बाँचे उसले ऋण तिर्ला, तर मुख्य कुरा बाँच्नु हो, बचाउनु हो ।
म वाँचेर घर फिर्दै थिएँ ।
मनासस, भर्जिनिया । , १ जनवरी
(स्रोत : Nepalipost.com )