संस्मरण : दुइ रात अस्पतालमा बास

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ ।

सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु पर्‍यो । दिनको करिव २ वजेको समयमा म शौचालयवाट फर्केर आएर अफिसको मेचमा वसेर झ्यालवाहिर हेर्दा अचानक चक्कर लाग्यो । झ्याल वाहिरको दृष्य हल्लिएको झैं देखियो । यस्तो कहिलेकाहीं हुन्छ, जो कसैलाई पनि । मलाई पनि भएको छ, तर क्षण भरमै त्यो अवस्था रहन्न र सामान्य हुन्छ । त्यस्तै सामान्य होला भनेर म मेचवाट उठ्न खोजें तर मेरा खुट्टा उभिनका लागि तयार भएनन् । म थुचुक्क वसें र पुन उठेर उभिन प्रयास गर्दा पनि सकिंन र टाउको झन् घुमेको र ढलुँलाजस्तो अनुभव भएपछि मलाई स्थिति सामान्य होइन भन्ने लाग्यो र मैले सँगैको साथी चेङ्गप्पालाई भनें ।

उनले के भयो भनेर सोधे । मैले चक्कर लागेको वताएँ र भनंे मलाई गाहृ्रो होला जस्तो छ । उनले साहृ्रै गाहृ्रो भएको हो भनेर सोधे । मैले हो, साहृ्रै गाहृ्रो भो ९११ मा फोन गर्न लगाउनोस् भनें । उनी रिसेप्सनिष्ट मार्टीलाई फोन गर्न लगाउन गए र त्यतिन्जेल अफिसभरि हल्ला भैहाल्यो र सवै स्टाफहरु झुम्मिन आई पुगे ।

कसैले भन्यो, घरमा फोन गर्नोस् । तर फोन नं थिच्न मेरो शक्ति भएन र मैले मेरो ठूलो छोराको नम्वर मुखले वताएँ । तर मेरो दृष्टि धमिलोधमिलो भैरहेको थियो ।

मैले आफ्नो फोन सेट समातें र श्रीमतीको नं थिचें । अनि फोन सुपरभाइजर सुमनले लिइन् र मेरो वारेमा संक्षिप्त स्थिति वताएर मलाई कुरा गर्न दिइन् । मैले मलाई चक्कर लागेको र इमरजेन्सी जान लागेको वताएर फोन राखें ।

यसैवीच दुइ साथीहरुले पाखुरामा समातेर रिसेप्सन कक्षमा रहेको सोफासेटमा ल्याएर सुताइसकेका थिए ।

त्यसको केही क्षणमा साइरन वजाउँदै एम्वुलेन्स र दमकल आइपुगे । दमकलमा पनि प्राथमिक उपचार गर्न सक्षम व्यक्ति हुन्छन् र एम्वुलेन्सले त अस्पतालमा आकस्मिक कक्षमा लैजाने नै भयो ।

मलाई सामान्य सोधपुछ गरे केके भएको भनेर अनि दुइ जनाले वोकेर अफिसवाहिर ल्याई स्ट्र्रेचरमा राखे र स्ट्र्रेचरलाई एम्वुलेन्समा चढाए ।

त्यसपछि मेरो व्लड प्रेसर नापियो, इको कार्डियोग्राम गरियो र अस्पतालमा फोनवाट रिपोर्टिंग गरेपछि एम्वुलेन्स अस्पतालतिर लाग्यो । अनि अस्पताल लैजाँदै गर्दा मलाई अक्सिजन पनि लगाइयो । यो सव १५ मिनेटजतिमा भैसकेको थियो र म अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्‍याइसकिएको थिएँ ।

०००

अस्पतालको आकस्मिक कक्षमा पुग्नासाथ नर्स र डाक्टरहरु आए र मेरो स्वास्थ परीक्षण गर्न थाले र के के भएको थियो सारा विवरणहरु लिन थाले । तत्काल पिसाव परीक्षण र रगत परीक्षणका लागि नमूना लिए र मेरो व्लड प्रेसर र मुटुको परीक्षण निरन्तर रुपमा गर्नका लागि मोनिटरसँग छातीमा तारले जोडेर आवद्ध गरिदिए ।

यतिन्जेलसम्म घरबाट श्रीमती र छोरा आइसकेका थिए र थप डाक्टरहरु आएर थप परीक्षणहरु गर्न थालेका थिए ।

यौटा डाक्टर आएर मलाई उभ्भिन लगाए तर म सिधा उभ्भिन नसकेर एकातिर ढल्केजस्तो भएँ । यो स्ट्र्रोकको लक्षण हुन सक्ने अनुमान छ भने । तर त्यसको लागि सिटी स्क्यान गर्नुपर्छ भने र केही समय पछि म सिटी स्क्यानका लागि लगिएँ । सिटी स्क्यानमा लग्ने परिचारक सिटी स्क्यान सकिंदा मलाई लिन आइपुगेको थिएन । सिटी स्क्यान गर्ने नर्सले मलाई तिमीलाई जाडो भयो होला भनेर न्यानो मन तातो वनाइएको कम्वल ओढाइदिइन् । त्यसको केही क्षणमा अघि मलाई सिटी स्क्यान गराउने ठाउँसम्म ल्याइदिने परिचारक आएर मलाई पुनः आकस्मिक कक्षको उही वेडमा लगिदियो ।

मलाई यतिन्जेल केवल रगत पातलो बनाउन एस्पिरिन मात्र दिइएको थियो र पुनः मुटुको गति, व्लड प्रेसर निरन्तर परिक्षणका लागि मोनिटरसँग जोडिसकिएको थियो ।

यो सभ्यता हो कि दैनिकी, परम्परा हो कि शिष्टाचार, जव कुनै नर्स, परिचारक हुन् वा डाक्टर आउने वित्तिकै अभिवादन गर्दै सोध्छन् म फलानो हुँ, तपाईलाई कस्तो छ ?

त्यसपछि आवश्यक सोध पुछ गर्छन्, परिक्षण गर्छन्, हाँसी हाँसी ठट्टा गर्दै प्रफुल्ल मुद्रामा कुरा गर्छन् । अनि जाने वेलामा भन्छन् , मैले गर्नु पर्ने केही छ भने भन्नुस् ।

झण्डै २ घण्टामा म सहज भैसकेको थिएँ र अघिको डाक्टर फेरि आएर मेरो परिक्षण गर्न थाले । उनले उभिन लगाए । म राम्ररी उभिन सकें । हिंड्न लगाए, म हिंड्न सकें । ओर्कन फर्कन लगाए, त्यो पनि गर्न सकें । त्यतिन्जेलमा सिटी स्क्यानको रिपोर्ट पनि आयो, त्यसमा केही अन्यथा देखिएन । तर पनि डाक्टरको भनाई थियो, यो स्ट्र्रोक नै हुन सक्छ । तर पक्का पक्की गर्न एमआरआइ गर्नु पर्छ र त्यसको रिपोर्ट भोलिमात्र आउने हुँदा आज एक रात हस्पिटलमा भर्ना भएर वस्नु पर्छ ।

अव अस्पतालमा भर्नाको प्रकृया शुरु भयो र मलाई छैठौं तल्लाको कोठा नम्वर ६३८ मा पुर्‍याइयो ।

०००

अव म अस्पतालमा औपचारिक रुपमा भर्ना भएको थिएँ ।

यौटी दक्षिण भारतिय रुपकी हँसिली नर्स आएर बताइन्, उनी आजका लागि मेरी नर्स हुन् ।

उनले मेरो तापक्रम लिइन्, व्ल्ड प्रेसर र मुटुको चाल लिइन् । अनि भनिन्, केही चाहिन्छ कि ?

मैले सव ठिक छ भनेपछि उनले वताइन्, कुनै पनि वेला केही चाहिए यो वटन दवाउनु होला ।

मेरो वेडमा रिमोट थियो जसवाट टिभी खोल्न, च्यानल वदल्न सकिन्थ्यो । त्यसै रिमोटवाट कोठाको बत्ती वाल्न निभाउन सकिन्थ्यो र सकिन्थ्यो आकस्मिक सेवाका लागि नर्स वोलाउन पनि । रातो ठूलो वटन आकस्मिक सेवाका लागि बोलाउनका लागि रहेछ ।

एकैछिन पछि यौटी अर्की नर्स आएर मेरो हातमा यौटा कागज थमाउँदै भनिन्, यो खानाको मेनु । आज त क्याफ्टेरिया बन्द भैसक्यो । भोलि व्रेकफास्ट साँढे ६ वजे मगाउन सकिन्छ । अहिलेलाई यो खानु भनेर टर्की स्याण्डविच र जुस दिएर गइन् ।

केहीवेरपछि यौटी फुच्ची गोरी आएर मेरो तापक्रम र व्लड प्रेसर लिन आइन् । उनी थिइन् विद्यार्थी प्रशिक्षणमा आएकी । उनैले सो वताइन् र सोधिन्, तपाईं कुन देशबाट हो ?
मैले नेपाल भनें ।

उनले तुरुन्तै भनिन्, यहाँ मेरा २ जना साथी नेपाली छन्, मजस्तै विद्यार्थी । यौटीको नाम दीपा हो, अर्कीको नाम अलि अप्ठ्यारो छ । म उनीहरुलाई वताउँछु है ।
मैले हुन्छ भनें ।

केही वेरपछि दीपा आइन् र केही वेर चिनाजानी र सामान्य कुरा भए ।

त्यसपछि त्यो गोरी केटीले नाम उच्चारण गर्न गाहृ्रो भएको नानी आइन् । ती रहिछन् शिखा । भरे कुरा गर्दै जाँदा त उनी मेरा मित्र मनोज दवाडीकी छोरी पो रहिछन् ।

त्यसपछि त कुराको सिलसिला लम्बिने नै भयो ।

नेपाली नेपाली बीच भेट हुँदा हुने आत्मियता, भावुकता र सद्भाव त्यहाँ छचल्किएको थियो ।

उनीहरु ११ बजेसम्मको १० घण्टे ड्यूटी सकेर घर जान उठे ।

त्यसको केहीवेरमा मैले अन्जु र अनुभवलाई पनि घर जान भनें । किनभने उनीहरुले मलाई कुरेर वस्नुपर्ने अवस्था र आवश्यकता दुवै थिएन ।

त्यसपछि पनि नर्स आएर तापक्रम र व्लड प्रेसर निर्धारित समयमा लिने काम भैरहृयो ।

राती झण्डै २ वजे न्यूरोलोजी डिपार्टमेण्टका डाक्टर आएर विस्तृत रुपमा जाँच गरे र जाँदा जाँदै भने, बाँकी रात राम्रोसँग बिताउनु है ।

रात बास्तवमा टुक्राटुक्रा भएको थियो । चोइटिएको थियो । मेरा विचार श्रृङ्खला पनि छरपस्ट भएका थिए ।

अप्रत्यासित रुपमा अस्पतालमा वास वस्न आइपुगेको थिएँ ।

पुनः आँखा लागेछ । निदाएछु । व्यूँझदा झरिपछिको आकाश र आँखाले देखेजति धर्तीको भाग उज्यालो र रमणिय देखियो । सिसाको झ्यालवाहिरको दृष्य फ्रे्रम हालेको तस्वीर झैं देखियो र मैले आइफोनवाट त्यो दृष्यको तस्वीर लिएँ ।

०००

विहानै नर्स आएर भनिन्, मेरो पालो सकियो अव यिनले ति म्रो सेवा गर्नेछिन् ।

नयाँ नर्सले मेरो तापक्रम र व्लड प्रेसर मापन गरिन् । त्यसको केही वेरमै यौटा पुरुष आएर भन्यो, अब ति म्रो एमआरआईका लागि तल लैजाने हो, तिमी तयार छौ ?

मैले आफू तयार भएको वताएपछि वेडवाट गुड्ने स्ट्र्रेचरमा सुतें र उसले एमआरआई गर्ने कोठाको ढोकामा पुर्‍याएर छाडिदियो र एमआरआई गर्ने महिलाले मलाई कोठाभित्र लगिन् र उनले वताईन्, अव त्रि्रो एमआर आई गरिन्छ । यसका विभिन्न चरण हुनेछन्, आधा घण्टा, बीस मिनेट, बाहृ्र मिनेट आदि । झण्डै डेड घण्टा लाग्नेछ । वीचमा कुनै बेला पनि अप्ठ्यारो, गाहृ्रो भयो भने मैले हातमा दिएको वल थिच्नु । हलचल नगरी बस्नु ।

यति भनेर एमआरआईका लागि विशेष रुपले बनाइएको स्ट्र्रेचरमा मलाई सुताइन् र टाउको अड्ने ठिक्कको ठाउँमा टाउको राख्न लगाएर त्यसको छेउछाउमा फोमका टुक्राटाक्री राखिसकेपछि हक्की खेल्दा लगाउने हेल्मेटको जस्तो धातुको फ्रेम लगाइदिंदै भनिन् आँखा हेर्न पनि सकिन्छ तर चिम्लिए राम्रो । ठूलो टूलो आवाज पनि आउँछ, नआत्तिनु है ।
सवै तयारी गरेपछि तिनले मेरो हातमा वल जस्तो गिलोगिलो बस्तु राखिदिइन् । क्यै गाह्रो भयो भने यो थिच्नु ।

अव शुरु हुन्छ । तिमीलाई ठिक छ ? तिनले सोधिन् ।

मैले ठिक छ भने पछि एमआरआई लिने काम शुरु भयो । मलाई राखिएको स्ट्र्रेचर मेसिनभित्र हालियो । म कताकता अँध्यारो सुरुङ्ग्रभित्र प्रवेश गरे झैं भयो । अत्यासलाग्दो लाग्यो मलाई । हिजो क्याट स्क्यान गर्दा पनि यस्तै यस्तै भएको थियो । तर आजको फरक थियो । विचित्र प्रकारका आवाजहरु निकै जोडले आउन थाले र माइलौं माइल सुरुङ्गभित्र लगातार पसेझैं आभासले एकदमै अत्यासपूर्ण लाग्यो र एकदम मुटु हल्लिएझैं भयो । तर पनि दाहृ्रा किटेर त्यो अत्यासलाई सहन गर्ने प्रयास गरें र लगातारको त्यो आवाजलाई पनि सहन गर्ने प्रयत्न गरें । कतै टाढा निर्जन अन्धकारमा पुगेको अनुभव गरें । यत्तिकैमा ती एमआरआई गर्ने परिचारिकाको आवाज कानमा गुञ्जियो, आर यू अलर्राईट, अर्थात् तिमीलाई ठिक छ ?

मैले यस भनेपछि तिनले भनिन्, अव अर्को शुरु हुन्छ ।

त्यो पनि सकियो ।

अर्को पनि सकियो र अर्को अर्को पनि ।

अन्तमा सवै सकियो र मेसिनवाट मलाई वाहिर ल्याइयो । मलाई कसकास गरिएका सवै वस्तु हटाएपछि तिनले भनिन्, तिमी राम्रोसँग बसेकोले सवथोक राम्रोसँग गर्न सकियो ।

तर तिनलाई मेरो मनोदशाको के अन्दाज ? झण्डै होस् उड्ला जस्तो भएको त्यो क्षण अव वितिसकेको थियो ।

०००

अव म पुनः आफ्नो कोठा नं ६३८ मा आइसकेको थिएँ र आफ्नो कोठाको ओछ्यानमा पल्टिसकेको थिएँ । कताकता एमआरआई गर्दाको धङ्धङी बाँकी रहेको अनुभव भैरहेको थियो ।

यसै बीच मैले फोन गरेर व्रेकफाष्ट मगाएँ ।

व्रेकफाष्ट आउनु अघि नै नर्स आएर सोधिन्, ब्रेकफाष्ट खायौ ?

मैले भर्खर मगाएको छु भनें ।

त्यसपछि यौटा व्यक्ति आएर आफ्नो परिचय दिंदै परिक्षणका लागि रगत लिन आएको बतायो र रगत लिएर गयो ।

बल्ल व्रेकफाष्ट आयो र मैले बेकफाष्ट खाएँ ।

ब्रेकफाष्ट खाएको एकैछिनमा यौटी नर्स आएर आफ्नो परिचय दिंदै भनी अब मैले एस्पिरिन मात्र होइन व्लड प्रेसरको औषधी पनि नियमित रुपमा खानुपर्छ र खानुपर्छ कोलोष्ट्र्रलको औषधी पनि ।

उसले औषधीको नाम बताई र ती औषधीबाट हुनसक्ने साइड इफेक्टको बारेमा पनि बताई । त्यति मात्र नभएर त्यसको वर्णन गरेको कागज पनि मेरो हातमा थमाइदिई ।

अनि उसले मलाई औषधी खान दिई ।

अव मैले जीवनभर यी औषधी खानै पर्छ ।

यौटा हँसिलो गोरे डाक्टर आएर बतायो, उ मेरो लागि डाक्टर हो । अनि उसले भन्यो तिमीलाई स्ट्र्रोक भएको भन्न त म सक्दिन, तर न्यूरोलोजिष्टले आएर सम्भवत त्यो भन्नेछन् । शायद उनी आज आएर त्यसो भनेपछि तिमीलाई डिस्चार्ज गर्न सकिन्छ ।

अनि उसले आफ्नो विजिनेस कार्ड थमाउँदै भन्यो, मेरो आवश्यकता पर्‍यो भने सर्म्पर्क गर्नु होला ।

दिउँसोतिर एकजना चिनियाँ मूलको अनुहारधारी परिचारक आएर आफ्नो परिचय दिंदै भन्यो, त्रि्रो थुप्रै परिक्षणका लागि निक्कै नै थुप्रै रगत लिनु छ । तर आत्तिनु पर्दैन आधा घण्टा जतिमा सव ठिक हुन्छ ।
उसले साना ठूला ४०।५० वटा शिशीमा रगत निकाल्यो, एउटै नसावाट नसकेर फरक फरक तीन ठाउँमा गरेर ।

उसले वतायो, यसमध्ये केही चाहीं यो अस्पतालवाहिर पनि पठाइन्छ ।
मलाई यो वाक्यले अलि झस्कायो, यी सवको रिपोर्ट आउन त हप्तौं लाग्ने भो भने के म हप्तौं वस्नु पर्ने भो त अस्पताल ?

यसको जवाफ त्यो परिचारकसँग थिएन ।

त्यो त रगत लिएपछि गयो ।

अव प्रतिक्षा थियो त्यो न्यूरोलोजिष्टको जसले स्ट्रोक भए नभएको वताएर डिस्चार्जको प्रकृया अगाडि बढाओस् ।

तर अन्तमा त्यो न्यूरोलोजिष्ट नआउने भएपछि एक रात थप वस्नुको विकल्प थिएन र मैले डिनर मगाएँ ।

न्यरोलोजिष्टसँग कुरा गर्न र थप जानकारी लिन तथा डिस्चार्ज गर्ने भए साथै लिएर जान पर्खि बसेका श्रीमती र छोरा घर गए र म पुनः अस्पतालको एकान्तमा एक्लिएँ ।

यसैबीच मैले आई फोनवाट आफ्नो फोटो लिएर पेनलवर्स इन नेपालका लागि किशोर पहाडीलाई पठाइसकेको थिएँ र आफ्नो स्वास्थ्यको बारेमा बताएको थिएँ । त्यो फेसवुकको वालमा पोष्ट हुनासाथ संसारभरिवाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कमेण्ट गरिरहेका थिए, परिचित, अपरिचित शुभचिन्तक सवैवाट । कैयन् ठाउँबाट त फोन पनि आयो । मलाई कताकता महशुश भयो, मैले जीवनमा मित्रहरु कमाएकै रहेछु ।

०००

तेश्रो दिन शुक्रबार विहान पनि कोठा नं ६३८ को झ्याल वाहिरको दृष्य उस्तै थियो । अव आज त पक्कै घर गइन्छ होला भन्ने लाग्यो । तर डाक्टरले के भन्ने हुन् त्यसको पत्तो थिएन । विहानदेखि नै रगत लिने, तापक्रम लिने, व्लड प्रेसर लिने काम भइरहेको थियो ।

अव ब्रेकफाष्ट खानु पर्‍यो भनेर फोन गरेको त आज तिम्रो लागि व्रेकफाष्टको अर्डर छैन भनियो । छक्क परें म । कतै विशेष क्यै जाँचको लागि क्यै खान नहुने भएर खानेकुरा बन्द गरेका हुन् कि भन्ने तर्कना गरें । के हो बुझ्न मैले रातो वटन थिचेर नर्स वोलाएँ र ब्रेकफाष्ट किन अर्डर नभएको बुझ्न भनें । उ फोन गर्न थाली ।

वास्तवमा स्वस्थकर तर स्टार होटलको स्तरको खाना पाइन्छ अस्पतालमा । यो भन्दा अघि पनि एकपल्ट ५ दिन यही अस्पतालमा बसेको अनुभव छ मसँग । अझ कस्तो रोग लागेको, कस्तो विरामी हो सोही अनुसारको खाना मात्र दिइन्छ । मेनुमा भए पनि तपाईंले यो खाना खान सक्नुहुन्न भनिदिन्छन् ।

केहीवेरपछि नर्स आएर भनी व्रेकफाष्ट अर्डर गरे हुन्छ ।

मैले ब्रेकफाष्ट अर्डरगरें । आयो । खाएँ । र पर्खन थालें कहिले घरवाट श्रीमती र छोरा आउलान्, कहिले डाक्टर आउलान् भन्दै ।

मध्यान्हतिर हिजोकै डाक्टर झुल्किए । यतिन्जेल घरवाट श्रीमती र छोरा आइसकेका थिए ।

डाक्टरले वताए, न्यूरोलोजीका डाक्टरसँग उनको सम्वाद भयो र अब उनी आउँदैनन् । मलाई स्ट्रोक त भएको हो, तर एकदमै माइल्ड, जुन मष्तिष्कमा पुगेको संकेत एमआरआईले त देखायो तर भाग्यबस त्यसको कुनै असर छाडेन, कुनै खरावी गरेन, एक प्रकारको वार्निंग मात्र हो । तर अर्कोपल्ट परिस्थिति यस्तो सुखद नहुन सक्छ, अत मैले रगत पातलो बनाउन वेवी एस्पिरिन, व्लड प्रेसर लेवलमा राख्न ५ एमजीको लिसिनोप्रिल र ४० एमजीको सिम्वास्टाटिन जीवनभर खानुपर्छ । यी औषधी रोग निको पार्नका लागि नभई स्वस्थ रहनका लागि हो ।

अब डाक्टरको काम सकिएको थियो र मैले अस्पतालमा वस्नुपर्ने आवश्यकता पनि रहेन र डिस्चार्जको प्रकृया शुरु भयो ।

डिस्चार्जको प्रकृया भन्नु के र, मैले खानुपर्ने औषधीको लागि प्रेस्कृप्सन लिने, औषधीको बारेमा मलाई जानकारी दिने र मैले सबै जानकारी पाएँ भनेर सही गर्ने मात्रै हो ।

त्यो सबै गरेपछि मलाई अस्पतालको ढोकासम्म पुर्‍याउन आई र मेरो सुस्वास्थ्यको कामना गरेपछि गई ।

अनि अस्पतालको वील ?

त्यसको त पत्तो नै छैन । त्यसो त मेरो स्वास्थ्य बिमा छ अफिसले गरिदिएको त्यसले व्यहोर्ला, नवेहोरेजति मैले व्यहोर्नु पर्ला । तर मुख्य कुरा त उपचार हो, त्यो भएको थियो । अस्पतालले पुनर्जिवन दिएको थियो ।

हुन पनि अस्पतालको आकस्मिक कक्षमा साइनवोर्ड नैछ, यहाँ तपाई आइपुगिसक्नु भएको छ, उपचार पाउनु तपाईंको अधिकार हो । तपाईंको स्वास्थ्य विमा भए नभएको, तपाईंको कानूनी कागजात भए नभएको सँग सरोकार छैन । यदि यहाँ उपचार हुन नसके उपयुक्त ठाउँसम्म पुर्‍याउने कर्तव्य पनि हाम्रै हो ।

शायद मानवियता भनेको यही नै हो । मान्छे बाँचे उसले ऋण तिर्ला, तर मुख्य कुरा बाँच्नु हो, बचाउनु हो ।
म वाँचेर घर फिर्दै थिएँ ।

मनासस, भर्जिनिया । , १ जनवरी

(स्रोत : Nepalipost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.