~सौरभकिरण श्रेष्ठ~
सुनकेस्रा पत्रिकाको नयाँ अंक बजारमा आयो । विमल हतारिदै पत्रिका पसल पुग्यो । “दिदी ! मलाई सुनकेस्रा दिनुहोस न ।” उसले खल्तिबाट रुपैया झिक्दै भन्यो । ऊ सुनकेस्रा मासिकको नियमित पाठक थियो । उसलाई अरु पनि बालपत्रिकाहरु पढ्न औधि मनपथ्र्यो । ऊ सधै मुना, बालक, कोपिला, बालकोशेली जस्ता बाल पत्रिकाहरु किनेर पढ्ने गथ्र्यो । ऊ आफ्ना साथीहरुलाई पनि पढ्न दिन्थ्यो ।
पत्रिका किनिसकेपछि उसले ओल्टाइ पल्टाइ हे¥यो । के –कस्ता कथा कविताहरु छापिएका रहेछन् भन्ने जान्न ऊ उत्सुक भयो । उसले सरसर्ती पानाहरु पल्टायो । अचानक उसका आँखाहरु चम्किला भए । ओठ लाम्चो भएर मुस्कुराउँन थाल्यो । उसको जीउ फुरुङ्ग भयो । ऊ खुसीले गद्गद् भयो । उसले अर्को पनि एउटा सुनकेस्रा पत्रिका किन्यो । ऊ हर्षितहुँदै दुई हातमा दुइवटा पत्रिका बाकेर घरतिर लाग्यो ।
“आमा ! आमा !! यसपालिको सुनकेस्रामा त मेरो कथा पनि छापिएछ !” उसले खुसी हुँदै भन्यो । हातमा भएको पत्रिकाहरु हल्लाउँदै देखायो ।
“देख्यौ त, एकदिन तिम्रो कथा पनि छापिनेछ भनेर मैले भनेकी होइन त ? नभन्दै तिम्रो कथा छापियो । तिम्रो लगन सफल भयो ।” विमलको कुरा सुनेर आमा पनि खुसी हुनुभयो ।
बाल पत्रिकाहरु पढ्दै गर्दा विमलले कथा कविता लेख्न सिकेको थियो । उसले धेरै पल्ट पत्रपत्रिकाहरुलाई आफ्नो रचानाहरु पठाएको थियो । तर, अहिले सम्म एउटा पनि छापिएको थिएन । जति कथा कविताहरु पठाए पनि नछापिएको हुँदा ऊ निरास भएको थियो । “ठूला मान्छेको मात्र कथा कविता छापिन्छ । हामी जस्तो सानो मान्छेको मात्र छापिन्न ।” भन्दै ऊ बालपत्रिकाहरु देखि रिसाएको थियो । त्यति बेला उसले कथा कविताहरु पनि लेख्न छोडेको थियो ।
“निरास हुने मान्छेले कहिले पनि सफलता पाउँदैन । त्यसैले बाबु ! लेख्ने बानी नछोड । बरु सधै लेख्ने पढ्ने गर । यसले तिम्रो लेखाइ राम्रो हुन्छ । तिमी झन राम्रा कथा कविताहरु लेख्नसक्ने हुन्छ्यौं । आज तिम्रो रचनाहरु नछापिए त के भयो र ? तिम्रो रचनाहरु राम्रो भए एकदिन कसरी नछापिएला र ? त्यसैले तिमी सधै लेख्ने गर । र, लेखिएका रचनाहरु पत्रिकामा पठाइरहने गर ।” त्यति बेला आमाले विमललाई सम्झाउँनु भएको थियो । उसलाई माया गर्दै हौसला दिनुभएको थियो ।
विमलले आमाको हौसला पाएर फेरि लेख्न सुरु गरेको थियो । र आज पहिलो पटक उसको कथा पत्रिकामा छापिएको थियो । ऊ धेरै खुसी थियो । उसले अझै राम्रा राम्रा कथा कविताहरु लखिरहने अठोट ग¥यो ।
Published By Hatemalo Sanchar
Year 2, Issue 8
Total Issues 95, Falgun 2060
(स्रोत : Ketaketi.org
