मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु
ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु ।
झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन्
कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।
बिस्तारै बाटाे बनाऊँ हात लम्काऊँ बिस्तारै
अंकुसे सानो लगाई तानूँ हाँगा नै बिस्तारै ।
तैपनि ओहो ! पाकेका दाना भुइँमै झरेका
टिपेर खाऊँ कसरी चाँडै अमृत भरेका ! ।।
लुकेर हेरेँ चराले चुच्चो पुर्यायो दानैमा
कसरी मन थामेर बसूँ रसायो मुखैमा ।
म चरी भए सुटुक्क छिर्थेँ काँडाका बिचैमा
महझैँ मिठा खाएर बस्थेँ स्वर्गको सुखैमा ।।
भिरालो बाटो बारीको पाटो हावाको लहर
सुसेली मारूँ ऐँसेलु खाँदै सबैको रहर ।
गोठालो जस्तै कहिले काहीँ जंगल चहारूँ
ऐँसेलु दाना टिपेर खान कहिल्यै नहारूँ ।।
गाउँको बास स्वादिला वस्तु बोटमै पाकेका
यता र उता चहारी चाखौँ नबनौँ थाकेका ।।
(झ्याउरे)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

