खैनी म खाऊँ मदिरा म खाऊँ
चुरोट दामी पनि झोस्न पाऊँ
बेला कुबेला घर तास खेलूँ
यो मोज मस्ती कहिलै नटेरूँ ।।
नौला कतै प्रेम मुहार हाँसूँ
खल्ती तताई अरूसामु मासूँ
जागूँ निशारात्रि दिवा सुतूँ म
सम्पत्ति पुर्खाहरूकै सकूँ म ।।
छोरो बनोस् सौखिन सुस्तसुस्त
चुल्ठा र मुन्द्रा तन हृष्टपुष्ट
लुकेर त्यो फुस्स धुवाँ उडाओस्
जुँगा नदेख्दै तरुनी नचाओस् ।।
भार्या रहून् व्यस्त अचम्म जस्तो
संसार आफैसित मात्र जस्तो
नहोस् कतै संगत साधनाको
होस् एक चिन्ता धन याचनाको ।।
छिमेकमा के कति खर्च हुन्छ
लुगा र फाटा कति भित्रिइन्छ
चासो यही नित्य रहोस् घरैमा
कुरा पखाल्दै दुनियाँभरैमा ।।
पैसा भए मित्र अनेक पाऊँ
पुर्खाहरूकै धनमा रमाऊँ
पैसा नपुग्दा घर होस् रडाको
सधै रहोस् जीवन मस्तताको ।।
साँझै परोस् मग्मग बास फैलोस्
खाने कुरा झन् सब साथ नै होस्
पाकोस् खसीको पकुवा कबाब
आऊन् जुवाडीहरू वा नबाब ।।
झनक्क तातो रिस उम्लियोस् नै
झन् हात आफै पनि बज्रियोस् नै
बोल्दै नबोली मुख बन्द गर्दै
भूकम्पझैँ बास सधैँ सजोस् नै ।।
(उपजाति-ततजगुगु/जतजगुगु)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )