सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ ।
– ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, प्रशस्त फलफूल खुवाउनुहोला ।‘
चिकित्सकको सल्लाहबमोजिम रामबहादुर फलफूल किन्न पसल गयो । पसलेले भन्यो– ‘…यो अनार प्रति किलो तीन सय… यो स्याउ प्रति किलो दुई सय… यो अङ्गुर प्रति किलो दुई सय पचास… यो केरा प्रतिदर्जन सय मात्र…।’
रामबहादुरको दिमाग फनफनी घुम्यो । उसले सोच्यो, पृथ्वी पनि यसरी घुम्दैन होला । दिनप्रति दिन सप्पै थोकको मूल्य बढ्दै छ । मूल्य त गरिबको मात्र छैन । उसको त मूल्य दिनदिनै घट्दै छ । लिलामीमा पनि बिक्दैन मान्छे ।
–‘ए ! अनार, स्याउ, अङ्गुर, सुन्तला, आँप, केरा… डालीसहित जम्मा दुई सय ।’ चिटिक्क परेको डालीमा चम्किला फलफूल बोकेर एउटा सडक व्यापारीले रामबहादुरलाई हे¥यो । डेढ सयमा दिने हो ? मसँग जम्मा डेढ सय छ । उसले नकुहिने, नबिग्रने, नसकिने तथा बच्चाले चोरेर नखाने प्लाष्टिकका फलफूल बोकेर घर फर्कियो ।
(स्रोत : Sunakhari.com )