~हरिप्रसाद भण्डारी~
“को छ भित्र?” महाकवि देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे।
“को हो? हामी छौँ, माथि आउनुहोस्।” भित्रबाट नारी आवाज आयो।
कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए।
तलामा बैठकजस्तै एउटा कोठा थियो। उक्त कोठामा एकजना व्यक्ति च्यादरले पूरै शरीर ढाकेर सुतिरहेका थिए। परिवारका अन्य सदस्यहरू मलिन अनुहार बनाएर उनका वरिपरि बसिरहेका थिए। त्यहाँको स्थिति हेर्दा वातावरण तनावग्रस्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो।
कवि व्यथितका मनमा जिज्ञासा जाग्यो। अवलोकनपश्चात् सुकुलमा बस्दै सोधे– “कोही बिरामी भयो कि?”
“होइन…।” लामो सास फेर्दै श्रीमती देवकोटाले उत्तर दिइन्। च्यादर ओढेर सुतेका देवकोटा रहेछन्, जवाफ दिए― “होइन व्यथितजी बिरामी मात्रै होइन, म मरिसकेँ। म जिउँदो रहिन आजदेखि।”
देवकोटाले त्यसो भन्दा घरका परिवारहरूको अनुहार झन् मलिन देखियो। देवकोटाको जवाफ व्यथितलाई अनौठो लाग्यो र उनले आँखैआँखाले त्यहाँ भएकालाई सोधे।
“आज पितृश्राद्धको दिन, सबै काम सकिएर भान्सामा जानेबेला भएको छ। भान्सामा जान मान्नुहुन्न, यसै सुतिरहनुभएको छ।” आँखा रसिला बनाउँदै श्रीमती देवकोटाले भनिन्।
“किन र? देवकोटाजी! खाना नखाने? जाउँ्क हिड्नुहोस् भान्सामा।” व्यथितले अनुरोध गरे।
“खान्न, म मरेका मान्छेले किन खानुपर्यो?”
“मरेको मान्छे रे! के ठठ्यौली गर्नुभएको तपाईंले ….?”
“ठठ्यौली होइन, म ठीक कुरा गर्दैछु। म मरिसकेको छु। अब मैले खानु बेकार छ। बरु मलाई भान्सामा होइन, मसानघाटमा लैजाने व्यवस्था गर्नुहोस्।” मुखै नखोली देवकोटाले जवाफ फर्काए।
देवकोटाका कुरा सुनेर सबैजना दिग्दार त भइनै रहेका थिए, व्यथितलाई पनि सनक चलेछ । उनले च्यादर बाहिरैबाट ‘ए पागल! तेरो मासु अझ मरेको छैन’ भन्दै देवकोटालाई बेसरी चिमोटे। उनको चिमोटाइले देवकाटोलाई पीडा भयो र “ऐया” भन्दै ओढेको च्यादर पर हुत्याउँदै उठे। देवकोटा एउटा लँगौटी मात्र लगाएर सुतेका रहेछन्। उनी उठेर बसेपछि व्यथितले भने― “खोइ त कहाँ मर्नुभएको रहेछ, तपाईं? मृतशरीरमा चेतनातत्व हुँदैन। तर तपाईं त चिमोटाइको पीडाले उठ्नुभयो। त्यसैले तपाईं मर्नुभएको छैन।”
“कस्तो कुरा गर्नुभएको व्यथितजी तपाईंले? म मरिसकेँ भन्दा पनि पत्याउनुहुन्न तपाईं? हेर्नोस् माथि भान्सामा १८/२० वर्षकी बाहुनी नानी छन् भान्से, घरभरि छोरी ज्वाइँ र अरू पाहुना छन्। हाम्रो ब्राह्मण संस्कारमा भान्सामा जाँदा धोती फेरेर जानुपर्छ र चौकाको पिर्कामा बसेर खानुपर्छ तर आज मसँग भान्सामा जाँदा लगाउने एउटा धोतीसम्म छैन। सधैँ त श्रीमतीले पकाउँथिन्। त्यसबेला कहिलेकाहीँ लँगौटी मात्र लगाएर र कहिलेकाहीँ श्रीमतीको पछ्यौरा फेरेर जान्थेँ भान्सामा। तर आज त्यसरी जान पनि सकिरहेको छैन। मैले जीवनमा यति परिश्रम गर्छु तर एउटा धोतीसम्म छैन मसँग। यो लँगौटी मात्र लगाएर कसरी जाउँ्क भान्सामा? ल भन्नुहोस् त!
एउटा धोतीसम्मको व्यवस्था गर्न नसक्ने मजस्तो व्यक्ति बाँचेको के सार भयो? म मरेबराबर भइन?”
यसको जवाफ व्यथितसँग पनि थिएन। उनी पनि मलिन र गम्भीर देखिए। देवकोटाको उक्त उद्गार सुनेपछि त्यहाँ कोठामा भएका सबै व्यक्तिका आँखा रसाइरहेका थिए।
केही बेर पहिलेको ठट्यौली वातावरण गम्भीरतामा परिणत भयो।
Sat, 9 Jul, 2011
(स्रोत : NepaliLaghukatha.com )