कथा : अर्को घाम

~मिश्र वैजयन्ती~Mishra Baijayanti

‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेको मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ अथवा जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका मालिक थिए भन्ने सोचेकी हुँ । सधैँ अनिर्णित बाटो हिँड्दा हिँड्दा मलाई वाक्क भएको थियो । मनमा शान्ति थिएन । मानव मण्डलीको एकता, सन्त भजनको अनुराग, अगरबत्तीको राग, माइकको आवाज, घन्टी र ध्वजाहरू मभित्र पसेर हल्लाउँथे । हुन त म पहिला पनि भक्त नै थिएँछु । सायद जन्मदै हो कि ! मभित्र कुन ईश्वर थियो ? मैलाई थाहा नभएपछि मेरो अबोधपनाले मलाई लघार्यो, हुनसक्छ । ईश्वर लुगाबाट साबुनले पखालेको धुलोझैँ अलिकति रहँदै धेरै सिनित्तै गयो । खोइ कतिखेर सुरु गर्यो मेरो एउटा ईश्वरले अन्त्य हुन र कतिखेर सुरु गर्यो अर्को ईश्वरले गर्भीत हुन !! फेरि गर्भ छालामा टाँसिएजस्तो भएछ । गर्भस्थलमा गर्भ नबसेर छालामा टाँसिएपछि सधैँ यसलाई छोप्नुपर्ने, ढाक्नुपर्ने भयो ।

कसो कसो म निकै सन्त भएँ । कडा नियम र कानुन पनि मलाई थाहा भयो । हुन त मलाई पूरापूरी डामिएनछ पनि तर छालामा डामहरूजस्तो केही भएकै हो । कठोर तपस्या मेरो नयाँ यात्राको मूल विशेषता हो । पहिचान नै भनौँ न । मेरो अब सप्पै समय ध्यान र ज्ञानमा डुबेर बित्ने छ । मनभित्र अर्कै के हो कुन्नि थियो अड्केकोजस्तो भन्ने नलागेको पनि होइन । तर विस्तारै ध्यानमा मन गयो । तरुनी साधु, अपरिपक्क अवस्था । ‘सोच्, नजा’ बुबाआमाले सम्झाउनुभएकै हो । सम्झेँ, बाँच्नु त आफैँले हो । फेरि किन अलमलिनु ? ‘हेर, नजाऊ त्यता, साह्रै साँघुरो हुन्छ त्यहाँ, तिमी उड्ने चरीलाइर्, उडान भर्न पर्छ, तामसिक निर्णय नगर, मलाई सबै थाहा छ, म गएरै आएको हुँ ।’ यसरी केही विद्वानहरूले निकै सम्झाउनु भएकै हो । खोई किन हो कुन्नि मलाई कसैको कुरा भन्दा पनि मेरै विचारमा पनि यो सात्विक यात्रा हो र यसको निर्णय मेरा लागि परम ईश्वरीय प्राप्ति जस्तो थियो, त्यतिखेर त्यस्तै लाग्यो । मेरो दृढताले नै मलाई आजको मजस्तो हुन सिकायो भन्ने लाग्छ ।

मान्छे प्राकृतिक पटक्क होइन । यो हुन सक्दैन । म के हुन्थेँ कसैलाई थाहा छैन । म जे हुँदै गएँ, त्यसैलाई ठीक र बेठीक भन्नेहरूको उपस्थिति भने पाइयो । के हुनुपर्छ भन्ने पनि कसैलाई थाहा रहेनछ । मलाई बनाउनेले बनाएर पछुतो गरेको पनि पाइएन, बनाएर खुशी भएको पनि पाइएन । समाज भनेको बनाउन अभ्यास मात्रै गर्ने चिज रहेछ ।

मेरो अनकण्टार सानो गाउँको लागि मेरो लगानी नारीको सन्तत्वको प्रथम उद्घोषझैँ भइरहेको पनि हो । मेरो धारणा, मेरो प्रस्तुति, मेरो लगनशीलताले मेरा गुरुले नयाँ अवतार लिने नयाँ सन्तको उदय हुने सपना देख्न थालेको पनि साँचो नै हो ।

मेरा यात्राका प्रथम चरणमा निकै ठुलठुला किताबहरू, आहारविहारका प्रवचन, आचरण विचरणको प्रवचनले म प्रशिक्षित हुँदै गएँ । ‘घेरो’ मेरो यात्राको मूल पथ । ठूलो गोलो घेरोबाट मैले आफना यात्रालाई गोलो घुमाइरहनुपर्ने भयो । सजिलो तर कठिन यात्रा । सजिलो कतै नगइने, सहजरुपमा वरिपरि घुमिरहन पर्ने । कठिन, एकैरितले एकै प्रकारले, उही रुपमा हिँडिरहनपर्ने । साह्रै उत्साहपूर्वक म आफूले हिँडेको बाटोमा थिएँ । मैले नै सबैभन्दा राम्रो गरिरहेछु भन्ने गौरव पनि थियो । मैले धेरै युवाहरूलाई यस अनुशासनको बारेमा प्रशिक्षण पनि दिएकी थिएँ । आज त प्रवचनमा गुरुले मेरो योगदानको चर्चा गर्नुहोला भन्ने सोचेर मैले धेरै उषा र सन्ध्या बिताएँ । मेरो विशेषता हो धीरता ।मेरो कामको फल प्राप्त गर्ने आशा थियो । मैले काम गर फलको आशा नगर भन्ने गीतावाणीलाई सम्झे पनि फलको आशा राखेरै धीरतालाई धीर बनाइरहेँ ।

मलाई नियम मन पर्थ्यो । म नित्य नियममा रहन्थेँ । मेरो दैनिक कार्यका लागि फूल गोड्नुपर्ने कार्य छुट्याइएको थियो । मेरो परिश्रमले फूलहरू मुस्कुराउन थाले । म फूलमा ईश्वर देख्न थालेँ । फूलका पात र बोटहरू मसँग बात मार्न थाले । मैले त्यहाँको माटोलाई हृदयसँग जोडेर हेर्न थालेँ । अब मेरो मन्दिर कम र बगैँचा धेरै नजिक हुन थाल्यो । तर दैनिक तालिका भने कडा थिए । आफैँलाई मन परेका नियमहरू भत्काएर नयाँ नियम बनाउन मन लाग्दै गएको हो । तर अहिलेलाई त्यो सम्भावनाको खालीपन थियो । एकदमै परहेजमा रहनुपर्ने । दायाँबायाँ केही स्वाद, वासना, रङजस्ता विषयमा चासो राख्न मनाही थियो । फूल रोपेर फूलको प्रशंसा गर्न नहुने, फूल सुँघेर फूल मन पर्यो भन्न नहुने । छरछिमेकको जस्तो त झनै गर्न नहुने । हेर्दा हेर्दै बगैँचाको वरिपरि ठूलाठूला रुद्राक्षका रुखहरू लगाइए । आउने जानेले पनि रुद्राक्षका रुख हेरुन् र तिनकै कुरा गरुन्, भित्रसम्म तिनको नजरदोष नजाओस् भन्ने थियो ।

छरछिमेकलाई पन्छाउन पटक्क हुँदैन । लाग्छ कहिलेकाहीं यी छिमेकी नभएका भए हामी रित्ता हुन्थ्यौँ । यिनीहरूले सन्तत्व मानिदिएका भए मेरो सत्वले सन्तत्वको परिभाषा नै बदल्ने थियो । सजिलो गरी वर्जित गर्नलाई पृष्ठमा दृष्टान्त चाहिँदो रहेछ । । उनीहरूका तामसिक भोजनका बासना हरहरी नआउने भए मेरो आस्थाको मन्दिरमा खानेकुराको स्वादमा वर्जित गर्ने कुनै सामर्थ्य हुने थिएन । उनीहरूका पाइतालामा रौनक नभए मेरो आस्थाको बगैँचामा वर्जित गर्ने पदचापका नियम बन्ने थिएनन् ।

जून पुज्छु म तर जून मन पर्यो भन्न सक्दिन, नदीमा नुहाउँछु तर नदीमा अघाउँजी खेल्न सक्दिन, वनविहार गर्छु तर वन घन्काउन सक्दिन । मलाई राम्रै सम्झना छ, सन्त वस्त्रका भित्र मौलाएको जूनलाई हेर्न खोज्दा मेरा नाममा सभा (हामी यतिखेर सभालाई मिटिङ भन्छौ) नै हुन थाले । आफैँले रोपेको फूल मनपर्छ ः बगैँचा घुम्न नहुने, नदी मनपर्छ ः यसको उद्वेग मनसँग गाउन नहुने, चरा मनपर्छ खुराक दिन हुन्छ ः छुन हुँदैन, चराको उडान भर्न हुन्न । जून, शीत, रात, प्रेमका गीत गाउन नहुने । मैले आफैँलाई धेरै पटक चिमोटेर हेरेँ, मसँग संवेदनाहरू म्रिरहेका थिए सायद, साह्रै मन्द भएजस्ता लागे । मैले रोपेका सुन्दर फूल टिपेर मन्दिरमा चढाउने, सन्तत्वको विकास गर्ने दैवी सिद्धान्तका बीचमा देवपूजालाई जन्माउने, आँखाले अर्को आकाश नदेख्ने ईश्वरीय आस्थाले मलाई पनि प्रतिदिन मन्द मन्द मार्दै लग्यो कि ? एकदिन मैले वेदीमा बसेका दिप्तमान गुरुलाई सोधेँ – ‘गुरु ! संवेदनाहरू मरिरहेका छन् कि मभित्र ?’ गुरुले साह्रै उत्तेजना भरेर भन्नुभयो-‘मर्न देऊ, ती सब मरुन् र नयाँ बनाउन सक्छ्यौ देवी !’ गुरुवचनले मलाई सतायो । मैले आफूलाई पृथक देख्ने आधार नै मरेपछि म कसरी परिभाषा खोज्न सक्छु भन्ने पीडाले मलाई सताउन थाल्यो । आफूले साह्रै प्रिय गरेर पालेको आस्थालाई भत्काउनु पर्दा पापको नदीमा नुहाउनु पर्ने भविष्यको आभास मलाई भएको पनि हो ।

सन्ध्याकालीन मौसममा हामी मन्त्र जपिरहँदा हामीबाट म अलग्गै छुजस्तो लाग्न थाल्यो । केही दिन अघि घेरोको केन्द्रतिर प्रवचनमा अचानक एकजना साधू देखिए । मधुर वचनमा दिएको प्रवचनले शान्ति मिल्दै गएको थियो । संसारमा मानवमुक्तिका लागि आएका धेरै विषयलाई उनले खोतले । फ्रायडको ‘यौनजीवनको विनिमयबाट पनि मानिस मुक्त हुन सकेन, कार्लमाक्र्सको वर्गीय संघर्षबाट पनि मानिस मुक्त हुन सकेन । येशुको धर्मले पनि मानिसलाई सन्तुष्ट बनाएन । शिव विष्णुहरूबाट पनि मानिस पूर्ण सन्तुष्ट भएका छैनन् । बुद्धले पनि यो खाँचोलाई निर्वाह गर्न सकेनन् । ओशोले पनि उत्तिकै मुक्तिको खोजी गरिरहेका छन् । साइबाबाको ध्यान पनि उत्तिकै उल्लेख्य छ । तर पनि मानिस सधैँ मुक्ति खातिर तड्पिरहेको छ । तपाईँ हामीले यसको खोजी गर्नु छ’ गुरुले यति भन्दै सबैलाई आफूलाई लागेको विचार व्यक्त गर्न हात उठाउन लाउनु भयो । सबैले आफ्ना आफ्ना तर्क दिए । मैले पनि भनेँ -‘देव, जीवनको मुक्तिको मुख्य आधार मन विनिमय रहेछ ।’ मेरो भनाइ वर्जित भयो । मन विनिमय मेरो आस्थाको वर्जित विषय हो । मनले विषयसुखलाई पनि संवोधन गर्नसक्छ भन्ने उनीहरूको तर्क केन्द्रमा आयो । मनलाई नियन्त्रण गरेर ईश्वरमा लीन भएपछि मात्रै मुक्ति मिल्छ भन्ने मेरो आस्थामा मैले मनलाई मुख्य स्रोत मानेपछि म सन्त मण्डलीमा निकै आलोचित हुन पुगेँ । तर जुन कुराको सुखका लागि भए पनि मन केन्द्रमा आउँछ । यसैलाई नियन्त्रण गरेपछि यो जत्तिको नसियत अर्को हुन सक्दैन भन्ने मेरो राय थियो ।

म निकै निराश पनि थिएँ । मुक्ति ! मुक्ति !! सारा मानवमात्रको खोजी यही थियो । मैले मान्छेबाट मुक्ति खोजेको ? कि मैले समाजबाट ? कि मैले मानवचोलाबाट ? कि मैले बाँच्ने सिलसिलाबाट ? कि गरिबीबाट । कोही न कोही यी विषयबाट मुक्त छन् तर सुखी किन छैनन् ? मनका यी अस्वाभाविक विचारहरूलाई विनिमय गर्ने मान्छे मैले पाएको पनि थिइँन । साधू नयाँ चेतना लिएर छिरेका छन् यस मण्डलीमा भन्ने मलाई अनुभव भइरहेको थियो । यी नयाँ साधूले मेरो मर्का बुझिदेलान् भन्ने लाग्यो । दह्रो विश्वास भयो किन हो उनीसँग । उषाकालीन स्नानदेखि सन्ध्याकालीन आरतीसम्म पनि मैले उनलाई एकान्तमा मेरा व्यथा बिसाउने अवसर खोजीरहेँ । मेरा मनभरि भएर आउन थाले उनी । मेरो बगैँचा गोड्ने समयम उनी बगैँचामा टहलिन आउँथे । उनका वरिपरि अरु साधूहरू उनका मधुरवचन सुन्न आउँथे । मैले मौका पाइरहेकी थिइँन । धेरैदिनदेखि मेरा मनमा यस विषयमा उनीसँग तर्कवितर्क गर्न मन थियो । तर सबैका माझमा मेरा तर्क अशोभनीय हुन्थे कि भन्ने लागेको थियो । एकदिन सन्ध्यामा उनी मेरो छेऊमा उभिन आइपुगे, म थरररर कामेँ, उनले भने -‘साह्रै करुणाले पुष्प स्यारिरहनुभएको छ देवी, तर अनुहारमा कान्ती छैन, केको शोक छ ?’ मेरो छेऊमा आइदिए म कति विन्ति बिसाउँदी हुँ भनी सोचिरहने म मौका पाउँदा अवाक् भएँ, प्रणाम् गरेर झुकिरहेँ । ‘मन अशान्त भए ध्यान गर्नुहोस् देवी, मनका पीडा बाहिर निकाल्नुहोस्, मुक्ति पाउनुहोस्’ भने र अलिक पर टहलेर बिसाउन बनाएको बिसाउनीमा बसे । मलाई मुक्ति मिलेझैँ भयो । उनी मैतिर नजर केन्द्रित गर्दै गोजी पात्रो झिकेर केही गुनगुनाउँदै थिए । मैले आँट बटुलेँ र यो मौकालाई चुकाउन नदिने सोचेर उनीतिर पाइला बढाएँ ।

सन्ध्याले छपक्क छोप्तै थियो र फूललहरूमा जून छरिएको थियो । म उनका सामु पुगेँ र भनेँछु – ‘देव, आरतीको बेला भयो, सबै भेला भइसके ।’ उनी सकस मान्दै उठेजस्तो उठे र गए । मलाई आफैँलाई साह्रै सरम भयो, पछुतो पनि । मैले आज भन्नै पर्ने केही भनिन । साह्रै असल मौका चुकाएँ । मेरो मन साह्रै गह्रुँगो भयो । रातभरि उनै कुरा र दृश्यहरू आँखाभित्र बाहिर गरिरहे ।

उनी मेरो मनको वरिपरी हुन थाले । सन्ध्यामा कहिलेकाहीं उनी मैले बजाउँदै गरेको डमरु समाउन आउँथे । कहिले चढाउन लागेको पुष्पलाई आधाभाग लाउन भन्थे । दुर्गा, शिव, कृष्ण, विष्णु प्रत्येकलाई एकसय आठपटक सम्झना गरेर भनेँ –‘प्रभु, मुक्ति दिनुहोस् । उनको ध्यान मबाट हरण गर्नुहोस् । यो साह्रै नकाम हो । यो साह्रै अनर्थ भइरहेछ ।’ तर कुनै बन्धनले पनि उनको आगमनलाई नरोकेपछि मेरो ध्यान साह्रै गलित भयो । एकदिन मैले उनलाई आरतीको बेला साँझमा फूल टिप्न झुक्दा “म त साह्रै दरिद्र भएँ देव, म के गरुँ ?” भनेँ । उनी मुसुक्क हाँसे र ‘बगैँचामा आउँला’ भने ।

बगैँचाका बोटविरुवाहरूले निकै स्याहार पाउन थाले । पानी र मल पाउन थाले । मेरा ओठमा भजनको रागहरू आलापिन थाले । रुद्राक्षको बोटबाट चियाउने घाममा पनि बेग्लै अनुराग भेटिन थाल्यो । अग्रिम उषादेखि नै बगैँचामा मेरो कर्म क्रियाशिल रहन थाल्यो । उनी हातमा रुद्राक्षका एकसय आठ दानाको माला गन्दै बगैँचामा टहल्न आइरहन्थे । एकदिन उनले मन्दिरलाई चाहिने पुष्प टिपिमाग्दै भने -‘देवी, भन्नुहोस्, तपाईँको दारिद्र्य हुनाको भाव के हो ?’ मैले मौकालाई नचुकाइ भनेँ-‘मनको विनिमय’ ।

‘फूललसँग गुनगुनाउनुहोस्’ उनले भने

‘फूललबाट सुन्न सकिँदैन ।’ मैले जवाफ गरेँ ।

‘चरासँग संवाद गर्नुहोस्’ । उनले सम्झाए

‘जवाफ फर्र्किँदैन ।’ मैले भनेँ

‘हेर्नुहोस् देवी ! मन साह्रै चन्चल हुन्छ, यसलाई नियन्त्रण गरेर नदी, विरुवा, आकाश, वादल, पानी, फूलल, माटो, घामसँग संवाद गर्नुहोस्, विस्तारै आफैँसँग सवाल जवाफ गर्नुहोस्, बिस्तारै सन्तत्व प्राप्त गर्न सक्नुहुन्छ ।’ उनले अझ नजिक आएर सम्झाए ।

‘मानवीय संवेदना जत्तिको नजिक मैलै केही पाइन देव, मन मानिसको प्रिय कुरा हो । स्वच्छन्दता, नियमसहितको स्वतन्त्रता, वाद प्रतिवाद, विचार, बुद्धि, भाव सबै सबैमा संवादको आवश्यक्ता छ । बुद्धिका ठेलीहरू राख्न पृथ्वीलाई भार परिरहेको छ, संग्रहालयहरू पनि कायल छन् । हामी बुद्धिले धन र धनले दुश्मन कमाइरहेका छौँ । हामी बुद्धिले ज्ञान, ज्ञानले मान र मानले अहम कमाइरहेका छौँ ।मनले अहम बोक्तैन । मनको विनिमय गरौँ, यसको कुनै भार कसैलाई छैन, मनको विनिमय नै मुक्तिको आधार हो ।’ मेरा कुरा सुनेर उनी एकछिन चुप भए । वरपर टहलिए । म फूलल स्याहार्ने नित्य कर्ममै थिएँ । फेरि मनेर उभिएर भने उनले –

‘मन त शरीरसँग जोडिएको हुन्छ, फेरि यो वर्जित कर्ममा पनि जुट्न सक्छ ?’

‘शरिरसँगको विनिमय मनको विनिमयभन्दा धेरै पछिको कुरा हो देव ! मनको गम्भीर विनिमयले मानवसमाजका धेरै विकृतिहरूको समापन हुन्छ । सुर असुर सबै कर्मलाई मनले निर्देशित गर्छ । संवाद गर्यौँ भने यी सबै विषयमा विजय प्राप्त गर्न सकिन्छ देव ! संसारका सबै असुर कर्महरू पनि संवादबाट मनको नजिक आउन सक्छ, तपार्इँ के भन्नुहुन्छ ?’

‘म सोच्तछु यसमा ।’

‘रुनु र हाँस्नुको पनि मनसँग सम्बन्ध छ, हाँसे रोए मन साह्रै हलुका हुन्छ । मनभित्र पाकेका भावहरू पोख्न समानार्थी मन भयो भने देव, हामी हाम्रा सारा असहज कामहरूमा विजय पाउनसक्छौँ । जोश, जाँगर, हिम्मत, आँट, प्रेम, स्नेह सबै मनले दिने चिज हुन् ।’

‘तपाईँको मनको असन्तुष्टि के हो देवी ?’

‘खासगरी ‘घेरो’ मेरो संवादको विषय हो देव ! यो चक्रपथबाट बाहिर हेर्न नपाउँदा त्यहाँको मान्छेका मनसँग संवाद गर्न सकिन्न । अलिकति पनि मात्रा बिग्रियो भने त्यो वर्जित क्षेत्रमा पर्छ । वस्त्रका रङ, भजनका शास्त्रिय भाव, भोजनपद्धतिलाई पनि विचाराधीन राख्नुपर्छ । कठोर साधनाले मुक्ति प्राप्त त हुन्छ तर कठोर अभिव्यक्ति, कठोर प्रस्तुति, अरुको नसुन्ने पद्धति कठिन सुत्र भए । आफूलाई पाउन त अरुलाई सुन्नुपर्छ, अरुलाई देख्नुपर्छ, अरुलाई भेट्नुपर्छ । अरुको छेउमा उभिएपछि मात्रै आफूललाई भेट्न सकिनेरहेछ देव । घेरैघेरो कति हिँड्नु ? साह्रै कठिन तेर्सो हिँड्दा शिखर पुगिएन देव !’

केही बटुकहरू सन्ध्याआरतीलाई गुरुलाई बोलाउन आए । उनी उता लागे । यति संवादले पनि मलाई मुक्ति प्राप्त गर्ने मार्ग प्रशस्त गरेको लाग्यो । मैले पनि आरतीलाई चाहिने फूलल टिपेर मन्दिरतिर लागेँ ।

मन्दिरमा निकै ठूलो सभाको व्यवस्था भइसकेको रहेछ । बगैँचाको कामले यताको मैले केही चाल पाइन । आज आरती भएन । वेदीको बीचबाट उठेर वडापण्डितले सभालाई शान्त रहने संकेत गर्नुभयो । म पनि सभाको पल्लो एउटा कुनामा गएर भक्तजनको साथमा बसेँ । कोही मलाई हेरिरहेछन् जस्तो लाग्थ्यो । वडापण्डितले सभालाई सम्बोधन गर्नुभयो -‘भक्तजनहरू ! अनर्थ भइरहेछ, यसैको बहसका लागि सबैलाई बोलाइयो । केही समयदेखि बगैँचामा देवीजी मण्डलीको नियमविपरित देखिनुहुन्छ । पूर्खादेखि चल्दै आएको यो सनातन नियममा बाधा बन्ने कुनै कुरा पनि अनर्थ हुन्छ । बगैँचे देवी उठ्नुहोस्, तपाईँको असन्तुष्टिको कारण के हो ?’ मैले देवलाई पुलुक्क हेरेँ, उनी अँध्यारो अनुहारमा थिए जस्तो लाग्यो ।

‘मेरा असन्तोषहरू धेरै छन् गुरुदेव !’ मैले कर जोरी भनेँ ।

‘भन्नुहोस् तपाईँको पहिलो असन्तोष के हो ?’ अनुहारमा निकै कठोर भाव ल्याएर वडापण्डितले भन्नुभयो ।

‘समवयमा संवाद गुरुदेव !, सुन्नुमात्रै पर्ने, भन्न नपाइने, आदेश मान्नुपर्ने, प्रतिक्रिया गर्न नहुने, यसमा सरलीकरण गर्नुपर्ने हो कि, विन्ति बिसाएँ गुरुदेव!’ मैले दुई कर जोडी शिर झुकाई आफना कुरा बिसाएँ ।

‘भन्दै जानुहोस्’

‘नदीमा नुहाउन हुने नदीसँग खेल्न नहुने, चराको उडान भर्न नहुने, कोइलीसँग गाउन नहुने, फूललसँग रुनहाँस्न नहुने, कृुनै समवयसँग मन विनिमय गर्न नहुने, यो अनर्थ हुन गयो ।’ मैले जवाफ गरेँ ।

‘तपाईं आश्रम छोड्नसक्नुहुन्छ । नारी भइकन पनि साह्रै अशोभनीय कर्मका लागि तपाईं यहाँ रहन सक्नुहुन्न देवी ।’

‘गुरुदेव, नारीले मात्रै शोभा बिगार्दैनन् कि !, म यो आश्रम छोडेर जाने सोचेको छैन, बरु यस आश्रमलाई समयसापेक्ष बदलौँ कि !’

‘पापिष्ट, तपाईंले साह्रै छिन्द्रान्वेषी कुरा गर्नुभयो । तपाईंलाई यहाँ रहन वर्जित छ ।’

‘गुरुदेव, मैले यहाँबाट गएपछि वनमा रमाइरहेका सुगासँग पिँजडाबाट मुक्त सुगाले मिसिन नसकेजस्तै हुन्छ । मेरो वहाँ पनि केही स्थान हुने छैन । ती रमाइला खुसीहरू यतै स्वागत गरौँ भन्छु । यी सूष्क युवा ओठहरूमा ती लालुपातेका रङ हालिदिने हो भने विज्ञान पनि गम्किन सक्छ । हामी मुक्तिका निम्ति अहोरात्र तपस्या गर्नेहरू फेरि यसरी दमित किन हुन्छौँ गुरुदेव ! तर यो सभाले मलाई वर्जित गर्छ भने म यो सभा र तपाईं वडागुरुसँग सविनय रुपमा देवको हात माग्छु ।’

‘हे पापकी कुण्ड, अबुद्धे, षठ्, उनी पुरुष हुन्, पुरुष सबैलोकमा शुद्ध हुन्छन् । त्यस्ता शुद्ध र पवित्रलाई नरक कुण्डमा जाकेर यस लोकको अबुझ ऋषि हुन म चाहन्न ।’ उनी सभातिर फर्केर बोल्न थाले -‘हे लोकहितकारी भक्तजनहरू ! यो अनर्थबाट हामी कसरी बच्ने ? विमर्श गर्नुहोस् ।’

सभामा गज्याङगुजुङ हल्ला भएको रङ देखियो । कसैले पनि आवाज उठाएनन् । हल्ला बिस्तारै मन्द होला जस्तो भयो । केही नारीहरू मलाई धारे हात लाएर केही भन्दै थिए जस्तो देखिन्थ्यो । बुझिएन । युवावर्ग पनि मौन थिए । बुढापाकाहरू ‘हा! हा! के हुन लाग्यो !’ भन्दै आकाशतिर हात उठाएर ईश्वरसँग केही पुकार गरिरहेका देखिन्थे । मलाई एक किसिम अनर्थ नै भयो कि भन्ने पनि लागेको हो । तर आमाबाबा, आफन्त सबै माया मारेर यही मार्गमा लागेँ तर यहाँबाट पनि बाहिर जानुपर्दा पो अनर्थ होला भन्ने लागेको हो । हुन त जुन ठाउँमा आकाश नै छेलिन्छ त्यहाँ घाम कसरी लाग्ला ?

‘पानी काढ्नुपर्छ ।’

‘निकाला गर्नुपर्छ, कामै सकिन्छ ।’

‘जगटा छर्नुपर्छ ।’

‘किन बस्न दिइरहनु यस्तालाई ?’

यस्तै आवाजहरू स्पस्ट अस्पस्ट सुनिन थाले । वडागुरु सोचमग्न देखिन्थे । देव दोछायाँमा थिए, राम्ररी देखिँदैन थिए । मेरो मनले ‘देव मेरो उद्देश्य होइन’ भन्ने निक्र्यौल निकाल्यो । जसले मेरो कुरा सुन्छ ऊ मेरै भइहाल्नुपर्दैन । उसले अरुका पनि कति कति सुन्नु छ । हुन सक्छ उसले आफ्नो चिन्तनलाई तह लाइसकेको छैन । पखेटा पलाउँदैमा उड्न नसक्न पनि त सकिन्छ । उडानको उद्देश्य आफैँमा स्वतन्त्र छैन भने त्यसको के काम ? सभा अचानक चकमन्न भयो ।मेरो सोचको क्रम भत्कियो । देव उठेछन् ।

मधुरो स्वरमा उनी बोले ः ‘श्रद्धालु भक्तजन, साह्रै कठिन मोडमा उभिएर म तपाईंहरूलाई सम्बोधन गर्दछु । मैले लिएको मार्गमा आज म पनि अनौठो मोडमा उभिएको छु । देवीजीका तर्कहरू मौलिक छन् । ढुङ्गासँग खेल्ने मान्छेले मूर्ती कुँद्न सक्छ । फूललसँग रमाउनेले रङ बुझ्न सक्छ । सिर्जनाले सानो विरुवालाई रुद्राक्षको वयस्क बोट बनाइदिन्छ । प्रकृतिलाई सधैँ सबैले सम्मान गर्नुपर्छ ।’

यति भनेर उनी बसे । सभाका मानिसहरूले प्रश्नवाचक हातले एकार्कालाई केही सम्बोधन गरेझैँ गरे । वडागुरुले सबैलाई अश्रमतिर जान संकेत गर्नुभयो । मैले पनि त्यत्तिकै त्यहीँ बसिरहन उचित ठानिन । बिहानको उज्यालो पर्खन साँझमा म पनि एक्लै आश्रमतिर लागेँ ।

२०६८ ।०२।३१

(स्रोत : Majheri.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.