~यादव खरेल~
ऊ कारण र परिणामको पत्रहरुलाई छोडाउदै छ, एक……….दुई ……….तीन ……….हजार ……….लाख। जति–जति पत्रहरु छोडाउदै गयो उति उति नयाँ पत्रहरु देखा पर्दै जान्छन्। विगत ७० बर्षदेखि कारण र परिणमका ती पत्रहरुलाई अहोरात्र केलाई रहेको छ, केही खोजिरहेको छ। पुराना पत्रहरु खोस्ट्याउँदै जाने र नयाँ पत्रहरु उद्घाटित हुदै जाने क्रम जारी छ।
उ ७५ वर्षको भयो। जीवनको उत्तरार्धमा पनि थाकेको छैन, पत्र उधिनिरहेको छ।
छोराले बाबुलाई कारण र परिणामका पत्रहरु छोडाउदै गरेको हेरिरहेको पनि आधा शताब्ीद भयो।
आजकाल त्यही क्रम कैातुहलपूर्ण र जिज्ञासु आँखाले नाति पनि हेरिरहेको छ।
आज वैशाख १ गते, नयाँ वर्षको शुभारम्भ। ढलौटको गिलासमा तातो दुध लिएर नाति हजुरबुबाको कोठा भित्र पस्दछ। कोठाको दृष्य देखेर नाति डरले चिच्याउछ। परिवारका सबै सदस्यहरु कोठामा जम्मा हुन्छन्। बेखानारायणको टाउको आकाशतिर फर्किएको छ। आँखा खुला छ। कारण र परिणमको तहमा चेप्पिएर बेखानारायण मरिसकेको हुन्छ। मानौ आकाश तिर फर्किएका विस्फारित आँखा भनिरहेका छन् …………. “म सत्य खोजिरहेको छु ”।
(स्रोत : NepaliLaghukatha.com )