ती वीर–सपूतहरु जसको प्राणले मुक्त भयो सारा जगत
बली चढाए तिन्ले आफ्नै जब देशलाई चाहियो रगत
मुक्तिका लागि क्रान्ति गरेर शहीदले दिए आफ्नै आहुती
नत्र त्यही फासिष्ट निरकुंशतन्त्रमा हुन्थ्यो हाम्रो कस्तो दुर्गती ?
गुम्सिएर सधैं बस्दा जब स्वतन्त्र भएन जनताका बोली
सोचे शहीदले—आखिर एक दिन मर्नै छ भने केही हैन गोली
जनताका निम्ति लड्नु पर्दा भनेनन् तिन्ले कहिल्यै भोलि
पुस्तौपुस्ता सम्मका लागि बलिदान दिए सम्पूर्ण हृदय खोली
आस्था तोडेनन् कहिल्यै बन्दूक अघि छाति थापे हाँसीहाँसी
प्रजातन्त्र ल्याउनै छ भनेर हिजो खुशीसाथ चढेथे फाँसी
जीवनभर लडे, कायर हैन चाहियो तिन्लाई वीरकै चिहान
रातहरुमा कति बाँच्नू? ल्याउनु थियो एकदिन सुनौलो विहान
सदैव संघर्षमै अर्पिए आफूलाई जब देशले माग्यो जवानी
संझिए शहीदले—देशमै मरे केही हैन त्यो देहको कुर्बानी
वीर–सपूतहरुको मृत्युले सारा देशैलाई लान्छ मलामी
मर्दैनन् उनीहरु कहिल्यै पनि पाइरहन्छन् सधैं सलामी
Poshendra Satyal Prabhat,
Cambridge, UK
Issue : 2004
(स्रोत : Pardesh.com)