एक वीर नेपालीको सदगती भयो ।
सदगती भयो, एउटा विदेशको तफर्बाट अर्को विदेशका विरुध्द तेस्रो विदेशको समर्थनमा चौथो विदेशको विरोधमा पाँचौ इन्डियन भुमिमा यूध्दरत हुँदा वीर नेपालीको सद्गति भयो ।
उस्लाई यमराजसमक्ष उभ्याइयो ।
यमराजले भने, – “हे वीर नेपाली । तिम्रो स्वामिभक्तिदेखि म साह्रै प्रसत्र भएँ । त्यसकारण म तिमीलाई रोज्ने मौका दिन्छु, भन तिमी स्वर्ग जान चाहन्छौ कि नरक ?”
वीर नेपालीले जवाफ दियो, – “प्रभू ! नरक !”
यमराज आश्चर्यचकित भए ! उनको यति लामो अनुभवमा – सत्य, द्वापर, त्रेता र कलि – कुनै पनि युगमा धर्म युधिष्ठिर बाहेक कुनै पनि व्यक्तिले स्वर्ग र नरक रोज्न पाउँदा नरक रोजेको थिएन । उनले सोचे, – “यो दोस्रो धर्म युधिष्ठिर कहाँबाट आयो ?” यमराजले अचम्म मान्दै सोधे, –“तिमीले स्वर्ग छाडेर नरक रोज्नाको कारण के हो वीर नेपाली ?”
वीर नेपालीले सगर्व उत्तर दियो, – “कारण के भने दयासिन्धु, म महान् स्वामिभक्त त छँदैछु, त्यसमाथि महान् राष्ट्रवादी पनि हुँ । म मेरा राष्ट्रको प्रत्येक जड वा चेतन वस्तुलाई अपार प्रेम गर्छु ।”
यमराजलाई झन अचम्म लाग्यो र सोधे, – तिमीले कसका तफर्बाट कहाँ यूध्दरत हुँदा म¥यौ भत्रे कुरा थाहा पाउनासाथ तिम्रो राष्ट्रप्रेम त थाहा पाइहालें ।” तर तिम्रो त्यो महान् राष्ट्रसंग नरकको के सम्बन्ध छ वीर नेपाली ?” वीर नेपालीले जवाफ दियो, “सम्बन्ध स्पष्ट छ । मेरो देशका महापंचहरु, जम्बू मन्त्रीहरु, ठालू नेता, प्रशासक, समाज–सुधारक देशसेवी, पत्रकार, धनीमानी, कलाकार, साहित्यकार, सचिव, हाकिम, महिलानेतृ सबै बन्धुबान्धव आफन्तसंग मेरो नरकमा नै भेट हुनेछ । स्वर्गमा कुनै सम्भावना छैन ।”
यमराजबाट आज्ञा भयो, – “तथास्तु ।”
(स्रोत : NepaliLaghukatha.com )