~निराजन राजालिम ‘बतास’~
आकाशमा बलेको एक निमेषको झिलिक्क बिजुलीले साँझ अँधेरीघाट र अरूण नदी झलक्क देखियो । गडङडङडङ गर्दै आकाशै जमिन थर्किने गरी मेघ गर्जिदा झन साँझमा अँधेरीघाट ताकेर वारिपारिबाट झर्दै गरेकाहरूको खैलाबैला अचाक्लि सुनियो । केटाकेटीहरू चिच्याउन थाले । हावाहुरी चल्न थाल्यो । दुङमाली साइँलाले दुङमाबाट झार्दै गरेको गार्ई र गोरूहरूको हुललाई अँधेरीघाट छिटो झार्न लौरी र ढुंगा बर्साउन थाल्यो । याकुका ढकाल बाजे, सुप्लाका कार्की काइँला सबैले गार्ई गोरू छिटोछिटो लखेटेर झारे । एकै छिनमा जम्मा भएका गार्ई गोरूहरूको पाँच हुलले एकैछिनमा घाट भरियो ।
लेगुवा, जरायोटारतिर मोटरबाटो घुमेपछि अँधेरीघाट लगभग चकमन्न छ । एक दर्जन घर पसलहरूको अब त किला खाँबो पनि बाँकी छैन । कुनै बेला सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुरका बटुवाहरूको भीड लाग्ने घाटमा सुरजित राईले मात्र बाउको बिँडो थामेर घाट छोड्न सकेका छैनन् । उनका बाउ सबभन्दा पहिले यै घाटमा किलोखाँबो गाडेर बटुवाको सेवा टहल गर्थे । भात पकाइ खानेहरूलाई दाउरा र भाँडा दिएर त्यसको किराया लिन्थे । आक्कलझुक्कल हिँड्ने बटुवाहरूलाई उनैले हिजोआज रेखोपाखो गर्छन् । मंगलबार भने यस्तै खरिते र तिनले झारेका गार्ईगोरूहरूले उनको घर पसललाई घेरेर बजार लगाइदिन्छ ।
चैतको टन्टलापुर घामपछिको हुरी झरीमा आज पनि उनै सुरजितको घरपसल र वरिपरि आउरेजाउरेको हुल र गार्ई गोरूको बथान उर्लिएर घेरो मारेको छ । साँझको हावाझरीमा सबैले गार्ईगोरू थान्को लाइरहेछन् । दुङमाली साइँला पुराना किलाहरूमा गार्ईगोरू बाँधिरहेछ । कार्की काइँला तल खोलासम्म गोरूहरू तर्सिझरेकोले टस बालेर खेदिरहेछ । पाँच सात जनाको झुप्पोले चाहिँ गार्ईगोरू पारिपट्टि थान्को लाइराख्न पुलमा हिँड्न नमानेका गार्ईगोरूलाई हिकाउँदै तान्दै र धकेल्दै गरिरहेछन् । परालको ठेक्का लिएका धनकुटा दियालेका रामजी धमलासँग सस्तोमा बार्गेनिङ गर्नेहरूको स्वर पनि ठूलै सुनिएको छ । हरेक मंगलबार जस्तै आजको मंगलबार पनि सानोदुङमा, ठूलोदुङमा, बास्तीम, च्याङग्रे, याकु, जरायोटार गाउँहरूका नयाँ ताजा कुराले अँधेरीघाट उचालिएको छ । सुरजितका चारैवटा चुलाहरूमा आगो फुक्ने काम सुरू हुँदैछ । पानी हलुका रोकिएको छ । दिनभरि गोदाइ र धपेडी खेपेका गार्ईगोरू भने खुला आकाशमुनि पराल खाइरहेको पसल भित्रबाटै ताजुपले सुनिएको छ ।
ठेकेदार, गार्ईगोरू धपाउने सहायक, खरिते र बटुवा गरी झन्डै अठार जना सुरजितको चारवटा चुलामा बाँडिएर छाती र ढाँड सेकाइरहेका छन् । याकुको ढकाल बाजे अरूले पकाएको नखाने हुँदा आफै स्कुस ताछिरहेका छन् । अरू अल्लारेहरू पकाउनुको अल्छीले सुरजितको बूढीलाई जम्मै पकाउन लगाएका छन् । गफ गर्ने, रक्सी, जाँड खानेको खैलाबैला आज मंगलबारको साँझ अँधेरीघाटमा रामै्र जमेको छ ।
बूढा, थारा, रोगी गार्ईगोरूको हुर्मत लिने यी मनुष्य मनहरू कतिपय बटुवाको लागि भने उदेकलाग्दो भइदिने गरेका छन् । अँधरीघाटमा मंगलबार झारिएका गार्ईगोरू शनिबार सुनसरीको चक्करघट्टीमा बेचिन पुग्छन् । दुङमाली साइँला, कार्की काइँला र ढकाल बाजेको पेशा या आशा त्यही हो कि उनीहरू गाउँ–गाउँ चहारेर मालिकलाई फाइदा दिन छोडेका गार्ईगोरूहरू सस्तोमा बटुल्छन् । र, यसै गरी अँधेरीघाट हुँदै अरूणको तीरैतीर, सिम्ले र सप्तकोशकिो भित्तैभित्तो गरी चक्करघट्टी पुगेर केही फाइदामा यी पशुहरूलाई बेचिदिन्छन् । यी मायालु र मानव आज्ञाकारी गार्ईगोरूहरूको हाडखोर कहाँ विनाश हुन्छ उनीहरूलाई त्यसपछि केही थाहा हुन्न । बस्, उनीहरू फर्कदा अलिकति चिनी, चिउरा, कपडा चतरामा किनेर फेरि गार्ईगोरू खोज्ने योजना र जपना बुन्दै सप्तकोशी र अरूणको विपरित गतिलाई पछ्याउन छोड्दैनन् ।
दुङमाली साइँलो तरूण र निकै फरासिलो छ । ऊ दुङमामा राम्रै जमेर बसेको अल्लारे किराती हो । उसले अँधेरीघाटका आगन्तुकहरूलाई बेलाबेला रमाइलो र तुक्का जोडेर हँसाउने गर्दछ । उसो त त्यो भन्दा बढ्ता उसलाई कसैको बानी र व्यवहारमाथि सटिक छेँड हानेर उल्लिबिल्लि बनाउन कसैले जित्दैन । उसले आगन्तुकहरूलाई एउटा रमाइलो सुनाइहाल्यो । उसले सुनाएको रमाइलो तुक्का चैँ यस्तो थियो । एकदिन उसले निकै गतिलो गोरू सस्तोमा खरिद गरेर उसैगरी चक्करघट्टीतिर बेच्न लगिरहेको थियो रे । तर, गोरू पराल खाँदै नखाने ! हरियो घाँस मात्रै खाने हुनाले उसलाई दिक्क लागेछ । दिक्क मात्रै होइन गोरू बेच्ने मालिकसँग रिस पनि उठेछ किनकि उसले पराल नखाने गोरू बेचेको थियो । ऊ आफू के कम ! जुक्ति निकालेर सिम्लेमा गोरूलाई हरियो रंगको चस्मा किनेर लगाइदिएछ । हरियो चस्मा लगाएपछि गोरूले पराललाई पनि हरियै देख्न थालेछ र पराल खान थालेछ । उसको यो तुक्काले आगन्तुक सबैलाई रमाइलो दिलायो । सबै हाँस्न थाले ।
ढकाल बाजेको कन्तीमा करेला छ्वाइँय गरेपछि दुङमाली साइँलाले व्यंग्य ग¥यो– “हाउ ढकाल बाजे मीठो मसिनोको स्वाद चैँ तिम्रो जिब्रोलाई कैले नपच्ने भो होउ ! बाहुनले च्याऊ खाओस् न च्याऊको स्वाद थाहा पाओस् । हामीलाई हप्तामा चार छाक मासु खाँदा पनि पुगेकै छ, तिमै चैँ बूढा गुन्द्रुक र करेलाले जुनी काट ।”
ढकाल बाजे केही बोलेनन् । खाली उनका सहयोगी नाति केटोलाई राम्ररी आगो फुक्न लगाए ।
साँझ छिप्पिसके पनि वारिपारि हिँडेकाहरू त्यहाँ छिटफुट आइ नै रहेका छन् । आगो ताप्दै गरेको दुङमाली साइँलाले आउरे बाउरेलाई यसो हेरेर आँखा झिम्क्याएर भन्यो– “होइन होउ कि भाले चपाइदिउँ ?”
आगन्तुक मध्ये एकजनाले भन्यो– “भाले पाइन्छ होला र होउ यहाँ ?” दुङमाली साइँलाले चुट्की बजाएर भन्यो– “कुरा मिलेपछि त म बाख्रा जत्रा भाले निकालिदिन्छु । मोलेर खाउँ त ? पचास–पचासको कुरा हो, भान्सा पनि उज्यालो हुन्छ ।” एउटा आगन्तुकले कुनाबाट भन्यो– “खाने भए खाउँ न त !” दुङमाली साइँला बडो फूर्तिका साथ आगन्तुकहरू तिर बढ्यो र भन्यो– “लु पचास–पचास रूपैयाँ झिकुम् ।” सप्पैले पचास झिक्दै दिए । ढकाल बाजेले अरूले पकाएको नखाने भएपछि त्यतातिर वास्ता गरेनन् । उनी करेलासँग साग मिसाउन पानीमा चोबल्दै साग कन्तीमा ओइ¥याउन थाले ।
एकैछिनमा दुङमाली साइँलाले एक मूठो पैसा सुरजितको बूढीलाई दियो र डिलमुन्तिर रहेको कुखुराको खोर तिर टस बालेर झ¥यो । “कालो कि फुस्रो हो ?” कुखुराको खोरको छेस्किनी उघार्दै दुङमाली साइँला करायो । सुरजितकी बूढीले ‘खैरो है खैरो’ भनेपछि दुङमालीले खैरो दुम्सी भाले अँठ्याएर निकाल्यो । उसले सिकुवामा निस्कने बित्तिकै छानामा सिउरिएको लट्ठीले भालेको ढाँडमा दोक्च्यायो । भाले खुत्रुक्कै भयो । उसले एकैछिनमा भुत्ला थुतेर सिध्यायो ।
मासु फोरफार पार्न पनि दुङमाली साइँला बडो सिपालु । उसलाई फोरफार पार्न कुनै हतियार चाहिएन । हातैले सबै आन्द्रा निकालेर काटकुट पारेर ठूलो कन्तीमा उसैले ओइर्यायो । झोल निम्ठो हाल्दै सुरजितकी बूढीलाई उसले भन्यो– “एक माना धेर पकाऊ है भाउजु, आज भात मजैले जान्छ जस्तो छ ।”
तरकारी र झोल दामासाही बाँड्ने कुरामा दुङमालीले घटबढ गरेन । भात खाँदै भए पनि सबैलाई उसैले नै झोल थपिदियो ।
भात खाइसक्दा सानोदुङमातिरका चारजना केटाहरू पनि मंगलबारको साँझ अँधेरीघाटमा गफिन झरे । तिनीहरूमध्ये एकजना भर्खरै मेघालय भारतमा कोइला खनेर फर्केको केटो सिरूमाने र सुरजितको आफ्नै भतिजो पनि थियो । दुङमालीले अँगेनाको डिलमा दाँत कोट्याउँदै फेरि खाने कुराकै कुरा झिक्यो– “हाउ कुखुरा त मिठै भयो । गोरू चैँ चाख्न मन लागिरा’छ हौ ।”
उसले दुङदुङे बडाउले दार्जीलिङमा गोरू खाएको कुरा गरेको स्मरण ग¥यो– “हाउ दार्जीलिङ बस स्टेशन माथ्लोपट्टि ता बीस बीसओटा गोरू एकेचोटिमा काट्छन् रे होउ !”
सिरूमानेले दुङमालीको कुरा नसकिँदै थप्यो– “काँ, मेघालयमा एक छाकमा एक किलो गोरूको मासु खाने मै हुँ, भन्छौ र !” उसले दुङमालीलाई बडो स्वादिलो गरी भन्यो– “कम मीठो हुन्छ र होउ गोरूको मासु ? हुन ता तिमीहरूले सुङनु ता पा’को छैनौ ।”
कार्की साइँलाले कुनाबाट दुईजनाको कुरालाई नाघेर आफ्नो कुरा घुसायो– “क्षेत्रीलाई राँगा र सुँगुरको मासु जत्तिको मीठो अरू लाग्न छोड्यो, अब राईलाई गोरूको मासु मीठो लाग्नु थाल्यो होऊ, कुन दिन देखि मानेडाँडामा गोरू काटेर खाने परेउ नि !”
सिरूमानेले कार्कीलाई जितेर भन्यो– “हउ मुलाङखारे मौका परे यै अँधेरीघाटमा गोरू काटिन्छ, के भनेको होउ, उहाँ मेघालयमा एकै मुंग्रोले गोरू ढाल्ने मै हुँ ।”
सुरजितको फराकिलो दुईपाखे ओत मुनि खैलाबैला र गफको गति निकै चुलिँदै गयो । यतिकैमा सिरूमानेले निकै जोसिएर भन्यो– “कि गोरू काटुङ त होउ साँठा ? म एक जनाले नै तीन धार्नी ता उठाउँछु होउ ।”
दुङमाली सानोतिनो हौडी, उसले भन्दिगो– “हाउ मोल गर न त मुला हो, गोरू त म सँग छानी–छानी छँदैछन् नि, चक्करघट्टी लाने टन्टै पनि हुँदैनथ्यो ।”
“होइन साँच्चिकै कि ख्याल ख्याल गरेको होउ भाइ हो ?” सुरजितले भित्र कोठाबाट बाहिरतिर आवाज फाल्यो ।
“साँच्चि भने साँच्चि नि, मैले ता गोरू छानी–छानी झारेकै छु” दुङमालीले औँला घुमाएर भन्यो ।
“ल दाजु तिम्रो गोरूको दाम कति हो ?” सिरूमानेले दुङमालीलाई सोध्यो । “होइन साँच्चिकै हो कि क्या हो भाइ हो ?” सुरजितकी बूढीले भित्रबाट निस्कदै सोधी, “कल्ले खान्छ र गोरू काट्न लागेको हो ?”
“काटुङ मात्रै न खाने ता कति छन् कति ? कसलाई केले पुगेको छ र ? स्याल त मारेर खाँदैछन्, गोरू त खाने जिनिसै हो । मेघालयमा अरू छोडेर गोरूकै सुकुटी मात्रै खाने हुन्, हाम्रा गाउँबाट जाने पनि । पोहोर बडाउले झापामा गोरूको सुकुटी ल्याइदेउ भनेर दुई किलो ल्याइदेको बूढाले ओखती हुन्छ भन्दै दुई महिना सम्म राखेर खाएछ ।” सिरूमानेले खुब फुइँया हाँक्यो ।
“होइन, धरानमा ता हप्तैपिच्छे काट्न थालिसके । हामीले काट्दा चैँ के बिग्रिन्छ र ?” कुनातिरको एउटा केटोले भन्यो । “लु होउ काट्ने भए काट, मलाई दश हजार देऊ, रोजेर लैजाऊ” दुङमालीले गोरू बाँधिएको ठाउँतिर टस बालेर घुमायो ।
सिरूमानेले मेघालयको चलन सबैलाई देखाइदिने विचार ग¥यो । उसले गोरू काट्दैमा अबको समयमा बात लागिहाल्दैन भन्ने विचार ग¥यो र भन्यो– “लु चार हजार चैँ लिइहाल दाइ, म गोरू काटेर देखाउँछु ।” सिरूमानेले यति भनेर दुङमालीको अगाडि फ्याट्ट पैसा पछा¥यो । सबै जना छक्क परे ।
“होइन होउ साँच्चै हो कि क्या हो ?” सुरजितले शंका ग¥यो । “इहाँ त नकाटुङ होइ । मान्छेले नराम्रो सोच्छन् । धर्ती जोत्नेलाई नि काटेर के तमास गर्न लागेको होउ ?”
“अब गोरू काट्दै खाएपछि चक्करघट्टी पुग्नुपर्दैन होउ दाइ ! कसैले केही भने भने म छँदैछु नि ।” सिरूमानेले भन्यो– “तर, भालि सबैले मासु चैँ उठाउनुपर्छ नि । भोलिको दिन छेरून्जेल भुटुवा सित्तैमा खाए हुन्छ । तर, सबैले तीन–तीन धार्नी त उठाउनैपर्छ है । बिहानै म गाउँलेलाई खबर गर्न पनि पठाइहाल्छु ।”
उरन्ठ्याउला केटाहरूको हल्लाको वास्तै नगरी ढकाल बाजे चैँ दुईटा टेबल जोडेर बनाएको ओछ्यानमाथि घुर्न थालिसकेका थिए । आगन्तुकहरू केटाहरूको खैलाबैलाले राम्ररी निदाउन सकिरहेका थिएनन् ।
बुधबार बिहान रिमरिममै दार्मे गोरू चारपाँच भाइ मिलेर बन्चरोले हानेर ढाले । ढकाल बाजे आत्तिएर पुल पारिपट्टिको गोठतिर लागे । वर्षौँसम्म जोतेर कमाइ खाएर जीवन निर्वाह गरेका मानिसहरूले त्यै गोरूको टाउकोमा बन्चरो प्रहार गरेर ढाले । हिन्दुहरूले पितृ मान्दै आएको र अनादिकालदेखि धेरै पछिसम्म किरातहरूले पितृमा चढाउन बध गर्ने गरेको गोरूलाई आज खाने ध्येयले अँधेरीघाटमा केही किराती तन्नेरीहरूले अचानोमा गोरूको खुट्टा गिड्दैछन् । उपस्थित छन् केही किराती केटा र कार्की काइँला ।
आजसम्म गोरू मात्रै देखेका तर गोरूको मासु नदेखेकाहरूलाई बडो अफसोस छ । तर, यी गोरू ढाल्नेहरूलाई कुनै अफसोस छैन । हुन त धार्मिक कुरालाई छोड्ने हो भने पनि किसान जो गोरू जोत्दछ, जुन समुदायको भए पनि उसले गोरूलाई असाध्यै माया गर्दछ । किनभने गोरूको काँधमा उसको जीविका काठिएको हुन्छ । किसान जो हो, उसलाई गोरू चुटिएको, गोरू भोकाएको हेर्नै सक्तैन । त्यसैले उसलाई दूध दिने भैँसी भन्दा गोरू नै अति प्यारो बनिरहेको हुन्छ । सिलाङ, मेघालयमा गोरूको मासु खाँदै उही दुःखी कर्म गर्ने युवा, अधबैँसे, जो गोरूको संसर्गमा त्यति रहेका हुँदैनन् । उनीहरूलाई गोरूको मासु खाँदा दिकमिक त के अफसोस भन्ने केही बाँकी हुँदैन ।
सधैँ बुधबार बिहानै गार्ईगोरू चक्करघट्टीको लागि बाटो लागिसकिन्थे । आज गोरू काटेको जात्राले बिहान नौ बजेसम्म गार्ई गोरू अँधेरीघाटका वारिपारि ढुंगाघारी र पोथ्रापोथ्रीमा बिजोग गरी छरिएका छन् । गोरू काटेको राम्ररी नखाइ त जाने मन पनि भएन दुङमालीलाई । कार्की काइँला समेत धेरै समयपछि पगितो मासु खान पाइने कुरोले गार्ईगोरूतिर ध्यान फाल्न सकिरहेको छैन । देश दुनियाँ खाइहिड्ने उसले बाइस वर्षकै उमेरमा जनै मिल्काइसकेको थियो ।
केटाहरूले मासु धार्नी–धार्नी जोखेर लौरीको चोके बनाउँदै उन्न थाले । फलाना फलानालाई भन्दै उनीहरूले भाग–भाग पनि हाल्न थाले । सुरजितकी बूढी गोरूको मासु आफ्नो घरमा पकाउने कुरा मात्रै होइन, पकाउन दिने कुरामा समेत अर्घेली भइनिक्लेकी छिन् । एकजना केटा पाखामा चुला बनाइ आगो बालेर भुटुवा पकाउन लागेको छ । मासु लिन आउन गाउँले डाक्न उठ्ने बित्तिकै गा’को चतुरे यतिखेरसम फर्किझरेको छैन । दुङमाली, सिरूमाने र अरू केटाहरूले मासुको थान्को सुरजितको पराल र दाउरा राख्ने सानो कटेरोमा गर्न थाले । उनीहरूले के हिसाब गर्दैछन् भने बोलाए जति गाउँले मासु लिन आएमा मासुले नपुगेर कोही–कोही रिसाउन बेर लाउने छैनन् ।
पुल पारिपट्टि ढकाल बाजेले तारन्तर गार्ईगोरू छिटो बाटो लगाउन कराइरहेका छन् । उनी गोरू काटिएको देखेर बडो विक्षिप्त छन् तथा आफ्नै आँखाले गोरू काटिएको देखेपछि पाप नलागोस् भन्दै सबेरै अरूण नदीमा झरेर नवाइधुवाइ गरेका छन् । उनी यतिबेला झिनाझमेटा भेला गरेर पुरानो दोकानको भत्कन लागेको चुलामा भात बसाउन लागेका छन् ।
भुटुवा र जाँड खाँदै गर्दा चतुरे गाउँ चहारेर आइपुग्यो । मासु लिन कोही पनि नझरेको र चतुरे मात्र कुदिझरेको देखेर सिरमानेले हका¥यो– “मान्छे बोलाउन गा’को थिइस् कि भ्यागुतोको डिम्मा खोज्न हँ ?”
चतुरेको कुराले पो सबैजना झस्किए– “कोही पनि गाउँलेहरु मासु नखाने रे !”
सिरूमानेले अत्तालिएर भन्यो– “कोही खाँदैनन् भने म एक्लै खान्छु ।” दुङमालीले पनि गार्ई गोरू एकदिन घाटमै बाँधेर मजाले गोरूको मासु खाने विचार ग¥यो । उसले एकदिन गार्ईगोरू घाटमै राखेर पराल खुवाउने खबर पारिपट्टिको गोठमा बसिरहेका ढकाल बाजेलाई वारिदेखि कराएरै बतायो ।
त्यसदिन दिनभर जाँड र गोरूको मासु खाँदै र तास खेल्दै सिरूमाने, दुुङमाली र अरू केटाहरूले बिताए । उनीहरु गोरुको मासु लिन आउने गाउँलेहरूको प्रतीक्षामा थिए । तर, बेलुकीसम्म पनि कोही आएनन् ।
दुङमाली रातभर पेट दुखेर आलसतलास भयो । कार्की काइँला मातेर बलेसीमै सुत्यो । सिरूमाने मासु बिग्रने डरले खड्कुलोमा तातो पानीमा डुबाउँदै झिक्दै गरिरह्यो । त्यस रात कोही पनि आरामले सुत्न सकेन् । किनभने, उनीहरू मध्ये कसैलाई पेट दुख्ने, कोही मात्ने र कोही मासु बिग्रने चिन्तामा थिए ।
बिहानैदेखि पारिबाट ढकाल बाजे गार्ईगोरू बाटो लगाउन कराइरहेका छन् । उनलाई के फसाद परेको छ भने आफैँ गार्ई गोरू धपाएर लैजाउँ त्यति टाढा समस्या छ । सँगैका साथी जानुभन्दा खानुमै भुलिएका छन् । पेट दुख्ने, मात्नेभन्दा ठूलो पिरलो ढकाल बाजेलाई छ किनभने बाहुन भैकन पनि उनी परिश्रम नगरी बस्ने होइनन् । आज अँधेरीघाटमा दिनभर पारिपट्टि हेर्दै कराउनुमा समय बितेको छ उनको । काम बितेकोले उनलाई बडो ग्लानि भइरहेको छ । तर, पारिपट्टि खानुमा भुलेका साथीहरूले आफूले कराएको नसुन्दा गार्ई धपाउने दुःखी काम गर्नुपरेकोमा पछुतोको बोध गरेका छन् आज ढकाल बाजेले ।
बिहिबार पनि बिहान गैसक्यो । गार्ई गोरूलाई पराल पनि सिद्धिन लागिसक्यो । रामजी धमला मंगलबार एक रातको झन्डै चालीस गार्ई गोरूको अड्कल लगाएर मात्र पराल झार्ने गर्दछन् । थोरथोर खुवाउँदा खुवाउँदै त्यान्द्रो पनि सकिइसक्न लागिसक्यो । यता सिरूमानेले आफूले मात्र मासुको भार बोक्न नसक्ने भन्दै दुङमाली र कार्की काइँलालाई अल्झाउन थाल्यो । नत्र बाँकी पैसा नदिने चेतावनी पनि दुङमालीलाई दिन थाल्यो । दुङमालीलाई पनि के हत्ते परेको छ भने सिरूमानेले पैसा दिएन भने ऋण काढेको पैसा बालुवामा पानी खन्याएको जस्तै हुने भो । फेरि एक दुई जनाले गोरूको जीउ खाएर सकिने पनि होइन । उसले आज गार्ई गोरू अड्याएर भए पनि गाउँलेहरू मासु खान बोलाएरै ल्याउने विचार ग¥यो र त्यतातिर लाग्यो ।
गार्ई गोरू भोकले कराउन थालिसकेका थिए । रामजी धमलालाई पराल झार्न खबर पठाएको भए पनि उसले यतिन्जेलसम्म झारिदिएको छैन । सायद, उसले पराल तत्कालै जोहो गर्न सकेन होला । ढकाल बाजे पारिपट्टि बडो अशान्त तरिकाले छटपटाउन थाले । यता बेलुका अबेरसम्ममा दुईचार जना तन्नेरी बाहेक मासु लिन आउने अरू भएनन् ।
गार्ई गोरू कराएकैले कोही पनि राम्ररी सुतेनन् । दुङमालीलाई अब जाँड र मासुको स्वाद भन्दा गार्ईगोरूको चिन्ता लाग्न थाल्यो । आखिर उसको जिन्दगीको मियो पनि त यै गार्ई गोरूसँग जोडिएको छ । उसले पाखामा गएर हरियो झोरमोर, पातपतिङ्गर लाछेर र सोहोरेर गार्ई गोरूको अगाडि त थुपारिदियो । तर, के खाउन् गार्ईगोरूले सालको पात ? रातभरि कराइरहे । ड्वाँ ड्वाँ गार्ई गोरू कराएको विचित्र आवाजले वारिपारिका चट्टाने भित्तोहरू थर्कने थाले ।
गार्ई गोरू भोकले रन्थनिन थालेछन् । कराउन पनि राम्ररी सकिरहेका थिएनन् । दुङमालीलाई दुई बजेपछि निद्रा पर्न छोड्यो । तीन बजे उसले कार्की काइँलालाई सिरक थुतेर ब्यँुझायो र आफूले गार्ई गोरू दाम्लोबाट खुस्काएर छिटो–छिटो धपाउन थाल्यो । उसले के विचार ग¥यो भने जतिसक्दो चाँडो राईघाट पु¥याएर गार्ईगोरूलाई पराल खुवाउनैपर्छ । त्यहाँ पनि पराल छैन भने त लामीबगर नपुगी हुँदैन । लामीबगर पुग्न दिउँसो एक बजिहाल्छ । उसले यै सोचेर रिमरिम अँधेरीमै गार्ईगोरू चुटेर बाटो लगाउन थाल्यो । ढकाल बाजे सबै गार्ई गोरूको हुलका पछि–पछि लाग्यो । दुङमालीले ढकाल बाजे र कार्की काइँलालाई के उर्दी ग¥यो भने ऊ आफू जोडतोडले गार्ई गोरू कुदाउनेछ र त्यसको पछि–पछि त्यै तोडले ढकाल बाजेले पछाडिका गार्ई गोरू धपाउनेछ ।
दुङमालीले लौरै लौरोले डाम्दै रिमरिममै गार्ई गोरू धपाउन थाल्यो । कसी–कसी चुटेर घोडा झैँ धपाउन थाल्यो । गार्ई गोरू साँघुरो भीरको बाटोमा ठेलमठेल गर्न थाले । त्यतिकैमा चुटाइको रनाहा खप्न नसकेर होला रिट्ठे गोरूले अगाडिको सानो गोरूलाई सिङमा उनेर भीरबाट हुत्याइदियो । सानो गोरू भीरबाट बत्तिदै ठोक्किदै गएर अरूण नदीमा छप्लयाङ्ग गरेर बजारियो । गोरूले नदीमा विलय हुनुअघि बडो पीडादायी “बाँऽऽऽ” भनेर कराएको सुनियो । अब झन् दुङमालीको झोँकले सीमा काट्यो । उसले गार्ई गोरूलाई बजाउन थाल्यो । पछाडिबाट ढकाल बाजे र उसको नातिले पनि छिटो कुदाउन लौरो र ढुंगा बर्साउन थाले । भोकले रन्थनिएका गार्ईगोरू धेरै कुद्न सक्ने स्थितीमा थिएनन् ।
साँघुरो बाटोमा घोडाको रफ्तारमा दगुराइएका गार्ईगोरू मध्ये पछाडिबाट एउटा गोरूले दुङमालीको टाङमुनि थुतुनो हालेर उचालेर बाटोमुनि फुइँक्याइँदियो । अरूण माथिको भीरमा बजारिँदै गएर दुङमाली कुनै एउटा चेपारोमा अल्झिन पुग्यो र आइया–आइया भन्दै गुहार गुहार भन्दै कराउन थाल्यो । ढकाल बाजे र कार्की काइँला टस बालेर दुङमाली अड्केको ठाउँ अन्दाज गर्न लागे । गार्ई गोरू फलाटेको पाखाभरि छरपस्ट भए । एकैछिनमा ढकाल बाजे र कार्की काइँला पनि गुहार–गुहार भनेर कराउन थालेको सुनेर अँधेरीघाटमा सुतिरहेकाहरूको कान ठाडो–ठाडो भयो ।
September 5, 2014
(स्रोत : Rajalim.com )