~कमल खतिवडा~
कहिल्यै नपुगेको त्यो ठाउँमा म कसरी पुगंे थाहा भएन । पहाड, जंगल, कान्ला, खोल्सा–खोल्सी र सल्लेरी हँुदै म उकालो मात्र लागि रहें। सल्लेरीकै छेउमा गाउँ देखें त्यस मध्येकै एउटा घरमा मेरो आँखा पर्यो। म घर नजिक पुगें कोहि देखिन। तर घरको माथि कोही हो की…. घाँटी तन्काउँदै नियाल्ने प्रयास गरें। पक्कै कोही छ। महिलाले ओढ्ने ऊनीको मजेत्रो झ्यालबाट फिरफिर गर्दे मलाई चिहाइ रहेको थियो। मलाई लाग्यो त्यहाँ कोही महिला हुनु पर्छ । घरको माथिल्लो तल्लावाट कसैले फालेको कागजको डल्लो मेरो टाउकोमा पर्यो। कागज उठाएँ। कागजमा लेखिएको थियो, माथि नै आउनुस न किन अल्मलिनु भएको? सोचे सिधै भने त भइहाल्थ्यो नि किन कागजै फ्याल्नु परेको। मलाई नै थाहा थिएन म कसरी त्याहाँ पुगे के भन्दै माथि जाउँ । एक छिन पछि अर्को कागजको डल्लो झर्यो। त्यसमा लेखिएको थियो , माथि नै आउनुस कमल जी। तपाइलाई स्वागत छ। म झमक, चिन्नु भएन? म झल्यास्स भएँ।
विहान भएछ ,जुरुक्क उठे अनि आफ्नो नित्य कर्म सकेर रमेश दाइको कोठातिर लागें। दाइको कोठा सम्म पुग्दा त्यही सपना सम्भि्करहे। उर्गेनको घोडा पढिसकेर रमेश दाइलाई किताव पुर्याउन हिडेको थिए। सेतो घोडा, पात्रको झझल्कोमा आइरहने पढेको थिए त्यस उपन्यासमा। सायद त्यसैको प्रभाव हो कि। मनमा द्वन्द्व चलिरहयो। “उपन्यास पढिस त कान्छा, के वुझस भन्त?” दाइले सोध्नुभयो। मैले पाठकीय र समालोचकीय हिसावले वर्णन गरे। त्यसपछि दाइले आफ्ना तर्क प्रस्तुत गर्नुभयो। फेरी अर्कै एउटा किताव निकाल्दै “अव यो किताव पनि पढ। यो कितावले भरखर मदन पुरस्कार पाएको हो”। कितावको आवरण हेरें। हासीरहेको लेखकको फोटो थियो जुन अनुहार मैले सपनामा देखेको थिएँ। म झसंग भए। किन भने मलाई सपनामा वोलाउने पात्रको नाम आवरणमा लेखिएको थियो ।
(स्रोत : NepaliLaghukatha.com )