खै कहाँबाट हो कुन्नी
म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु ‘हवस्।’
मैले जानेको नै यत्ति हो
म हरेकलाई हवस् भन्छु,
हरेक चोटि हवस् भन्छु,
र हरेक ठाउँमा हवस् भन्छु,
मैले सानो छँदा देखि नै
सबलाई हवस् भन्दै आए ।
शायद मेरो बाबाआमाले नै मलाई
हवस् भन्न सिकाए।
तर कहाँबाट सिकें
अनि कसले सिकाए
मलाई यो सब सोच्न फुर्सद नै छैन।
मलाई त बस यत्ति मात्र थाहा छ,
जव कसैले मलाई यसो गरिदेउ
र उसो गरिदेउ भन्छ
म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु ‘हवस्।’
कसै कसैले त मलाई
हवसप्रसाद भनेर नामै राखे
मैले सोचे यो त अति भयो
म अव जसले जे गर भन्यो त्यो सबै मान्दिन,
अरुको साध्य पूरा गर्ने मात्र एउटा साधन बन्दिन,
पुग्यो म अब यो नाटक अझ अरु गर्न सक्दिन,
मुखका दुई कुनालाई जवर्दस्ती तन्काएर
अनुहारमा म कृतिम मुस्कान छर्न सक्दिन।
त्यतिकैमा कोही मेरो अगाडि आउछ
र मुसुक्क हाँस्दै मायालु स्वरमा
मेरो यति काम गरिदेउ न है भन्छ
तत्काल मेरो सारा अहम् लल्याकलुलुक हुन्छ,
अनि म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु ‘हवस्।’
अरुलाई हवस् भन्ने चक्करमा
मैले कैयौ चोटि म भित्रको मलाई
नाई भनेको छु,
पिल पिल पिल आसु झारेर
कैयौ चोटि रुवाएको छु।
खै म यो सब किन गरिरहेको छु
मलाई नै थाहा छैन।
यस्तैमा एक थरी आउछन्
र मलाई प्रश्न गर्छन्,
‘धत् यसरी नि जीवन चल्छ?
सबै ठाउँमा हवस् भन्ने होइन
नाई पनि भन्न जान्नुपर्छ।
यहाँ अरुबाट फाईदा लिनेहरु धेरै छन् ।
पहिले आफ्नोबारेमा सोच्न सिक।’
अनि म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
फेरि भन्छु ‘हवस्।’
-राजु सिटौला
October 29, 2012
(स्रोत: Raju Sitaula’s Facebook)