उनी अर्थात् दिदीकी साथी र म अर्थात् उनको साथीको बहिनी, हाम्रो धेरै दिनपछि भेट भयो। हँसिलो अनुहारको उनी निकै रिसाएको मनस्थितिमा थिइन्। दिदी तपाईलाई के पीर पर्यो? आफ्नो पीर अरूलाई सुनाए मन हलुङ्गो हुन्छ, भन्छन्। म पनि त तपाइँकै बहिनी हुँ। मेरो आग्रहको उत्तरमा उनले पड्कँदै भनिन् –एउटा अलच्छिना मोरो छ। यो बाटो हिँड्दा मतिर हेरेर फालीदाँते मुख देखाएर हाँस्छ। न मैले उसलाई चिनेकी छु, न उसले मलाई चिनेको छ। फेरि म ऊजस्तो आवारा पनि त होइन, मेरा देवतातुल्य श्रीमान् हुनुहुन्छ, मुटुको टुक्राजस्ता प्यारा छोराछोरी छन् …………..।
अर्को हप्ता पनि मलाई त्यही बाटो हिँड्ने काम पर्यो। त्यसदिन पनि उनको मुखमण्डलमा ग्रहण लागेको थियो। ……………..हैन, यसले कति हैरान गरेको? मतिर हेरेर हाँसेको बेला श्रीमान्ले देखे के भन्लान्? हे भगवान् के यस्तो समस्या आइलाग्यो?
त्यो बाटो हिँड्ने काम नभए पनि म उनको कथा–व्यथा बुझ्न एक महिनापछि उनी कहाँ गएँ। यसपटक उनले पुरानो प्रसङ्ग कोट्याइनन्। मैले नै बल्झाइदिएँ, उनको पुरानो घाउ। उनले सहज पारामा हाँसीहाँसी जवाफ दिइन्मलाई देख्यो भने हाँस्दछ, हाँसे–हाँसोस्। अब त रीस पनि उठ्न छोड्यो।
दुई महिनापछि पुनः उनीसँग भेट भयो। उनी पहिलेभन्दा बढी चिन्तित, उदास र एकोहोरो भएकी थिइन्। चिन्ता बढेजस्तो छ नि दिदी उसले पुनः हैरान गर्न थाल्यो कि कसो? उनले चिन्तित मुद्रामा बताइन् –पन्ध्र दिन पहिले उसले मतिर हेरेर हाँसेको बेला म पनि हाँसे। एक हप्ता पहिले ऊ हाँस्नुभन्दा पहिले म नै आँखा झम्क्याएर हाँसे। त्यस दिनदेखि उसले मलाई हेरेर हाँस्नै छोड्यो। बहिनी साह्रै दिक्क लागिरहेको छ, दिउसै रात परेको छ, चिन्तामाथि चिन्ताको भारी थपिएको छ। उनले रुञ्चे हाँसोमा भनिन् –कति मीठो मुस्कान थियो उसको? कति मायालाग्दो अनुहार? …………आजभोलि हाँस्न त परै जाओस् मतर्फ टाउको पनि फर्काउँदैन। कति निष्ठुरी हुन सकेको ………?
(स्रोत : NepaliLaghukatha.com )