घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे ।
‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर पर्नु छ र ? बसिरहेका भए एकैठाउँ केही हुन्थ्यो कि । अरु पनि त बसिरहेकै छन् । ’ जयमायाको टिठ्याइला आँखाले जयबहादुरलाई हेरिरहेका थिए ।
‘त्यो पनि ठिकै हुन्थ्यो जयमाया । यो देश आफनै पुर्खाले बनाएको हो । यहाँका हाम्रा आफन्तहरु हाम्रा आफनै हुन् । सबैसँग नाता जोडिएको छ हाम्रो । बसौँला नि कतै । शिविरमा सकिएन बस्न , गजमाउरो छ त्यहाँ । ’जयबहादुरले सम्झाए जयमायालाई ।
‘अबचाहिँ ढुक्कले एकठाउँ बसेर मर्न पाए हुन्थ्यो जय । साह्रै हिँडियो ।’
बात मादैँ उनीहरु हिँडेर आई कन्काइमाईको पुलनेरको फलैँचामा बसे । कसैले ‘तालिम ’ भनेर संबोधन गरी बोलाएको सुनियो । एउटी महिला आफनो तालिम नामको छोरो आफूलाई छोडेर कता गयो भनी अत्तालिएर खोज्दै थिइन् ।नाति केटोलाई आफनो छोरोजस्तै देखिन् होला । उनका साथमा अरु एकदुई निकै आत्तिएर तालिमलाई खोजिरहेथे । जयमायाले चाउचाउको पोको खोलेर खाँदै गरेको नाति केटोलाई हेरेर मुसुमुसु हाँसिन् र एक पटक थोते दाँतले सुहाउँदिलो गरी हाँस्तै उनले पनि भनिन् ‘तालिम’ । केटो मुस्कुरायो । थकाइ मरेछ । उनीहरु फेरि हिँडे पश्चिमतिर ।
माईधार पुग्नेबित्तिकै भोकले भाउन्न भयो भन्दै जयमाया थुचुक्क बसिन् । जयबहादुरले आफूसँग भएको गिलास झोलाबाट झिकेर कलबाट पानी ल्याए र जयमायालाई खान दिए ।
जयबहादुर आफनो पुरानो इस्टकोटको भित्री गोजीबाट केही पैसा झिके । यसो हेरे । सबभन्दा ठूलो पैसा पाँच रुपैयाँको नोट झिकेर उनले बिस्कुट किनेर जयमाया र नातिलाई ख्वाए ।
मागी खानुभन्दा गरी खानु जाती । माइधारमा घरेलु बिस्कुट फैकठ्री रहेछ । उनले त्यहाँ काम पाए । सक्ने काम जयमायाका लागि पनि भयो । जयबहादुर लुरुलुरु काम गरिरहन्थे । उनको कामले निकै प्रशंसा पनि पायो । फैक्ट्रीमै बस्ने व्यवस्था भयो । अब उनीहरुले कतै नजाने निधो गरे ।
जयमायाले एकदिन बिस्कुट प्याकेज गर्दै भनिन् — ‘हामी त केही होइनौ रहेछौँ । हाम्रा कथा मात्रै ठूला रहेछन् ।’
‘किन यसो भन्यौ जयमाया ? हाम्रा कथा पनि के हुन् र ? कति कति कथाहरु छन् यस संसारमा हाम्राभन्दा भिन्न । नलेखिएका कथा । ’ जयबहादुरले सूर्तीको सर्को तानेर भने ।
‘कथा हाम्रा बेचिँदैछन् । हामी भने कति निरिह बाँच्नु ? ’ जयमायाले तालिमलाई छेउमा बसाएर भनिन् ।
‘हाम्रो कथा निकै चर्चित छ रे । हामी भने यहाँ गुमनाम छौँ । हामीजस्तै धेरै चर्चितहरु गुमनाम होलान् । तर हामी कर्म गर्ने मान्छे जया । काम गर्छौँ । बाँच्ने अभ्यास गर्छौँ । तर मलाई यो खेलाँची लाग्दैन । ’ भने जयबहादुरले ।
‘राई बूढाले के खेलौँ बाँच्ने खेल भनेका थिए सबैलाई पुग्यो । फेरि हाम्रो जीवनचाहिँ भकुण्डो भयो । ’ जयमायाले नाति तालिमको टाउको मुसादैँ भनिन् । तालिम चकचक गरिरहेको थियो ।
‘हाम्रा कथा दुरुस्तै छन् शरणार्थी उपन्यासमा । कृष्ण धरावासीको हो त्यो । हामी त अब निमित्त मात्र । हामी केही होइनौँ । । त्यो कथालाई बोकी हिँड्ने पात्र हौँ । हाम्रा कथा छन् तर हामी छैनौँ । ’ जयमायाले भनिन् ।
‘आफनै कथा त कसले लेखेका छन् र जया ! सबैलाई आफू अनुकूल बनाएर लेख्ता रहेछन् । हामी जस्तो छौँ त्यस्तै दुरुस्त त छैन होला । अस्ति नै मात्र धरावासीकहाँ हामीलाई कति खातिरदारी गरे । हाम्रा कुरा कति सुने । तर यथार्थमा हामीजस्ता यस्ता गन्धे , पसिनाले सधैँ भिजिरहनेलाई कसैले त्यति राम्रो सोफामा बसाएर गफ गर्थे र ? त्यो हामीलाई त्यत्रो खातिरदारी पनि कथामै त हो गरेको । ’ जयबहादुरले अझै धुँवारेचन गर्न चाहे क्यारे ।
‘ आ ! तिमी पनि कहिलेकहिँ कति नबुझिने कुरा गर्छौ ? गको त हो नि । उनले त यथार्थमै गरे । ’ जयमायाले भनेकी हुन् तर पूर्ववत चाहिँ थिएन । बोलीमा अलिक बल परेको सुनिन्थ्यो ।
‘ त्यो कथाकारले कुदाएको हामीलाई । त्यत्रो घाममा । हामी श्रम गरी हिँड्ने मान्छेलाई कहिले कता कहिले कता पुर्याउँछन् । कुनैदिन तिमी र मलाई छुट्याएर यिनीहरुले कता पारिदिने हुन् । अब हामी कतै नजाने । यहाँ छौँ भनेर पनि कसैलाई नभनौँ अलिकदिन । लेखकहरुले हामीलाई साह्रै लछारपछार पारिसके । ’ जयबहादुरले लामो सुस्केरा ताने ।
‘ आ ! अर्को ठाउँमा जाँदा हामी अर्कै नामका भैदिऊँ कि क्या हो । यो केटो पनि तालिम भयो । बाटैमा जुनी फेर्यो यसले । ’ जयमायाले ठट्यौली गरिन् ।
‘ कति हिँड्नु हौ जयमाया , कति हिँड्नु ? भो अब अस्ति तिमीले ढुक्कले बस्ने भनेको होइन ? तिम्रो मनमा फेरि हिँड्ने कुरा कहाँबाट आयो ? हामी जहाँ गए पनि श्रमिक । यहाँ पनि काम पाएकै छौँ । श्रमको मूल्यको कुरा हामीले गरेका पनि छैनौँ । यो सब राजनीति गर्नेको चारो मात्र हो । हामी त केवल श्रम गर्ने हौँ । यत्ति हो हाम्रो थात थलो छैन । ’ जयबहादुरको कुराले जयमायालाई के भयो को नि बोलिनन् ।
मौनता निकै बेर रह्यो ।
‘जयमाया के भयो ? बोल, मनमा जे जे भए पनि मुखैले सुन्न मन हुन्छ । बोल । के भयो ? ’ जयबहादुरले जयमायाको मौनतालाई भत्काउन खोजे । जयमाया त्यसै टोलाएझैँ भइन् ।
‘ जयबहादुर हामीजस्ता श्रम गर्ने यस देशमा कति छन् कति ? हामी त रासन पानी पाउँदा पाउँदै आफन्तको औडाहाले हिँड्यौँ । स्वतन्त्र कमाइ खान हिँड्यौँ । हाम्रै पूर्खाको माटो हो भन्दै हिँड्यौँ । तर पुर्खाको माटो भए पनि यो हाम्रो होइन रहेछ । हामीलाई जहिल्यै पनि नेपाली नभनेर शरणार्थी नै भन्दा रहेछन् । भूटानी भन्छन् । शिविरे भन्छन् । तर हामीभन्दा तल्लो स्तरको श्रम गरेर आधा पेट खाएर बस्ने यी यहाँका मानिसहरु हामी जस्तै कथाका पात्र मात्र पनि हुँदैनन् । ’ जयमायाले अन्तिम पोको बिस्कुटको काम सकेर दुवैजना आफना कोठातिर लागे । तालिम त उनीहरुको छायाजस्तै जता गयो उतै जाने न हो । ज्ञानी पनि छ ।
गलेर थुचुक्क बसेकी जयमायालाई जयबहादुरले रातो चिया पकाएर दिए । आफू र तालिमलाई पनि ल्याए । भाँचिएका बिस्कुटहरु पाएका थिए । तिनैलाई चियासँग खाए । जयमायाले भनिन् ‘तालिमको पेट भरियो भने हामी पनि अघायौँ , म त अघाएँ । ’
जयबहादुर यसमा केही बोलेनन् ।
बाहिर हल्ला खल्ला भयो । ग्वारग्वार्ती मान्छेहरु निस्के । कोही के कोही के भनेर कराउँदै निस्के । झमक्क साँझ परेको थियो । जयमाया कोठाको छेउमै थिइन् । उनी पनि निस्किइन् । घटना बिस्कुट फैक्टी्रमै रहेछ । तर के भएको थाहा भएन उनलाई । बिस्कुट छरपस्ट थिए । पिठो छरिएको थियो । केही युवाहरु गाली गलौज गर्दै थिए । तर कसलाई जयमायालाई पत्तो भएन । जयबहादुर पनि पुगेछन् । आरोपप्रत्यारोप मात्र भएको थियो । जयमाया तालिमलाई लिएर फर्किइन् ।
साँझ निकै ढल्किँदा पनि जयबहादुर नआएकाले जयमाया बाहिर निस्केकी मात्र थिइन् । जयबहादुर आउँदै रहेछन् ।
‘के भएको रहेछ जय ?’
‘अब यहाँ बसाइ हुँदैन जया । ’
‘ किन ? के भयो ? ’
‘रविलाई रगपच्छे पारेका छन् । ’
‘रवि त त्यहीँ बोल्दै थिए त । ’
‘ अहिले एम्बुलेन्समा हालेर लगिसके । ’ जयबहादुरको कोठा अगाडिको चौरमा धेरैबेर गाउँका मानिसहरु उभिएर बात मारे । उनीहरुको कोठाबाट सुनिन्थ्यो ।
‘रविले धेरै ऋण लिएको थियो अनि नतिरेकोले आइलागेका रहेछन् । ’
‘रविले राति राति केटी राख्थ्यो रे । ’ खुसुक्क भनेको शैलीमा आवाज आयो ।
‘गुण्डा केटाहरुसँग लेनदेन नमिलेर हो । कता कता के के छ छ नि ? ’ कसैले भन्यो ।
‘साह्रै पिटे कि के हो ? निकै रगत जमेको थियो । ’
‘टाउको फुटाएका छन् । ’
‘हैन , रवि त केही नभई गएको , त्यो अर्कोचाहिँको फुटेको नाथ्री । ’
‘दाँतै झरेको छ । मुखैबाट भलभल गइरहेको थियो रगत । ’
‘ भोलिदेखि अब फैक्ट्री बन्द भयो भने के गरी गुजारा चलाउनु होला । ’ बुढो सन्तबहादुर पनि त्यहीँ रहेछन्, आवाज आएपछि चिने जयमायाहरुले । सन्तबहादुरको कुरा सुनेर सबै हाँसे गललललल ।
‘यहाँ मान्छेको मर्नु बाँच्नुको सवाल छ सन्त दाइ , गुजाराको के कुरा ?’ कसैले भन्यो । भन्नेलाई जयबहादुरले चिनेन । सुनेर भित्र अमिलो भयो । हाम्रो पनि मर्नु बाँच्नुको नै सवाल हो नि । हामीचाहिँ मर्नु र बाँच्नुको परिभाषामा पदैँनौ ? भन्ने सोच्यो जयबहादुरले ।
््््््््््््््््््््………………………..
‘उठ जयमाया , अब भोग पुग्यो यस ठाउँको । जीवन यसरी नै बसाइँ सरेर काट्नुपर्ने रहेछ । उता नातिनीहरु पनि छन् । छोरी पनि उतै होलिन् । जाऔँ । ’
जयबहादुर अघि नै Aजाने भनी उनीहरु घरमालिकसँग विदा मागी हिँडे । पथरीमा होटल चलाएर बसेका छन् रे ।
(स्रोत : Kalpanabhabuk.blogspot.com )