कथा : होचाहरूको बीचमा

~कृष्ण धरावासी~Krishna dharabasi

जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा पिडुला छामेर भन्नु हुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाँठो परेका ।’ पिंडुला गाँठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिंडुला हेर्थे– तिनीहरूका पिंडुला सुलुत्त परेका हुन्थे । आफ्ना चाहिं छाम्यो लोहोरो जस्तो । कहिलेकाही सपनामा देख्थें मेरा पिंडुला त हेर्दाहेर्दै सुलुत्त भएर तन्किँदा रैछन् रे । ब्यूँझन्छु गाँठाका गाठै ।

दिदीबहिनी सबैले फुत्तफुत्त नाघ्दै गए मलाई । उकालो चढ्न नसक्ने यात्रुलाई पछिल्लाहरूले छोड्दै अधि बढेझैं बढिरहे बिस्तारै उनीहरू पनि । साना थिए हातका नारी । बुबासँग चिन्हा हेराउन आउनेहरूका छेउमा टुसुक्क बसेर तिनीहरूको चिन्हाको फल सुनिरहन्थें । आफ्नै सुरमा मेरा साना नारी हत्केलाले खेलाउँदै कसैले भन्थे– ‘हेर ! कत्ति सानो रैछ यसको नारी पनि । कसरी गरि खाला है पछाडि यसले ।’ छेउमै बस्नु भएकी आमाले भन्नु हुन्थ्यो– ‘यो जन्मिदा पनि सानो थियो । पछिसम्म बेर्नु निस्कन्थ्यो । केही खाँदैन । पढ्न भनेपछि हुरुक्क हुन्छ । जतिबेला पनि जे भेटे पनि अक्षर देखेपछि पढिरहन्छ ।’ मेरो हात समात्नेले भनिन्– ‘यस्तै हुन्छन् कति भूरा । हाम्री जेठी छोरीको छोरो पनि यस्तै छ । पटक्कै केही खाँदैन । पढ्न भने पछि हुरुक्क ।’ पढ्नु राम्रो रैछ थोरै खायो भने झन् पढिने रहेछ जस्तो बुझें मैले । अनि झन्झन् जानीजानी थोरथोरै खाने गर्थँे ।
साथीहरु जति अग्लिदै गए म उति नै होचिदै रहेँ । अनि साथीहरू माया गर्दै, जिस्क्याउँदै भन्थे– ‘कान्छा होचो छ, कान्छा सानो छ ।’ मलाई यो होचो हुनु र सानो हुनु पनि राम्रै जस्तो लाग्न थाल्यो । यही कारणले पनि मैले कैयौं सुविधाहरू पाएको छु । धेरैवर्षसम्म बसमा भाडा लागेन । लुगाफाटो किन्दा खर्च थोरै । जादूचटक हेर्नु प¥यो भने अगाडि बस्न पाइने । फोटो खिच्दा पनि होचाहरूलाई अगाडि ठाउँ सुरक्षित । मिनी वा माइक्रोबसमा यात्रा गर्न पनि सजिलो । अफ्ठयारो पनि थियो कति कुरमा । उमेर बढ्दै गएपछि समकालीन केटीहरूले होचो भनेर हेप्थे, जिस्काउथे । भीडमा थिचिने डर । टाढाबाट हेर्नु पर्ने कुरा अग्लाहरूबाट सधै छेलिनु पर्ने । देख्थें– अग्लोको व्यक्तित्व नै फरक, आकर्षक । लुगा पनि सुहाउने, हिडाइको फड्का पनि लामो, अगाडिकोलाई प्रभावित गर्न पनि सजिलो ।

होचो र अग्लो प्राकृतिक कुरा हुन । यी न हाँसोका विषय हुन र हिनताका । तै पनि आफ्नो शरीरको बनावटसँग मानिसको मनोविज्ञानले ठूलो काम गरेको हुन्छ । ज्ञान एकातिर, मनोग्रन्थी अर्काेतिर भइरहेका हुन्छन् । जति नै बुद्धिमान र ज्ञानी भएता पनि हरेक मान्छे आ–आफ्नै ग्रन्थीले ग्रस्त हुन्छ नै । रुप नै मानिसको सबैभन्दा ठूला सम्पत्ति हो । पहिला देखिने कुरा रुप नै हो । विस्तारै घनिष्ठता बढ्दै गएमा मात्र उसका गुणका आधारमा सम्बन्धमा पुनर्विचार हुन सक्दछ । सुन्दर हुनु वा अरुद्वारा प्रशंसित हुन जसलाई पनि मन लाग्दछ । त्यसकै निम्ति मानिसले आफ्नो आम्दानीको अधिकांश भाग खर्च गरिरहेको हुन्छ । शरीरसँग जोडिएर आउने अनेकौं विचार, चेतना र संवेगहरू नै मानिसका जीवनआधारहरू हुन्छन् ।

मानिसले आफ्ना कमजोरीहरुलाई थिच्न आफैं भित्रबाट नयाँ नयाँ सीपहरुको विकास गर्दछ । नसोचिएका, नदेखिएका र अनुमानै नगरिएका गुणहरु नपत्याउँदो मानिसभित्र उत्पन्न हुन्छन् । अन्धाहरूको स्मरण शक्ति, बहिराहरूको इसारा बुझ्ने शक्ति, लुलाहरूको बसीबसी अनेकौं काम गर्ने शक्ति, उसभित्रबाट उत्पन्न वैकल्पिक क्षमता हो । कुनै एकपक्ष कमजोर भएको व्यक्तिमा अर्काेपक्षको चामत्कारिक विकास भइरहेको हुन्छ ।
म सानो, लुते र कमजोर थिएँ । सानैदेखि मेरो एउटा खुट्टो अर्काे भन्दा केही लुलो थियो, त्यसैले म दौडिन, उफ्रिन र खेल्न सक्दिनथें । म बसेर खेलिने चेस, लुडो, क्यारेम वोर्ड आदिहरू खेल्थें र राम्रो जान्दथें पनि । त्यसो त मैले संगीत र कलाको क्षेत्रमा पनि विकास गर्दाे हुँ तर घरको दयनीय आर्थिक अवश्थाका कारणले होला त्यसका लागि चाहिने बाजागाजा र क्यान्भास, रङ्गकुचीको प्रबन्ध हुन सकेन । अनि म बिस्तारै कागजमा पेन्सिल र डटपेनले मनका कुराहरू कोर्न थालेँ । अरु साथीहरू खेलेर शिल्ड कपहरू जित्थे म कविता सुनाएर खाता, कलमहरू जित्थे ।

विस्तारै मलाई आफू होचो भएको कुराले खासै प्रभावित गर्न छोड्यो किनभने एकदिन मैले थाहा पाएँ, म त मेरी आमा भन्दा अग्लो रैछु । धेरै ठूली ठानेकी मेरी आमा त म भन्दा नि होची पो रैछिन् । अनि थाहा नपाई म अरुसँग दाँजिन थालें । यसो गर्दै जाँदा बुझ्दै गएँ मलाई होचो भन्ने केटीहरू भन्दा पनि मै अग्लो हुँदोरैछु । बुझ्दै गएँ मानिसको लुगा कपडाले पनि हेर्दा अग्लो होचो देखिदोरहेछ । महिलाहरू माथिदेखि तलसम्म छोपिने साडी चोलो, कुर्ता सलवार, जामा, म्याक्सी आदिहरूले अग्ला देखिदा रहेछन् र पुरुषहरु सर्ट पेन्ट, हाफ पेन्ट, हाफ भेस्ट आदिले होचा देखिने ।

यो शरीरको अग्लो होचोको मानसिक दवावबाट मुक्त हुँदै गएपछि बिस्तारै मलाई आफ्नो उचाइमा बेग्लै प्रकारको गर्व लाग्न थाल्यो । मैले यही उचाई पाएकाले म लेखक हुन सकें, अरुको माया पाउन सकें । जहाँ पनि सजिलै प्रवेश पाउन सकें र अनुभवहरु भेला गर्न सकें ।

काका स्व. एस.एल. शर्माले प्रायः मलाई भनिरहनु हुन्थ्यो– ‘आजसम्म मलाई कसैले निहुराउन सकेको थिएन, तैले लुरुक्कै पार्छस् सधँै ।’ उहाँ निकै अग्लो हुनु हुन्थ्यो । झापाका थोरै अग्ला व्यक्तिहरूमा एस.एल. शर्मा पर्नु हुन्थ्यो । त्यसो त उहाँका छोरा शलभ पनि अग्लै हुनुहुन्छ । जब म उहाँको छेउमा गएर उभिन्थें, उहाँले मलाई हेर्न निहुरिनु प¥थ्यो । उहाँको यो कुरा सुनेर वरिपरिका हाँस्थे । उहाँको त्यो कुरा सुने पछि ममा एकप्रकारको रमाइलो गर्व भरियो । अनि म नजानिदो पाराले अचेल पनि अग्लाहरूको छेउमा पुगेर उभिइदिन्छु । अनि उनीहरू बाध्य भएर मेरा अघि निहुरिइरहेका हुन्छन् । अरुलाई आफूसँग सजिलै झुकाउन सकिने यो शक्ति के रामशरण महत, केशवकुमार बुढाथोकी, राधाकृष्ण मैनाली, बिष्णुविभु घिमिरे, राजेन्द्र शलव, नारायण वाग्लेहरूसँग होला ?

होचो भएपछि आफूले कहिल्यै तल हेर्नु नपर्ने रहेछ । सधँै माथितिर मात्र हेर्नु पर्ने । त्यसो त आध्यात्मिकहरू प्रायः सबैले माथि हेर्नु, उत्तरोत्तर हेर्नु नै भन्छन् । उनीहरूको विचारमा स्वर्ग, वैकुण्ठ सबै माथि नै हुन्छ । भौतिक कुरा गर्दा पनि प्रायः महत्वपूर्ण कुराहरू माथि नै हुन्छन् । जून, तारा, सूर्यहरू माथि नै छन्, वायुमण्डल माथि नै छ, हिमाल माथि नै छ, प्लेन उड्ने बाटो माथि नै छ । माथि नै थिए अस्तिसम्म राजा, अहिले राष्ट्रपति माथि नै छन् । मन्त्री, सचिव, सरकार सब माथि नै हुन्छ । माथि नै बस्छन् घर मालिकहरू, माथिबाटै बोलेको मात्र सुन्छन् सबैले ।

सबैको प्रयत्न हुन्छ माथि पुग्ने । माथिको आकर्षणले प्रायः सबैले तलकोलाई कुल्ची रहेका हुन्छन् । तलकाको ढाडमा नटेकी माथि पुग्न कोही सक्दैन । पैसाले, बलले, ज्ञानले, आवाजले, हतियारले जेसुकैले भए पनि तलकोलाई दवाएर माथि पुग्ने यस प्रतिस्पर्धामा म मात्र तल बसिरहने के कुरा थियो त । सायद त्यसैले मैले पनि माथि पुग्न, माथिको भएर देखिन कैयौं तलकोहरूलाई टेकें होला । नजानेर त जसले पनि टेक्न सक्छ, तर जानीजानी पनि त नटेकी कहाँ हुन्छ । कसकसलाई कहिलेकहिले कहाँकहाँ टेक्दै म यहाँसम्म आइपुगें भन्ने मलाई भन्दा बढी कसलाई थाहा होला र ! अरुबाट आफू हेपिएको, थिचिएको, भनिरहँदा के मबाट अरुहरू हेपिएका, थिचिएका, मिचिएका थिएनन् ? मैले कृषि विकास बैंकको आयोगमा आफूलाई पास गराउँदा कुनै अर्काे अज्ञात एकजना मबाट थिचिएको थिएन ? म आनन्दसँग माइक्रोबसको सीटमा बसिरहेको बेला अरु कुनै एकजना कुप्रिएर उभिइरहेको हुँदैन ? मेरो पुस्तक सजिलै प्रकाशित भइरहेको बेला अर्काे कुनै राम्रो लेखक प्रकाशकको अभावमा कुण्ठित भइरहेको छैन ? मैले प्रत्येक क्षेण कुनै अज्ञात एकजनाको हरेक सुविधा खोसिरहेको हुन्न ? म यहाँसम्म आउँदा अर्काको बाटो नछेकी, उसलाई नअल्झाई आएको हुँला त ?

तर यो ‘माथि’ वा ‘अग्लो’ ले कहिल्यै पनि किन देख्न नसकेको होला होचोलाई ? भन्न त एस.एल.शर्माले भन्नु भाथ्यो ‘तँ होचोले मलाई सधै निहुराउँछस्’ तर के यथार्थमा अग्लोहरू होचोहरूका अघि निहुरिएका हुन्छन् ? झुकेका हुन्छन् ? होचोबाटै अग्लिएकाहरूले विर्सिसकेका हुन्छन् आफ्नो धरती । आफू आएको बाटो र आफ्नो हिजो । माथि भनेको हिडदै जाँदा पुगिने हो । हिंड्नेहरू जो पनि पुग्न सक्छन् माथि । तर पुगिसकें पछि फेरि तल झर्नु पर्छ, मेरो वास्तविक ठाउँ भनेको तलै हो भन्ने ज्ञान चाहिं कसरी हराएको होला ?
म जागिरमा पस्दै अर्दली भन्दा माथि थिएँ, अलिक पछि खरदार भन्दा माथि भएँ, फेरि सुब्बा भन्दा माथि भएँ । हेर्दाहेर्दै मलाई हेर्नेहरूकै नजर फरक परेका थिएँ । अस्ति भर्खर कसैले मलाई भन्यो– ‘तपाई त अब धेरै माथि पुगिसक्नु भयो ।’

एकछिन टोलाएर उसलाई हेरें र सोचेँ– म खै काहाँ पुगेँ र ? के म पनि माथि पुगेँ त ? के मैले पनि तल देख्न छोडेँ त ?होचो, पुड्रको, सानो देखिएको म अग्लिएँ त ? अग्लिनलाई के पिँडुला तन्किनै पर्दैन त ? म चार फुट एघार इञ्चको मान्छे पनि अग्लिएँ त ?

मलाई डर लागेको छ– साँच्चै म अग्लिएँ भने र होचाहरूलाई देख्न छाडेँ भनेँ म पनि के यो देशका नेताहरू जस्तै, कालाबजारी जस्तै, भ्रष्टाचारी र कमिशनखोर जस्तै हुन्न ? अस्तिसम्मको साह्रै होचो, म जस्तै होचिएका कैयौँ कृष्णप्रसादहरूलाई नदेख्ने म कुनै हरामप्रसाद बन्दिन होला त ?

तर एउटा कुराले खुसी छु म कि संसारको सबैभन्दा होचो मान्छे पनि मेरै देशमा छ र ऊ अब संसारको सबभन्दा अग्लो भएको छ । अब लागेको छ अग्लो हुनलाई अग्लै हुनु नपर्दोरहेछ । अब होचाहरू आफ्नै होचाइका कारण अग्लिनसक्ने रहेछन् । शरीरको होचो मात्र होइन, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक आदि कारणले दबाइएका होचाहरू अब आफैँ अग्लिन थालेका छन् । सबभन्दा अग्लो मानिएको दरबार नै होचिएपछि अब अरु कुन् अग्लाहरू छन् जसले अझै होच्याइरहलान् ? त्यसो त अग्लिन होडबाजी गर्ने कैयौँ समकालीन होचाहरू नै छन् जो आज अग्लिएर टाक्सिदै गएका छन् , जसले अग्लिनु अघि भन्थे– म अग्लिएँ भने तिमीहरू सबैलाई उचाल्ने छु तर, आज उनीहरू एक्लै अग्लिएका छन् र सबको नजरमा होचिइरहेका छन् ।
हे अग्लोमा चढेर देखिएका होचाहरू ! तिमी अझै पनि अग्लिन सक्छौ यदि तल हे¥यौ र तलका होचाहरूलाई माथि आउन हात दियौ भने , नत्र लेप्चा भाइहरूले फुटाइदिएको हाँडीको सिँढी जस्तो ढल्ने छ तिम्रो अग्लाईको थुम्को ।

चित्त बुझेको छ आज मलाई कि अग्लो हुन पिडुला डल्लो परेर केही नहुने रहेछ । अग्लो हुन होचाहरूसँगै हिँडिरहनु पर्ने रहेछ, र म हिडिरहेको छु होचाहरूकै बीचमा होचै भएर ।

(स्रोत : Kalpanabhabuk.blogspot.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.