सम्पूर्ण इतिहासलाई
तमसुकमा सहीछाप गरिदिएर
एउटा मक्किएको छातीलाई लिएर
पहेँलो उमेरमा उभिए उनी,
उभिएका थिए जहाँ उनका पुर्खाहरू ।
जंगेसाना घोडाबाट दौडाहामा निस्कँदा पनि
उनी खेतबारीमै थिए ।
राजधानीको दरबारबाट
आफ्नै आवाज खोसिँदा पनि उनी खेतबारीमै थिए ।
घरको भित्तामा झुन्ड्याइएको रेडियोले
प्रजातन्त्रको घोषणा गर्दा पनि
उनी कुटो र कोदालोसँगै थिए ।
सुम्सुम्याएर कुमारी माटोहरू
उभ्याएका थिए बालीका बोटहरू
समय गइरह्यो तर उनी उभिएकै थिए
अवतरित थिए जहाँ उनका पितामह र पिताहरू ।
घरकै सिङ्गो संविधान बोकेर हिँड्ने उनीमाथि
विवशताको छानोले किच्थ्यो ।
नुन, तेल, चिनी पानी
छाना, नाना र माना
आब्रुक र इज्जत सबैलाई समेटेर हिँड्दा हिँड्दा
उनले भ्याएनन् होला भित्ताको रेडियो सुन्न ।
जसले प्रजातन्त्रको हत्या प्रशारण गर्यो ।
जसले अर्को प्रजातन्त्रको घोषणा गर्यो ।
फेरि जनआन्दोलनको घोषणा गर्यो ।
जित र हारको घोषणा गर्यो ।
सधैँ खनिरहे माटो र फोरिरहे ढुंगा
सधैँ लाइरहे पानी र मल माटोमा
भन्नुहोस अब
के उनी देशद्रोही थिए ।
उभिनु भन्थे आफ्नै सर्तमा
आस्था र रहरको पहाड उचालेर
जीवन त सम्झौताको भारी बोकेर
निहुरिँदो पनि रहेछ ।
आधा उकालो हिँडेर
अडिँदो पनि रहेछ ।
सहँदै उचालेका थिए
समस्याका पहाडहरू
जो सधैँ उनलाई नै किच्न उभिएका थिए
स्थितिका फिराद बनेर ।
ऐँठन छिचोलेर आपत्मा
थेगेका थिए समस्याका आँधीहरू
आफन्तका सामिप्यतामा ।
धकेलिएका थिए कहिले त बाढीमा पनि
‘तर्नु पर्छ ’ को कङ्क्रिट बाध्यतामा ।
बिहान खस्ता नखस्तै आँखामा
सिमानाको सुर बदलिँदा आफ्नै बारीको
कतिपय, हठात् रोकिएका थिए
उनका दुई पाइला
आफ्नै माटोको सुहाग सुम्सुम्याउन ।
आफ्नै सन्तानको खुसी खोसिएला भनी
डराउँथे सधैँ उनी
जसको छायाँसँग पनि डराउँथे उनका आफ्नै सन्तानहरू
र आमाकै छातीमा लुकाउँथे आफना शिरहरू ।
कुनै विक्षीत मुलुकका सफल सन्तानको खुसी टिपेर
आफना सन्तानका ओठमा पोत्न चाहाने उनी
उकालो छिचोलीरहेका सफल यात्रीको उमङ्ग टिपेर
आफना सन्तानका पाइतालामा राख्न चाहान्थे ।
त्यसैले डराउँथे उनी
कुनै दिन पहाडहरू उँधो फर्केको सपना देखिएला भनी ।
……………………………
२०६८/६/१२
(स्रोत : Majheri.com )