~पदम भण्डारी~
रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस तर म
र मेरो परिवारलाई केहि नगरिदिनुस’ भनेर । मेरो घरमा पसेर लुट्न खोज्दा मैले छिमेकीको सहयोग पनि मागिन ।
चोर डाँकाहरुलाई प्रतिवाद नगर्ने मेरो शैली मन पय्रो, किनभने पहिले पहिले जस्तो उनीहरुले लुट्न गएका घर मालिकहरुको जस्तो गुहार सुन्नु परेन, प्रतिवाद एवं आक्रमण सहनु परेन । त्यो देखेर चोर डाँकाहरु खुसी भए । उनीहरुले नगद, सुन, हीरा र
अन्य बहुमूल्य सामाग्री राख्ने ठाउँ सोधे । मैले सेफ देखाईदिएँ । सेफको अगाडिनै ठूला अक्षरहरुमा लेखेको थिएँ – ‘फुटाउने कष्ट नगर्नुहोला, ७८७८ नंबर मिलाउनु होला सेफ खु्ल्छ ।’ त्यो देखेर चोर डाँकाहरु मुग्ध भए । उनीहरुको अनुहारमा अनन्त शान्ति
छायो । चोर डाँकाहरु खुसी हुँदै टर्च लाइटको सहायताले नंबर मिलाउन थाले । नंबर मिलाउँदा बानेश्वरको मिलनचोकमा रहेको प्रहरी बीटमा साईरन बज्यो । दुई मिनटमै प्रहरीहरु आएर घर घेरेर उनीहरुलाई समातेर लगे ।
हतकडीमा सजिएर बाहिरिंदै गर्दा एकजना डाँकाले मलिन अनुहार लगाएर मतिर पुलुक्क हेर्दै भन्यो – ‘काठमाडौंका मान्छेको कसैको पनि विश्वास गर्न हुँदो रहेनछ, विश्वासघाती हुँदा रहेछन् ।’ मेरो मनमा लाग्यो – ‘तँ अर्काको घर लुट्न आउने व्यक्ति
ईमान्दार र म विश्वासघाती कसरी भएँ ?’ मुखले केहि नभने पनि मेरो अनुहारमा खुसी भने प्रकट भएको थियो ।
बानेश्वर – ३४, काठमाडौं
(स्रोत : Nepalipost.com)