~जयदेव गौतम~
बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । ‘अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, आफ्नै पाखुरीको पौरखमा बाँच्न सक्नुपर्छ,’ गौंथलीले चर्को स्वरमा कराए । ‘त्यसो भए किन अर्काको घरमा आएर बस्ने नि ?’ भँगेराले निहुँ खोजे ।
गौंथलीले पनि जवाफ दिन थाले, ‘कसरी अर्काको घर ? कस्तो अर्काको घर ? हामीले आफूलाई भनेर यहाँ घर बनाउन सुरू गर्दा यहाँ कोही पनि थिएन ।’
गौंथलीलाई सात्तो खाने गरी भँगेरा कराए, ‘तिमीहरूलाई हामी यहाँ बस्छौं भन्ने थाहा थिएन ? अर्काको बस्ने ठाउँ मिचेर आफू बस्न खोज्ने तिमीहरूले यो ठाउँ छोड्नु पर्छ, बुझ्यौ ?’
गौंथलीले पनि जवाफ फर्काए, ‘ओहो ! ल हेर न, जो चोर उसकै ठूलो स्वर ! हामीले यो घर बनाउञ्जेल तिमीहरूलाई यस ठाउँबारे केही थाहा थिएन, अनि अहिले आएर हामीलाई निक्ली जाओ भन्ने !’
धम्कीको भाषामा भँगेराले भन्न थाले, ‘भो, बाह्र सत्ताइस कुरा नगर । बरू खुरुक्क यहाँबाट निस्केर अन्तै गई हाल । होइन भने तिमीहरूलाई नै नराम्रो पर्ला ।’ गौंथलीले पनि प्रतिवद्ध गरे, ‘किन निस्कने हामी ? हामीले कसैको केही त बिगारेका छैनौं । बरू तिमीहरू नै अन्तै गई आफैँले घर बनाएर बस न । हामीले आफू बस्न बनाएको घरमा बस्न तिमीहरूलाई के अधिकार ?’
निकै बेरसम्मको यस्तो ठूलो कल्याङबल्याङपछि भँगेरा गौंथलीमाथि झम्टिए । आफूले बनाएको आफू बस्ने घर त कसलाई पो माया लागोइन र ? गौंथलीले पनि फटाहा भँगेरासँग आफ्नो घर जोगाउन ठूलो कोसिस गरे तर सकेनन् । सोझा गौंथलीलाई धपाएर भँगेरा गौंथलीको घरमा आफ्नो गुँड बनाई बस्ने थाले ।
गौंथली परिवार घरबारविहीन भयो तर गौंथली आफ्नो मिहिनेतमा रमाउँथे । त्यसैले कत्ति हरेस नखाई आफूले पहिले बनाएको भन्दा केही टाढा अर्को घर बनाउन थाले । कहिले दिनभरि असिने झरी पर्यो त कहिले टन्टलापुरे घाम लाग्यो, अनि कहिले थकाइले लखतरान पार्यो तर गौंथलीले आफ्नो नयाँ घर बनाई छाडे । केही दिनपछि गौंथलीले त्यही नयाँ घरमा बच्चा जन्माए । ती बचेरा पनि दिनहुँ निश्चित आकारमा हुर्कंदै जान थाले ।
उता भँगेराले पनि बच्चा जन्माइसकेका थिए । अनि एक दिन फेरि भँगेरा दम्पती गौंथली दम्पती कहाँ पुगे । फेरि निहुँ खोज्ने काम सुरू भयो । भँगेराले चिच्याइचिच्याई भन्न थाले- ‘होइन तिमीहरूले के खोजेका, हँ ? एकपटक लखेटिइसकेपछि पनि फेरि हाम्रै ठाउँमा घर बनाउन पुगेछौं । कस्ता मिचाहा तिमीहरू त ? अब तिमीहरू यहाँ बस्ने हो भने हाम्रा चिचिला हुर्किसकेपछि कहाँ बस्छन् ? त्यसैले, अहँ, तिमीहरू यहाँ बस्न पाउँदैनौं, ठ्याम्मै पाउँदैनौं ।’
अचाक्ली भो यो त ! गौंथलीले रगत पसिना एक गरेर बनाएको आफ्नो घर यसपटक कुनै पनि हालतमा फटाहा भँगेरालाई नदिने सुर कसे । फेरि दुवै चरा- दम्पती माझ खैला-बैला हुन थाल्यो । भँगेरा के के न सल्लाह साउती गर्न थाले ।
यता गौंथलीले पनि झण्डै ठूला भइसकेका आफ्ना बच्चालाई सम्झाइबुझाइ गर्न थाले- ‘हेर बाबु नानी हो ! सानो छँदा हाम्रा बाबुबाजे हामीलाई के भनेर सिकाउने गर्नुहुन्थ्यो भने अनाहकमा कसैले हेप्न लाग्दा तिमी जति च्यापिन्छौ र जति हेपिन्छौ, उत्ति नै तल पारिंदै जान्छौं र हेपिँदै पनि जाने छौं । यदि तिमी जित्ने आँट लिएर लड्न तम्सिन्छौं र लड्छौं भने उत्ति नै जित्दै पनि जान्छौं । जस्तोसुकै अत्याचारका विरुद्ध लड्नु सधैँ सत्य र न्यायपूर्ण हुन्छ । त्यसैले पाजी भँगेरालाई हामीले यो घर लिन दिनु हुँदैन ।’
फेरि एकपटक गौंथली र भँगेराका बीचमा घम्साघम्सी चर्कियो । एकचोटि उछिट्याइ सकेकालाई फेरि पनि लखेट्न कति पो नसकिएला र ? भन्ने गम्दै भँगेराले खुबै शेखी बढाएका थिए, उनीहरूको च्याँच्याँ र चींचीं निकै बढेको थियो । गौंथली र भँगेराले एकअर्कालाई टोकाटोक गर्न थाले । कहिले भँगेराले गौंथलीलाई ठुङ्थे, त कहिले गौंथलीको टोकाइ खाएर भँगेरा झन् जोडले चिच्याउन थाल्थे । धेरै बेरसम्म दुवै लडाईं भइरहृयो तर गौंथलीले यसपटक कसैगरी भँगेरालाई जित्न दिएनन् ।
गौंथलीको प्रतिरोध बढ्दै गयो । अन्ततः गौंथलीबाट अतिसारै टोकाइ पाएपछि खोच्याउँदै-खोच्याउँदै भँगेराले कुलेलम ठोके । र त्यसपछि ती भँगेराले त्यहाँ कहिल्यै नाक-मुखै देखाएनन् । लुटिएको आफ्नो घरसमेत फिर्ता पाएपछि गौंथली आनन्दसाथ बस्न थाले ।
October 19 2011