~सकु थापा~
नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । एकाएक आकाश कालो बादलले ढाक्यो र अध्यारो भयो । अब कसरी घर पुग्ने, चिन्ता लाग्न थाल्यो । जसरी भएपनि पार गर्नै पर्थ्यो त्यो बाटो । हुरीले पनि गति लिन थालिसकेको थियो साथै पानी छिट्याउन पनि । दायाँबायाँ ओत लागेर बस्न कुनै घरहरू थिएन तर नजिकै इँटा भट्टाका छाप्राहरू भने थिए । त्यस समय पहिलो आवश्यकता भनेको साथमा रहेको कितावहरूलाई जोगाउनु अनि आफू पनि भिज्नबाट जोगिनु थियो । त्यसका लागि छाप्रोको ओतमा बसेर भिज्नुबाट जोगिनु थियो । साथीहरू सहित म पनि त्यतै लागें । इँटाहरूको चाङ लगाएर जस्ता पातालाई इँटा तथा बाल्न ल्याएको मुडाहरूले थिचेर बनाएका छाप्राहरू थिए । बेगले चलेको हुरीका सामु इँटा तथा मुडाहरू ती जस्ता पातालाई अड्याई रहन सक्ने अवस्था रहेन । फलस्वरूप हुरीले जस्ता पाता उचाल्न थाल्यो र थिचेका इँटा र मुडाहरू र्झन थाले । पाताहरूपनि उडाउन थाल्यो । हामीहरू त्यहाँ बसिरहनु उचित नभए पछि त्यो स्थान रुभmनबाट ओतिने ओत भन्दा ज्यानकै लागि जोखिम देखियो । ती जस्ता पाताले काट्ने वा छानामाथि राखेका इँटा तथा मुडाले लागेर घाइते हुनु भन्दा त भिज्नु नै जाति सोच्दै त्यहाँबाट रुझदै कुदेका थियो।
सूर्यविनायक स्थित ट्रलिबस पार्कमा खासै टाढा नभएपनि सारै टाढा लागेको थियो त्यस अवस्थामा । लगातार दर्किएको पानीबाट जोगिन ट्रलीबस भित्र बसेर ओतिएका थियौ। टौदहको नाग पनौतीको मेला भर्न जाने क्रममा पनि कालो बादल मडारिदै ठूलो हुरी र पानीका साथ जान्छ” भन्ने रुढीबादी भनाइ छ । मौसमी हिसावले आउने यस प्रकारको हुरीले पनि रुढीबादी भनाइलाई पुष्टि गर्न सहयोग गरिरहेको हुन्छ । यस्तै क्रममा कैयौ पटक छाना छाएका खर, जस्तापाता, टायलहरू उडाएको घटनाहरू नभोगेको हैन।
वैदेशिक सेवाको सिलसिलामा पुगिएको पश्चिम अप्रिmकी मुलुक सियरालियोन बसाईको क्रममा हुरीसँगको परिचय परिस्थितिलाई उल्लेख गर्न गएको हुँ । मोयम्बा जिल्ला सदरमुकाममा अवस्थित क्याम्प ज्ञानेन्द्रमा रहँदाको अवस्थालाई बताउन खोजेको हुँ । सात महिनाको बसाइको क्रममा भोगेको अनुभवकै आधारमा त्यहाँको हुरी बतासले निम्त्याएको अवस्थालाई उजागर गर्न लागेको हुँ । आन्ध्र महासागरको पश्चिमी किनारमा अवस्थित यो मुलुकले समुद्री आँधीको मार पनि खेपेकै हुनु पर्दछ । विश्वका कैयौ मुलुकहरू समुद्री आँधीले समुद्री किनार तथा टापुका बस्ती नै सखाप पारेको खवरहरू समय-समयमा संचार माध्यमबाट सुन्न नआएको हैन । तर यहाँको वास्तविकता भने अझै बुझन सकेको थिइन ।
त्यहाँको स्थितिलाई भन्नु पर्दा जहाँ हाम्रो क्याम्प खडा भएको थियो, गृहयुद्ध मच्चिनु पूर्व जिल्लाको प्रशासनिक कार्यालयहरू रहेको स्थान रहेछ । तत्कालीन अवस्थामा पुरै झाडी र जंगल बनेर वेवारिसे अवस्थामा रहेको थियो । उक्त स्थानलाई नेपाली शान्ति सैनिकले आफ्नो क्याम्पको लागि उपयुक्त स्थान छनौट गरेका थिए । त्यस स्थानमा ५ गोटा स्थायी भवनहरू रहे पनि सबै जीर्ण अवस्थाका थिए । ती भवनलाई मर्मत संभार गरी क्रमश कार्यालय, अधिकृत मेस, पदिक मेस र लेवल वान हस्पिटलका लागि प्रयोगमा ल्याइएको थियो । जवानहरूका लागि भने संयुक्त राष्ट्र संघको त्यस मुलुकमा शान्ति स्थापना कार्यको लागि खडा भएको युनामसिल मिसनले उपलव्ध गराएको पालहरू प्रयोग गरी बसोबासको व्यवस्था गरिएको थियो ।
बसाईकै क्रममा, मार्च महिनाको शुरुतिरको कुरा हो । त्यहाँको मौसम अनुसार बर्षा हुने क्रम शुरु भइसकेको थियो । त्यस्तैमा एकदिन, समय रातको १० बजे तिरको कुरा हो । जुनेली रात, ढकमक्क आकाशभरी उदाएका ताराहरू चम्किरहेका थिए । एक्कासी कालो बादल मडारिदै आएर आकाश ढाकिन्छ । चुक घोप्टाए जस्तो अन्धकार हुन्छ । डर लाग्दो पाराले बिजुली चम्कन थाल्छ । बिजुली चम्कदा मात्रै कुनै कुनातिरबार उज्यालो आएको भान हुन्छ । त्यसैक्रममा विस्तारै हुरी चल्न थाल्छ । त्यो भन्दा अगाडिका दिनहरूमा हुरी नचलेको त अवश्य हैन । तर पनि त्यस्तो घटना भने घटेको थिएन । हामीले आफ्नो जोगाउका लागि पालका काँटीहरू दह्रो पार्दै ठोकेका थियौं । केही ढुङ्गा बटुली काँटी अल्झाउने डोरीमा झुण्डाएका थियौं । त्यहाँको पत्थरिलो माटोमा काँटीहरू कडासँग गाडिदैन थियो तर पनि हुनसक्ने प्रयास गरेकै थियौं । म बसेको पालमा म लगायत अरु पाँचजना साथीहरू सुत्ने गर्दथे, त्यस रात दुइ साथीहरू डिउटीमा गएका हुँदा तत्काल त्यहाँ तीन जना मात्र बाँकी थियौं । हाम्रो पाल रहेको भन्दा ठीक अगाडिको पालमा रहने साथीहरू कामको सिलसिलामा अन्य क्याम्पमा गएको थिए । बाँकी रहेका दुइ जना मध्ये एक जना डिउटी गएको र अर्को एक फुटवल खेल्ने क्रममा खुट्टा मड्किएर घाइते भई प्लास्टर लगाएर त्यसै पालमा रहेको थियो । हुरीको क्रम बढ्न थालेपछि पालनै उडाउला झैं गरेर उचाल्न थाल्यो साथै पानी पनि दर्कन । हामीहरू जर्याक जुरुक उठ्यौं र भित्रैबाट पाललाई उड्नबाट रोक्न झुण्डिन थाल्यौं । पालभित्र राखेका दराज पनि पल्टन थाल्छन । एक्कासी हाम्रो भन्दा ठीक अगाडिको पाल आएर हाम्रो पाललाई थिच्न आइपुग्यो । त्यसको मारले त झनै हाम्रो पालपनि उडाउला झैँ गर्न थाल्यो । हामी त आफ्नो पाल कसरी जोगाउने भन्नेतिर लाग्यौं । अगाडिको पालमा रहेको साथीको अवस्था बारेमा त केही सोच्नै सकेका थिएनौं । एकै छिन पछि हुरीको गति केही मथ्थर भयो भने पानी चाहि परिरहेकै थियो । पाल बाहिर हल्ला सुनिन थाल्यो । अरु पालतिरबाट साथीहरू आएका रहेछन् । उडाएको अर्को पाल हाम्रो पाल माथि ल्याएर खप्टिएको रहेछ । हामी पनि बाहिर निस्कियौं बल्ल याद आयो, त्यो पालमा त एक बिरामी साथी पनि सुत्दथ्यो । अरु पाल तान्दै थिए एकजना पालभित्र छिरेर साथी खोज्न थाल्यो । त्यो पाल भित्र रहेका दराजहरू पनि ढलेको थियो । कतै साथी थिचिएको त छैन भनेर पो चिन्ता लाग्न थाल्यो । उसले प्रयोग गरेको बैशाखी पनि त्यही पल्टिएकै अवस्थामा थियो । संयोगको कुरा हो, पाल उडाउन लागेपछि खुट्टा पलास्टर गरेर बसेको साथी त हात टेकेर भएपनि भागेर अर्कै पालमा पुगिसकेको रहेछ । पाल उर्ठाई सकेपछि साथी त लठ्ठी टेकेर त्यहाँ देखा पर्यो । उ बसेको पालमा लगाएका विस्तराहरू सबै भिजेका थिए अनि दराजहरू सबै ढलेको अवस्थामा । उसलाई अन्यत्रै सुत्ने व्यवस्था मिलाएर हामी पनि सुत्न तिर लाग्यौ ।
त्यहाँको हुरीको अवस्थालाई हेर्दा पानी पर्नु अगाडि सानो होस् वा ठूलो प्रायः हुरी चल्ने नै गर्दो रहेछ । यस्ता हुरीले स्थानीय खरका छानाहरू पनि धेरै उडाएको देखिन्थे । जस्ता पाताले छाएका छानाहरूका जस्ता पनि धेरै परसम्म पुर्याएको देखियो । आफ्नो बास जोगाउन हामी धेरै पटक पालमा त्यसरी नै झुण्डिनु परेको घटना स्मरणमा ताजै छ । तर पनि पालै उडाएर थिचिनु भने परेन । हाम्रो क्याम्प समुद्री किनारभन्दा केही परको भागमै रहेर पनि त्यति ठूलो हुरीको मारमा पर्नु नपरेको हुन सक्छ । समुद्री किनारमा त जति साँझ पर्न थाल्छ त्यति चर्को रूपमा हुरीसँग छाल बढ्दै आउने गरेको देखेको थिएँ । उक्त स्थानको सात महिना बसाइको क्रममा हुरीबाट यस प्रकारको पीडा भोग्नु परेकै भएपनि यसलाई हुरीसँगको मीठो अनुभव कै रूपमा लिएको छु ।
-चरखण्डी, भक्तपुर ।
March 6th, 2006
(स्रोत : HkNepal.com)