~लव गाउँले~
एक्कासि उसभित्र एउटा त्रास पस्यो । मुटु ढुक्क फुल्यो । एक ढिक्कै छाती शरीर छाडेर ह्वात्तै बाहिर निस्केला जस्तो भयो । उसलाई अचम्म लाग्यो, अचेल यस्तो किन भइरहेछ ? कारण के होला ? ऊ फुर्सदमा गम खाएर यही सोचिरहन्छ । उसले यो कुरा आफ्नो परिवारलाई पनि बताउन सकेन । वास्तवमा के भएको हो ? आफूलाई नै थाहा नभएपछि परिवारलाई के बताउने ? कुरै नबुझी केही कुरा भन्दा परिवारले अन्यथा सोच्न सक्छन् । यही डरले एकान्तमा उसले आफ्नी स्वास्नीसँग पनि केही भन्न सकिरहेको थिएन । उसले यो कुरा जबरजस्ती मनभित्रै साँचेर राखिरह्यो । ऊ अर्थात् धु्रवराम अर्थात् लप्सीरामको सवारी चालक ।
हाकिम जसको नाम हो- लप्सीराम, असाध्यै सन्काहा ! आफँै मात्र जान्ने/बुभmने ठान्ने । यो संसार, यो ब्रह्माण्ड आधा उसले बुझेको र बाँकी आधा मात्र अरूले बुझेको सोच्ने । यही घमण्डका कारण होला, उसको अगाडि कर्मचारी पनेर् बित्तिकै पाँडे गाली गर्ने । हप्काइहाल्ने । ताइँ न तुइँ हात लाग्यो दुई जस्तो पोज दिने । वास्तवमा ध्रुवरामले आफ्नो जागिरे कार्यकालमा यस्तो जंगली हाकिम त देखेकै थिएन । जंगली भएर के गर्ने ! ड्युटी त गर्नैपर्यो, जीवन धान्नका लागि । आफू मात्र भए त केही थिएन तर परिवार त जसरी नि पाल्नुपर्यो । धु्रवरामका लागि जिन्दगीमा असाध्यै गाह्रो काम भनेको तरकारी किन्ने काम थियो, सतीको श्राप लागेजस्तै । आलु किन्यो भने आलु गन्ने । मूला, गाँजर, भ्यान्टा, लौका आदि तरकारी किन्न पाए सजिलो, गन्न मिल्ने । पाइल्स रोगका कारण सागसब्जी बढी खानुपर्ने । साग किनेर ल्याइसकेपछि गन्न अह्राउने । सागलाई कसरी गन्ने ? त्यस्तो सन्काहा हाकिम !
लप्सी आफू भने आफूभन्दा माथिका हाकिमको असाध्यै चाकडी गर्ने, चाकडीको शैली भने संसारको आठौँ आश्चर्यजस्तो ! हाकिमले उसलाई रूख रोप्न भन्यो भने यो सिजन ऊ सिजन नभन्ने ! आदेश भुइँमा र्झन नपाउँदै तुरुन्त जाडो महिनाको बिरुवा गर्मीमा पनि रोप्दिहाल्ने, गर्मीको बिरुवा पनि जाडोमा रोप्दिहाल्ने ! यो त भयो आठौँ आश्चर्य ! संसारको नवौँ आश्चर्य भनेको उनलाई हाकिमले जमिनभन्दा दुई फुटमाथि लप्सी -मलाई लप्सी मन पर्ने भएकाले लप्सी भने को अन्यथा अरू)को रूख रोप भन्यो भने ‘होइन, यो असम्भव हुन्छ ! अहिलेसम्म संसारमा यस्तो प्रविधिको विकास भएकै छैन नभनेर हस् म प्रयास गर्छु’ भन्ने खालको !
यही मूला हाकिमका कारण ध्रुवरामको परिवार विखण्डन हुनेजस्तै अवस्था आयो । ऊ परिवारको अगाडि आफ्नो कुरा खुलस्त राख्न नसक्ने । सकभर परिवारबाट टाढै बस्न खोज्ने । एकान्त मात्र मन पराउने । सधैँ परिवारसँग हाँसीखुसी बस्ने धु्रवमा आएको एकाएक परिवर्तनबारे परिवारसामु कारण प्रस्तुत गर्न नसकेकाले स्वास्नीभन्दा पनि बच्चाबच्ची एक किसिमले आफ्नो बाउसँग रिसाइसकेका थिए । बिचरा ! उनीहरूलाई के थाहा, वास्तविकता के हो ! बच्चाहरू यस्तै द्विविधामा रहेका बेला ध्रुवरामकी श्रीमती दिलमायाले भने श्रीमान् ध्रुव कुनै गहिरो सोचमा परिसकेको र त्यहाँबाट उम्कन नसकेको अड्कल काटिसकेकी थिइन् । साधारण शिक्षा हासिल गरेकी दिलमायामा घर-व्यवहार चलाउने असाधारण खुबी थियो । उनी लोग्नेलाई कुनै विशेषज्ञ डाक्टरकहाँ लगेर जचाउने मनस्थितिमा पुगिसकेकी थिइन् ।
अफिसमा फुर्सदका बेला पनि धु्रवरामले आफ्नो परिवार र आफ्नो भविष्यबारे कुनै टुंगोमा पुग्ने त सवालै छाडौँ, कुनै सोचाइ नै बनाउन सकेन । एक्लै बस्यो कि खालि झोक्राइरहन मन लाग्ने, सोचिरहन मात्र मन लाग्ने । नकारात्मक कुरा मात्र सोचमा आउने । जिन्दगी सप्रनेभन्दा पनि ध्वस्त हुने कुरा मात्र दिमागमा सलबलाइरहने । उसले श्रीमती ल्याउने बेलाको कुरा सोच्यो । कति उत्साह-उमंग थियो जिन्दगीमा त्यतिबेला । साला ! पहाड धसाउने, आकाश खसाउने जोस थियो त्यतिबेला । ऊ अहिले सम्झन्छ, कहाँ गए ती उत्साह, उमंग र जोसहरू ? सम्झँदा सम्झँदै उसलाई चुरोट तान्न मन लाग्यो । खल्तीबाट चुरोट झिक्यो र सल्काउन खल्ती छाम्यो । बूढो ज्याकेटका सम्पूर्ण पार्टपुर्जा छाम्दा पनि सल्काउने वस्तु नभेटेपछि जिन्दगीको नाममा एकपल्ट नमीठो मानेर थुक्यो र चुरोट फाल्न खोज्दा डिलाराम आइपुग्यो । डिलाराम उसको सुख-दुःखको साथी । धु्रव भित्रभित्रै चुरोटजस्तै सल्किरहेकाले हातमा भएको चुरोट किचीमिची पारेर फाल्न खोजेका बेला डिलाले झलमल्ल हुने गरी लाइटर बालिहाल्यो । धु्रवले एकै सासमा धिपिक्क बल्ने गरी एकैपल्ट चुरोटको आयु सकाइदियो र कपासजस्तो नरम वस्तुलाई बूढी औँला र चोरी औँलाको बीचमा गिलगिलाएर फ्याँकिदियो ।
डिला अचम्म भयो । अघिपछि सधैँ झन्डै एक सेन्टिमिटर बाँकी रहँदा पनि चुरोट बाँडेर खाने साथी त आज अचम्मै देखियो । एकै सासमा सिध्यायो । धु्रव चुरोट निभाइसकेपछि शौचालय गयो । त्यहाँ उसले पिसाब कम जागिरका बारेमा बढी सोच्यो । एकाएक ऊ आक्रामक देखियो । पाइन्टको जिपर तान्दै ऊ डिलाछेउ आयो र सोध्यो-
“ए डिला ! यो हाकिम यहाँ आएपछि मलाई निद्रा लाग्न छाड्यो । मेरो त जिन्दगीको चक्र उल्टो घुम्न थाल्यो, लौ न म के गरूँ !”
“धु्रव दाइ -धु्रव डिीलाभन्दा दुई वर्ष जेठै हो) ! यो हाकिम कस्तो छ भन्ने के कुरा गर्ने ? तपाईंलाई थाहा छ नि, म त माली हुँ, बोटबिरुवा-फूलहरूको हेरचाह गर्ने । तर, लप्सी हाकिम साहेबको अघिल्तिर पर्नेबित्तिक्कै शौचालय सफा गर्न भन्नुहुन्छ । जिन्दगीमा कहिल्यै नगरेको काम जागिर जोगाउन गर्दा सपनामा पनि त्यही देखिने, हाकिम मुतिरहने, आफू सफा गरिरहने । निद्रामा पनि शौचालय सफा गर्न मोप चलाउँदा हात श्रीमतीको भुँडीमुन्तिर पुग्दो रहेछ, म मस्तले निदाउन त परै जाओस् स्वास्नीको कुटाइ खाँदा खाँदा
हैरान भइसकेँ !”
डिलारामको कुरा सुनेर धु्रवरामलाई हाँस्न मन लाग्यो । तर, मनभरि पिर बोकेर कसरी हाँस्न सकिन्थ्यो र ! तैपनि, मैसूरको जंगलजस्तो धु्रवरामको ओठमाथिको एकातिरको जँुगा धु्रवले नचाहे पनि फुरफुर गर्दै हाँसिरह्यो । डिलारामको कुरा सायद जुँघालाई पनि मन पर्यो होला ! यो अन्तरालमा डिला केही भनँू भनेर धु्रवतिर फर्किने र धु्रव आफ्नो व्यथालाई सान्त्वना दिन केही प्रस्ताव राखूँ भनेर डिलातिर फर्किने क्रम त भयो । तर, दुवै जनाले आफूले चाहेको कुरा बोल्न सके नन् । दुई जना नै हेराहेरको स्थिति रहेको बेला नानीरामको प्रवेश भयो । हातमा मार्तोल र हथौडा लिएर । जसै ऊ ती दुवैको अघिल्तिर पुग्यो उसले भनिहाल्यो, “हे दुवै रामहरू ! वास्तवमा तिमीहरू राम नै हौ । तर, यो विवेकहराम लप्सीले गर्दा तिमीहरूलाई मात्र नभई हामी सबैलाई हराम बनायो । मेरो काम भनेको बिग्रेको धाराको पाइप मर्मत गर्ने, बिजुलीको तार बनाउने, नेटवर्कको कनेक्सन मिलाउने । तर, के गर्ने लप्सीले अगाडि भेट्यो कि ठूल्ठूलो गमला यताको उता, उताको यता सार्न लगाउने ! के गर्ने परिवार पाल्न नपरेको भए यसलाई पाकेको लप्सी देखाइदिनु हुन्थ्यो !
धु्रवरामले नमाने पनि दिलमायाले धु्रवलाई घिसार्दै ढोकाछेउ ल्याइन् र भनिन्, “तपाईं डाक्टरकहाँ नजाने हो भने बहुलाउन बेर छैन, तपाईं जाने कि नजाने ?” स्वास्नीको कुरो सुनेर धु्रवराम नराम्रोसँग झस्कियो । वास्तवमा उसलाई भएकै यही हो । यो कुराको महसुस भएको धेरै भइसकेको हो तर भन्न मात्र नसकेको । उसलाई म बहुलाउँछु कि भन्ने डरचाहिँ साँच्चिकै थियो । घरपरिवारले केही भन्लान् भनेर मात्र भन्न नसकेको । ऊ खुरुखुरु स्वास्नीसँग पछि लागेर न्युरोसाइक्याटि्रक डाक्टरकहाँ पुग्यो । साइक्याटि्रक डाक्टर साह्रै नरम हुन्छन् । डाक्टरको व्यवहारबाट धु्रव साह्रै प्रभावित भयो । डाक्टरको प्रश्नमा उसले बच्चाले जस्तै जवाफ दियो, “डाक्टर सा’ब ! म लप्सीराम हाकिमको अघिल्तिर पर्नै हुन्न, म उहाँको सवारी चालक ! गाडीको स्टेरिङ दायाँ काटे पनि गाली गर्ने, बायाँ काटे पनि गाली गर्ने खाल्डोमा ब्रेक दाबे पनि गाली गर्ने, खुला बाटोमा एक्सिलेरेटर दबाए पनि गाली गर्ने । अनि, मैले कसरी गाडी चलाउने ? त्यति मात्र हो र ? तरकारी किन्न जाँदा साग पनि गनेर हिसाब बुझाउनुपर्ने ।” धु्रवरामको कुरो सुनेर साइक्याटि्रक डाक्टर नै बेस्सरी तर्सिए र भने, “ओहो ! तपाईंको यो हाकिम, नाम के रे लप्सीराम, श्री ३ रणबहादुरभन्दा पनि सन्काहा रै’छ, ! म यसको फेला परेको भए मै अरू साइक्याटि्रक डाक्टरकहाँ जानुपर्ने हुन्थ्यो सायद । म अब तपाईंलाई औषधी चलाउँछु, तपाईं ठीक भइहाल्नुहुन्छ, डराउनु पर्दैन !”
डाक्टरको कुराले धु्रवको आधा समस्या समाधान भयो । डाक्टरले सिफारिस गरेको औषधी बोकेर ऊ घरमा पुग्यो । घरमा डिलाराम र नानीराम अघिदेखि नै बसिरहेका रहेछन् । “ओ धु्रव दाइ ! तपाईं कहाँ यतिबेरसम्म ?” धु्रवकी स्वास्नी केही बोल्न खोज्दै थिई, धु्रवले उसलाई रोकेर बोलिहाल्यो, “के गर्ने भाइ ! डाक्टरकहाँ जचाएर आएको । म त बहुलाउनै लागिसकेको रहेछु । धन्न श्रीमतीले डाक्टरकहाँ लगिदिएर बल्ल जीवनमा सास आयो !” धु्रवको जवाफ भुइँमा पर्न नपाउँदै डिलाराम बोलिहाल्यो, “हेर्नूस् धु्रव दाइ ! हाकिम भनेको कर्मचारीको अभिभावक हो । कर्मचारीभित्रको सम्भावना र क्षमता बुझेर सके केही सुख-सुविधा, उत्प्रेरणा दिने, त्यो नसके सान्त्वना दिने, माया गर्ने वा कर्मचारी संयन्त्रको दिल बुझेर, मन जितेर हामीबाट पर्याप्त काम, सेवा लिनुको साटो सारा प्रशासनिक संयन्त्रलाई नै मानसिक अपांग बनाउने भो यसले त डिप्रेसन बोलाइदिएर । फेरि यस्ताको नाम भने लप्सीराम । थुक्क ! यो त राम नभएर हराम पो रहेछ !”
(स्रोत : नेपाल साप्ताहिक २०७१ मार्ग )