कथा : सायद

~सुनीता नेपाल (सुवेदी)~

श्रीमतीको अप्रत्याशित प्रश्नले म स्तब्ध हुन्छु । मनमा झट्का लाग्छ । मैले कल्पनै गरेको थिइनँ कि जीवनको उत्तरार्द्धमा आएर यस्तो प्रश्नको झटारो लाग्छ भनेर । मन दोधारमा पर्छ, अनुत्तरित हुन्छु । उसको मनलाई सान्त्वना दिने शब्द पनि भेट्दिनँ । शब्दको रिक्तता महसुस हुन्छ ।

कलेजकी मेरी सहपाठी अञ्जलीलाई मेरो बैँसालु मनको चञ्चले आँखाले रोजेको थियो । यतिका वर्षपछि कसरी सम्भिmएँ मैले उसलाई ? त्यस बेला उसलाई भेट्न नपाउँदाको छटपटी, मनको बेचैनी, भेटेपछिको मुटुको ढुकढुकी सबै सम्झँदा मन अहिले पनि रो माञ्चित हुन्छ । अहिलेको दुई सन्तानसहितको परिवार सम्भिmएँ मैले । तर, पत्नीको अनुहार त हुबहु उसकै जस्तो पो छ, नाकनक्सा सबै उही । जति बल गरे पनि त्यो सम्झनाबाट बाहिर निस्कन सकिनँ । बरू आफैँ शिथिल भएँ ।

अरूले काली भने पनि अञ्जली फक्रँदै गरेकी कली थिई, मेरा लागि । उसको वाणीको माधुर्य, हेराइको लालित्य, मुस्कानको सौन्दर्य, खोइ के-केले मलाई आकर्षर्ित गथ्र्यो । लुकीचोरी उसकै अनुहारमा डुबुल्की लगाइरहन्थँे । साथीहरूले उसको नाम जोडेर जिस्काउँदा मुटु ढक्क फुल्थ्यो । तर, उसका सामु मैले आफ्नो भावना प्रकट गर्ने हिम्मत कहिल्यै गरिनँ ।

बिहेको दिन मैले आफूलाई बाध्यताको पिँजडाभित्र कैद भएको महसुस गरेको थिएँ । र, हदैसम्मको निकृष्टताको सँघारमा उभिएर परिवारका लागि तिमीसँग बिहे गरेको हुँ, यो बिहेमा मेरो कुनै रुचि छैन भनी उसमाथि आपत्को पहाड खसाई उसका सपनाको धज्जी उडाउँदा ठूलै युद्घ जितेको महसुस गरेको थिएँ । मेरो अहम्ले उसलाई स्वीकार्न दिएन । हामी ‘हामी’ हुन सकेनौँ । लामो समयसम्म पृथक् जीवन बाँच्यौँ । त्यस बेला हामीबीच केही थियो भने केवल चार भित्ताको कैद, छटपटी, मौनता र घाँटी निमोठ्ने कालो रात थियो । अञ्जलीसँगको साथमा जिन्दगी स्वर्ग लाग्थ्यो, रंगीन फूलबारी लाग्थ्यो । तर, त्यसपछिका दिनमा जिन्दगी उजाड सहारा मरभूमि बन्न पुग्यो । बूढो बकैनाको रूख डंग्रङ्ङ ढलेझैँ टुटेफुटे, सपना, रहर खुसी र उत्साह ।

“थाहै नदिई सुटुक्क बिहे गर्‍यौ, भाउजू कस्ती हुनुहुन्छ, के गर्नुहुन्छ ?” एक दिन बाटोमा भेट्दा प्रश्न गरेकी थिई अञ्जलीले । यो प्रश्न गरेर उसले गिज्याउँदै छ जस्तो लागेको थियो । बाध्यतामा परेर बिहे गरेको हुँ, मनमन्दिरमा त तिमीलाई नै सजाएको छु भनूँ जस्तो पनि लागेको थियो । तर, सकिनँ । त्यस बेला मैले आफूलाई विवश र निरीह ठानेको थिएँ ।

रात सधैँझैँ निस्पट्ट अँध्यारो नै थियो । सहर मस्त निद्रामा थियो । मेरो भने गन्तव्य फेरिएको थियो । त्यस दिन म मदिरा पिएर घर गएँ । श्रीमतीको अनुहार खेतमा तर्साउन राखेको बुख्याचाजस्तो लाग्यो । ऊ अञ्जलीको खुट्टामा बाँध्न पनि नसुहाउने थिई । उसको लुम्रोपना देखेर कन्सिरीका रौँ ताते । त्यो अनुहारलाई चिथरौँ कि कोपरौँ जस्तो लाग्यो । घरीघरी उससँग झगडा गर्ने बहाना खोज्थेँ । तर, ऊ आगोमा घिउ थप्ने काम गर्दिन थिई । म आफैँ हारेको महसुस गरी शिथिल हुन्थेँ ।

समय अविरल बगिरह्यो । जीवन सम्पूर्णताको नाम होइन रहेछ । चाहेका कुरा सबै प्राप्त गर्न सकिने जीवन त पत्रपत्रमा विभाजित हुँदो रहेछ । त्यसैले उससँग विद्रोह गर्नुभन्दा विरसिला दिनसँग सम्झौता गर्ने एक मात्र विकल्प मेरो सामु देखा पर्‍यो । पारपाचुके गरेर उसबाट छुटकारा पाउने सोचाइ पनि नआएको होइन । तर, तामाका मुनाजस्ता छोरीहरूको मायाले त्यो पनि हुन दिएन ।

म कामका सिलसिलामा बाहिरतिर गइरहन्थेँ । उसका चाहनालाई मैले महत्त्व नदिएकाले हो या रहरहरू गुम्साउन अभ्यस्त भइसकेकीले हो, उसले आफ्ना रहर, इच्छा र आवश्यकतालाई कहिल्यै मेरा सामु व्यक्त गर्न जरुरी ठानिनँ । न श्रीमती हुनुको अधिकार मागी, न त घुमफिर र गरगहनाको दबाब नै कहिल्यै दिई । छोरीहरू स्कुल जान थालेपछि ऊ एक निजी कम्पनीमा काम गर्न थालेकी थिई । कामको चापले हो या किन हो, ऊ दिनदिनै झन्झन् शिथिल, थकित र ओइलाउँदै गएकी थिई । उसको अवस्थाले मनमा वेदनाको भेल नउर्लिए पनि कताकता माया लाग्न थाल्यो । अब मलाई ऊ नराम्री लाग्न छाडेको थियो । सायद, यो मेरो स्वार्थी मनको चाह थियो किनभने अञ्जलीसँगको साइनो मेटिइसकेको थियो । अतीत हातबाट कोसौँ पर छुटिसकेको थियो । “यस्तो अपहत्ते गरेर काम नगर, जागिर छाडिदेऊ,” एक दिन मैले उसलाई भनेँ । जवाफमा उसले भनी, “हाम्रो पनि माया लाग्न थाल्यो कि के हो ?” हिम्मत गरेर उसले पनि ठट्टा गरी । “कसम खानुपर्‍यो ?” लाचार हाँसो खिस्स हाँसेर मैले शंका निवारण गर्न खोजँे । “भो पर्दैन, मायामा कसम हैन विश्वास हुनुपर्छ,” उसले थोरै व्यंग्य गरी । नजर मतिर घुमाई एकछिनपछि खल्लो हाँसो हाँसेर करेन्ट लाग्ने प्रश्न गरी, “माया गर्नुहुन्छ कि प्रेम ?” उसको प्रश्नले म स्तब्ध भएँ ।

साँच्चै म उसलाई के गर्थें ? माया त म दिनभरि यताउता हिँडिरहने र राती घरको ढोका कुरेर बस्ने त्यो हाकुलाई पनि गर्थें । एक्वेरियमभित्र सलबलाइरहेका माछा र कछुवालाई पनि गर्थें । घरमा काम सघाउने माया दिदीलाई पनि गर्थें । रातभरि जाँड खाएर हल्ला गर्ने पल्लो घरको हीराकाजी दाइलाई पनि गर्थें । तर, उसलाई…? सायद प्रेम मैले अञ्जलीलाई नै गरेँ कि ? अब त उसको सम्झना पनि अतीत भइसकेको थियो । उसको यादमा मुटु पनि धड्किन छाडिसकेको थियो । घँुक्क घँुक्कको आवाजले मेरा आँखा खुले । माघको जाडोमा पनि ऊ कुक्रुक्क परेर सुतेकी थिई । उसको रुवाइले म पनि भावुक भएँ । “के भयो ?” मैले प्रश्न गरेँ । पीडा बाँड्न चाहिन होला सायद । त्यही भएर भित्तापट्टबिाटै केही भएको छैन भन्ने जवाफ फर्काई । तर, उसको रुवाइले मेरो मन- मस्तिष्कलाई आक्रमण गर्‍यो । न मैले मौनता चिर्ने हिम्मत गर्न सकेँ, न त उसको आँसु पुछ्नै सकेँ । वास्तवमै मलाई आज उसको निकै माया लगेर आयो । भाँचिएको मनभित्र कुन दुःख लुकाएर ऊ बाँचिरहेकी थिई ? आज उसको सामु म हारेको खेलाडीजस्तो महसुस गरिरहेको थिएँ ।

आमाबाट थाहा भयो, ऊ निकै बिरामी भएको कुरा । यतिबेला आएर मलाई जीवनमा ठूलो गल्ती गरेको महसुस भयो, जसको न त प्रायश्चित्त छ, न गल्ती सुधार्ने समय नै । ऊ क्यान्सरजस्तो प्राणघातक रोगसँग जुधिरहेको थाहा पाएर अपराधबोधले म रन्थनिएँ । “पहिल्यै अपरेसन गर्नुपर्छ भनेको, तपाइर्ंकी श्रीमतीले मान्नुभएन, श्रीमान् घरमा हुनुहुन्न भन्नुभयो, अब धेरै ढिलो भइसक्यो ।” डाक्टरका कुराले चारैतिर अँध्यारो भई धर्ती भासिएझँै भयो । मुटु फुट्ला जस्तो गरेर धड्किन थाल्यो । आँधीहुरी र चट्याङले जीवनमा ठूलो बज्रपात पर्ने संकेत दियो । शरीर बरफजस्तो चिसो भयो । म लल्याकलुलुक भएँ ।

म संसारको कुनै कुनामा पुर्‍याएर पनि उसलाई बचाउन चाहन्थेँ । सायद यही मेरो प्रायश्चित्त हुने थियो । नेपालमा उपचार सम्भव छैन भनेपछि म उसलाई लिएर भारत गएँ । त्यहाँ अपरेसन सफल पनि भयो । अब ऊ बिस्तारै भित्र-बाहिर पनि गर्न सक्ने भई । सनातन हिन्दु धर्मबाट प्रेरित भएरै होला, मैले जति दुःख दिए पनि जीवनको अन्तिम घडीसम्म ऊ मसँगै उद्देश्यविहीन जीवन बाँचिरही । अब उसको पीडामा मेरो पनि मन भक्कानिन थालेको थियो । उसलाई कर लगाई लगाई खुवाउन थालेको थिएँ । “तिमीलाई केही हँुदैन, हामी सबैको मायाले तिमीलाई बाँधेर राख्नेछ,” यसो भनिरहँदा मेरा पनि आँखा रसिला हुन्थे ।

पेसाले छालाको डाक्टर मैले कैयौँका छालाका रोगलाई निको पारेको थिएँ । तर, शरीरको बाहिरी घाउभन्दा ठूलो भित्री घाउ मैले उसलाई दिएको थिएँ । जुन निको पार्ने सामथ्र्य मसँग थिएन । मेरो अहंकारले, अस्वीकारले र तिरस्कारले कतिपल्ट ऊ निसासिई होली, डाँको छोडेर रोई होली । अब म चाहन्थेँ, ऊ मेरो छेउमा बसोस् र उसको पीडाको बाँध मेरो सामु भक्कानिएर फुटोस् । मलाई पनि माफी माग्ने मौका मिलोस् र वर्षौंदेखि जमेर रहेको क्लेशले बग्ने मौका पाओस् । तर, त्यस्तो केही भएन । उसको मप्रतिको आस्था र श्रद्घाको धरोहरलाई मैले नै भत्काएको थिएँ । त्यसैले मलाई त्यो मौका दिनु उसले जरुरी ठानिनँ ।

मनको रोगले खाएर हो कि किन हो, उसमा बाँच्ने इच्छाशक्ति कम हुँदै गएको मैले महसुस गर्न थालेको थिएँ । जसले मलाई खिन्न बनाउँदै लगेको थियो । अझ डाक्टरको ‘उहाँ एकदम कमजोर भइसक्नुभयो, थप केमो थाम्न सक्नुहुन्न’ भन्ने भनाइले मनमा छोरीहरू टुहुरा हुने भय थपियो । सायद मेरो तिरस्कारको बोझ बोक्न नपरेको भए आज यो दुर्घटना हुने थिएन । तर, नियतिको अगाडि नतमस्तक भई घुँडा टेक्नैपर्ने थियो । लाग्थ्यो, मैले जीवनको लडाइँमा उसलाई हराएँ । तर, होइन रहेछ । हार त मेरो पो भएछ । उसले त मलाई कहिल्यै आफ्नो ठानेकै रहिनछ । म त उसको जीवनमा अस्तित्वविहीन रहेछु । जससँग आफ्नो पीडा बाँड्नसमेत उसलाई स्वीकार्य भएन । यत्रो पिर बोकेर पनि उसले कसरी हाँसेरै गृहस्थ नियमको धर्म पूरा गरी होली ? उसको यो भित्री रूप देख्न नसक्ने म कस्तो विवेकहीन पशु रहेछु । आज अनुभूति हुँदै छ ।

उसलाई मानिसले वरिपरि घेरेर राखेका थिए । छोरीहरू उसकै सिरानीनिर आँसु झारेर बसेका थिए । ऊ लामो लामो सास फेरिरहेकी थिई । तर, बोल्न सकेकी थिइन । वाक्य बसिसक्यो, अब कुनै पनि बेला केही हुन सक्छ भन्ने झीनो आवाज कानमा ठोक्किएर गयो । उनलाई बोकेर तुलसीको मोठमा सुताइयो । छोरीहरू डाँको छाडेर रुन थाले । निभ्ने बेलाको दियोजस्तो केही समयका लागि उसको अनुहार उज्यालो देखियो । उसका देदीप्यमान तर भावशून्य आँखाले मलाई ‘माया गर्नुहुन्छ कि प्रेम ?’ भन्ने प्रश्न गरी मेरो प्रतिक्रिया बुझ्न खोजेजस्तो लाग्यो । यति बेलासम्म उसको शरीर ठन्डा भइसकेको थियो । म तिमीलाई प्रेम गर्छु, हृदयदेखि नै प्रेम गर्छु, एकपल्ट आँखा त खोल भन्दै उसको शरीरमा घोप्टो परेर डाँको छाडेर रुन मन लाग्यो । केही समय पहिले म उसबाट उन्मुक्ति चाहन्थेँ । आज्ञाकारी बालकझैँ उसले आज मलाई उन्मुक्ति दिएकी थिई । तर, म यो कुराले खुसी हुन सकिनँ । मलाई आफू हत्याराजस्तो लाग्यो, घीन्ालाग्दो मृगतृष्णा पालेर मैले उसको हत्या गरेँ । म पापी हुँ, हत्यारा हुँ ।

(स्रोत : नेपाल साप्ताहिक कार्तिक २०७१ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.