कथा : लप्सीराम भर्सेज धु्रवरामहरू !

~लव गाउँले~

एक्कासि उसभित्र एउटा त्रास पस्यो । मुटु ढुक्क फुल्यो । एक ढिक्कै छाती शरीर छाडेर ह्वात्तै बाहिर निस्केला जस्तो भयो । उसलाई अचम्म लाग्यो, अचेल यस्तो किन भइरहेछ ? कारण के होला ? ऊ फुर्सदमा गम खाएर यही सोचिरहन्छ । उसले यो कुरा आफ्नो परिवारलाई पनि बताउन सकेन । वास्तवमा के भएको हो ? आफूलाई नै थाहा नभएपछि परिवारलाई के बताउने ? कुरै नबुझी केही कुरा भन्दा परिवारले अन्यथा सोच्न सक्छन् । यही डरले एकान्तमा उसले आफ्नी स्वास्नीसँग पनि केही भन्न सकिरहेको थिएन । उसले यो कुरा जबरजस्ती मनभित्रै साँचेर राखिरह्यो । ऊ अर्थात् धु्रवराम अर्थात् लप्सीरामको सवारी चालक ।

हाकिम जसको नाम हो- लप्सीराम, असाध्यै सन्काहा ! आफँै मात्र जान्ने/बुभmने ठान्ने । यो संसार, यो ब्रह्माण्ड आधा उसले बुझेको र बाँकी आधा मात्र अरूले बुझेको सोच्ने । यही घमण्डका कारण होला, उसको अगाडि कर्मचारी पनेर् बित्तिकै पाँडे गाली गर्ने । हप्काइहाल्ने । ताइँ न तुइँ हात लाग्यो दुई जस्तो पोज दिने । वास्तवमा ध्रुवरामले आफ्नो जागिरे कार्यकालमा यस्तो जंगली हाकिम त देखेकै थिएन । जंगली भएर के गर्ने ! ड्युटी त गर्नैपर्‍यो, जीवन धान्नका लागि । आफू मात्र भए त केही थिएन तर परिवार त जसरी नि पाल्नुपर्‍यो । धु्रवरामका लागि जिन्दगीमा असाध्यै गाह्रो काम भनेको तरकारी किन्ने काम थियो, सतीको श्राप लागेजस्तै । आलु किन्यो भने आलु गन्ने । मूला, गाँजर, भ्यान्टा, लौका आदि तरकारी किन्न पाए सजिलो, गन्न मिल्ने । पाइल्स रोगका कारण सागसब्जी बढी खानुपर्ने । साग किनेर ल्याइसकेपछि गन्न अह्राउने । सागलाई कसरी गन्ने ? त्यस्तो सन्काहा हाकिम !

लप्सी आफू भने आफूभन्दा माथिका हाकिमको असाध्यै चाकडी गर्ने, चाकडीको शैली भने संसारको आठौँ आश्चर्यजस्तो ! हाकिमले उसलाई रूख रोप्न भन्यो भने यो सिजन ऊ सिजन नभन्ने ! आदेश भुइँमा र्झन नपाउँदै तुरुन्त जाडो महिनाको बिरुवा गर्मीमा पनि रोप्दिहाल्ने, गर्मीको बिरुवा पनि जाडोमा रोप्दिहाल्ने ! यो त भयो आठौँ आश्चर्य ! संसारको नवौँ आश्चर्य भनेको उनलाई हाकिमले जमिनभन्दा दुई फुटमाथि लप्सी -मलाई लप्सी मन पर्ने भएकाले लप्सी भने को अन्यथा अरू)को रूख रोप भन्यो भने ‘होइन, यो असम्भव हुन्छ ! अहिलेसम्म संसारमा यस्तो प्रविधिको विकास भएकै छैन नभनेर हस् म प्रयास गर्छु’ भन्ने खालको !

यही मूला हाकिमका कारण ध्रुवरामको परिवार विखण्डन हुनेजस्तै अवस्था आयो । ऊ परिवारको अगाडि आफ्नो कुरा खुलस्त राख्न नसक्ने । सकभर परिवारबाट टाढै बस्न खोज्ने । एकान्त मात्र मन पराउने । सधैँ परिवारसँग हाँसीखुसी बस्ने धु्रवमा आएको एकाएक परिवर्तनबारे परिवारसामु कारण प्रस्तुत गर्न नसकेकाले स्वास्नीभन्दा पनि बच्चाबच्ची एक किसिमले आफ्नो बाउसँग रिसाइसकेका थिए । बिचरा ! उनीहरूलाई के थाहा, वास्तविकता के हो ! बच्चाहरू यस्तै द्विविधामा रहेका बेला ध्रुवरामकी श्रीमती दिलमायाले भने श्रीमान् ध्रुव कुनै गहिरो सोचमा परिसकेको र त्यहाँबाट उम्कन नसकेको अड्कल काटिसकेकी थिइन् । साधारण शिक्षा हासिल गरेकी दिलमायामा घर-व्यवहार चलाउने असाधारण खुबी थियो । उनी लोग्नेलाई कुनै विशेषज्ञ डाक्टरकहाँ लगेर जचाउने मनस्थितिमा पुगिसकेकी थिइन् ।

अफिसमा फुर्सदका बेला पनि धु्रवरामले आफ्नो परिवार र आफ्नो भविष्यबारे कुनै टुंगोमा पुग्ने त सवालै छाडौँ, कुनै सोचाइ नै बनाउन सकेन । एक्लै बस्यो कि खालि झोक्राइरहन मन लाग्ने, सोचिरहन मात्र मन लाग्ने । नकारात्मक कुरा मात्र सोचमा आउने । जिन्दगी सप्रनेभन्दा पनि ध्वस्त हुने कुरा मात्र दिमागमा सलबलाइरहने । उसले श्रीमती ल्याउने बेलाको कुरा सोच्यो । कति उत्साह-उमंग थियो जिन्दगीमा त्यतिबेला । साला ! पहाड धसाउने, आकाश खसाउने जोस थियो त्यतिबेला । ऊ अहिले सम्झन्छ, कहाँ गए ती उत्साह, उमंग र जोसहरू ? सम्झँदा सम्झँदै उसलाई चुरोट तान्न मन लाग्यो । खल्तीबाट चुरोट झिक्यो र सल्काउन खल्ती छाम्यो । बूढो ज्याकेटका सम्पूर्ण पार्टपुर्जा छाम्दा पनि सल्काउने वस्तु नभेटेपछि जिन्दगीको नाममा एकपल्ट नमीठो मानेर थुक्यो र चुरोट फाल्न खोज्दा डिलाराम आइपुग्यो । डिलाराम उसको सुख-दुःखको साथी । धु्रव भित्रभित्रै चुरोटजस्तै सल्किरहेकाले हातमा भएको चुरोट किचीमिची पारेर फाल्न खोजेका बेला डिलाले झलमल्ल हुने गरी लाइटर बालिहाल्यो । धु्रवले एकै सासमा धिपिक्क बल्ने गरी एकैपल्ट चुरोटको आयु सकाइदियो र कपासजस्तो नरम वस्तुलाई बूढी औँला र चोरी औँलाको बीचमा गिलगिलाएर फ्याँकिदियो ।

डिला अचम्म भयो । अघिपछि सधैँ झन्डै एक सेन्टिमिटर बाँकी रहँदा पनि चुरोट बाँडेर खाने साथी त आज अचम्मै देखियो । एकै सासमा सिध्यायो । धु्रव चुरोट निभाइसकेपछि शौचालय गयो । त्यहाँ उसले पिसाब कम जागिरका बारेमा बढी सोच्यो । एकाएक ऊ आक्रामक देखियो । पाइन्टको जिपर तान्दै ऊ डिलाछेउ आयो र सोध्यो-

“ए डिला ! यो हाकिम यहाँ आएपछि मलाई निद्रा लाग्न छाड्यो । मेरो त जिन्दगीको चक्र उल्टो घुम्न थाल्यो, लौ न म के गरूँ !”

“धु्रव दाइ -धु्रव डिीलाभन्दा दुई वर्ष जेठै हो) ! यो हाकिम कस्तो छ भन्ने के कुरा गर्ने ? तपाईंलाई थाहा छ नि, म त माली हुँ, बोटबिरुवा-फूलहरूको हेरचाह गर्ने । तर, लप्सी हाकिम साहेबको अघिल्तिर पर्नेबित्तिक्कै शौचालय सफा गर्न भन्नुहुन्छ । जिन्दगीमा कहिल्यै नगरेको काम जागिर जोगाउन गर्दा सपनामा पनि त्यही देखिने, हाकिम मुतिरहने, आफू सफा गरिरहने । निद्रामा पनि शौचालय सफा गर्न मोप चलाउँदा हात श्रीमतीको भुँडीमुन्तिर पुग्दो रहेछ, म मस्तले निदाउन त परै जाओस् स्वास्नीको कुटाइ खाँदा खाँदा

हैरान भइसकेँ !”

डिलारामको कुरा सुनेर धु्रवरामलाई हाँस्न मन लाग्यो । तर, मनभरि पिर बोकेर कसरी हाँस्न सकिन्थ्यो र ! तैपनि, मैसूरको जंगलजस्तो धु्रवरामको ओठमाथिको एकातिरको जँुगा धु्रवले नचाहे पनि फुरफुर गर्दै हाँसिरह्यो । डिलारामको कुरा सायद जुँघालाई पनि मन पर्‍यो होला ! यो अन्तरालमा डिला केही भनँू भनेर धु्रवतिर फर्किने र धु्रव आफ्नो व्यथालाई सान्त्वना दिन केही प्रस्ताव राखूँ भनेर डिलातिर फर्किने क्रम त भयो । तर, दुवै जनाले आफूले चाहेको कुरा बोल्न सके नन् । दुई जना नै हेराहेरको स्थिति रहेको बेला नानीरामको प्रवेश भयो । हातमा मार्तोल र हथौडा लिएर । जसै ऊ ती दुवैको अघिल्तिर पुग्यो उसले भनिहाल्यो, “हे दुवै रामहरू ! वास्तवमा तिमीहरू राम नै हौ । तर, यो विवेकहराम लप्सीले गर्दा तिमीहरूलाई मात्र नभई हामी सबैलाई हराम बनायो । मेरो काम भनेको बिग्रेको धाराको पाइप मर्मत गर्ने, बिजुलीको तार बनाउने, नेटवर्कको कनेक्सन मिलाउने । तर, के गर्ने लप्सीले अगाडि भेट्यो कि ठूल्ठूलो गमला यताको उता, उताको यता सार्न लगाउने ! के गर्ने परिवार पाल्न नपरेको भए यसलाई पाकेको लप्सी देखाइदिनु हुन्थ्यो !

धु्रवरामले नमाने पनि दिलमायाले धु्रवलाई घिसार्दै ढोकाछेउ ल्याइन् र भनिन्, “तपाईं डाक्टरकहाँ नजाने हो भने बहुलाउन बेर छैन, तपाईं जाने कि नजाने ?” स्वास्नीको कुरो सुनेर धु्रवराम नराम्रोसँग झस्कियो । वास्तवमा उसलाई भएकै यही हो । यो कुराको महसुस भएको धेरै भइसकेको हो तर भन्न मात्र नसकेको । उसलाई म बहुलाउँछु कि भन्ने डरचाहिँ साँच्चिकै थियो । घरपरिवारले केही भन्लान् भनेर मात्र भन्न नसकेको । ऊ खुरुखुरु स्वास्नीसँग पछि लागेर न्युरोसाइक्याटि्रक डाक्टरकहाँ पुग्यो । साइक्याटि्रक डाक्टर साह्रै नरम हुन्छन् । डाक्टरको व्यवहारबाट धु्रव साह्रै प्रभावित भयो । डाक्टरको प्रश्नमा उसले बच्चाले जस्तै जवाफ दियो, “डाक्टर सा’ब ! म लप्सीराम हाकिमको अघिल्तिर पर्नै हुन्न, म उहाँको सवारी चालक ! गाडीको स्टेरिङ दायाँ काटे पनि गाली गर्ने, बायाँ काटे पनि गाली गर्ने खाल्डोमा ब्रेक दाबे पनि गाली गर्ने, खुला बाटोमा एक्सिलेरेटर दबाए पनि गाली गर्ने । अनि, मैले कसरी गाडी चलाउने ? त्यति मात्र हो र ? तरकारी किन्न जाँदा साग पनि गनेर हिसाब बुझाउनुपर्ने ।” धु्रवरामको कुरो सुनेर साइक्याटि्रक डाक्टर नै बेस्सरी तर्सिए र भने, “ओहो ! तपाईंको यो हाकिम, नाम के रे लप्सीराम, श्री ३ रणबहादुरभन्दा पनि सन्काहा रै’छ, ! म यसको फेला परेको भए मै अरू साइक्याटि्रक डाक्टरकहाँ जानुपर्ने हुन्थ्यो सायद । म अब तपाईंलाई औषधी चलाउँछु, तपाईं ठीक भइहाल्नुहुन्छ, डराउनु पर्दैन !”

डाक्टरको कुराले धु्रवको आधा समस्या समाधान भयो । डाक्टरले सिफारिस गरेको औषधी बोकेर ऊ घरमा पुग्यो । घरमा डिलाराम र नानीराम अघिदेखि नै बसिरहेका रहेछन् । “ओ धु्रव दाइ ! तपाईं कहाँ यतिबेरसम्म ?” धु्रवकी स्वास्नी केही बोल्न खोज्दै थिई, धु्रवले उसलाई रोकेर बोलिहाल्यो, “के गर्ने भाइ ! डाक्टरकहाँ जचाएर आएको । म त बहुलाउनै लागिसकेको रहेछु । धन्न श्रीमतीले डाक्टरकहाँ लगिदिएर बल्ल जीवनमा सास आयो !” धु्रवको जवाफ भुइँमा पर्न नपाउँदै डिलाराम बोलिहाल्यो, “हेर्नूस् धु्रव दाइ ! हाकिम भनेको कर्मचारीको अभिभावक हो । कर्मचारीभित्रको सम्भावना र क्षमता बुझेर सके केही सुख-सुविधा, उत्प्रेरणा दिने, त्यो नसके सान्त्वना दिने, माया गर्ने वा कर्मचारी संयन्त्रको दिल बुझेर, मन जितेर हामीबाट पर्याप्त काम, सेवा लिनुको साटो सारा प्रशासनिक संयन्त्रलाई नै मानसिक अपांग बनाउने भो यसले त डिप्रेसन बोलाइदिएर । फेरि यस्ताको नाम भने लप्सीराम । थुक्क ! यो त राम नभएर हराम पो रहेछ !”

(स्रोत : नेपाल साप्ताहिक २०७१ मार्ग )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.