ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका थिएँ । मलाई कोठाको अँध्यारोम महसुस हुन्थेन, ल्यापटपका किबोर्डहरुमा मेरा औला सल्बलाइरहेका थिए ।
“हेल्लो कथाकार ज्यू ! ज्यूदै हुनुहुन्छ ?”
–”अहिलेसम्म त मरेको छैन ।”
“खाजा हाम गर्नुभयो त ?”
–”भर्खर सिध्याएँ ।”
“के खानुभयो नि ?”
–”बफ मम”
च्याटमा सधैँ यस्तै अनौपचारिक कुराकानी हुन्छन् मेरा । कहिलेकाँही राम्रो वक्ता भेटिन्छ । ऊसँग साहित्यको विविध चरणहरुको बारेमा गफिन मजा हुन्छ । सिक्ने र सिकाउने प्रक्रिया चलिरहन्छ ।
–०–०–०–
टाउँकोमा घनले ठोकिरहेको अनुभूत हुन्छ । सकेण्ड–सेकेण्डको अन्तरालमा सोला हानिरहेको छ । शरीरमा हनहनी ज्वरो आइरहेको छ । झ्यालबाट चिसो हावाले जिस्क्याउँछ । पहेँलो टिसर्ट लगाउँछु, अघि कालो गन्जीमा मात्र थिएँ ।
पानीले कपाल निथु्रक्क भिजेको छ । अघि यौटा ठुलो आँधीको सामना गरेर घर फर्किएको छु । म यौटा सामान्य घटनाको शिकार भएँ । वास्तवमा घटनाहरु सामान्य नै हुन्छ तर त्यसलाई कसरी लिने भन्ने पद्धतिमा निर्भर रहन्छ । सायद किशोर मस्तिष्क भएर होला, त्यो घटनाले मेरो अन्तस्करण छोएको छ ।
म नानाभाँतिको आत्मरतिमा बहकिदै उही आदिबासी टेबलमा बसेर यौटा भावना उत्खनन् गर्दैछु । अनायासै, मेरो आँखा टेबलमा मिलाएर राखिएका किताबहरुमा ठोकिन्छ । देख्छु, स्नातक प्रथमवर्षका कोर्षबुकहरु बिजनेस स्टाटिस्टिक्स, बिजनेस इकोनोमिक्स, फ्ल्याग्स गोल्डेन टेल्स, प्रिन्सिपल अफ म्यानेजमेन्ट लगायत छन् । कत्ति न ब्यापारीजस्तो ! यिनिहरुलाई आज पढ्नुथियो तर स्वास्थ्यले साथ दिइरहेको छैन ।
–०–०–०–
केहीसमयअघि मेरो स्थिति भिजेको बिरालोको जस्तो भएको थियो । साथीको घरबाट सामान्य साक्षात्कारपछि फर्कदै थिएँ । भयङ्कर हावा चल्न थाल्यो । बाटो छेऊका बिजुलीका तारहरु हल्लिन थाले । वरीपरि कच्ची घरका छानो हावाले उधिन्न थाल्यो । साइन्स फिक्सनमा आधारित कुनै प्रकोपको फिल्म हेरेँझै अनुभूति हुन थाल्यो । साँच्चै मान्छे उडाउला कि भन्ने ससुप्त स्थिति थियो ।
तत्क्षण चट्याङ पर्दै मेघगर्जन सहित पानी दर्किन थाल्यो । म घरतर्फ दौडिदै थिएँ । टाउकोमा घन बज्रन रोकिएको थिएन । पासमा भएको लुखुरे छाताले के छेल्थो र त्यो आँधीलाई । घुटुमुटु पारेर त्यसलाई ब्यागमा खादेँ । अनि आँधीबाट सुरक्षित हुन यौटा स्मारकजस्तो अभूतपूर्व घरमा छिरेँ ।
–०–०–०–
“दाई, औषधी ल्याइदेऊ भनेको होइन ?” बहिनीले सोध्छे ।
–”अँ हो ।” म टेबलबाट निस्किएर पर्स खोज्छु । पर्सबाट सयको नोट निस्कन्छ ।
“हेल्थपोष्टबाटै ल्याइदिन्छु है । किराना पसलमा पाइने औषधी भरपर्दो हुन्न ।” ऊ यसो भन्दै निस्कन्छे ।
म त्यही दृश्यमा तारो चढाउन पुग्छु, जुन यसअघि मैले देखेको थिएँ ।
घरको डाटाभाटा दिनहुँ मक्किदै गएको प्रतीत हुन्थ्यो । यसअघि पनि कुनै ठुलै आँधी आएर थुप्रै विनाश गरेजस्तो देखिन्थ्यो घर । बाँसका भाटामा भर्खरै गोबरले लिपिएको प्रष्ट देखिन्थ्यो ।
“दादा, तपाईलाई कहिलेदेखि बिरामी हुनुभा’को रे ?” बहिनी कोठाभित्र पसेर सोध्छे ।
–”अस्तिदेखि हो ।” म भन्छु ।
“एकचोटी जचाउनु रे गोपाल डाक्टरले भन्नुभा’को ।” बहिनी मलाई सम्झाउँछे, “अहिले निमोनियाको प्रकोप छ रे ।”
–”हुन्छ । एक ग्लास पानी तताइदेऊ न ।” म भन्छु । ऊ कोठाबाट बाहिर निस्कन्छे ।
–०–०–०–
म सेल्टर हुन त्यो घरमा छिर्नासाथ त्यसघरमा मान्छेहरु पनि बाहिर सिकुवामा आएँ । पानीले सिकुवामा बाछिट्टा हान्न थाल्यो । आफूलाई जमुना नाम बताउने ति दिदीले भनिन्, “भाइ, भित्रै छिर्नु न ।”
म जुत्ता लगाएरै भित्र छिरेँ । भित्रबाट बाहिर छ्याङछ्याङी देखिन्थ्यो । बाँसमा लिपिएको गोबर यतिखेर पानीले झारीसकेको थियो । माटोहरु बुर्बुती भुइँमा क्रमशः खस्दै थिए । उनी टाँटी छेऊको खाटमा रहेका लुगाहरु अर्को कोठामा सार्न थालिन् । म ग्यास पानीले भिजेको देखेर हठात् भनेँ, “ओ ! ग्यास भिज्यो, भित्रै कोठामा सार्नु न ।” उनले हठात् ग्यासचूल्हालाई अर्को कोठामा सारिन् ।
म बलो छेऊको नाङ्गो खाटमा बसेँ । खाटमा भाँडाकुडा सजाएर राखिएका थिए । ढोकाबाट कोठाभित्र पानी पस्न थाल्यो । उनले हठात् दैलो लगाइन् । यौटा फलामको रडलाई दैलोमा छेस्किनी बनाइन् ।
आँधीले टिनलाई ठटाउँदै थियो । लिपिएका माटाहरु सोत्तर लाग्न थालेका थिए । मैले जमुना दिदीतर्फ हेर्दै भने, “यो घरमा यौटा दाई हुनुहुन्थ्यो नि ?”
–”ऊ ट्रक चलाउन गा’को छ ।”
“उसले यसरी ट्रक चला’को कति वर्ष भयो ?”
–”छ वर्ष पूरा भयो ।”
“घर मर्मत गर्ने बेला भएछ नि !”
–”यो घर यस्तै हो भाइ, त्यो टाँटी १ महिनामात्र भयो फेरेको । कतिछिटो मक्किन थालिसकेको छ ।”
“बाँसको टाँटीको क्यै भर हुन्न । यसरी नै फेरिहनुपर्छ ।”
–”हो, नयाँ घर बनाउनुपर्ने भएको छ । मेरो भाइ विदेश जान्छु भनेको छ । उताबाट कमाएर आएपछि हामी पनि सिमेन्टको घर बनाउँछौं ।” उनको प्रत्यूत्तरमा एउटा आशा जमोठ थियो । मैले उनको अनुहार र शरीर नियालेँ । उनले आफ्नो शरीरमा फेसनएवल टप्स र लेगिङ्स किञ्चित् लगाएकी थिइनन्, न त जिन्स पेन्ट र भेष्ट नै । रातो कुर्थामा थिइन् उनी । कुर्थामा काँती मयल ढाडिएका थिए । त्यै पनि ठाउँठाउँमा च्यातिएर सिलाइएका थिए । धुलैधूलो थियो उनको शरीरभरि । भर्खरै यौटी बालिका धुलोमा खेलेर घर फर्किएकी जस्तो । अनुहार कालो थियो, दाँत सेता ।
छेऊकी एउटी बालिकाले मेरो हातको रुमाल खोसेर हठात् आफ्नो भिजेको मुख पुस्छे । फेरि त्यो रुमाल मेरो हातमा थमाइदिन्छे ।
मैले सोधेँ, “यी बच्चीहरु तपाईंका हुन् ?”
–”हैन, काँ मेरो त बिहे नै भएको छै नि ! यि बच्चा मेरी बहिनीका हुन् ।”
“खोई त बहिनी ?”
–”कुवेतमा छिन् ।”
“अनि ज्वाइँ नि ?”
–”एउटी आइमाइलाई टिपेर भाग्यो ।”
“किन भागेको रे ?”
–”खोई, हाम्लाई थाह भएन ।”
“अनि तपाईले चाहीँ किन बिहे नगर्नु भाको नि ?”
–”फुर्सद भए पो गर्नु !”
“बिहे गर्नलाई कति दिन लाग्छ र ?”
–”होइन, यिनीहरुलाई हेर्नुपर्छ नि !”
“यिनीहरुका लागि आफ्ना इच्छा पनि त्याग्नुहुन्छ त ?”
–”के गर्नु त केटा नै भेटिदैन ।”
“किन भेटिएन ?”
–”हामीजस्ता गरिबलाई कसले बिहे गर्छ र ?”
उनको यो प्रश्नसँगै म बोझिल हुन्छु । उनको अनुहार मलीन देखिन्छ । उनलाई सर्लक्क हेरिसकेर मेरो नजर फेरि घरतर्फ दौडिन्छ । त्यो घरले उनको यौवन र जीवनप्रति भीमकाय व्यङग्य गरेकोजस्तो लाग्छ ।
“निराश नहुनुहोस् । बिस्तारै सब ठिक हुन्छ । खुशी निमेषभरका लागि हुन्छ तर त्यसको अनुभूति चीरस्थायी हुन्छ ।” उनलाई यसोभन्दा आफ्नै प्रष्टभूमीले मलाई व्यङ्ग्य गरेको जस्तो लाग्छ । मभित्रको यौटा मान्छे फुत्रुक्क निस्किएर कराएजस्तो गर्छ, “खुब, अरुलाई सम्झाउँदै हिँड्छस् । एकचोटी आफैँलाई नियाल त !” मेरो हृदय फेरि भारी हुन्छ । अनि आफ्ना सपनाका बिस्तारा लगाएर आशाको खोल ओढेर सुत्छु ।
फेरि एउटी छेऊकी बच्चीले मेरो हातको रुमाल खोसेर आफ्नो काँती अनुहार पुच्छे । म उसलाई अनुमति दिन्छु ।
अचानक, घरको टिन हावाले उडाउन थाल्छ । वेगवान आँधी घरभित्र पस्छ । ती बच्चाहरुलाई उनी अर्को कोठामा छिराउँछिन् । म तार माग्दै ती टिनलाई च्याप्न थाल्छु । उनी तार दिएर सहयोग गर्छिन । मलाई पानीले ल्याफ्फ चुट्छ । आज भर्खर लगाएको चेकसर्ट सबै भिज्छ । त्यसमाथि ज्वरो, टाउको दुखेको अनि पानीले भिजेको शरीरले मलाई कम्पामायन गराउँछ । सम्भावित् विकराल स्थितिको अड्कलले मन चिसो हुन्छ ।
म टिनलाई सफलतापूर्वक च्याप्न सफल हुन्छु । उनी टावलले शरीर पुछ्न आग्रह गर्छिन । टावल हेर्छु, मयल ढाडिएर अस्तित्वहीन बनेको छ । “भो, पर्दैन् ।”
“भाइ, तपाईं गाउँकै असल हुनुहुन्छ । भाङ, धतुरो, गाँजा, चुरोट खाएर अहिलेसम्म हिँडेको देखेको छैन मैले ।” उनी कथोपकथनको प्रसङ्ग मोड्छिन् । उनको यो वाक्यांशले मेरो पृष्ठभूमी पल्टिन्छ । एकदिन पूजाले भनेकी थिइन्, “रेसम तिम्रो कथा एउटा पत्रिकामा पढेकी थिएँ । तिमी त साहित्यकार भएछौं यार । बधाई छ ।”
“लेखेजस्तो मात्र गर्छु ।” मैले उत्तर दिएको थिएँ ।
फेरि दुई व्यक्तित्व मेरो दिमागमा बग्न थाल्छन् । अनिल दाई जो फिदोर दोस्तोवस्कीको उपन्यास ‘क्र्याम एण्ड पनिसमेन्ट’मा थेसिस तयार पार्दैछन् । उनले मलाई पटक–पटकको भेटमा विश्व साहित्यका सिद्धान्तहरु अर्थाइरहन्छन् । म चाख लिएर सुनिरहन्छु ।
एकदिन उनको घर गएको थिएँ । उनले भित्ताभरी प्रमाणपत्रहरु टाँसेका रहेछन् । मैले त्यो देखेर यौटा अहम पालेको थिएँ ।
“दाई, तपाई प्राध्यापनको लागि इटहरी आउँदा मलाई अंग्रेजी पढाइदिनु है ।”
–”हुन्छ भाइ”
“म राम्रो पेइमेन्ट गर्छु ।”
“अहँ ! क्यै दिनुपर्दैन ।”
उनको कण्ठबाट यस्तो वाक्यांश सुनेर म अत्याधिक खुशी भएको थिए । उनको खुट्टामा आँशु खसाएर रोहुँजस्तो लागेको थियो ।
‘जून’सँग मेरो बोलचाल भर्खरै भएको हो । दुईवर्षको देखादेखपछि हामी भर्खर परिचयको सूत्रमा बाँधिएका थियौं । उनी मेरो यौटा कथा पढेर नजिकिएकी थिईन् । उनी पनि स्नातक प्रथमवर्षमा मेजर इङ्गलिस लिएर अध्ययन गर्दै थिइन् । उनलाई देख्नासाथ म कृतज्ञताले भरिन्छु । उनको विदूषीपनालाई म एकप्रकारले प्रेम गर्छु । तर अचेल हाम्रो आशिंक मात्र भेट हुन्छ । उनले क्याम्पस टप गरेको सुनेर म उनीप्रति नतमस्तक भएको थिएँ ।
यी दुई व्यक्तित्वहरु मेरा प्रेरणाको स्रोतहरु हुन् । पलापला यो मानसपटलमा यिनीहरु देखा पर्छन् । किशोरवस्थाको प्रारम्भिक चरण भएर होला सायद । हजार सपनाको बस्तीहरुभित्र अनायासै हराइरहन्छु । अनायासै लज्जाबोध हुनेगर्छ ।
एकदिन, विश्वप्रसिद्ध किशोर गायक जस्टीन वीवरलाई आफूसँग तौलिन पुगेको थिएँ । गायक बन्न तम्सिएको थिएँ । अनि असम्भव टाँकुरा देखेर आफूलाई सरापेको थिएँ । यस्ता छिमलका सपनाहरु प्रत्येक पल देखिरहन्छु । लाग्छ, म स्वप्नदर्शी हु क्यार ! हे प्रभू, मलाई छिट्टै वयस्क बनाऊ ।
“पछि श्रीमती ल्याएपछि आफ्नी आमालाई परोक्ष रुपमा भएपनि गाली नगर्नु है । उनले भनिन् । उनलाई मेरो पारिवारिक पृष्ठभूमी थाहा थियो । आमाको प्रसङ्ग निस्किएर म क्षतविक्षत हुन्छु । किशोरावस्थाको यो चरणमा आइपुग्दा पनि मैले भरपर्दो सहयोग गर्न सकेको छैन । उहाँ अनवरत संघर्ष गरिहरनु भएको छ । बुवाको भर छैन, बूढा भएका छन् । आफ्नो नोकरी र अध्ययनको चिन्ताले मलाइ पलापला डसिरहन्छ । हाम्रा खलकमा कसैले उच्च शिक्षा हासिल गरेनन् । यस्तै कारणले अहिलेको दारुण नियति भोग्नुपरेको हो । सायद !
केही महिनाअघि मैले कुमार नगरकोटीको ‘निकास’ कथा पढेको थिएँ । तिनताका म कथाको पात्रसँगै हराएको थिएँ । कथामा आर्थिक संकटले जकटिएको यौटा पुरुष पात्र एउटा वृद्धलाई हेरचाह गर्ने काम पाउँछ । उसको काम वृद्धलाई विश्वप्रसिद्ध उपन्यासहरु पढेर सुनाउनुपर्ने हुन्छ । यो कथाले मलाई भित्रैसम्म छोएको थियो । आफूलाई पनि त्यै पात्रझै हुन मन लागेको थियो । तर यी कोरा अक्षरहरु कहाँ सत्य हुन्छन् र ! बस् कल्पना मात्र त गर्ने हो !
“राँडीलाई ढुङ्गै–ढुङ्गाले हानेर मार न ।” बुढीआमा आफ्नी नातिनी कपडा लगाएर नुहाउँदै गरेको देखेर कराइन् ।
–”त्यै त अवासिनी ! अलच्छिनी राँडी ! हेर त लुगा लगाएरै नुहाएकी !” जमुना दिदीले भनिन् ।
मेरो ध्यान त्यो दृश्यमा गएन । मेरो हृदय आत्ममूल्याकंन गर्नमा अभ्यस्त थियो । किन म यसरी महिलाहरुप्रति संवेदनशील हुन्छु ? जसरी मैले जमुना दिदीसँग दुखान्त वार्तालाप गरेँ । सायद् आफ्नी आमाको दारुण नियति देखेर होला अक्सर यस्ता महिलाहरुको भेटमा म व्यथित हुनपुग्छु । उनिहरुप्रति मेरा नकारात्मक सोच कहिल्यै हुँदैनन् ।
अनायासै पानी थामिएर, सिमसिम पर्न थाल्छ । म छाता ओढेर आफ्नो घरतर्फ निस्किए ।
“जमुना दिदी, हजुरसँग गफ गर्न पाउँदा खुशी लागेको छ । कहीँ भेट्दा यसो बोल्नुहोला । म खुशी हुनेछु ।” मैले भनेँ । उनको अनुहारमा हल्का मुस्कान देखियो ।
कोठाबाट निस्कदा ती बूढीआमै । यौटा बिर्को नभाको ‘टुथपेस्ट’ पानीमा खसेकोले, त्यो टिप्दै थिइन् । म बाटा बाटोमा निस्किसकेको थिएँ । ती दुई बालिका हावाले झारेका आँपका चिचिलाहरु टिपेर आउँदैरहेछन् ।
“आँप खाने दाई ?” एउटी फुच्चीले भनि ।
–”नाइँ, खानुहुँदैन चिचिला आँप । रगतमासी पर्छ ।” मैले भनेँ । तिनीहरु दगुर्दै आफ्नो घरतर्फ लागे । मैले पछाडी फर्किएर हेरेँ । ती बुढीआमैले भनिन्, “ले त्यो आँप, भरे बेलुकी अचार बनाउनुपर्छ ।”
–०–०–०–
बाटोमा हिलो टेक्दै म घर फर्किएँ । बहिनी बार्दलीमा परेको पानी पुछ्दै रहिछे । म आफ्नो कोठाभित्र छिरेँ । धन्य, मेरा किताबहरु पानीले भिजाएका रहेनछन् ।
बिजुली आयो । यो लोडसेडिङ्गले हामी विद्यार्थीहरुको भविष्य डामाडोल पारेको छ । यस्तो अवस्थामा कसरी परीक्षामा राम्रो सक्नु हामीजस्तो निम्नस्तरको विद्यार्थीले ।
जसरी मैनबत्तीको शीखा पग्लिएर बग्छ, त्यसरी नै मेरो हृदयभित्र चलेको आँधी यतिखेर शान्त भएको छ । त्यो आँधी फेरि आउँनेछ, कुनै समय !
(स्रोत : onlynepali.net)