कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम लेपन गरी । चूकअमिलो खन्याएझैँ उसको घाउ चहर्यायो । अनायासै उसको अनुहारमा अँध्यारो पोखियो । आफ्नो शरीर देखेर उसलाई एकदमै घीन लागेर आयो । एक्कासी उसलाई टाउको दुखेको अनुभूति भयो । आफ्नो टाउकोलाई उसले स्थिर राख्न सकिन । कन्पारो पछाडिबाट कुनै ठटेउरोले ठोकेझै अनुभूति भयो ।
कालीलाई केटा र केटीबीचको सम्बन्ध, प्रेम र यौनबारे थाहा छैन । तर पनि ऊ कुनै सम्बन्धमा गाँसिएकी छे । उसलाई ख्याल छैन प्रेमको सीमा अनि पुरुषको अहम् । यही कारणले होला ऊ कुनै लोकमा बन्दी भएकी छे । ऊ त्यो बन्दीगृहबाट किञ्चित् आजाद हुनसक्दिन । अब त आदत नै भैसक्यो । लागूऔषधको लतजस्तो अब ऊ त्यही चौघेरामा रुमलिन चाहन्छे ।
यदि सक्दी हो त ऊ आफैँलाई जलाएर ‘फिनिक्स’चरीझैँ त्यही खरानीबाट पूर्नजन्म प्राप्त गर्थी । यदि सम्भव भए ऊ वर्तमानमा बजिरहेको प्रलयका सिम्फोनिक ध्वनीहरुलाई शान्त पार्थी । तर विवश छे ऊ । किनारालाई हिर्काएर पहाडको असख्य वेदना बोकीहिँड्ने नदीझै ऊ निस्सार भा’की छे र समाजको अक्टोपसीय आँखाबाट दिनहुँ खिइदैछे । यसबाट उन्मुक्ति पाउन अब उसलाई हम्मे–हम्मे पर्नेछ ।
कालीको बा रिक्सा चलाउँछन् । कालीकी आमा भवन निर्माण साइटमा मजदुरी गर्छिन् । उनको समय दिनभरी इँट्टा र सिमेन्टी बोक्दैमा व्यतीत हुन्छ । कालीको दाजु भिमे १४ वर्षको हुदाँ उसलाई अर्काको घरमा काम गर्न राखिदिएका थिए । ऊ अहिले त्यही बसेर काम गर्छ ।
कालीको बा अत्याधिक रक्सी खान्छन् । उनी मातेर आएको कालीकी आमालाई मनपर्दैन । त्यो बेला उनी कालीकी आमालाई छुन पनि सक्दैनन् । यसो कोट्याउन खोज्यो, झर्किन्छिन् । कत्तिपनि प्रतिकारमा उत्रिन सक्दैनन् उनी । उनलाई आफ्नी श्रीमतीको अजङ्ग–शरीरदेखि एकप्रकारको डर लाग्छ । विचरा बुढा, अन्ततः भुइँमा सुत्न विवश हुन्छन् ।
एकरात,
उनले रक्सी खाएनन् । नेपाल बन्द भएकोले उनले रिक्सा चलाएर दुई हजार रुपैयाँ कमाएका थिए । अक्सर नेपाल बन्द हुदाँ उनलाई मनग्य मुनाफा हुनेगर्छ । तसर्थ त्यो रात उनले रक्सी नपिई घर जाने निधो गरे । मासु पसलबाट उनले एक किलो खसीको मासु किने । नजिकैको पसलबाट एउटा रक्सी पनि किने । त्यसलाई उनले आफ्नो रिक्साको डिक्कीभित्र राखे ।
त्यसपछि मानौँ कुनै मर्सिडिजमा चढे झैँ गरी उनी शानले रिक्सामा चढे । रातको उन्मादको कल्पना गर्दै अनि मदमस्त भएर उनी रिक्सा कुदाउन थाले ।
घरमा कालीकी आमा साइटबाट फर्किएर भात पकाउने सुरसारमा लागेकी रहिछन् । उनी आफ्नो श्रीमान् रक्सी नपिईकन आएको देखेर खुसी भइन् । अनि लोग्नेलाई प्रेमपूर्वक खाटमा बस्न आग्रह गरिन् । बजारबाट उनले पाकेका आँप किनेर ल्याएकी थिइन्, त्यो काटेर दिईन् । कालीका बाले मासुको झोला दिँदै भने, “ला मासु पका ! भुटुवा बना ।”
उनी मासुको परिकार बनाउन लागिन् । कालीका बा खाटमा पल्टिएर पुरानो टिभी हेर्न थाले । करिब रातिको आठ बजेपछि खानाको परिकार तयार भयो । उनले बुढालाई बोलाइन् । दुवैजना मिलेर मासु, चिउरा र रक्सी खाए ।
केही समयपछि उनी घरधन्दा सकेर ओछ्यानमा आईन् । लोग्ने चैँ अघिनै ओछ्यानमै ढल्किरहेका रहेछन् । उनले आफ्नी श्रीमतीलाई अँगालो मारे । उनले पनि मौन समर्थन गरिन् । एकैछिनमा तूफान आयो र सेलायो ।
केही हप्तापछि आफ्नो नियमित महिनावारी रोकिएकोले उनलाई शंका लाग्यो । उनी डाक्टरकहाँ गइन् । आफू गर्भवती भएको थाहा पाएर उनी छाँगाबाट खसेझै भइन्, किनकी उनी बच्चा जन्माउने मनस्थितिमा थिइनन् । बेलुका उनले लोग्नेलाई सुनाइन्, “ए…बुढा मैले पेट बोकेछु ।”
उनले फिस्स हाँसेर भने, “भिमे अब यो घरमा आउँदैन क्यार । अब यौटा सन्तान त चाहिन्छ । अब छोड् दे न, एउटा जन्माउनुपर्छ ।”
केही महिनापछि कालीकी आमाको दिनचर्या पूर्ववत् हुन थाल्यो ।
एकदिन,
कालीकी आमा बालुवा चाल्दै थिइन् । उनलाई रिँगटा लागेजस्तो अनुभूति भयो । अचानक उनको ठुलो पेट दुख्न थाल्यो । उनले कर्नीले भुइँ कोतार्न थालिन् । उनको गोडा लुला भए । उनी उठ्न सकिनन् । अचानक उनको तल्लो पेट पनि चर्किन थाल्यो । उनको वेदनामिश्रित आवाज निस्कन थाल्यो, “आइयाऽऽऽ”
वरिपरिका महिला लेबरहरु कराउन थाले, “एई ! भिमेकी आमालाई बेथा लाग्या जस्तो छ है ।”
सबै मिलेर उनलाई स्टोर रुममा लगे । लोग्ने मान्छेलाई त्यहाँ छेऊमा पर्न दिएनन् । उनी व्यथित भइरहेकी थिईन् । उनको सास छिटो–छिटो चल्न थालेको थियो । उनी बेहोशीमा बटारिन थालिन् । उनका शरीरका छाला अचानक तन्किन थाले, आँखाको कुनाबाट आँसु खस्न थाले । उनको हात मुठ्ठी पर्यो, ठुलो चीत्कार निकालिन् ।
त्यसपछि काली जन्मिई ।
एउटी लिम्बूनीले कालीकी बालाई फोन गरिन्, “ए साँठ्ठा कहाँ छस् । आईजा तेँरो बुढीले छोरी पाई । रेक्सा लिएर सीधै साइटमा आइजा ।”
–०–०–०–
बाल्यकालमा काली निकै काली थिई । सबैजनाले उसलाई ‘काली’ भनेर बोलाउन थाले । जब ऊ किशोरावस्थामा प्रवेश गरी तब ऊसमा अकल्पनीय परिवर्तनहरु देखिए । उसको शरीर स्निग्ध र अझ चम्किन थाल्यो । शरीरमा वैँशका कोपिलाहरु लाग्न थाले । छाती लोभलाग्दो भएर उचालिए । स्वर अझै तीखो हुदै गयो । उसलाई एकप्रकारको अनौठो लाजले छोप्दै लग्यो ।
ऊप्रति मान्छेका हेराईहरु पनि परिवर्तन भए । प्रेम र करुणाले ओतप्रोत भएका आँखाहरु त्यसपछि कामवासना लत्पोतिए । गाउँका किशोरहरुले उसका छातीमा आँखा पुर्याउन थाले । उसलाई यौटा अनौठो किसिमको लज्जाबोध हुनथाल्यो, साथै एउटा नूतन खुसी पनि । आमाले उसलाई ‘वर्जित फल’झै चेतावनी दिएकी थिइन् “कुनै पनि केटाको विश्वास नगर्नू । नत्र थाङ्ग्नामा सुताउलान् ।”
कालीले तीन कक्षाभन्दा माथि पढ्न सकिन । सधैंको घरधन्दा, कुच्चो, कोदालोबाट उसलाई स्कूल भ्याउन मुस्किल पथ्र्यो । झन् विमल सरको लठ्ठीदेखि ऊ अचाक्ली डराउँथी । त्यसैले उसले स्कूलबाट पूर्णकालीन अवकाश लिई । स्कूल जानै छोडिदिई ।
घरधन्दा सकेपश्चात् ऊ एकदमै फुर्सदमा हुन्थी । ऊसले गाउँका केटीहरुसँग गफ गरेर समय बिताउन थाली । गीता, मीना र बन्दना उसको मनमिल्ने साथीहरु थिए । तर सबैको विवाह भइसकेको थियो । दिउँसो उनीहरुका श्रीमान्हरु काममा जाने गर्दथे । उनीहरु दिनभरी गफ गर्दै समय काट्थे ।
कालीलाई गीताले मेकअप गरेको निकै मनपथ्र्यो । उसलाई अचाक्ली सुहाउथ्यो पनि । ऊ कालीलाई मेकअप गर्ने तरिका सिकाइरहन्थी । गीताको कपाल लामा थिए, ऊ ‘कण्ड्सिनर’यूक्त स्याम्पूले दिनहुँ नुहाउने गर्थी, अनुहार ‘फेसवास’ले धुन्थी, आँखामा कोहिनुर गाँजल, ओठमा गुलाबी लिप्सस्टिक लगाउथी । उसको शरीरबाट वासनादार ‘परफ्यूम’ जहिल्यै सुवासित हुन्थ्यो । कालीलाई पनि चाह हुन्थ्यो त्यस्तो श्रृँगारको तर उसको त्यत्रो आर्थिक सामथ्र्यता थिएन । उसले त्यसै मन बुझाएकी थिई ।
एकदिन, गीता घरमा थिइन । कालीले उसका सम्पूर्ण सौन्दर्य प्रशाधनका सामाग्रीहरु यौटा मजेँत्रोमा लुकाएर आफ्नो घर ल्याई । ऐनाअगाडि बसेर गीतालेझै ‘मेकअप’ गर्नथाली । उसलाई त्यो समय आफू अप्सराझैँ राम्री लाग्यो । काली इत्रिएर घरमै बसी, कहीँ गइन । गीताले आफ्नो सौन्दर्य सामाग्रीहरु हरायो भनेर गाउँभरी हल्ला फिजाइछे । पछि उसले ती सामाग्रीहरु कालीले चोरेको थाहा पाई । ऊ सिधै कालीको घरमा गई अनि उसको आमाकै अगाडि कालीलाई तथानाम गाली गरी र आफ्ना सम्पूर्ण सामानहरु फर्काएर ल्याई ।
कालीकी आमा उसको निम्नकोटीको चर्तिकता देखेर छक्क परिन् । पिट्दा समस्याको समाधान हुने थिएन, किनकी छोरी बढिसकेकी थिई । ती चीजबस्तुहरु उसको उमेरले मागेका थिए । उनले परास्त मुद्रामा भनिन्, “भोलिदेखि घरको काम सकेर धने ठेकेदारकोमा काम गर्न जानू र आफूलाई जे चाहिन्छ, त्यै किन्नू । अबदेखि यस्तो कुरा सुन्न नपरोस् ।”
–०–०–०–
कालीले अल्छीगर्दै लुगा लगाई । उसको मुठ्ठीमा भएको दशहजार टेबलमा राखी । उसलाई केही गर्ने जोश, जाँगर भएन । यौटै घटनाबाट उसका दिनचर्यामा तुषारापात भएका छन् । तसर्थ समाजको कौतूकमय नजरबाट आफूलाई केहीछिन् लुकाएकी छे ।
उसले एकाएक धनेलाई सम्झिई । धनेले नै उसको जीवन विषम बनाइदियो, जसलाई ऊ अहिलेसम्म पुर्नरुथान गर्न सकेकी छैन । धनेको स्मृतिले अनायस उसका अनुहारमा चन्द्रग्रहण लाग्छ, अँध्यारो हुन्छ ।
धने अन्दाजी २५/२६ वर्षको विवाहित मतुवाली केटो हो । उसकी एउटी ५ वर्षिया छोरी पनि छे । ऊ ठेकेदार हो, भवन निर्माणको काम ठेक्कामा लिन्छ । धनेले पहिलो चोटी कालीलाई देख्ता होषह्वास गुमाएको थियो । कालीजस्ता तरुणी र राम्री केटी उसका हेल्परहरु थिएनन् । उसले मनमनै सोच्यो, “यस्तो माल त अहिलेसम्म देख्या थिइनँ ।” उसले घुटुक्क थुँक निल्यो । आँखा विस्फारित पारेर यन्त्रवत् कालीको सम्पूर्ण शरीर नियाल्न थाल्यो । छातीमा एकाग्र हेरेको देखेर काली अत्यन्तै विचलित बनेकी थिई । उसको शिकारी नियतिदेखि कालीलाई असाध्यै रिस उठ्यो ।
धनेलाई पनि अनार्कषक भन्न मिल्दैन । हृष्टपुष्ट शारीरिक बनावटले ऊ आर्कषित देखिन्थ्यो, बलिष्ठ थियो । उसको मुहारमा मुस्कान लपक्कै टाँसिएको हुन्थ्यो । सधैँ हाँसिरहन्थ्यो । त्यसकारणले होला सबै केटीले मनपराउँथे ।
धनेले कालीलाई प्रथम हेराइमै आफूतिर आर्कषित गर्न खोज्यो । उसले कालीलाई सजिलो, सरल कामहरु लगायो । कालीलाई सीतलमा बसेर बालुवा चाल्ने अनि मसला तयार भएपछि ऊ भएतिर बोकेर ल्याउन अह्रायो । काली निक्कै हर्षित भई । उसको हाँसोले ऊ पनि रसिक बन्यो । फूर्तीको साथ इँट्टाहरुको जोडाई गर्न थाल्यो । काली उसको कार्यकुशलता देखेर विस्मयमा पर्थी । ऊ रौसिदै गयो ।
प्रत्येक दिन उसलाई काम गर्नुअघि चाउचाउ, चियाबिस्केट, थुक्पा खुवाउन थाल्यो । अब कालीले धनेको व्यक्तित्व मनपराउन थाली । ऊ धने नजिक हुँदा आफूलाई सर्वजयी भएको महसुस गर्न थाली ।
केही महिनाको अन्तरालमा उनीहरु असीम नजिकिए । अब दुइबीच जिस्कने, चल्ने, छुने, ठट्टा गर्ने कामहरु सामान्य भए । धने चाल मारेर कालीलाई जिस्काउने गथ्र्यो । उसका छाती मुसार्ने गथ्र्यो । ऊ ‘क्लोरोफर्म’ सुँघाएझैँ बेहोश बनिदिन्थी, खितिति हाँस्थी । अझै त्यसो गर्न मौन प्रेरित गर्थी । धनेलाई एकप्रकारको युद्ध जितेको भान हुन्थ्यो । ऊ आफूलाई यौटा प्रागऐतिहासिक योद्धा ठान्थ्यो ।
बुधबारको दिन सबैलाई विदा हुन्थ्यो । मजदुरहरु आ–आफ्नो हप्ताभरिको कमाई लिन आएका थिए । धनेले सबैलाई ज्याला बाँड्न थाल्यो । काली सबैभन्दा पछाडि बसेकी थिई । ज्याला लिएर सबै घर गए । अन्त्यमा कालीको पालो आयो । उसले कालीलाई डब्बल ज्याला दियो । अर्थात् कालीले दुईहप्ताको ज्याला एकैचोटि पाई । ऊ मुसुक्क हाँसी । त्यसबेला धनेले उसलाई अचाक्ली राम्री देख्यो । उसको गुलाबी ओठले धनेको हृदयलाई तृषित बनायो, वाचाल बनायो । समातेर मुखैमा चुम्बन गरुँझैँ लाग्यो । तर आफूलाई सम्हाल्यो उसले । काली कुर्ता सुरुवालमा सिँगार–पटार गरेर आएकी थिई ।
“फिल्म हेर्न जान्छ्यौ काली ?” धनेले एक्कासी प्रस्ताव राख्यो ।
– “लाने भए, जान्छु नि !” कालीले सहर्ष स्वीकार गरी ।
दुवैजना बस चढेर फिल्महलतिर गए । फिल्म हल अँध्यारो थियो । उनीहरुले भित्ता छेऊमा आफ्नो सीट पाए । फिल्मको दृश्य सुरु भइसकेको थियो तर धनेको ध्यान फिल्मतिर थिएन । ऊ कालीलाई हेरिरहेको थियो । उसले आँट गरेर कालीको हात समात्यो । कालीले सजिलै आफ्नो हात लुलो पारिदिई । उसले हात मुसार्न थाल्यो । त्यसपछि उसले हठात् आफ्नो हात कालीको छातीमा पुर्यायो । कालीले केही प्रतिकार गरिन् । निर्विकार छोडिदिई । त्यसपछि धनेले कालीसँग कानेखुसी गर्यो, “ह्या, फिल्म राम्रो रैन’छ । बाहिर जाऔँ ।”
दुवैजना फिल्महलबाट बारिर निस्किए । धनेले उसलाई यौटा गेष्ट हाउसमा लग्यो । केही मिठाईको परिकार र हल्का चीसो पेयपदार्थ खुवायो । काली प्रशन्न देखिन्थी । त्यसपछि उसले कालीलाई एउटा कोठामा लग्यो । दुवैजना कोठाभित्र पसे । ढोका थुनेर कामात्तुर ऊ कालीलाई बाघले झम्टिएझैँ झम्टियो । काली शिकारमा परेकी मृगणीझैँ परास्त भई । केहीछिनको घमाशान युद्धपछि धने पूर्णतः थकित भयो । उसले कालीको अस्मीता लुट्यो ।
बल्ल काली धनेको कुनियतसँग परिचित भई । उसलाई आफैँदेखि घीन लागेर आयो । तर समय बितिसकेको थियो । उसले धनेलाई परचक्रीजस्तो देखी । तत्क्षण उसलाई आमाको वर्जित वाक्य याद आयो, “कुनै पनि केटाको विश्वास नगर्नू । नत्र थाङ्ग्नामा सुताउलान् ।”
काली पारिजातको पात्र सकम्बरीजस्तो तार्किक थिइन । उसले धनेलाई हठात् प्रश्न गरी–
“के तिमी मलाई प्रेम चाहिँ गर्दैनौ ?”
– “नगर्ने भए, यो केहो त ?”
“यो तिम्रो प्रेम होइन । मेरो शरीरप्रतिको लोभ हो ।”
– “लोभमा पनि प्रेम हुन्छ नि !”
“तिमी प्रेमको नाममा मलाई भोग्न मात्र चाहन्छौ !”
– “हैन काली, म तिमीलाई सीमाहीन प्रेम गर्छु ।”
“त्यसो भए मलाई बिहा गर !”
– “म विवाहित छु ।”
“तोडिदेऊ त्यो विवाह ।”
– “मलाई पाप लाग्छ ।”
“मलाई बर्बाद गरेको’चै पाप लाग्दैन ?”
धने नाजवाफ भयो । काली चुपचाप आफ्ना लुगा बटुलेर बाहिर निस्किई । धने मूर्तीवत् ढोकातर्फ हेरिरह्यो ।
कालीले अझै बिर्सन सकेकी छैन त्यो कालरात्रि । जुन रातपछि उसको दिनचर्यामा फेरबदल ल्याइदियो । उसको सम्पूर्ण जीवनलाई विक्षिप्त तुल्याइदियो । उसको नाममा कालो धब्बा पोतियो ।
गाउँमा काली धनेसँग फिल्म हेर्न गएको कुरा कतिखेर धनेकी श्रीमतीले थाहा पाइछे । बेलाबेलामा गाउँलेहरुको मुखबाट सुनेका हल्लाहरु त्यसबेला सत्य सावित भएका थिए । धनेकी श्रीमतीले राति कोही नभएको बेला कालीलाई बोलाई । उसले ढोका थुनेर “मेरो बुढासँग लाग्छेस् झिँगे । सौता हुन खोजेकी ?” भन्दै तथानाम गाली गरी । उसले कालीको शरीर ढ्याङ्ग्रो ठटाएझैँ ठटाउन थाली । मुक्कैमुक्का प्रहारी गरी । उसले लगाएको कुर्ता ध्वार्रध्वारी च्यातिदिई र कालीलाई भुत्लाउन थाली । काली एकशब्द पनि बोल्न सकिन । त्यसपछि कालीलाई ढोकाबाहिर धकेलिदिई । काली त्यहाँबाट रुदै, कराउँदै घर पुगी ।
संयोगवश त्यो रात उसको घरमा कोही थिएन । काली त्यही अवस्थामा खाटमा आएर ढली । कतिखेर भुसुक्कै निदाइ, पत्तै पाइन ।
विहानै कालीको दारुण अवस्था देखेर आमाले केरकार गरिन् । उसले धनेकी श्रीमतीले कुटेको भन्ने थाहा पाइन् । कालीकी आमाले समाज डाकिन् । टोलका गन्यमान्य मान्छेहरु उपस्थित भए । दोष धनेकी श्रीमतीकै भएको निश्कर्ष सबैले निकाले । सत्यताको जाँचबुझ नगरीकन कुटेको आरोपमा कालीसँग माफी माग्न लगाइयो । धनेकी स्वास्नीले उसलाई उपचारखर्च स्वरुप दशहजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्यो ।
त्यतिखेर धने निशब्द थियो । काली पनि केही बोल्न सकिरहेकी थिइन । गाउँलेले कालीको हातमा दशहजार राखिदिए, उसको कुमारित्वको मूल्य थियो त्यो शायद ।
(स्रोत : onlynepali.net)