गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका परिहाल्छ । क्याफेमा पनि त कोही भर्खरै मात्र उठेको कुर्सीमा थचारिन पुगेका थिए रवीन्द्र । शेरचन के बसेका मात्र थिए, हीराचन पनि टुप्लुक्की हालेँ । तीनतारे, चारतारे, पाँचतारेमा नै प्रायः जम्ने हो तर बेकरीक्याफे पनि कहिलेकाहीँ छनोटमा परिहाल्छ । स्वाद लिने नै हो ठाउँठाउँको । केही न केही फरक हुन्छन् नि आइटम पनि । रवीन्द्रले प्रायः चाखिसकेका छन् सबैतिरका । दिनदिनै कतै न कतै स्वाद लिने हो । यतिखेर केही फुर्सद पाएका छन् रवीन्द्रले । मन्त्रीको अघिपछि जहाँ पनि सँगसँगै पुग्नुपर्ने हस्याङफस्याङ । मन्त्रीले अह्राएका । धेरै काम आफैँ फत्ते गर्थे । मन्त्रीले पूरै जिम्मा दिएका थिए । सुरुसुरुमा त प्रायः नसोधी कुनै पनि काम गरिहाल्न हिच्किचाउँथे तर मन्त्रीले नै खास सोधिरहन नपर्ने, आफैँ भन्ने/गर्ने भनेपछि रवीन्द्र बढी हौसिएका थिए ।
गुरुङ, लामा, थापा, कार्की, भट्टचन धेरैले दररेट, भागबारे पूरै स्पष्ट पारिसकेकाले रवीन्द्र झन् उत्साहित भएका थिए । त्यसमाथि मन्त्रीले सचिव, जीएम, डाइरेक्टरलाई तुरून्त काम गर्ने गराउन रवीन्द्रले भनेअनुसार गर्ने भनेर कान फुकिसकेका थिए । मन्त्रालयले ठूलो क्षेत्र ओगटेको थियो । पर्यटकहरू दिन दुगुना रात चौगुना बढिरहेका थिए । द्वन्द्वको चपेटामा परेको पर्यटन व्यवसाय एकाएक फैलिएको थियो । ट्राभल एजेन्ट, होटल, एयरलाइन्स सबै जागरूक थिए र बढीभन्दा बढी व्यापार भित्र्याउन र आफूतिर खिच्न दौडादौडमा थिए । नयाँनयाँ प्रस्ताव दिनदिनै आइरहन्थ्यो । रवीन्द्रले कुरा बुझिसकेका थिए । जतिसक्दो बढी असुल्नु थियो, असुल्थे पनि । व्यापारी, उद्यमी एक पाइलो अगाडि नै पर्न चाहन्थे, सबै । मुनाफा प्रशस्तै हुने कारोबारको जति भने पनि भाग छुट्याउन प्रायः तयार हुन्थे ।
धेरै काम फत्ते गरिसके पनि केही काम टुङ्ग्याउन बाँकी थियो । तिनै कामबारे थप कुराकानी गर्न शेरचनलाई बेकरी क्याफेमा भेट्ने समय मिलाएका थिए । केही दिनदेखि फुर्सद प्रशस्त भएकाले कोही न कोहीलाई यसरी नै दिनदिनै भेटघाट गरेर कुरा अगाडि बढाउँदै थिए रवीन्द्र । मन्त्रीले बाँकी कामकुरा चाँडै टुङ्ग्याउनु भनेकाले पनि हतारिएका थिए । अर्को मन्त्री, अर्कै पीए आइसकेकाले बाँकी काममा बाधाअड्चन आउन सक्ने त छँदै थियो, केही कामको अगाडि नै भागबण्डा तय भइसकेकोले पनि रवीन्द्र हतारिएको मनस्थितिमा देखिन्थे । ‘कतै काम टुङ्गेन भने पार्टी महासचिवलाई भनेर पनि काम गराएरै छाडौँला, हाम्रै पार्टीको मन्त्री न हो’ भन्दै चिन्तित नहुन शेरचनलाई भनिरहेका थिए रवीन्द्र । आफू भने भित्रभित्रै बढी सशङ्कित नै थिए, हतासिएका थिए ।
पत्रकार पनि हुन् रवीन्द्र । नेताको, व्यापारीको काम लाग्ने आफन्तजनको सम्बन्धमा प्रशस्तै लेखेका छन् । प्रतिपक्ष, सत्तापक्ष जुनसुकै अखबारसँग राम्रै सम्बन्ध छ, उनको । कसलाई वैशाखी टेकाउनुपर्ने, कसको ढन्डेसो सेक्नुपर्ने, कुनचाहिँलाई फकाउनुपर्ने सबैको राम्रै मेसो छ । आन्दोलन, सभा, सम्मेलन, पार्टी, महामन्त्री, अध्यक्षको छेउछाउ प्रायः देखापरिरहन्छन् । अझ टीभी क्यामेरा छन् यताउता भने त नेताको पछाडि उभिएकै हुन्छन् । बेलुकी समाचार प्रसारण हुनुअघि कतिलाई समाचार हेर्नु भनेरै फोन पनि गरिहाल्छन् भने कतिले चाहिँ समाचार हेरेर फोन गर्छन् । ‘ज्यान ठूलै र अग्लै भएकाले केही त अवश्य नै हुँ नि म’ भन्ने केही अहम् सुरूदेखि छँदै थियो रवीन्द्रमा । कतिलाई भन्न पनि थालेका थिए, ‘स-साना काम पट्याउनु भनेको भुसुना मार्नुजस्तै हो मेरा लागि । ठूलै काम पनि अब त मिलाइन्छ, आफ्नै नातेदार मन्त्री छँदै छन्, हेर्दै जाऊ न कसरी पावर खेलाउँछु म । मान्छेले थाहै पाउने छैनन् मैले मन्त्री, नेता नचाएको, एकदम आफ्नै बनाएको ।’ अलिकति राम्रो खाले हृविस्की खान थालेपछि त्यसैत्यसै हौसिन्छन् रवीन्द्र ।
रवीन्द्र राजधानी छिरेको धेरै त भएको छैन । पढ्न नै भनेर आएका हुन् काठमाडौँ । अखिलका विद्यार्थी पनि हुन् । केही नहुने कमजोर आर्थिक अवस्थाका विद्यार्थी बढी अखिलतिर तानिन्छन् । रवीन्द्र पनि तानिएका हुन्, कमजोर भएरै अखिलतिर । विद्यार्थी भएर मात्रै रहन नसकिने भएरै रवीन्द्रले पत्रिकामा संवाददाताको काम थालेका थिए । समाचार सङ्कलन गर्न यताउति हिँड्दाहिँड्दै रवीन्द्रले नेता, व्यापारीको समाचारलाई बढी महत्त्व दिन थालिसकेका थिए । प्रशासन, प्रहरीको पनि नजिक पुगे, केही महिनामै । अतिरिक्त कमाई गर्न पनि जानिसकेका थिए । व्यापार, राजस्व र प्रहरीतिरको समाचार सङ्कलन गर्दा खामभित्र नगद पाउन थाले, रवीन्द्रले । पहिलोपटक व्यापारीले नै दिएका हुन्- खाम, पकेट खर्च भनेर । प्रायः रित्तो रहने रवीन्द्रको खल्तीमा पहिलोपटक नगदसहितको खाम घुसारिदिँदा व्यापारीले, अतिरिक्त कमाई हुने कममा लागेर राम्रै पो गरिएछ भन्ने सोच्दै दङ्गदास भएका थिए, रवीन्द्र । राजस्व र प्रहरीसम्बन्धी समाचार बनाउँदा पनि अझ बढी अतिरिक्त कमाई गरेका थिए । अनि त राजस्वको कर्मचारी, प्रहरी र व्यापारीबीच निकै उठबस गर्न थाले । उनको हाउभाउ, रूपरङ सबै फेरिँदै गयो । पिलन्धरे अनुहार, शरीर हृष्टपुष्ट हुँदै गयो । भङ्गेरे छाती फैलँदै गयो । विद्यार्थीमाझ, पत्रकारमाझ, नेताको अघिपछि पनि उत्तिकै देखापर्थे ।
चुनाव नभएपछि पदाधिकारीहरूको थप म्याद पनि सकिएपछि सरकारले कर्मचारीहरूलाई नै जिल्ला र नगरका सबै जिम्मेवारी सुम्पियो । हरिभक्त शर्मा, कार्यकारी र प्रमुख दुबै पद सम्हाल्न पुगे । आफ्नै भेगको आफ्नै मान्छे प्रशासक, महानगरको प्रमुख व्यक्ति नियुक्त भएपछि रवीन्द्र अर्यालले अन्तर्वार्ता लिने नै भए, लिए पनि । पूरै पृष्ठ ओगटेको अन्तर्वार्तामा हरिभक्तको पूरै जीवनी सङ्क्षेपमा छापिएका थिए । तीनतिर फर्केको तस्बिर पनि ठाउँठाउँमा सजाएका थिए । तीन अर्बको बजेट खर्च गर्दा काठमाडौँ पूरै फेरिने, निकै सफा, हराभरा र सुन्दर बनाउने विचार प्रवाह गरेका थिए हरिभक्तले । महानगरमा भइरहेको ढिलासुस्ती, अनियमितता सबै बढार्ने र स्वच्छ, स्वस्थ बनाउने सङ्कल्प पनि थियो, प्रमुखको । अखबार छापेको दिन ५० प्रति त रवीन्द्रले महानगरको टेबुलटेबुलमा फिँजाएका थिए । प्रमुखको कोठाको टेबुलभरि पनि सजाएका थिए । अन्य ५-७ वटा पत्रपत्रिकामा पनि हरिभक्तको अन्तर्वार्ता, जीवनी छाप्ने चाँजोपाँजो मिलाएका थिए, रवीन्द्रले ।
सञ्चार क्षेत्रमा यत्रो पहुँच भएको रवीन्द्रले प्रेस सल्लाहकार पनि, पीएको काम पनि गर्छु भन्ने रूचि देखाएपछि हरिभक्तले सँगै छुट्टै कोठा मिलाएर चाहिएजति सुविधाको व्यवस्था पनि गरिदिएका हुन् । अझ बीए, बीकम पढिरहेका दुई चेलीलाई महानगरमा जागिर खुवाएर कार्यकारीको र आफ्नो पनि सहयोगीको रूपमा काम लगाउने पनि तय भयो । त्योभन्दा अगाडि नै काठमाडौँभन्दा २०-३० किमी परका स्तरीय रिसोर्टमा पुर्याउन, पुग्न दुबै सफल भइसकेका थिए । महिला भनेपछि हुरूक्कै हुने हरिभक्तसमक्ष यसअघि नै रवीन्द्रले दुई-तीनवटीलाई प्रस्तुत गरिसकेका थिए । आफ्नै कोठामा आफैँले ताल्चा मारेर भित्र भने हरिभक्त र एउटी महिलालाई घण्टौँ छाडिदिएका थिए । आफ्नो मनसाय, चाहना, रूचि सबै बुझिदिने रवीन्द्रलाई कार्यकारी प्रमुख हरिभक्तले एकदम आफ्नो मान्छे ठानिसकेका थिए ।
कुर्सीमा बसेर फोन घुमाउन थाले रवीन्द्र । आउनेलाई चिया, कफी पनि खुवाउन थाले । केही दिनमा नै महानगरको विकासको काम गर्ने ठेकेदारहरूसँग राम्रो हिमचिम बढाउन सफल भए । पाँच प्रतिशतमात्रै भनेर पचास करोड नगरको मुख्य काम जुजुमानलाई नै मिलाउन सफल भए । ‘को-कसलाई कहाँ कति बुझाउनुपर्छ, बुझाउनुस्, ठाउँठाउँमा तर कार्यकारी प्रमुखलाई भने म मार्फत् ५ प्रतिशत भए पुग्छ’ भनेका हुन् रवीन्द्रले । हरिभक्त पनि एक करोड ग्यारेन्टी भएकोमा दङ्गै थिए । ५० लाख बुझाएर आएका थिए उनी, महानगरमा । अर्को ठेकेदारले पनि राम्रै नगद कबोलिसकेकोले चयनको निद्रा सुत्न थालिसकेका थिए हरिभक्त । केही लाखका कामको पनि कमिसन त आइहाल्थ्यो, निकासा चाँडै दिए आफ्नो कमिसन पनि छिट्टै प्राप्त हुने भएर रवीन्द्रले केही महिनामै धेरै चेक कटाउन सफल भए, महानगरपालिकाबाट ।
बेलैमा अधिकांश कमिसन प्राप्त गरेपछि प्रमुखलाई पनि खुसी बनाउन सफल भए रविन्द्र । ठेकेदार त्यसै दङ्ग, आफूमा बढेको उमङ्ग थामिनसक्नु थियो । ५० को पाँच प्रतिशत त २.५ भएन र ! १ नं दिए प्रमुखलाई, १.५ त बाँकी नै रहृयो । अहो ! यत्रो पैसा ! त्यसैत्यसै उम्ले रवीन्द्र, भित्रभित्रै, रौनकै अर्कै भयो । अर्कै चालचलन, रहनसहन । फूर्ति, उत्साह चुलियो । महँगो जग्गा पनि किने, सस्तो जग्गा पनि किने । एक वर्ष पनि नहुँदै हरिभक्तलाई मन्त्रालय सरूवा गरेर के भयो त ! जे गर्नुपथ्यो त्यो सम्पन्न भएपछि दुवै दङ्ग नै थिए । रवीन्द्र भने संसार जित्न सफल भएका थिए । एकाएक चिट्ठा परेजस्तै डेढ करोडको ! आफ्नो भागमा प्रमुखलाई भन्दा ५० लाख बढी पार्न सफल भएकाले रवीन्द्र धेरै उताउलिएका थिए, भुइँमा खुट्टा टेक्नै छोडेका थिए । साथीभाइलाई झिँगा, भुसुना देख्न थालिसकेका थिए र धेरै ठूला र धनी बराबरको आफूलाई ठान्न लागेका थिए ।
कहिलेकाहीँ एक्लै पनि कुनै उचाइबाट काठमाडौँलाई हेर्ने गर्छन् रवीन्द्र । नबनेको घर बनाउनु छ, इन्जिनियरले बनाउला नै नक्सा । काठमाडौँमा बढेका घरहरूजस्तै त के बनाउनु, सोच्दैछन् रवीन्द्र । वरिपरि पहाड छन्, फूलचोकी छर्लङ्ग्ौ देखिन्छ, हिमाल पनि त देखिन्छ, गाउँ देखिन्छ, मोटरबाटो, बत्तीपानी नपुगेको ठाउँ पनि जताततै देखिन्छ । काठमाडौँ उपत्यकाभित्रकै पहाड, खोँचमा गाउँ छ, सुदूरका गाउँजस्तै घर छ, मान्छे छन्, गाईवस्तु छ, कोदो, मकै फल्ने पाखाबारी छ, धान फल्ने खेत पनि छ तर मान्छेले बनाउने भौतिक विकास भन्ने कुरा केही पनि छैन । त्यहाँबाट हेर्दा काठमाडौँ ठाउँठाउँमा गुजुमुजु देखिन्छ । राति त झिलीमिली ! यस्तै हो सहर, यही सहरको, यही बस्तीको बीचमा अरूले नबनाएको घर बनाउनु छ, रवीन्द्रलाई । एकैपटक दुई ठाउँमा दुइटा घर बनाऊ कि जस्तो पनि लागेको छ । जग्गा त सहरतिर पनि, गाउँनजिक पनि जोडेका छन् रवीन्द्रले काठमाडौँमा ।
गाउँमा बिहे गरिदिएका थिए बाबुआमाले एसएलसी पास गर्नेबित्तिकै । त्यो ठाउँमा ती बाहुनी सुहाउँछिन्, यो सहर, यो रमझममा उच्च घरकी एउटी त अर्को बिहे गर्नैपर्छ । हिँडडुल, मनोरञ्जन गरेर मात्रै हुँदैन, एउटी त गतिलो, प्रशस्त दाइजो ल्याउने परिवारको बिहे गर्ने नै अठोट गर्छन् रवीन्द्र । दुईवटी श्रीमती भएपछि काठमाडौँभित्र दुईवटा घर भएको राम्रो । अनि गाडी पनि दुईवटा नै प्रयोग गर्ने, अलगअलग घरमा फरकफरक गाडी ! आईएसम्म पढेकी गाउँकी श्रीमती पनि त बिस्तारै बुझ्दै जान्छे नि, कुरा, चालचलन, रहनसहन सहरको । काठमाडौँबासी सबै गाउँ, पहाड, तराई, हिमालबाटै त आएका हुन् । म आफैं नै यहाँ आएको कति नै भयो र ! पाँच-सात वर्षमा नै काकताली परेर आफ्नै ठाउँमा आफ्नै मान्छे महानगरको कार्यकारी प्रमुख पनि, पर्यटनमन्त्री पनि भएरै त मैले दुई-चार करोड जोड्न सफल भएको हुँ । यसरी नै अरूले पनि रातारात पैसा कुम्ल्याएर काठमाडौँमा यति धेरै घर बनेका ! गाडी कुदेका कति नि ! अनि बैङ्क, फाइनान्स र सहकारी पाइलैपिच्छे ! यस्तै रातारात कमाएका छन् कतिले, सोच्दैछन् रवीन्द्र-परपर क्षितिजसम्म आँखा तानेर ।
एकाएक नजिकै देखिने चौबाटोमा आँखा खुम्चिन्छ, रवीन्द्रको । गाडीले साइकललाई हुत्याएको रहेछ । मान्छेहरू जम्मा भइहाले । बुटवल, भैरहवा झरेपछि अझ काठमाडौँ पुगेपछि कलेज जाँदा अनि काममा पुग्न हिँड्दा एउटा साइकल भए छिटोछरितो हुने थियो, सजिलै भ्याइने थियो । काम गर्दै पढ्दै काम गर्दै गर्नेलाई साइकल भए असाध्यै सजिलो हुने कुरा थाहा थियो रवीन्द्रलाई- सहर नआउँदै, गाउँमा हुँदै । सहर त आए रवीन्द्र तर नयाँ साइकल किन्नसक्ने क्षमता भने थिएन । सामान्य कृषक र पुरेत्याइँ गर्ने परिवारका परे रविन्द्र । जिनतिन सरकारी क्याम्पसमा पढाइ मात्रै पुग्ने खर्च आउने हो, त्यो पनि केही महिनाका लागि, जागिर नपाउञ्जेल तर जागिर पाइहाले पत्रिकामा संवाददाताको । निकै चलाख थिए, केही महिना साइकल चढे पनि, छोडिहाले । बस, माइक्रो, ट्याम्पो चढ्न पुग्ने पैसा कमाउन थालेपछि कार्यालयले दिएको साइकल नचढ्ने निधो गरेका थिए । यतिखेर साइकल चढ्न रहर गर्ने त्यतिखेरको रवीन्द्र ठानिरहेछन् आफूलाई । अनि त्यो ठक्कर दिने गाडी आफ्नै र गाडी चढ्ने मान्छे पनि सम्झिरहेछन् आफैँलाई । साइकल चढ्ने पनि, गाडी चढ्ने पनि आफैँ । साइकल पनि आफ्नै, गाडी पनि आफ्नै । अनि ठोक्किने र ठोक्काउने पनि आफैँ । यतिखेर तिरमिर/भाउन्न भइरहेछ, रवीन्द्रलाई ।
शान्तिनगर-३४, काठमाडौँ
(स्रोत : Madhuparka)