~सरण राई~
उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको साँचो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी ! मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकूँ म पनि (एकै पटक मात्र भए पनि ) पाउन सकूँ र दिन सकूँ ।
पति, छोराबुहारी, छोरीज्वाइँ , नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा, यति धेरै मान्छेहरूको बीचमा घेरिएर बॉचिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक प्रकारले रबिन्सन क्रुसो जस्तो बाँचिरहेकी छु । मेरो कसैसित संवाद भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् । म एक्लो विकल आफ्नो पीर, भाव, इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै खोक्रोरित्तो पुङमाङ जस्तो छु र व्यर्थै बाँचिरहेकी छु— अवास्तविक कृत्रिम, रुखो जीवन, जहाँ चम्किलो जोशजाँगर, उत्साह र प्रसन्नता छैन । पाउनुपर्ने मैले केके नपाएको, नभोगिरहेको र बनावटी दुनियामा नै भट्किरहेको महसुस सधैं भइरहन्छ ।
मैले बाँच्न पाउनुपर्ने जीवन अर्कै खालको हुनुपर्ने हो ।
हो, उनी हाम्रो तीन दसक लामो दाम्पत्य जीवनमा मलाई देख्दा खुसी जस्तो हुन्छन् । मसँग बस्दा रमाएजस्तो देखिन्छन् । छुट्टिँदा विरसिलो जस्तो मान्छन् । मलाई उनी हरतरहले सुखी र खुसी पार्न चाहेजस्तो गर्छन् । मेरा लागि एउटा पतिले पत्नीप्रति गर्नुपर्ने सबै कार्यहरू गर्छन् । तर ती सब उनले खुसी भइटोपलेको, हॉसेजस्तो गरेको, प्रसन्न भएजस्तो गरेको र सबैथोक गरेको गरेजस्तो मात्र गरेको हो भन्ने मलाई लागिरहन्छ ।
उनको मुस्कान, हाँसो, प्रसन्नता, क्रियाशीलता, दायित्ववहन आदि ती सब उनका क्रियाकलाप वास्तविक, प्राकृतिक र स्वाभाविक जस्तो मलाई लाग्दैन । लाग्छ ती सब उनी नाटकमा झैँ अभिनय गरिरहेका छन् । एकदम कृत्रिम, बनावटि । उनी स्वाङ पारिरहेका छन्, नाटक खेलिरहेका छन् ।
अथवा म नाटक हेरिरहेकी दर्शक मात्र हुँ । नाटकको प्रमुख पात्र उनको अभिनय हेरेर नाटकीयतामा रमाउने फगत दर्शक पत्नी हुँ म ।
* * *
मेरो मानसपटमा अचानक धेरै वर्षपहिले घटेको हाम्रो जीवनको एउटा दृश्य देखा पर्छ । म र उनी प्रेममा फसेका दुई सुन्दर युवाहरू । मलाई लागेको थियो म उनीबिना बाँच्न सक्तिनँ । उनलाई पनि लागेको थियो, उनी मबिना बाँच्न सक्तैनन् । तसर्थ प्रेममा अथवा बैंसालु आकर्षक मायाप्रीतिमा फसेका हामी विवाहबन्धनमा बाँधिन्छौँ । यस्तो बन्धनमा बाँधिँदा मैले सम्झेको थिएँ हाम्रो प्रेम सफल भयो । उनले पनि त्यस्तै भनेका थिए, हाम्रो प्रेम र सपना साकार भयो ।
समयको अविरल प्रवाहमा बग्दाबग्दै म तीन छोराछोरीकी आमा भएँ । अहिले त म छोराबुहारी, छोरीज्वाइँ , नातिनातिनाहरूको धनी भइसकेकी छु ।
अरूले देख्दा हामी बीचको दाम्पत्य प्रेम आदर्शमय देखिन्छ, इष्र्यायोग्य देखिन्छ ।
मानिसहरू सम्झन्छन्, हामी दाम्पत्य प्रेमले प्रचुर मात्रामा सिंञ्चित हराभरा सफल जीवन गुजारीरहेका आदर्श जोडी हौँ । जीवनमा प्राप्त गर्नु पर्ने प्रेम पाएर धन्य धन्य भएका छौँ । तर वास्तविकता वा यथार्थ त्यस्तै छ त ? मनमनै सोध्छु आफैँलाई ।
विवाह भएको एक वर्षसम्म हामी यति धेरै खुसी र सुखी थियौँ कि त्यही एक वर्ष जीवनभरि बाँच्न र कल्पनाको लागि सामल बन्यो । हामी त्यतिबेला एकसाथ हाँस्थ्यौँ , रुन्थ्यौँ एकसाथ । हामी दुई शरीर एक प्राण भएका थियौँ मानौँ हामी दुई एकमा एकाकार भएका थियौँ ।
बिस्तारैबिस्तारै हाम्रो प्रेम व्यावहारिक जीवनको ज्वालामा परेर ओइलिनखुइलिन थाल्यो । प्रेममा कहाँ प्वाल प¥यो, किरा लाग्यो कि ? हामीबीच जीवनपर्यन्त अमर प्रेम रहन्छ भन्ने विश्वास क्षणभरमै खरानी भयो । दिनरात हामी एकअर्कामा खोट र अपूर्णता देख्न थालेका थियौँ । प्रेम जति मजाले पूर्णतासाथ एकअर्कालाई ग¥यौ“, घोचपेच, घृणा, तिरस्कार, झगडा र वैमनस्यता पनि पूर्णताका साथ नै ग¥यौँ । सहनुको पनि सीमा हुन्छ । सहन नसकेर एक साँझ म घर छोडेर निस्किएँ । उनी भन्दै थिए, ‘घर छोडेर नजाऊ । जान्छौ भने फेरि कहिल्यै फर्केर आउन पाउन्नौ ।’
मैले उनको कुराको वास्ता गरीनँ । घृणाको थुक थुक्दै म घरबाहिर निस्किएँ । भोलिपल्ट घर फर्किएँ । रिसले काम्दै उनले सोधे, ‘कहाँ गएकी थियौ ? कोसित रातभर सुतेर फर्कियौ ?’
‘साथी मेनकाकहाँ बसेर आएकी छु ।’ नम्र भएर जवाफ दिएको थिएँ ।
‘मेनका कि विश्वमित्र ? त्यो असोकेसँग रातभर खुब रङ्गरङ्गेलिया मनायौ ?’
असोक विवाहअगाडि मलाई मन पराउने एउटा युवक थियो । मेरो चरित्रमाथि त्यत्रो आशङ्का ? म रिसले आगो भएँ । जङ्गिएर भनेँ , ‘मेरो मन, मेरो शरीर… मेरो खुसी । सुतेँ नै भने पनि के गर्न सक्छौ ?’
‘म तिमीलाई घरबाट निकाल्छु । तुरुन्तै निस्किहाल ।’ मलाई उनले जबरजस्ती घर बाहिर निकालेर ढोका लगाए । फेरि घर भित्र पस्न दिएनन् ।
मान्छेको चित्त । म उनी इष्र्याले जलेको हेर्न चाहन्थेँ , तर म त्यस्तो परिणामको आशा गरिरहेकी थिइनँ । म कुनै पुरुषसँग लागेकी थिइनँ । उनी मलाई अर्को लोग्नेमान्छेसँग लागेको लाञ्छना लगाएर नीचा देखाउने कोसिस गरिरहेका थिए । त्यसपछि मेरो उपाय समाज, मण्डली, ठाना, कचहरी मात्र थियो । मेरा बाबु, माइती, नातागोता, इष्टमित्र र साथीभाइहरूको निकै दिन हामी दुईको मेल गराउन सभा, कचहरी र छलफलमा बित्यो ।
म त्यो समयमा छुट्टिएर बस्न पनि सक्थेँ । छुट्टिन नसक्नुको कारण मेरो गर्भमा उनको सन्तान बढिरहेको म दुई जीउकी गर्भवती थिएँ । त्यसै हुनाले पनि अन्तमा हाम्रो मेल भयो । अरूले देख्दा बिग्रेर रोकिएको गाडी फेरि चल्न थाल्यो । हाम्रो दाम्पत्य जीवन अगाडि बढ्न थाल्यो ।
झिमिक्क आँखा गर्दाझैँ आज सम्झँदा तीन दशकको लामो समय बिति सकेछ । अहा, तीन दशक लामो हाम्रो दाम्पत्य जीवन, म र उनी । प्रेम विश्वासको जगमा अवस्थित हुन्छ । एकअर्का प्रतिको हाम्रो विश्वास र भरोसा मक्किसकेको थियो, फिका भइसकेको थियो । देखाउनका लागि हामी प्रेमले भिजेको दाम्पत्य जीवन गुजारिरहेको आडम्बर गथ्यौँ । सुखी र खुसी देखिनेदेखाउने नाटक खेलिरहेका हुन्थ्यौँ ।
* * *
आज धेरै वर्षदेखि म आफैलाई सोधिरहेकी छु— के मैले चोखो प्रेम पाएकी छु ? प्रेमको स्वाद चाखेकी छु ? विपरीतलिङ्गीबाट पाइने प्रेम, सुख र जीवनरस पाएकी छु ? साँचो हाँसो र रोदनको वास्तविक स्वाद चाख्न पाएकी छु ? जीवन नाटक नहुनुपर्ने हो । भित्री अन्तरकुन्तरको गहिराइभित्र अवस्थित चेत, विवेक र विश्वासले जीवनलाई स्वगति दिइ स्वचालित चलायमान गर्नुपर्ने हो । तर कसरी मानिस यन्त्रवत नाटकिय पात्रमा रूपान्तरित हुँदो रहेछ ?
मेल भइसकेपछि हाम्रो दाम्पत्य जीवन हेर्दादेख्दा स्वाभाविक रूपमा चलेको लाग्थ्यो । एउटा पत्नीले गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरू म पालना गरिरहेकै थिएँ र छु । उनी पनि पतिले पालना गर्नुपर्ने सबै दायित्वहरू पूरा गरिरहेकै थिए र छन् ।
हामी दुई पतिपत्नीको रूपमा एकसाथ बसिरहेका छौँ । एकले अर्कोलाई देखाउनुपर्ने सबै हार्दिकता, प्रेम वा दायित्व निर्वाह गरिरहेका छौँ । तर प्रेमका काकाकुल हामी ….। मलाई किनकिन लागिरहेको हुन्छ, उनी मसित जुन प्रेम गर्छन्, दायित्वनिर्वाह गर्छन् त्यो एउटा नाटकमा पतिपात्रले निर्वाह गर्नु पर्ने भुमिका जस्तो मात्र हो । उनी मसित सन्तुष्ट, खुसी र सुखी भएजस्तो देखिन्छन्, बनावटी र देखावटी हो, कृत्रिम हो । किन मलाई त्यस्तो अनुभूति भित्री हृदयको अन्तरकुन्तरमा अज्ञात रूपमै भए पनि भइरहेको छ ? त्यसले मलाई मेरो जीवन सारा ब्रम्हाण्डभन्दा गरुङ्गो बोझ बनेजस्तो लाग्छ । जीवन असफल, निरस, निष्फल भएको भान गराउँछ । म भित्रभित्र जलिरहेको करुण भावलाई शीतलता प्रदान गर्न नसक्दा छटपटिएर कोहीबेला रुँदै, कहिले हाँस्दै, कहिले गम्भीर हुँदै उनलाई मैले धेरै पल्ट सोधेकी छु, ‘ के तिमी मसित सन्तुष्ट र सुखी छौ ?’
‘म सन्तुष्ट छु । सुखी छु ।’ उनी सधैं जवाफ दिन्छन् । ‘एक स्त्रीबाट एक पुरुषले पाउने सम्पूर्ण कुराहरू मैले भन्दा बढी अरू कसले पाएको होला र ?’
मलाई अझै लागिरहेको छ, उनी ढाँटिरहेका छन्, उनी नाटक गरिरहेका छन् । पति प्रेमी वा आफ्नो एक मात्र पुरुष मानेर उनलाई मैले एउटी स्त्रीले दिनुपर्ने पुरुषप्रतिको सम्पूर्ण प्रेम, समर्पण, सुख र अरू सबथोक दिने कोसिस गरेँ । आफूसित भएको दिन सकिने सबथोक दिएँ । तर उनी अझै मसित सन्तुष्ट, प्रसन्न र प्रफुल्लित भएझैँ लाग्दैन । उनी सधैं प्रसन्न, प्रफुलित र सन्तुष्ट भएको स्वाङ् पार्छन्, नाटक गर्छन् ।
जीवनभरिको यो एउटा नमीठो, अप्रिय र विरसिलो अनुभूतिको भावले मेरो र उनको जीवन खोक्रो बनाइदिएको छ । मलाई सधैं यस्तो लागिरहन्छ, क्षणिक उत्तेजनामा गरेको सानो गल्तीले पनि जीवन मरुतुल्य उजाड, शुष्क र निरस बनाउन सक्तो रहेछ । झुक्किएर पनि गल्ती नहोस भनेर सजग हुँदा, भइरहँदा जीवन झन्झन् आडम्बरी, कृत्रिम, बनावटी, नक्कली र नाटकीय बन्दै गइरहेछ । यो खोक्रो नक्कलीपनले झन्झन् मलाई पतझड बनाइरहेको छ । किन मलाई यस्तो लागिरहन्छ ?
गणितमा जस्तै मानिलिऊँ , मैले अर्कै मानिससँग विवाह गरेको भए ? कसैसित विवाह नै नगरेको भए ? जीवनको कुनै स्पष्ट भिन्नता देखा पथ्र्यो होला ? मानिलिऊँ , मानिलिऊँको यथार्थमा कुनै मतलव हुँदैन तसर्थ त्यसरी कल्पना गर्नु पनि व्यर्थ छ, तर पनि मन कुनैकुनै बेला बहकिन्छ । बहकिँदा मृगतृष्णाको आनन्द अनुभव हुन्छ । कल्पनामै भोगिरहेको र नभोगेको जिन्दगीको तुलना हुन्छ जसले फेरि असाध्य दुःखी बनाउने गर्छ— जीवन फेरि सुरु गर्न पाए !
जीवन फेरि पनि यस्तै हुन्थ्यो ? जीवन फेरि पनि आडम्बरभित्र अल्झेकै हुन्थ्यो ? आ…. म यो केके सोचिरहेकी ? बेकार नदुखेको कपाल चोयाले बॉधेर दुखाउनु । नभएको नपाएको कुराहरूको सोधीखोजी, नभोगेको अनुभवको तिर्सना, पूर्णता प्राप्तिको भ्रम, नियतिको बिडम्बना, जीवनको मृगमरीचिका, अति महŒवाङ्क्षा, लालसा जस्ता कुराहरू दुःखका स्रोत रहेछन् क्या र ?
भएकोपाएकोलाई नै सर्वस्व मानेर सांसारिकतामा क्रियाशील भइरहनु उत्तम भनेर नै नक्कली प्रेमको, मायाको, जीवनको नक्कल अभिनय गरिरहेका हुन्छौँ हामीहरू.।
उनको मनभित्र साँच्चै म पस्न सकेकी छैन । बुझ्न सकेकी छैन उनको मन । उनी मेरा पूर्वप्रेमी थिए । हामीबीचको अस्वाभाविक कलहपछि उनी मेरा पति मात्र रहन गए । प्रेमीसमेत रहिसकेका पतिको मनपेट अझै मैले बुझ्न सकेकी छैन । कस्तो यो मेरो दुर्भाग्य ! मान्छेको मन बुझ्न असम्भव हुँदो रहेछ ।
सायद अझै पनि म पूर्ण रूपले उनी प्रति समर्पित हुन सकेकी छैन । उनीमा समाहित हुन सकेकी छैन । मन अनौठो हुन्छ । नचाहेको कुरो ठ्याम्मै गर्न मान्दैमान्दैन । म पनि त उनलाई प्रेमीको रूपमा हेर्न सक्तिनँ । उनी पनि मलाई प्रेमिकाको रूपमा हेर्न सक्तैनन् होला र त उनी नक्कली प्रेमको अभिनय गरिरहेका छन् अथवा हुन सक्छ म नै भ्रान्तिमा छु । मैले जुन मानवप्रेमको रूप, चित्र, स्परूप वा प्रकृतिको कल्पना गरेकी छु त्यो अवास्तविक छ । यो जगतको क्षणभङ्गुर जीवनमा कसले पो त्यस्तो शाश्वत प्रेम पाएको होला र ?
प्रेमविहीन मेरो बितेको शुष्क जीवन सम्झँदा रुन मन लाग्छ । तर रोएर नि के फायदा ? जो बित्यो, बितिसक्यो । जीवन फेरि प्रारम्भ गर्न सकिने होइन । रोएर, हाँसेर वा पश्चात्ताप गरेर त्यसमा सुधार गर्न सकिने होइन । नाटक जस्तै नाटक गरेर मेरो अनमोल जीवन तुरीन लागेको छ । वृद्ध भइसकेका हामी अझै पनि अरूहरूका अगाडि नाटक खेलिरहेका छौँ देखिनका लागि सुखी हुनुको, प्रेममय हुनुको ।
म उनलाई प्रेम गरिरहेकी, एक नारीले पुरुषलाई गर्ने समर्पण गरिरहेकी नाटक गरिरहेकी छु । उनी पति भएकोले एक पुरुषले नारीप्रति गरिने प्रेम, दायित्व, त्याग र समर्पण गरिरहेको अभिनय गरिरहेका छन् । यहाँ सबै मानिसहरू नाटकमा झैँ प्रेमी वा प्रेमिकाको, पति वा पत्नीका, पिता वा आमाको, छोरा वा छोरीको, साथी वा दुस्मनको अनेकौँ समयानुकूल विभिन्न पात्रहरूको कलात्मक अभिनय गरिरहेका छन् । सब नाटक खेलिरहेका छन् । भ्रान्तिको सागरमा रुमल्लिएर मानिसहरू भ्रमवश सोधिरहेका छन्— सत्य के हो ? यथार्थ के हो ?
विशुद्ध जीवन चाख्नभोग्न नपाएकोमा मन चाउरिन्छ । चिथोरिएको हृदयको घाउबाट रगत, पीप र आँसु बहन्छ । दुख्छ, दुखेर पनि रुन सकिन्न । हाँसिरहेको, बाँचिरहेको स्वाङ पार्नैपर्ने बाध्यकारी परिस्थितिमा थोरै अभिनय गर्दा अरूलाई र आफूलाई पनि फायदा हुन्छ भने किन नगर्ने ? किन जीवन–नाटकमा विविध पात्रहरूको भुमिका नखेल्ने ? त्यसैले होला मेरा पति मायालु पतिको भुमिका मन नलागिनलागि पनि निभाइरहेका छन् । म पत्नीको… । च्च…च्च…जीवन, कठै बरा बिचरा ! नाटकीय कलाशिल्प अभिनय गर्दागर्दै हेर्दाहेर्दै लहैलहै र ख्यालख्यालमा बितेछ ! के जीवन यस्तै नाटक हो ?
कि संसारै अधुरोअपुरो जीवनको कृत्रिम कलाशिल्प मञ्चन गर्ने एउटा रङ्गमञ्च हो ?
(स्रोत : Ramkrishnakapana.blospot.com)