कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~

Subisudha Acharya

Subisudha Acharya

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्वि, भएपछि कसको के लाग्छ र < जव दमको कारण भैरवका बुबाले संसार छाड्नु भयो त्यसपछिका दिनहरुमा त्यसको असर परिवारमा त कति प¥यो कुन्नि तर खेतबारीमा भने प्रसस्त नै प¥यो । अझ भन्नु पर्दा खेतबारी त हुनसम्म टुहुरो नै भएँ ।

हातमा आधी फाटेको घुम बोकेर पछाडि खुर्पेटोमा खुर्पा ट्याक्¥याक ट्याक्¥याक पार्दै बुढा झिसमिसेमा खनायो बिडी झरी सकेका हुन्थे, मकैको रोटी सालको पातमा पोको पारेर कम्मरको पटुकीमा बाध्थे, भोक नलागुन्जेल खेतको गह्रामा कोदाली र कोदालोसँग खेल्दैमा ठीक हुन्थ्यो । जव भोकले पिरोल्दै ल्याउँथ्यो, तव खेतको आलीमा बसेर टिमुर मिसाएको नुन खुर्सानीसँग मकैको रोटी पुकक्याउनु दिनचर्या नै हुन्थ्यो । दिन ढलेर साँझ पलाई झ्याउँकिरी बासी सक्दा पनि उनको घर फर्कने कुनै मेसो हुँदैनथ्यो ।

सिन्धुरे सन्ध्यामा छाम्छाम् छुम्छुम् गर्दै सालको चिउला बटुल बाटुल पारी एउटा मुठो बनाउँथे र पटुकाको नाम्लो लगाएर घर फर्कन्थे, छोरा छोरी खाना खाएर बिच्छ्यौनामा घुर्न थाल्दा बल्ल उनी पिंढीमा स्याउलाको बिटो फ्याँकेर फलैचामा सुस्ताउन पुग्थे । अगेनाको छेउमा बिंडी तान्दै उनकी श्रीमती पर्खिरहेकी हुन्थिन् । उनी घर भित्र पसेपछि कर्कलाको गाबोमा गुन्द्रुक मिसाएर पकाएको तरकालि र कोदाको अरलो भएको ढिडो भाग लगाउँथिन् । बिचरा बुढा दिनभरीको थकाइ भुलेर चार गाँस तातो टिप्थे र बिच्छ्यौनामा पल्टन्थे । “हैन हे बुढा आजभन्दा भोली भन्दा तपाईंको उमेरले डाँडा काट्दै छ छोराहरुलाई खेतीपातिको कुनै चिन्ता र ध्यानै छैन बुढो हड्डीमात्र कति घोटिरहनु हुन्छ ? न घाम भनेको छ न पानी भनेको छ, यसरी जोतिरहदा थला पर्नु भयो भने के गर्ने ?” बिडीको सर्को तानेर धुवा उडाउँदै बुढिले भन्छिन् ।

“के गर्छेस त बाबै जेठोलाई घरतिरको काम भैसींको स्याहार सुसार, डेरी जाँदैमा फुर्सद छैन । कान्छो शहरतिरै छ मैले पनि लत छाडे भने त खेतको बिजोग हुन्छ, सकेर गरेको त कहाँ हो र नमेको आमा मैले पनि, जोरी शत्रु सबैका हुन्छन् उनीहरुको अगाडी खेतमा दुबो उमारेर हँसाउन भएननी ” । दलीनलाई नियाल्दै बुढोले जवाफ दिन्छन् । “आ बरु बेचिदिनुस् त्यती टाढाको ढिकुरो, सधैको दुःख सधैको सास्ती, सधैको झमेला, बरु त्यही बेचेको पैसामा थपथाप पारेर नजिकै कुलो लाग्ने खेत जोडांैला ।” “भन्न त भन्छेस् नाइ नमेकी आमा भन्न र गर्नमा धेरै फरक छ, त्यो खेत पुर्खाको छाला हो बाबै, त्यसैमा लडिबुडि गरेर भातको सिता देख्न पाएका छांै । आफूले बेच्न खोज्दा सिनोको मोल पर्छ किन्न खोज्दा भने हिराको टुक्रा झैं पर्छ, मेरो ज्यान रहुन्जेल त म मरे पनि यो खेत बेच्न दिन्न बुझिस् ।” बिचरा नमेका बुबा त्यसै भन्थे । नभन्दै उनी बितेको वर्षदिन बित्न नपाउँदै नमेका दाजुभाईले ज्यामिरेको खेत बेचे ।
अव त कान्छो पनि गाउँमा नै रहँदै बस्दै आएको छ, घरमा प्राय सधै जसो झगडा पर्छ कहिले दाजुभाईबीचकहिले आमा छोराबीचत कहिले जेठानी देउरानी बीच, एउटै भएको ज्यामिरेको खेत बेचिहाले अव बाँकी रहेको बारीमा काम गर्न पनि बुढि आमा अगाडी लागेर नजाउन्जेल सम्म कोहि अघि सर्दैन थिए । रातदिनको घर झगडाले छिमेकीसम्म वाक्क भैसकेका थिए । एकदिन गाउँ समाजको भेला गराएर दाजुभाइ भिन्नै बसे । बारी भागबण्डा भयो, घर बिभाजन भयो, घर बिभाजन नभएर के गरुन्, बाबु बाजेको पालादेखिको एउटै मात्र घर थियो त्यसैले एउटा मात्र भएको घरको छिडी र बुइकल जेठालाई, चोटा र मटान कान्छाको भागमा प¥यो । घर भित्रको अन्नपात, भाँडाकुँडा पनि सबै बाँडियो । अव बाँड्न बाँकि थियो त त्यही ज्यामिरे खेत बेचेको पैसा, बुढि आमाले त्यो जीउनी बेचेको पैसा नबाडौ, बाडेपछि हिनामिना हुन्छ त्यस पैसाले बरु अर्को खेत किनौं भनेको तर छोराहरुले पटक्कै मानेनन् । अन्तमा समाजका मान्छेले नै दुई छोरा र आमा गरी तीन भाग लगाई दिए । तीनजनाको भागमा एक एकलाख प¥यो । बुढि आमाले त सम्झाएकी हुन्, त्यही पल छोराहरुलाई “यो रकम कति ठूलो हो र बाबु हो मलाई थाहा छ अव तिमीहरुले यो पैसा सबै मासेर सक्छौ एउटा छोरा भखर्र बिद्यालय पढ्ने भएको छ अव कलेज पनि पढाउनै पर्ला, विवाह पनि गर्नै पर्ला, अर्कोको त भखर्र विवाह भएको छ बच्चा जन्मन बाँकि छ, सुत्केरी पन्छाउन देखि लिएर हुर्काउन, बढाउन पैसाकै खोला बगाउनु पर्छ । आफूले कमाएको पैसा त बचत गर्नु पर्ने बेला यो खेत जस्तो बेचेको पैसा हिनामिना नगरेस् है बाबु हो ।” बुढिको गन्गन् सुनेर जेठो छोरा भैरव आँखा पर्लक्क पल्टाएर हिँडेको थियो भने कान्छोले ओठ लेप्राएको थियो । एउटै घरमा दुईवटा चुला, एउटै परिवार दुईतिर हुँदा मन त दुखेकै थियो बुढि आमाको तर के गर्नु कसले बुझोस् उनको इच्छा, उनको चाहनालाई, छोराछोरी आ–आफ्नै तालमा थिए । बेलाबखत बुहारीहरुलाई भन्थिन् बुढिआमा– “दुलही नारी भनेको त घरको गहना हुन् भैरव र नमेले घरलाई लथालिङ्ग बनाउन लागेपनि तिमीहरुले सम्हाल्नु, बोसो चिमोटे जस्तै गर्दा गर्दै पैसा सकिएला, शहरका मान्छेहरुका लागि त एक दुई लाख केही पनि होइन तर हामी माटो कोरीको लागि त एक लाखको मुख हेर्न युगांै पर्खनु पर्छ । त्यो पैसाले बेलैमा सानोतिनो जोगमेलो ग¥यौ भने जसोतसो जिविका धान्न सजिलो होला नत्र त छोराछोरीको भविष्य अन्धकारमय हुनेछ । बुझ्यौ ।

” सासुको अर्ति बुहारीलाई बिष झैं लाग्दो रहेछ क्यारे आँखा तर्दै लाखा पाखा लाग्थे । बुढिलाई जेठाको भन्दा कान्छाको भविष्य प्रति चिन्ता लाग्थ्यो त्यसैले उनी कान्छो छोरासँग नै बसेकि थिइन् । हुन त जति नै जुगामुठे भएपनि बाबु आमाको नजरमा सन्तान बालक नै हुन्छन् । दिन बिस्तारै बित्दै जाँदा छोराहरुको लवाइ खवाइमा परिवर्तन आउन थाल्यो । दाउरा खोज्न जान कान्छी बुहारी वन जान नसक्ने अरे । इस्टप किनेर ल्याइयो, “भदाको विवाहमा जानु छ एकजोर गतिलो गहना र कपडा छैन । उता आफ्ना दिदी बहिनी छपक्कै सुनले छोपिएर को भन्दा को कम भन्दै आउँछन्, म भने सधै माग्नेको चाल कति खिसी गर्छन् । यो पटक त गहना लुगा जोडदिनु पर्छ है । जेठि बुहारी भैरवलाई टोकसो गर्थिन् ।” भएसम्म आफ्नो जहान परिवारले नराम्रो लगाओस् नमिठो खाओस् कसले चाहन्छ र ? भैरवले श्रीमतिलाई गहना लुगा किनेर ल्याइदियो । “बाबा सबै साथीहरु माउन्टेन बाइकमा स्कुल आउँछन् उनीहरुको कत्रो शान छ, म भने सधै धोक्राको झोला बोकेर मरेको बिरालो काखि च्यापेर ठिमीको उकालो लागे जस्तो कति स्कुल जाउँ । माख्लो गाउँको श्यामले गियरवाला साइकल आधा मोलमा बेच्छु भनेको छ, किनांै है बाबा ।” भैरवले छोराको चाहनाको गला दवाउन पनि सकेन । छोरालाई गियरवाला साइकल किनिदियो ।

कान्छाको घरमा भने दाउरामा भात पाक्न छाडिसकेको थियो । बारीका सागसब्जीको तरकारी पाक्नु भन्दा बजारकै चना, केराउ, अण्डा साथमा एक दिन बिराएर लोकल कुखुराको मासु पाक्थ्यो । नयाँ क्यासेट झ्यालमा राखेर गाउँ थर्काएर बजाउँथे । घरमा बनाएको खाजा खानुको अलावा बजारको चाउचाउ, चिउरा,बिस्कुटका पोका ओसार्थे । दाजु भाइको खुव देखासेकि नै चल्यो । एक एक पाटा बारी भागमा परेको त्यही बारीमा काम गर्न पनि ज्यालामा खेताला लगाउन थाले । छोराहरुको चर्तिकला बुढि चुपचाप हेरि रहन्थिन् । बोल्यो भने नजाती भइने, चोथाले भइने, गन्गने भइने डरले अव त बुढि चुपचाप नै थिइन् । “न मच्चिने पिङको सय झड्का हिड्न नसक्ने मान्छेको लामो फड्का” गाउँका मान्छे उनीहरुको चर्तिकला पचाउन नसकेर यसै भन्थे । हुन पनि हो बाबुको पालामा तीन भाग भएको जग्गा जमिन एकै ठाउँमा थियो त एउटा खेताला नहाली बुढाबुढिले काम गर्थे, तर अहिले त बारीमा काम गर्न जान घामले पोल्छ रे । कतिसम्म सुकुम्बासी भएका होलान् ।

भैरव र नमेको टाइफाई एकवर्ष भन्दा बढि टिक्न सकेन । आखिर पानी चलाए जस्तरी खर्च गर्ने हो भने जाबो एकलाख रुपियाले कति कति दिन टिक्न सकिन्छ र ? ज्यामिरेको खेत बेचेको पैसा हेर्दा हेर्दै झ्वाम् भयो । बाँकी छ त केवल बुढी आमाको भागमा रहेको एकलाख, त्यो पैसाको लागि एकातर्फ छोरीहरु र अर्को तर्फ छोराहरु ब्वाँसोले झैं र्याल चुहाउने गर्थे । कान्छोसँग बसेकी आमालाई जेठो आफूकहाँ बसोस् भनी नाना तरहले फकाउन थालेको छ भने उता छोरीहरु पनि बेला मौकामा चिल्लो लगाउन बाँकी राख्दैनन् ।

बुढि आमा हैरान भैसकिन् कुनै दिन भुटेको ठेस्ना मकैले नपत्याउने बुढिलाई बुहारीहरु फुल तारेर, चाम्रे पकाएर हानथाप गरी खाजा खुवाउन थालेका छन् । कुनै बखत ओच्छ्यान पर्दा महिनौ लगाएका कपडा पनि फेरेर पखाली दिने मान्छे भएन आजभोली दिन दिनै हानथापमा फरीया धोइन्छ, कपालमा जुम्रा हेर्नेको पनि पालो पाइ साध्य छैन शहरबाट मिठाइको पोका पनि ओसारिन थाल्यो बुढिका लागि, घुम्दै फिर्दै रुम्जाटार भने झै कुरा त्यही एकलाखको थियो । दुबै छोराहरु पालैपालो आमासँग पैसाकै बिषयमा कुरा उठाउँथे । तर उनी बिभिन्न बहाना बनाएर टारी दिन्थिन् । यसैबीचजेठाको छोरा एस.एल.सी.पास गरेर कलेज पढ्न शहर भित्रिएको थियो । “घरबाट पठाएको पैसाले एक छोप पनि लागेन, शहरको ठाउँ महङ्गीले आकास छोएको छ हजुरआमा केही पैसा पाए म ब्यापार गर्ने थिएँ । साथीसँग मिलेर पाट्नरसिपमा ब्यापार गर्ने सोच बनाएका छौं त्यो ब्यापार नाफामा चल्ने सय प्रतिशत सम्भावना छ, यदि ब्यापार राम्रो चले त हामी रातारात करोडपति हुन्छौं त्यस्तो जावो लाखको त के कुरा फेरी ज्यामिरेको जस्तो खेत त कति हो कति किन्न सकिन्छ प्लिज हजुरआमा मलाई त्यो तपाइको एकलाख दिनुस् है ।
” नातीले पिलपिलाउँदो मुख लगाएर भन्छ, भन्छन् नि मान्छेलाई बोटको भन्दा फलको माया र साउँको भन्दा ब्याजको माया लाग्छ रे शायद त्यही भएर होला छोरा र छोरीले मरिहत्य गर्दा पनि पगाल्न नसकेको मन नातिले एकै पटकमै पगाल्यो । ब्यापार ब्यवसायमा काम गर्छु बाबुले लथालिङ्ग बनाएको घरबार सम्हाल्छु भन्दा नदिने कुरै आउँदैन । फेरी बैंकमा सस्तो ब्याजमा पैसा राख्नु भन्दा त नातीलाई ब्यापार गर्न दिनुमा नै कल्याण ठानी भएभरको पैसा नातीको हातमा राखिदिइन् । आमाले पैसा भतिजोलाई दिएर पठाएको थाहा पाएपछि कान्छो छोरा र बुहारी त हुनसम्म आगो भए । आफूले मरिहत्य गर्दा पनि फुत्काउन नसकेको पैसा भतिजोले एकै पटकमा फुत्काएर लगेको देखि कान्छा र कान्छि भित्र भित्रै मुरमुरीन थाले । जुन पैसाकै लोभले आमालाई आफूसँग राखेका थिए अब पैसा नै नभएपछि किन राख्ने, बुढिआमाका मालताल सहित कान्छाले आमालाई घरबाट निकालीदियो ।

बुढिको पैसा जेठाको छोराले लगेको थियो, बाबु र छोराबिच सम्झौता त हुने नै भयो । शायद त्यसैले होला बुढि जेठाकोमा बस्ने भइन् । उता ब्यापार गर्न भनेर नातीले लगेको पैसा मोजमस्तीमा उडाउन थाल्यो । केही पैसाले थोत्रो मोटरबाइक किन्यो जसमा केटीहरु राखेर दिनहुँ जसो रेष्टुरा जानु नातीको बानी थियो । काठमाडौंको ठाउँमा जावो एक लाखले कति दिन चल्छ र त्यो पनि फुर्मास खर्च गर्न दुई तीन महिनामै पकेट टाट पल्टियो । घरमा गए हजुरआमाले ब्यापारको बारेमा सोध्छिन् भनेर नाती अव त घरमा जानै छाड्यो । यता बुढिलाई जेठो भैरब र उसकी श्रीमतीले त्यती राम्रो ब्यवहार गर्दैन थिए । खाना बनाएर भाग लगाइन्थ्यो तर खाना खान बोलाउने चलन थिएन । कस्तो दुर्भाग्य आफूले जन्माएको आफ्नै छोराको आँखाको कसिङ्गर बन्नु पर्ने बेलापनि आउँदो रहेछ । एकलाख पैसा हातमा रहुन्जेल फुल तारेर, मालपुवा र चाम्रे, बिस्कुट र चाउचाउ खाजा खुवाउने ति हातहरुले अव त उमालेका पानी समेत पत्याउन छाडि सकेको थियो । संसारमा रगतको नाता, आफनत्व, माया, ममता भन्दा ठूलोधन रै‘छ भन्ने कुराको प्रमाण ति बुढिलाई लिन सकिन्थ्यो ।

सबैको घरमा चाडबाड आउँछ, सपरिवार हाँसी खेली मिठो मसिनो बाडेर खान्छन् । भैरव कहाँ भने आफूहरु भित्र चुलामा खान्छन् र बुढिलाई भने अछुत, मगन्तेलाई जस्तो बाहिरै पिढीमा खाना लगिन्छ । मीठो नमीठो पुग्यो पुगेन, कोहि सोध्न आउँदैनन् । भन्छन् छोरा जन्माउनु पर्छ बुढेसकालको सहारा हुन् ति, तर भैरव र उसको भाइले सन्तानको कर्तब्य निभाएको खै त ? के प्रत्येक बाबु आमाले त्यस्तै दिन देख्नको लागि सन्तानको जन्म दिन्छन् वा खाइ नखाई हुर्काइ बढाई गराउँछन् । बुढि यहि सोचाइमा आफूलाई डुवाएर समय बिताउँछिन् । बुढा बितेको सात वर्षको अवधिमा बुढिको आङ्गमा एउटा च्यादर समेत हालिएन, ज्यामिरेको खेत बेचेको पैसाले कसैलाई गहना कसैलाई साडि, कसैलाई सुट पाइन्ट त कसैलाई मोटरबाइक किनियो । घरमा शहरबाट कमेरो किनेर ल्याएर लिपी घर नयाँ बनाइयो । तर बुढिलाई एक पैसाको कुनै सामान आएन । बुढाकै पालामा किनेको चोली र फरियाहरु बाह्र ठाउँमा फाटिसकेका छन् । श्वास छउन्जेल शरीरका अङ्गहरु छोप्नै पर्ने, बिचरी बुढिले आँखा त त्यती देख्दिनथिन् तैपनि छामछुम पारेर फाटेको चोली र फरीया बाह्र ठाउँमा तुनेर लगाएकी छिन् । जीवनको मोडहरुमा बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाएर हुर्काएको आफ्नो सन्तानहरुबाट उपेक्षित हुँदा मन दुख्न त दुख्दो हो नी, मुटु चिमोटिन त चिमोटिदो हो नी, तर के गर्नु सन्तान कपुत हुन्छन् भनेर जन्मदै आमाले गला दवाएर मार्न पनि त सक्दिन । बाह्र मैना गर्भमा बोकेर, जन्मदिएर, कैयौ दिन नुनको ढिकोसँग बासि ढिडो टोकेर हुर्काएको बदला सन्तानबाट यस्तै पाइन्छ भने के गर्नु त सहनु सिवाय ?

पुस माघको ठण्डी माघेझरी सातदिनसम्म आँखा नउघारी एकनास दर्किरहेछ, चिसो सुन्य डिग्रीमा झरेको छ भन्दा फरक पर्दैन, गाउँका कोही मान्छे बाहिर निस्केका छैनन् । घरभित्र धुनी जगाएर ठण्डी मनाउँदै छन् होला । चारैतिर लेकमा हिउँ परेको र त्यहींबाट बहेको चिसो बतासको असर प्रत्येक चिज बस्तु हिउँजस्तै चिसा भएकाछन् । त्यो जाडो बुढो शरीर बाहिर फलैंचाको सुताई एउटा सामान्य डसना र थोत्रो मण्डी, थाहा छैन माघको चिसो कसरी ओतिरहेको छ । ढोका खोलेर भैरवकी छोरीले चिसो भैसकेको मकैको ढिडो र चनाको तरकारी फलैचामा राखिदिन्छे, त्यो पल बुढिलाई एउटा उखानले भने झैं भइरहेछ “खाउ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार” । बिहान खाना खाएपछि पानी समेत पेटमा नपर्दा आन्द्रा बाउडेर सहि साध्य भएको छैन खाउँ भने त्यो जाडो चिसो भएको ढिडो कसरी खाउँ, हातले ढिडोलाई अठ्ठयाउनै सकिरहेको छैन ।

बुढिको आँखाबाट बलिन्द्र धारा आँसु बग्यो । ढिडोको थाललाई छेउ लगाएर बुढि फलैंचाको कुनामा गुटुमुटु भएर सुत्ने प्रयास गरीन् । रात आफैमा ब्यग्र छ नजिकै पालीमा बाधेको गाइको बाच्छी चिसो स्याठको कारण उफ्रेर व्याँ गरी कराउँछ । “नकरा बाबै हाम्रो कर्मै यस्तै रहेछ । घरभित्र सिरकमा लुटुपुटिएर सुत्नेलाई के थाहा यो सिरेटोको सेकाई, त हामी जती कराएपनि यहि चिसो हावाले सुन्ने त हो । हावा निर्जीव हो जसको मुटु छैन । त्यस्ताले हाम्रो पीडा कसरी बुझोस् ।” बुढिको कुरा गाइको बाच्छीले कुन्नि कत्तिको बुझिन् । अनुरोधलाई सिरोपर गर्दै घरको भित्तामा लपक्क टासिएर चुपचाप बसिन् । हुरी बतास र पानी बेजोडले मडारिएर आयो । पालीबाट खसेको पानीको तप्कनी एउटा पाखा नगै सबै फलैचामा ओइरिदा आँगन र फलैचामा कुनै भिन्नता रहेन । हावा नराम्रोसँग सुसाइ रहयो, पानी बेजोडले दर्किरह्यो । पानी पर्न थालेको एक हप्ता भैसके पनि उक्त दिनको जस्तो पानी कहिल्यै आएको थिएन । रातभरीको झरीलाई गर्भमा लुकाएर भोली पल्ट झरी बिसायो । आकास उघ्रियो, कलिलो बिहानीलाई सुर्यको मधुरो किरणले स्पर्स गर्दा धर्तीनिकै सुन्दर देखिन्थ्यो । गाइको बाच्छी भने केही हराए झैं केही खोसीए झैं केही गुमाए झैं एकहोरो बाँ बाँ गर्दै कराई रहिन् । यस्तो लाग्थ्यो त्यो अमुक भाषाले कुनै अनिष्ठ भैसकेको जानकारी दिदैछ ।

भटाभट गाउँघरका दैलाहरु उघ्रन थाले । मान्छेहरु एकपछि अर्को चलमलाउन थाले । एक हप्तासम्म घरभित्र कुजिएका गोडा तन्काउन कामै नभएपनि एउटा अर्कोको घरमा आउने जाने क्रम जारी रह्यो । कसेैको घरमा चिसो भगाउन झोल पाक्न थाले त हुने खानेको घरमा खोरको भाले ढालियो । सायद माघे जाडो निखार्न होला । भैरव र नमेका घरमा पनि आ–आफ्नो खोरको कुखुराको भाले काटियो । बालबच्चा भित्र बाहिर गर्छन्, खाना पाकिसकेपछि बुढिलाई पनि मासुको झोल र भात लगेर एक छेउमा राखिदिए । सबैजना खाना खाएर बाहिर निस्कदा पनि बुढिले खाना नखाएको देखि भैरवकी छोरीले हजुरआमालाई खाना खान बोलाई तर बुढि चलमलाइनन् । बुढि नचलेको देखि भैरवका र नमेका परिवार सबै बाहिर जम्मा भए । बुढिलाई उठाउन कम्मल तान्दा त बुढी अरलो भै सेता आँखा पल्टाइसकेकी रहिछन् …..मात्र सेता आँखा ।

(स्रोत : Kabyasudha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.