नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ
१
सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु पढ्न पनि औधि नै मन पराउँछिन् । तिनका बाबु आमालाई छोरीको यस्तो पढ्ने बानी औधी नै मन पर्छ । त्यसैले उनीहरु पनि तिनको लागि भनेर नयाँनयाँ किताब र पत्रपत्रिकाहरु किनेर ल्याइदिने गर्छन् ।
सूजीको एउटा भाइ पनि छ, सन्दिप । उ चार कक्षामा पढ्छ । चारै कक्षामा मात्र पढेपनि दिदीको संगतले संदिप बाहिरी ज्ञानमा चाख लिने गर्दछ । उ पनि बुझी नबुझी भएपनि पाठ्य पुस्तक पढिसकेपछि बाहिरी ज्ञानविज्ञानका पुस्तकहरु पढ्ने गर्दछ ।
घरमा सबभन्दा सानी एउटी बहिनी छिन्, पिंकी । तिनी शीशु कक्षामा पढ्दैछिन् । तिनी ठूलो कक्षामा पढन औधि नै रहर गर्छिन् । “म अब एक किलासमा जान्छु” भन्दै ठूलाठूला किताबहरु बोकेर घरमा रमितै गर्छिन् तिनी । आफ्ना दिदी र दाजुको सीको गरेर तिनी ती ठूला किताबहरु पढ्ने नाटक गर्छिन् र आफूलाई पनि ठूला ठूला किताब किनीदिनुस् भन्दै बाबु आमासंग बेलाबेलामा झगडा पनि गर्ने गर्छिन् ।
आफ्ना सबै छोराछोरीको पढ्ने रुची र ध्यान देखेर बाबु आमा दड्ड छन् । केही भन्नै नपर्ने, किताब छन् कि उनिहरु छन् ।
एक दिनको कुरा हो– सूजी सन्दिप र पिंकी तीनै जना संधै झैं स्कूलबाट फर्केपछि खाना खाईवरी पढ्न बसेका थिए । सन्दिपको एउटा चकचके बानी थियो । पढ्दाखेरि उसलाई खुब खुट्टा हल्लाउनुपथ्र्यो । खुट्टा हल्लाउन सजिलो होस् भनेर उ भूइंमा छाति टेकाएर लम्पसार परेर पढ्ने गथ्र्यो । यतिखेर पनि उ त्यसै गर्दै थियो । यसरी खुट्टा हल्लाउँदा दराजतिर ठोकिएर एकनासको कटाककुटुक आवाज आईरहेको थियो । यस आवाजले सूजीको ध्यान त्यतै गयो । तिनले त्यतै हेरिन् । सँधै त तिनी भाइको यस्तो चकचके बानी माथि झर्कने गर्थिन् । तर आज भने अर्कै सोचमा लागिन् । सोच्न लागिन् कसरी भाइका यी खुट्टाहरु चलिरहेका छन् ।
सूजी जस्ती पढन्ते केटी किन यस्तो साधारण कुरामा घोत्लिन पुगिन् । चकचके भाइका खुट्टा चल्यो त के नयाँ कुरा भयो ? तर होइन, असाधारण मान्छेले साधारण कुरामा ध्यान दिन लाग्यो भने त्यो कुरा साधारण रहिरहँदैन । प्रशिद्ध वैज्ञानिक न्यूटनकै कुरा लिउँ– उनी एकपल्ट बगैंचामा बसिरहेका बेलामा बोटबाट स्याउ भूइँमा खसेछ रे । बस् त्यही कुरामा न्यूटन घोत्लिन लागेछन् रे । उनको मनमा प्रश्न आएछ– किन यो स्याउ भूंइतिर खस्यो ? यसो कुरा सुन्दा हाँसो उठ्ने कुरो हो की होइन ? भूइँमा नखसी कहाँ खस्ने त ? आकाशतिर जाने ? तर, यही घोत्ल्याईले गर्दा उनले पृथ्वीको गुरुत्वाकर्षणबारे नयाँ कुरा पत्तो लाए ।
हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भनेझैं पछि सप्रने मान्छेको लक्षण अगाडि नै देखिन्छ । त्यही लक्षण सूजीमा देखिंदै छ । सूजी हरेक कुरालाई गमेर लिने गर्छिन् । बुढापाकाले यसै भन्थे भनेर भनेकै भरमा सर्लक्कै जस्ताको तस्तै कहिल्यै विश्वास गर्दिनन् । प्रत्येक्ष्य प्रमाण नभएका वा त्यसरी प्रमाणित गर्न नसकिने कुराहरुलाई तिनी विश्वास गर्दिनन् । प्रमाण नभएको कुरा मान्नुलाई अन्धविश्वास भन्ने गर्छिन् ।
चित्र १ ः सूजी भाइ बहिनी र विज्ञानका किताबहरु |
सूजीलाई थाहा छ, विज्ञानका कुराहरु सबै प्रयोगको आधारमा प्रमाणित भईसकेका हुन्छन् । तिनीहरुलाई फेरि पनि प्रयोगको आधारमा प्रमाणित गर्न सकिन्छ । त्यसैले सूजी विज्ञान विषयलाई औधी मन पराउँछिन् ।
अहिले सूजीको मनमा प्रश्न उठिसकेथ्यो– “भाइका ती खुट्टाहरु कसरी हल्लिरहेकाछन् ?” केही दिन अघि मात्र तिनले प्राणीजातिका अंगहरुबारे विज्ञानको किताबमा पढेकी थिइन् । त्यस किताबमा प्राणीजातीको शरीर संचालन मस्तिष्कबाट हुन्छ भन्ने लेखिएको थियो । अर्थात यसको अर्थ हुन्छ– मस्तिष्कमा भएका विभिन्न खाले कोशिकाहरु मिलेर शरीरका अंगहरु संचालित हुने गर्छन् । तिनी यही कुरा सोच्दै थिइन् ।
त्यसै बेला चकचके भाइको एउटा खुट्टाले तासीमा भएको एउटा टीनको बट्टा खसाल्यो र उसको अर्को खुट्टामा लाग्यो । भाइ ऐया भन्दै तेर्सिएको अवस्थाबाट जुरुक्क उठेर बस्यो र खुट्टा हेर्न लाग्यो । सानो घाउ पनि भएछ । उसले डराउँदै डराउँदै दिदीको मुखमा हे¥यो । अरु बेला भए यस्तो अवस्थामा सूजी हाँस्थिन् वा भाइलाई गाली गर्थिन् तर अहिले त तिनी अर्कै सोचमा देखिइन् । दिदीको एकोहोरो चाला देखेर सन्दिप छक्क प¥यो । उसले सोध्यो पनि– “के भयो दिदी ? अरु दिन भए त तपार्र्ईं मलाई गाली गर्नुहुन्थ्यो तर आज त गर्नुभएन । झन उल्टै वाल्ल परेर बस्नुभयो ?”
सूजीले भनिन्– “भाइ, म सोच्दै छु कि तिम्रा खुट्टा संधै हल्लिने गर्छन् । त्यसरी हल्लँदा हामी साधारण रुपमा सोच्दछौं, त्यो तिमीले हल्लाएका हौं । तर यो विज्ञानका किताबले भन्छ यो मस्तिष्कमा भएका विभिन्न कोशिकाहरुले तिम्रोलागि हल्लाउने काम गरेको हो ।”
सन्दिप– “हो र ? कसरी ? यो त म आफैले गरेको हो ।”
सूजी– “हो तिमीले नै ग¥यौ । सोच्न त त्यसरी नै प¥यो नि । तर वास्तवमा यी सबै तिमी भित्र भएका कोशिकाहरुले तिम्रो लागि गर्दछन् । अहिले तिमी मलाई हेर्दैछौ, त्यो हेर्ने काम तिम्रा लागि तिम्रा आँखाले गर्छ । हो कि होइन ? तर आँखा नभए तिमी देख्न सक्दैनथ्यौे । आँखाले चाहिँ कसरी देख्छ त ? के तिमीले यसबारे कहिल्यै सोचेका छौ ? बुझ, तिम्रा आँखामा देख्न सक्ने कोशिका नभए तिम्रा आँखाले पनि देख्न सक्दैनथ्यो र यदि आँखामा त्यस्तो कोशिका भएपनि तिम्रा मष्तिस्कमा देखाउने खालको कोशिका नभएको भए तिमी देख्न सक्दैनथ्यौ । त्यस्तै गरी तिमी सुन्दैछौ तर यो सुन्ने काम तिम्रो लागि तिम्रो कान, कानको लागि कानका कोशिका र अझ त्यो कोशिकाको लागि मष्तिस्कमा भएका सुनाउने कोशिकाले गर्दछ र तिमी सुन्न सक्ने भएका छौ । अब यस प्रकारले बुझ तिम्रा चकचके खुट्टा हल्लाउने काम पनि तिम्रोलागि तिम्रा चकचके मष्तिस्कले गरेको हो कि होइन ?”
सन्दिपले ठाडो मुन्टो लाएर हाँस्दै भन्यो– “ह..ह.. दिदीले त मस्तिष्कलाई पनि चकचके भन्नुभयो…. कस्तो हाँस उठ्यो ।”
चित्र २ ः मश्तिष्क र विभिन्न काम गर्ने भागको चित्रण |
सूजी– “तिमीलाई चकचके बनाउने तिम्रै मष्तिस्क हो नि । अनि पो त्यसलाई चकचके मस्तिष्क भनेको ।” त्यसपछि दिदी पनि हाँसिन् ।
सन्दिप¬– “दिदी यो कोशिका भनेको चाहिं के हो नी ? ।”
सूजी– “कोशिका भनेको हाम्र्रो शरीर बनाउने जीवित तत्व हो । जसरी घरहरु इंटाबाट बन्द छ त्यसरी नै हाम्रो शरीर पनि कोशिकाहरुबाट बनेको हुन्छ । शरीरका अंगप्रत्यङ्गका मासु, हाड, रगत, केश, नंग आदि हरेक कुराहरु खालखाका कोशिकाहरुले बनेका हुन्छन् । ती कोशिकाहरु जीवित रहेसम्म मात्र तिनै बाट बनेका अंगहरु जीवित रहन्छन् र ती अंगहरुले आफ्ना काम गरिरहन्छन् । त्यस्तै सबै अंग म¥यो भने हाम्रा शरीर नै मर्छ ।
सन्दिप¬– “हाम्रा शरीर मरेपछि हामी मर्दैनौं त ?”
सूजी– “लौजा, अहिले भने मेरो भाइले मेरो जीव्रो ठ्याप्पै समात्यो । हो, हाम्रा शरीर मरेपछि हामी मर्छौ ।”
सन्दिप¬– “दिदी मैले कहाँ तपार्र्ईंको जीव्रो समातेको छु र किन त्यसरी जीव्रो समात्यो भन्नुभएको ?”
सूजी– “लाटा, तिमीले मेरो कुरा समात्यौ भनेको । मेरो भाइ जान्ने भएछ भनेको क्या ?”
त्यसपछि दिदी मुस्काइन् । सन्दिप पनि दंग परेर ठाडो मुन्टो लाएर हाँस्यो– “ह… ह… ह”
आफ्नो भाइको हाँस्ने तरीका देखेर सूजीले पनि हाँसो थाम्न सकिनन् । तिनी पनि खिलखिलाएर हाँसिन् । दिदी र दाजु हाँसेको देखी अब पिंकी पनि कितावबाट टाउको उठाएर सबै कुरा बुझेको जस्तै गरी दुवैको मुखमा हेर्दै संगसंगै बिनासित्तीमा खिलखिलाएर हाँस्न लागिन् ।
सन्दिप¬– “दिदी तपार्र्ईंले त धेरै कुरा बुझ्नुभएको छ । मैले त त्यसरी बुझेकै छैन ।”
सूजी– “मैले पनि धेरै कुरा बुझेको छैन । त्यस्तै कुरा बुझ्न म खालखालका किताबहरु पढ्ने गर्छु । तिमीले पनि पढ्ने गर्नपर्छ अनि बुझ्नेछौ ।”
सन्दिप– “तपार्र्ईंं त कति पढ्नुहुन्छ । तपार्र्ईंले पढेर कहिले सिध्याउँने ?”
सूजी– “लाटा, पढेर पनि कहिल्यै सिद्धिन्छ ?
त्यसपछि सूजीले भाइलाई माया गर्दै अंगालो हाल्यो । भाइ सन्दिपले लाडे पल्टंदै दिदीको किताब हातमा लियो र भन्यो– “म पनि धेरै पढ्छु र दिदी जस्तै धेरै जान्ने हुन्छु है दिदी ?”
सूजीले फेरी भाइलाई माया गर्दै अंगालोमा कसिन् ।
पिंकी पनि “म पनि पढ्छु है दिदी” भन्दै दिदीसंग टाँसिन आइन् । दिदीले “मेरो ज्ञानी बहिनी” भन्दै पिंकीलाई पनि अंगालो हालिन् । अंगालोमा कसिंदा सन्दिपलाई अलि असजिलो भयो र चलमलाईो । यसो गर्दा पिंकीलाई उसको घुँडाले लाग्यो । तिनी ऐया भन्दै कराईन् । दुवैले पिंकीतिर हेरे । लौ, पिंकी त रुन पो लागिछन् । दुबैजना पिंकीलाई हेर्दै हाँसे । भाइ सन्दिपले त भनि पनि हाले– “यस्तो मान्छे पनि पढ्छ ? रोएछ । यसको बुद्धी त आउँदैन । हगि, दिदी ?”
पिंकी अली लजाइन् र के गर्ने के गर्ने के भइन् । सन्दिपले फेरि पनि थप्यो– “अलिकति दुख्दा रुने मान्छेले पढ्छ होला ?”
पिंकीलाई निक्कै असजिलो लाग्यो र “मम्मी” भन्दै उठेर कोठाबाट बाहिर गइन् । सूजीले “होइन होइन” भन्दै फकाउने कोशिस गरिन् । तैपनि तिनी बाहिर गइन् र आमा भएको ठाउँमा पुगिन् ।
सूजीले भाइलाई संझायो– “लाटा, आफू भन्दा सानो मान्छेलाई त्यसरी जिस्काउने हो त ? माया पो गर्नपर्छ त ।”
सन्दिपलाई आफ्नो गल्तीदेखि लाज लाग्यो र कुरा छल्न अघि बट्टा झरेर लागेको ठाउँमा हेर्दै “दिदी यहाँ दुखिराखेको छ” भन्यो । सूजीले पनि त्यहाँ हे¥यो । त्यहाँ सानो चोट पनि लागेको रहेछ । रगत समेत निस्केको रहेछ । सन्दिपले तुरुन्तै हातले घाउ थिच्यो ।
सूजीले सन्दिपको हात घाउबाट झिकिन् र हात हेर्दै भनिन्– “यस्तो मैला हातले घाउ छुन हुन्छ लाटा ? पाकीहाल्छ नि अझ कहिलेकाहींं त टिटानस पनि हुन सक्छ ।”
सन्दिप– “घाउ कसरी पाक्छ दिदी ?”
सूजी– “राम्रो प्रश्न ग¥यौ भाइ तिमीले, म पक्कै भन्छु । तर पहिले यो घाउमा औषधी र पट्टी लाउँ ।”
सन्दिप– “दिदी औषधीले घाउ कसरी निको हुन्छ ?”
सूजी– “त्यो पनि भन्छु । पहिले औषधी गरी हालँु है ?”
सूजी औषधी लिन गइन् । सन्दिपले घाउ हे¥यो । रगत बन्द भईसकेको रहेछ । एकै छिनमा सूजी औषधी लिएर आईपुगिन् ।
सन्दिपले उत्सुक भएर सोध्यो– “दिदी रगत कसरी आफै बन्द हुन्छ ?”
सूजी औषधीको बट्टा खोलेर सन्दिपको घाउ सफा गर्दै भनिन् “रगतमा भएका रक्तकोशिकाहरुले घाउ भएको ठाउँमा बाँध बाँधि दिन्छन्”
सन्दिप– “कोशिकाहरुले गर्छन् यस्तो काम ?”
सूजी– ”हो रक्तकोशिकाहरुले गर्छन् । यस कामको लागि भिटामीन–के ले मद्दत गर्दछ भिटामीन–के ले घाउमा आइपुगेका रगतलाई जमाई दिन्छ र घाउको मुखलाई बन्द गरिदिन्छ । भिटामीन–के नभए त मान्छे रगत बगेरै मर्छ, बुझ्यौ ?”
सन्दिप– “यो भिटामीन–के आफै शरीर भित्र बन्छ कि अरु खाने भिटामीनहरु जस्तै खानाबाट बन्छ, दिदी ?”
सूजी– “खानाबाट बन्छ । त्यस्तो भिटामीन हरियो सागपात, गोलभेंडा, काउली, अण्डाको पहेंलो भाग, कलेजो आदिमा पाइन्छ । तिमी हरियो सागपात खाँदैनौ नी अनि त्यसैले तिम्रो रगत छिट्टै थामिंदैन ।”
सन्दिप– “तर म कलेजो र अण्डा त खान्छु नी ?”
सूर्जी– “तिमीले कति नै कलेजो र अण्डा खान पाउँछौ र ? जुन कुरा घरमा बेसी खान पाइन्छ त्यस्तो खाना पो खाने गर्नुपर्छ त ।”
सन्दिप– “तर दिदी मलाई साग खानै मन लाग्दैन । मीठै लाग्दैन ?”
दिदी– “अलीअली गरेर खानपर्छ पछि बिस्तारै बानी लाग्छ नी । यो हरियो सागपातको त अरु फाइदाहरु पनि छन् । जस्तै ः यसबाट भिटामीन–ए पनि प्राप्त हुन्छ जसले हाम्रो शरीरको बृद्धीमा सहयोग पु¥याउँछ र बच्चाहरुलाई रतन्धो हुनबाट पनि जोगाउँछ ।”
सन्दिप– “अब मीठो नलागे पनि अलीअली गरेर खान शुरु गर्छु है दिदी ?”
दिदी सूजीले उनलाई अंकालोमा कसिन् र भनिन्– “मेरो ज्ञानी भाइ ”
भाइ सन्दिप फेरी एकपल्ट लाडे पल्टदै अकाशतिर मुख फर्काउँदै हाँस्यो– ह..ह..ह..
सूजीलाई भाइले यसरी हाँसेको औधी नै मनपर्छ । तिनले गाला च्यातेर तान्दै भनिन्– “ल हेर हाँसेको तरीका ।”
भाइले फेरि लाडे पल्टदै सोध्यो– “अनि दिदी घाउ कसरी पाक्छ औषधीले कसरी निको हुन्छ ? खै भनेको ?”
सूजी– “घाउमा हानिकारक किटाणुहरु पस्यो भने घाउ पाक्छ । ….. हामी त घाउ पाकेको भन्छौं, तर त्यस घाउमा हानिकारक किटाणुहरु र हाम्रा रगतका कोशिकाहरुको धुमधाम लाडाइं भइरहेको हुन्छ । उसले उसलाई उसले उसलाई मार्दछन् । घाउबाट निस्कने पीपहरु र पाप्राहरु सबै हाम्रा मरेका रक्तकोशिकाहरुका लाश हुन् । हाम्रा रक्तकोशिकाहरुले जिते भने घाउ नीको हुन्छ । नत्र झनझन घाउ फैलिएर जान्छ । घाउ फैलिनुको मतलव हाम्रा रक्तकोशिका हार्दैछन् भन्ने हुन्छ । त्यस्तो अवस्थामा हामीले औषधी लगाई दियौं भने ती औषधीहरुले हानिकारक किटाणु मार्न लाग्छन् र हाम्रा रक्तकोशिकाहरुलाई लडाइंमा मद्दत पुग्दछ । यसरी औषधीले घाउ नीको पार्दछ । बुझ्यौ ?”
सन्दिपलाई औषधीको काम औधि नै मनप¥यो र दिदीलाई भन्यो– “दिदी …… मलाई त औषधी पो हुन मनलाग्यो । औषधी भएर सबै कीरालाई मारिदिन मनलाग्यो ।”
सूजी आफ्नो भाइको केटाकेटीपना देखेर हाँसिन् र भनिन्– “तिमीले औषधी भइराख्न पर्दैन । औषधी बनाउने र औषधी गर्ने डाक्टर बन, भइहाल्छ नि ।”
सन्दिप– “हो दिदी, म त डाक्टर बन्छु”
त्यसै बेलामा आमाले दुवैजनालाई खाना खान बोलाउनुभयो । उनिहरु किताब थन्काइ राखेर खाना खान गए ।
२
रातको ८ बजेको थियो । भाइ सन्दिप होमवर्क गर्दै थिए । पिंकी लेख्दालेख्दै सुतिसकेकी थिइन् । सूजी भने अर्कै सोचमा । दिउँशो भाइ सन्दिपले औषधी भएर बिरामीको शरीर भित्र पस्ने इच्छा र जोश देखाउँदा तिनी हाँसेकी थिइन् । तर तिनी आफैले अहिले यस्तो हुन सकेमा कति राम्रो हुने थियो भनेर सोचिरहेकी थिइन् ।
तिनलाई यो असम्भव पनि लागेन । उनी आशान्वित थिइन् कुनै बेला विज्ञानको चमत्कारले यस्तो पनि आउला जव मान्छे नै आन्छेको शरीर भित्र पसेर उपचार गर्न सकोस् । तिनले त्यस्तै खालको एउटा बिदेशी चलचित्र हेरेकी थिइन्, जसमा त्यस्तै कथा समेटिएको थियो । त्यसमा एउटा डाक्टरलाई अणु जत्रै बनाएर बिमारीको शरीर भित्र सूईबाट पठाएको देखाइएको थियो र त्यस डाक्टरले शरीर भित्र अनेकन रोमान्चकारी यात्रा गर्दै रोगले उधुम मच्चाएको ठाउँमा पुगेर रोगको उपचार गरेको थियो ।
त्यो त भयो चलचित्रमा देखाइएको कुरो । के साँच्चै नै विज्ञानले त्यतिसम्मको सफलता पाउन सक्ला त ? के कुनै दिन मान्छे यसरी अणुमा परिणत भएर मान्छेको शरीर भित्रै गएर रोगको उपचार गर्नसक्ने दिन पनि आउला ?
चित्र ३ ः सूइबाट मानव शरीर मा प्रवेश |
सूजीले यसबारे नीकै नै सोचिन् । तिनलाई बारम्बार कल्पना भइरहेथ्यो– त्यसरी शरीर भित्र अणु समान भएर जान पाए कस्तो हुँदो हो । कल्पनामा तिनी साँच्चैनै आफ्नै भाइको शरीरमा औषधी भएर पुगिछन् । अनि त भाइको शरीर भित्र तिनको शाहसिक यात्रा शुरु हुन लागिहाल्यो ।
यस काल्पनिक यात्रामा तिनी किटाणुनाशक औषधी अर्थात एन्टिबायटिक भएर गएकी रहेछिन् रे । तिनी औषधीको परमाणुको रुपमा पुगेकी थिइन् । भाइले औषधी खाएपछि तिनी मुखबाट झर्नेसाथ पेटमा पुगेकी थिइन् । गलल…. गडड…. गर्ने खालका कानै खाने शब्दहरु सुनिन्थे त्यहाँ । त्यहाँ निष्पट अँधेरो थियो । के र कता भन्ने चाल नपाएर तिनी यता र उता गर्दै थिइन् कि पेट भित्रका कुनै अदृष्य शक्तिले तिनलाई उँधो र उँभो पार्न लाग्यो । अनि त तिनी बिस्तारै पेटका अन्य खानासाथ मिसिन लागिन् ।
पेटमा एकखाले अमिलो रस भेटियो । कहिलेकाहीं वाकवाक गर्दा यस्तै रस सूजीले मुखमा आएको अनुभव गरेकी थिइन् । यसलाई कक्षमा तिनले खाना पचाउने ग्यास्ट्रिक रस भनेर पढेकी थिइन् ।
अनेकन खाले हानिकारक किटाणुहरु त्यस ग्यास्ट्रिक रसको संसर्गमा आउनेबित्तिकै मरे । ग्यास्ट्रिक रस त साच्चै भन्ने हो भने शरीरकै प्रणाली भित्रको एउटा औषधी नै रहेछ । यस्तो ग्याष्ट्रिक रस पेटमा नीक्कै हुँदोरहेछ । जतिजति खाना वल्टिने र पल्टिने भयो ती खानाहरु ती रसले झनझन भिज्दै गए । तिनले देखिन् पेटका भित्ताहरु नै खाना भेटनेसाथ आफै हुडुल्लिएर खुम्चने र फैलने गर्दा रहेछन् र यही प्रकृयाका कारण खानाहरु ग्यास्ट्रिक रसहरु संगै ओल्टिने र पल्टिने भई राम्ररी मिसिने रहेछ ।
शरीरको यस्तो स्वचालित प्रकृया देख्दा सूजी छक्क परिन् । व्यक्तिको लागि शरीर भित्र यसका कोशिकाहरुले विशिष्ट कामहरु गर्छन् भनेर तिनले पढेकी पनि हो र त्यति मात्र होइन भाइलाई समेत यसबारे शिक्षा पनि आफैले दिएकी हो । तर अहिले आफैले शरीर भित्रै पसेर प्रत्येक्ष रुपमा यस्ता अंगहरुको काम देख्न पाउँदा उनलाई अनौठो नै लाग्यो ।
तिनको भाइ सन्दिपले त खायो सिद्धियो । तर उसलाई थाहै नदिई उसको शरीरले कसरी शरीरमा शक्ति दिन खानालाई पचाइदिंदैछ ? मान्छे सबैलाई कहाँ यस्तो कुरा थाहा हुन्छ र ? मान्छेले शरीरको यस्तो कामलाई बुझिदिए कत्ति राम्रो हुने रहेछ ?
यता पेट भित्र जति समय बित्दै गयो उति सूजी भित्र भएका किटाणुनाशक औषधी खानासंग मिसिदै गए । साथसाथै अघाडि पर्ने हानिकारक कीटाणुहरुलाई तिनले पनि नाश गर्दै लगिन् । यस क्रममा खानाहरु पनि गल्दै गए । दूइ तीन घण्टासम्ममा त धेरैजसो खानाहरु यसरी नै पेटमा पच्ने रहेछ ।
केही समय पछि खानासंगै सूजी पनि एउटा साँघुरो ठाउँबाट उँधो डियोडिनम भन्ने अर्को खण्डमा पुगिन् । यो पेट भन्दा तल र आन्द्रा भन्दा माथिको खण्ड थियो । यहाँ कलेजो र फियोबाट खालखालका रसहरु आउन लागे । यी रसहरुले यहाँसम्म आएका खानाहरुलाई रसायनिक परिवर्तन गर्न लागे । हेर्दाहेर्दै सबै खानाहरु पूर्णतः झोलमा परिणत भए । माथि पेटले पचाउन नसकेका बोसो, तेल र चिल्लो पदार्थहरुलाई पनि यसले रसायनमा घोलिदियो ।
चित्र ४ ः डियोडिनम र पेज ३३ का सब |
अब त यस्ता रसहरुले घोलेर र रसायनिक परिवर्तन गरेर पहिलेको खानाको स्वरुप नै फेरिइसकेथ्यो । साँच्चै भन्ने हो भने खाना होइन ती सबै लादी भइसकेका थिए । सबै झोल भइसकेका थिए र बेग्लै रसायनहरुमा परिणत भइसकेका थिए । तर सूजीमा भने झोल हुनु बाहेक त्यसले केही फरक पारेन । किनभने तिनी पहिले नै औषधी बनाउने प्रयोगशालामा अनेक जरिबुटीबाट रसायनमा परिवर्तित भइसकेकी थिइन् ।
यसरी झोलमा परिवर्तित भएको लादीसंगै सूजी पनि सानो आन्द्रामा पुगिन् । त्यहाँ पनि अनेकन किसिमका रसहरु आएर ती लादीलाई दल्ने, पिस्ने मल्ने गरे र तिनबाट प्रोटिन, कार्वोहाड्रेट, खालखालका भिटामीन र लवण आदि पौष्टिक तत्व बनाउन लागे । पछि त हेर्दाहेर्दै ती बनीबनाउ पौष्टिक तत्वहरु लादीबाट गायब हुन लागे । के भयो भनेर सोच्न नपाउँदैमा सूजीलाई नै कुनै अदृश्य शक्तिले कतै सोसेर लानथालेको अनुभव भयो । तिनलाई अर्कै ठाउमाँ पु¥याइयो । यो त रगतको खोलो थियो र त्यहाँ अघि आन्द्राबाट गायव भएका सबैखाले पौष्टिक तत्वहरु पनि बग्दै थिए । अव तिनले बुझिन्– तिनलाई आन्द्राको भित्ताले सोसेर रक्तनलीहरुमा पु¥याइएको रहेछ ।
चित्र ५ ः ३३ पेज |
सूजी दंग परिन् । अब रगतमा बग्दै बग्दै तिनी भाइको घाउ लागेको ठाउँमा पुग्नेछिन् जहाँ शरीर भित्रका रक्षाशक्ति र बाहिरी हानिकारक किटाणु बीच लडाइ भईरहेको हुनेछ । तिनले त्यहाँ पुगेर आफ्नो एन्टिबायटिक रसायनले बाहिरी हानिकारक किटाणुलाई मार्नेछिन् र भाइको घाउ छिटै निको पार्न सफल हुनेछिन् ।
३
चित्र ६ ः पेज ३६ बाट |
रगतको नदीमा बग्दै जाँदा सूजीले देखिन् आफूसंगै खानाबाट आएका सबै पौष्टिक तत्वहरु अव पानीसंग घोलिन पुगे र धमाधम पानीपानीले पूर्ण प्लाज्मा भन्ने तरल बस्तु बन्नलागे । यीनै प्लाज्माले गर्दानै रगत तरल भएको रहेछ ।
प्लाज्माको आफ्नो कुनै रंग थिएन । यो पानी जस्तै रंगहीन थियो तर एक किसिमको रातो रक्तकोशिकाहरु यसमा मिसिन आएर यो सबै रातो भयो । यसरी पूर्णरुपले रगत बनेको देखियो । रगत हेर्दा रातो भएको त यसमा बगिहिंडने रातो रक्तकोशिकाले गर्दा पो रहेछ ।
यी राता रक्तकोशिकाहरुको भीड पनि ठूलै रहेछ । झण्डै झण्डै प्लाज्मा जति नै हुँदो हो । यीनीहरुका बनौट पनि कस्तो ? ठ्याक्कै सेलरोटी जस्तो चक्का र बिचमा खाल्डो परेको । यही खाल्डोमा हावाका फोका बोकेर ल्याउँदा रहेछन् यिनीहरु । यो हावाको फोका बाकेर हिंडन पर्ने चाहिं किन होला ? सूजी चकित परिन् ।
सबै एकै खाले र काम पनि एकै खाले । कसैलाई कसैको मतलव छैन । आफ्नो काम छ कि आफू छ । यिनीहरुको यो चाला देखेर सूजीलाई मज्जा लाग्यो र भित्रि मन रमाउँदै हाँसिन् पनि । एउटा रातो रक्तकोशिकाले तिनलाई हाँसेको देखेर सोधिहाल्यो– “क्या हो औष्धिज्यू, हाँस्नुभयो नि । के कुरा अचम्म देख्नुभयो ?”
सूजी अकमकाइन् । कसैलाई आघात पु¥याउने हिसावमा तिनले खिसी गरेर हाँसेकी त थिइनन् । तर यहाँ परिस्थिति त्यस्तै पर्न गएको जस्तो लाग्यो । तिनलाई अलि अप्ठारो लाग्यो । भनिन्– “माफ गर्नुहोला र अन्यथा नसोचि दिनुहोला । यर्हाँको हरेक कुरामा एकरुपता र एकाग्रता देख्दा म दड्ड परें । त्यसैले हाँसेको हुँ ।”
रातो रक्तकोशिका– “ठीक छ । केही फरक पर्दैन । तपार्ईं नयाँ हुनुहुन्छ । नयाँ ठाउँमा नयाँ कुराहरु देख्नुहुन्छ र कुनैकुनै कुरा हाँसउठ्दो लाग्नु पनि स्वभाविक हुन्छ ।”
सूजी– “साँच्चै म त रमाइलो मानेर हाँसेको हुँ । विश्वास गर्नुहोस् ।”
सूजीलाई तैपनि कतै न कतै नमज्जा लागि नै रह्यो कुरा अर्कोतिर मोड्न तिनले प्रश्न गरिन्– “मलाई औषधी भनेर कसरी चिन्नुभयो ?”
रातो रक्तकोशिका– “यहाँ धेरै औषधीहरु आउने जाने गर्छन् । चिनिहालिन्छ नी ।”
सूजी– “तपार्ईंहरु यी हावाको फोका बोकेर कता किन लाँदै हुनुहुन्छ ?”
रातो रक्तकोशिका– “हामी शरीरका दुषित हावा फोक्सोमा लगेर छाड्छौं र त्यहाँबाट सफा अक्सिजन बोकेर शरीरका विभिन्न अंगमा पु¥याउँछौं । शरीरका दूषणहरु सफा गर्ने प्रकृया हो यो ।”
कुरा गर्दै उनिहरु दुबै शरीरको तल्लो अंगतिर जाँदै थिए । एउटा सेतो रंगको रक्तकोशिका छेउमा आयो र सूजीलाई सुँघ्न लाग्यो सुंघि सकेर खिस्स हाँस्यो र हात मिलाउन खोज्दै नम्र भएर भन्यो– “माफ गर्नुस् है । म त बाहिरी शत्रुतत्व शरीर भित्र पसेको हो कि भनेर पो त …. तपार्र्ईं त औषधी पो हुनुहुँदो रहेछ । म टि–हेल्पर भन्ने शरीर भित्रको संचारकर्मी हुँ । स्वागत छ मित्र ।”
सूजीले हात मिलाउँदै भनिन्– “धन्यबाद, तपार्र्ईं सेतो रक्तकोशिका हुनुहुन्छ, होइन ? बाहिरी तत्वहरु शरीरमा घुसेमा शरीररक्षकहरुलाई खबर गर्नुहुन्छ, होइन ?”
टि–हेल्परले आश्चर्य मान्दै भन्यो– “ठीक भन्नुभो । म सेतो रक्तकोशिका हुँ । धेरै थरी सेता रक्तकोशिका मध्ये म एकथरी टि–हेल्पर भन्ने संचारकर्मी हुँ । म शत्रु आएको खबर अरु लडाकु खाले सेता रक्तकोशिकालाई दिन्छु । …. तर तपार्ईंले त अचम्मै गर्नुभो । आउन पाएको छैन मलाई चिनिहाल्नुभो ।”
रातो रक्तकोशिका– “तर मलाई त देख्ने बित्तिकै चिन्न सक्नुभएको थिएन नी”
सूजी– “होइन तपार्ईंलाई पनि मैले रातो रक्तकोशिका भनेर पहिलेनै चिनिसकेकी थिएं । मात्र तपार्ईंहरुले बोक्ने हावाको फोकाबारेमा कौतुहलता थियो । तपार्ईंहरु दुवैथरीलाई भेटेर खुसी लाग्यो । मेरो नाम सूजीता हो, छोटोमा सूजी । म नौ कक्षामा पढ्दैछु । मैले केही विज्ञानका किताबहरु पढेको छु । मलाई शरीर भित्रका साधारण कुराहरुबारे केही थाहा छ । हामी मान्छेहरुले शरीरका सबै अंगप्रत्येंग र जीवकोशिकाहरुकाबारेमा निक्कै अध्ययन गरेका छौं । मलाई पो त्यति केहीपनि थाहा छैन बरु ।”
रातो रक्तकोशिका– “पख्नुहोस्, के रे तपार्ईं मान्छे अरे ? लौ मैले त बुझिनं है तपार्ईंको कुरो ।”
सूजी– “हो, मान्छे हुँ । यहाँ उपचार गर्न औषधी भएर आएको ।”
टि–हेल्परले अचम्म मान्दै भन्यो– “लौ मान्छेहरु अनेकै गर्ने भइसकेछन् । पहिला भन्नुहोस् त हामी यहाँ शरीर भित्र छौं, तपार्र्ईंहरु त्यहाँ बाहिर हुनुहुन्छ । हामीहरुलाई कसरी चिन्नु हुन्छ ?”
सूजी– “हामीले सूईद्वारा रतग बाहिर निकालेर प्रयोगशालामा धेरै छानबीन गरेका छौं । शरीर भित्रका सबै अंगप्रत्यंगका कोशिकाहरु, साथै तिनका मित्र र शत्रुहरु पनि हामीले चिनेका छौं ।”
टि–हेल्पर– “तर तपार्ईं मान्छेहरु जति नै बिद्वान भएपनि कहिलेकाहिं बढी नै गरि हाल्नुहुन्छ । शरीर भित्र हाम्रा आफ्नै किसिमका रक्षा प्रणाली छन् । सानोतिनो बिमार हुँदा बित्तिकै कडा कडा औषधी दिइराख्न जरुरी छैन । हामी आफै ठीक गरिहाल्छौं । किन यसरी आत्तिनुभएको ? किन तपार्ईं औषधी भएर आउनुभएको ?”
सूजी– “हामीलाई थाहा छ यसरी आतिएर कडा औषधीहरु यति छिटै प्रयोग गर्नु हुन्न, तर के गर्ने चिन्ता लाग्छ ।”
टि–हेल्पर– “तपार्र्ईंहरु चिन्ता लागेर कडा औषधी प्रयोग गर्नुहुन्छ अनि तपार्र्ईंहरुलाई थाहा हुँदैन कडा औषधीहरुले यहाँ के हुन्छ ? यता हेर्नुस् त तपार्र्ईं पस्ने बित्तिकै तपार्र्ईंका कडा असरहरुले के के गरे ?”
सूजीले त्यता हेरिन् । आफू आएको ठाउँतिर अनेकन रसायनप्रकृया भएर त्यता भएका धेरै रक्तकोशिकाहरुलाई शिथिल पारेको रहेछ ।
टि–हेल्पर– “देख्नुभो त ? तपार्र्ईंको असरले रोगका हानिकारक किटाणु नाश गर्नपर्ने, उल्टै आफ्नै रक्तकोशिकाहरुलाई आघात पु¥याइरहेछ ।”
सूजी– “रोगका किटाणु भए त म मारी हाल्थें, त्यस्ता किटाणुनै देखिएनन् ।”
टि–हेल्पर– “त्यही त भनेको साधारणतः हानिकारक किटाणु पस्नेसाथ हामी आफै मार्न जान्छौ । औषधी चाहिंदैन । दुइचार दिनसम्म बिमार ठीक नभए मात्र एन्टिबायटिकको आवश्यकता पर्दछ । अड्कलै अड्कलमा औषधीको प्रयोग ? यो त भएन नि । यी मलाई समेत तपार्र्ईंको कडा असर परिरहेछ । शिथिल छु । आफ्नै काम गर्न पनि सक्षम छुइनँ ।”
एउटा अर्को खाले सेतो रक्तकोशिका लखतरान हुँदै छेउमा आयो र सकिनसकी सूजीलाई च्याप्पै समातेर निलिहाल्यो । सूजिले केहीपनि बोल्नै पाइनन् । तिनी एक्कैचोटि त्यो कोशिकाको पेटमा पुगिन् । सूजी आत्तिइन् । यसरी तिनलाई पचाइदियो भने त जुन उद्देश्यले तिनी यहाँ शरीर भित्र आएकी थिइन् त्यो उद्देश्य नै पुरा नहुने भयो । यसलाई एकपल्ट चेताउनै प¥यो भनेर तिनले आफ्नो रसायन त्यहाँ पेट भित्रै छोडिदिइन् । अब त्यो रसायनले त्यस रक्तकोशिकाको पेट भतभती पोल्यो । उसले खप्नै सकेन । तुरुन्तै सूजीलाई ओकल्यो । उसले शिथिल भएर भन्यो– “हत्तेरी आज केके हुँदैछ । म त कामै गर्न नसक्ने भइसकें ।”
सूजीले त्यसलाई राम्ररी हेरिन् । उसको रंग सेतो थियो तर टि–हेल्पर भन्दा फरक आकार प्रकारको थियो । रातो रक्तकोशिकाले अघाडि बढेर उसको परिचय दियो –“उहाँ म्याक्रोफेज भन्ने स्थानीय रक्षक हुनुहुन्छ । उहाँ हानिकारक किटाणुहरु आयो कि भनेर रमण गरिहिंडनुहुन्छ । उहाँलाई कसैले खबर गरिराख्न पर्दैन बाहिरी तत्व देख्यो कि हमला गरि हाल्नुहुन्छ ।”
म्याक्रफेज अब शिथिल मात्र होइन बेहोशै भएर ढल्यो । टि–हेल्परले अघाडि बढेर उसलाई समात्दै भन्यो – “देख्नुभयो शरीरको रक्षकैलाई पनि तपाईको खरो रसायनले के गर्दौ रहेछ ?”
सूजी– “सरी, … ”
त्यसै बेलामा अर्को टि–हेल्पर नजिकै आयो र भन्न लाग्यो– “को हो यो ? ए … चिंने । यी औषधीहरुले पनि आजितै पा¥यो । बेलाकुबेला आइरहन्छन् । यिनीहरुले गर्दा पो हामीलाई झन काम गर्न गाह्रो भइरहेछ । तिमीलाई थाहा छ, तिमीहरुले यसरी आएर हाम्रोलागि काम गर्नाले हाम्रा आत्मनिर्भरतामा कमी आउनलाग्छ । पछि सानै समस्यामा पनि हामी तिमीहरुका मुख ताक्ने हुन जान्छौं । हामीलाई बेकामे बनाउन आएका हौ भने ठीक छ, त्यसै गर । होइन भने हामीलाई हाम्रा काम हाम्रै तरीकामा गर्न देउ । तिमीहरुको कार्यवाही त मित्रको होइन हाम्रा प्रणालीलाई नै धारासाही पार्न आएका बाहिरी शत्रु एजेन्टको जस्तो पो छ । नराम्रो नमान्नू । मैले त खसोखास कुरा गरेको हुँ ।”
रातो रक्तकोशिकाले स्थितिलाई साम्य पार्न बोल्यो– “….. ल ल हामी त नीक्कै बेर पो अल्मलियौं त ।”
पहिलो टि–हेल्परले सूजीसंग भन्न लाग्यो– “अप्ठेरो न मान्नु होला है औषधीज्यू । उनले हाम्रै भलाईको कुरा गरेका हुन् । मित्रहरुले त यस्ता कुरालाई सराहना नै गर्नप¥यो नि । होइन र ?”
सूजी गंभीर हुँदै बोलिन्– “म रिसाएको छुइनं । बरु म खुशी छु मैले एउटा शिक्षा नै पाएं । उहाँ टि–हेल्परले भन्नु भएझैं हामी मान्छेको समाजमा धेरै यस्ता छलकपटहरु हुन्छन् । बाहिरी तत्वहरु सहयोग वा शान्तिको मिशनको नाममा प्राविधिज्ञ, विशेषज्ञ, सल्लाहकार, स्वयंसेवक वा सहयोगी सेना लिएर एउटा समाजमा पस्दछन् र पछि उनिहरु नै स्थानीय संस्कृति, समाज, अर्थ र प्रतिरक्षा व्यवस्थामा हावी भएर आफ्नो अप्रत्येक्ष नवउपनिवेश बनाउन लाग्छन् । यस्तो भइरहेछ मान्छेहरुको समाजमा ।”
म्याक्रोफेज– “मान्छे भएर मान्छेकै शोषण ? आफ्नै जाती माथि शोषण ? कस्तो पत्यारै नलाग्दो कुरा । शरीर भित्र त्यस्तो हुदैन बुझनुभो ? हामी त एउटाले अर्कालाई सहयोग गर्दै शरीरलाई निरन्तरित गर्दछौं । त्यस्तो लुच्छाचंडीले तपाईका समाजहरु कसरी निरन्तरित हुन्छ ? अचम्मै लाग्छ ।”
सूजी गंभीर देखिइन् ।
पहिलो टि–हेल्पर– “ए तपार्ईं नीकै गंभीर हुन लाग्नुभयो । अब छोडौं यी कुरा । हामी त नीकै नै अल्मलियौं । यता उती हेर्नपर्छ । हाम्रो त कामनै पहरा दिने । यसरी गफ गर्न पाइयो र ?”
म्याक्रोफेजलाई केही सञ्चो भइसकेको थियो । उ पनि सतर्क भयो र भन्यो– “अँ म पनि निकै पो अलमलिएं । म पनि गएं ।”
सूजी– “म पनि जान्छु तपार्ईंहरुसंगै ।”
टि–हेल्पर– “तपार्र्ईं कसरी जानुहुन्छ ? हाम्रो पो हात खुट्टा छन् र हामीले चाहेको दिशातिर पौडन सक्छौं । तपार्र्ईंको त छैन । तपार्र्ईं त यही रगतको नदीमा राता रक्तकोशिकाहरुसंगै बग्दै जानुस् ।”
सूजीलाई त्यसबेला पो होश आयो कि तिनी त पहिलेदेखि नै रगतको धारमा बगिरहेकी थिइन् । तिनको आफ्नो चाल थिएन ।
रातो रक्तकोशिका– “उहाँ सेता खालेहरुलाई पहरेदारी गर्न र लड्नपर्ने हुँदा यताउति जानपर्ने हुन्छ । उहाँहरुका हात खुट्टा पनि छन् । हामी जस्ता कहाँ हुन् र ? उहाँहरुको एक दिशा हुँदैन । आउनुहोस् बग्नुहोस् हामी राताहरुसंग ।”
टि–हेल्परहरु गइसकेका थिए । सूजी अव रातो रक्तकोशिकासंगै वग्न लागिन् । रगतमा अरु खालका सेता रक्तकोशिकाहरु पनि यताउती घुम्दै गरेका देखिन्थे । ती रक्तकोशिकाहरु टि–हेल्परहरु जस्तै यता र उति पहरा दिने हिसाबले चनाखा देखिएनन् । उनिहरुको रंग सेतै भएपनि स्वरुप र आकाप्रकार टि–हेल्पर र म्याक्रोफेजको भन्दा फरक देखिन्थ्यो । उनिहरुको चालढाल समेत अलग थियो । उनीहरु सूजीको छेउबाटै यता र उति पौडेर जान्थे तैपनि वास्तै गर्दैनथे । तिनलाई धक्कै दिन्थे र तिनका रसायनको कारणले केही शिथिल पनि हुन्थे तैपनि कोसंग ठक्कर खएको हो केले शिथिल बनायो मतलवै नराखेका जस्ता देखिन्थे ।
सूजीले उनिहरुलाई निक्कै चाख मानेर हेरिन् । यस्तो चाख मानेको देखेर रातो रक्तकोशिकाले उनिहरुको परिचय दिंदै भन्यो– “यिनीहरु टि–रक्तकोशिका र बि–रक्तकोशिका भन्ने अति शक्तिशाली लडाकु रक्षकहरु हुन् । तर यीनिहरु म्याक्रोफेज जस्तो आफै शत्रु चिनेर कार्यरत हुन्नन् । टि–हेल्परको सूचना नपाएसम्म त शत्रुलाई नै चिन्दैनन् । त्यसैले यस्तै मनमौजी देखिन्छन् ।”
सूजीले टाउको हल्लाईन् र अरु प्रश्न गरिनन् किनभने तिनलाई उनिहरुकोबारेमा कितावमा पढेरै थाहा थियो । तिनले पहिले प्रत्येक्ष नदेखेकी मात्र हो ।
बग्दै जाँदा केही तल सूजीले एक किसिमको जीवित हानिकारक किटाणु रगतमा यता र उति घुम्दै गरेको देखिन् । उसले आफू वरीपरी टक्सिन भन्ने विषालु पदार्थ छोड्दै थियो । त्यस टक्सिनको कारणले छेउमै पहरा दिई हिंडने टि र बि दुवै खालका सेता रक्तकोशिकाहरुलाई मात लागिरहेको थियो र पुरै शिथिल थिए ।
त्यहाँ टि–हेल्परहरु आइपुगेका थिएनन्, जसले उनिहरुलाई शत्रु आएको सूचना देवस् । सूजीले आफै सूचना दिने विचार गरिन् र एउटा सेतो देखिने रक्तकोशिकालाई झकझकाउँदै भनिन्– “शत्रुले विषालु टक्सिन छोडेर तपार्ईंहरुको बेहाल बनाइरहेछ । मार्नुहोस् उनिहरुलाई ?”
त्यस रक्तकोशिकाले लट्ठिएको स्वरमा भन्यो– “तपार्ईं को हो ? टि–हेल्पर हो ? होइन भने शत्रुको खवर गर्ने तपार्ईं को हो ? शत्रुको एजेन्ट त होइन तपार्ईं ?”
सूजीलाई थाहा थियो यिनीहरुको यस्तै जवाफ हुन्छ भनेर । त्यसपछि एक्लै बर्बराइन्– “ठीक छ । तिमीहरु आफ्ना प्रकृया अनुरुप काम गर्दैरहनू । म आफूले गर्नसक्ने काम चाहिं गर्न शुरु गरें ?”
त्यसपछि तत्कालै सूजीले आफ्नो रसायनले त्यस हानिकारक किटाणुलाई हानिन् । उ रन्थनियो । सूजीले अर्को पल्ट उसलाई फेरि रसायनले हान्यो । अव त उ पुरै शिथिल भयो । तैपनि सूजीले उसलाई म¥यो नै भन्ने पक्का नहुइञ्जेल अझै आक्रमण गरि नै रह्यो ।
छेउमै संगै बगिहिंडने रातो रक्तकोशिकाले हाँस्दै भन्यो– “होइन कति साह्रो रिस उठेको हँ तपार्ईंलाई । उ त लखतरान नै भइसक्यो । अव केही गर्न सक्दैन । किन बारंबार हानिरहेको ?”
सूजी– “होइन, मैले रिसले यसरी बारंबार अक्रमण गरिरहेको होइन । मरेको पक्का गर्न खोजेको मात्र हुँ । तपाईंलाई थाहा छैन, रोगका किटाणुहरुले एकैपल्ट मात्र औषधी पचाउन पायो भने फेरि उसलाई त्यही स्तरको औषधीले केही गर्न सक्दैन । उ झन बलियो हुन्छ र शरीरका रक्षक र एन्टिबडीहरुको लागि पनि समस्या नै हुन्छ । औषधी प्रयोग गरेपछि पछि हुने खतराको लागि पनि मात्रा पु¥याएरै गर्नैपर्छ । बीचैमा औषधीको मात्रा कम गर्ने वा छोडने गर्नु हुन्न । त्यसैले बारम्बार उ नमरुञ्जेल आक्रमण गरिरहेको । ”
उनिहरु यता कुरा गर्दै थिए । त्यसैबेलामा त्यहाँ अरु पनि हानिकारक किटाणुहरु आए । टि¬–हेल्परले नै नभनेसम्म त्यताहुँदी घुमिहिंडने सेता रक्तकोशिकाहरुले केही नगर्ने पक्का छँदै थियो । अव लागिन् तिनी आफै एक्लै हानिकारक किटाणुहरु मार्न । तिनी धमाधम हानिकारक किटाणुहरु मार्दै थिइन् कि अर्को छेउबाट एउटा म्याक्रोफेज सेतो रक्तकोशिका पनि हानिकारक किटाणुहरु खान आइपुगिहाल्यो । हेर्दाहेर्दै त्यसले सैयूँ हानिकारक किटाणुहरु सर्लक्क सर्लक्क निल्यो र सूजी भएको ठाउँमै आइपुग्यो । सूजी पनि उसको लागि तत्व नै थियो । उसले सूजीलाई शत्रु संझी आक्रमण गरिहाल्यो । उसलाई फेरि पनि निल्ने भयो यो स्थानीय रक्षक म्याक्रोफेजले । सूजी चिच्याइन्– “ए, म त मित्र हुँ ।”
तर त्यस रक्तकोशिकाले उसको कुरै सुनेन । मुख बाएर सर्लक्कै निलिदियो । आफूलाई बचाउननै थियो सूजीले आफ्ना कडा रसायन त्यसको पेट भित्र छोडिदिइन् । त्यो कोशिकालाई पेट पोलेर खपिनसक्नुभयो । उसले तत्कालै सूजिलाई ओकलिदियो र लट्ठिएको स्वरमा भन्यो– “हत्तेरी झण्डै मरियो भन्या ।”
छेउमै भएको रातो रक्तकोशिकाले खितिति हाँस्दै भन्यो– “कस्तो डन्ठे पारा त ? यसो यता उति बुझ्नु छैन ख्वाप्पै मुखमा हालीहाल्ने ? बिचरोले सूचना दिदैनै हुनुहुन्थ्यो–म मित्र हुँ भनेर । भएन यता उ धमाधम शत्रुहरु मार्दै गरेको देखेर पनि त थाहा पाउनुपर्ने हो कि यिनी अैषधी हुन् भनेर । गजवै ग¥यौ बा तिमीले त ।”
सेतो रक्तकोशिका अलि लज्जित हुँदै– “अब तिमीचाहिं घाउमाथि नुनचुक छर्दै गर । म यता चिनापर्ची गर्नपट्टि लाग्छु ।”
त्यसपछि सूजीतिर मैत्रिपूर्ण हात बढाउँदै उसले भन्यो– “माफ गर्नुहोला औषधी हुनुहुँदो रहेछ, मैले त चिन्नै सकिन । म म्याक्रोफेज भन्ने सेतो रक्तकोशिका हुँ । म स्थानीय रक्षक हुँ ।”
त्यसै बेलामा अरु हानिकारक किटाणुहरु पनि त्यहाँ देखिए । म्याक्रोफेज “एकछिन है” भनेर उता झम्टिहाले । तर यसपल्टको किटाणुहरु अलि जब्बरै खालको परेछ । हेर्दाहेर्दै त्यहाँ भएका टि–हेल्परहरुको सूचना नपाई केही नगर्ने सेता रक्तकोशिकाहरुलाई नै खान लागे । अरु त अरु म्याक्रोफेजलाई नै मार्ला जस्तो भयो । सूजी पनि लागिन् म्याक्रोफेजलाई सघाउन ।
त्यसैबेला थुप्रै टि–हेल्परहरु पनि आइपुगे र लागे आफ्नो सिट्ठी बजाउन । त्यो सिट्ठी सुनेपछि त्यहाँ भएका अरु दुइखाले सेता रक्तकोशिकाहरु बल्ल जागे । बल्ल देखियो यी टि–हेल्परहरुको सूचना नपाई केही नगर्ने रक्तकोशिकाहरु कस्ता अनौठा र बहादुर रहेछन् भनेर । वि खाले रक्तकोशिकाहरु त आफसे आफ फुटेर बमको छर्रा जस्तो एन्टिबडी बनाउदै हानिकारक किटाणु नाश गर्न दौडदा रहेछन् । अर्को टि खाले चाहिं सोझै आक्रमण गर्दा रहेछन् ।
धुमधामको लडाई भयो । यत्तिका लडाकुहरुको अघाडि हानिकारक किटाणुहरुको केही लागेन । उनिहरु एकै क्षणमा मारिए ।
लडाइँ साम्य भयो । सबै आरामको लागि सुस्ताउन लागे । सूजी पनि केही थाकेकी थिइन् । उनी यत्रतत्र हेर्दै रगतमै बग्न लागिन् ।
टि–हेल्पर– “केही बोल्नु भएन ?”
सूजी– “तपार्ईंहरु यस्तो व्यस्त हुनुहुन्छ । किन अल्मलाउने भनेर । विशेष म तपार्ईंलाई अल्मलाउन चाहान्न किनभने तपार्ईं बेगर त यहाँको प्रतिरक्षा प्रणाली पुरै शुन्य जस्तो हुनेरहेछ ?”
टि–हेल्पर– “मलाई के अल्मलाउनु हुन्छ, तपार्र्ईंले । मेरो प्रकृति नै यस्तो छ कि रगतमा शत्रुतत्व आउने बित्तिकै मलाई स्वतः थाहा भइहाल्छ । तपार्र्ईंसंग बस्दाबस्दै पनि मलाई थाहा हुन्छ । भएन यस शरीर भित्र हरेक ठाउँमा म जस्ता पहरेदार संचारकर्मीहरु लाखौं छन् ।”
सूजी– “मलाई थाहा छ तपार्र्ईंहरु नीकै हुनुहुन्छ । तर रातोहरुको तुलनामा तपार्र्ईं सेताहरु निकै कम हुनुहुन्छ ।”
टि–हेल्पर– “सरदर प्रत्येक आठसय रातोहरुमा हामी सवैखाले सेताहरु एउटा पर्दछौं । तर प्रयाप्त छौं । हामी चाहिने भन्दा बढी भयौं भने शरीरमा ल्यूकोमिया भन्ने रक्त केन्सर हुन्छ तपार्ईंलाई थाहा छ कि छैन ।”
एउटा आएर आफ्नो परिचय दिंदै भन्यो– “हो हामी शरीरमा चाहिंदो मात्रामा मात्र रहन्छौं ताकि शरीरमा ल्यूकोमिया भन्ने केन्सर न होस् । .. परिचय गरिहालुँ म सेताहरु मध्येको एक खाले टि–रक्तकोशिका हुँ । संचारकर्मी टि–हेल्परको सूचना पाएपछि म शत्रुमाथि सोझै जाइलाग्छु । तपाईंँले देखिहाल्नुभयो ।”
अर्को आएर आफ्नो परिचय दिंदै भन्यो– “म बि–रक्तकोशिका हुँ । संचारकर्मी टि–हेल्परको सूचना पाएपछि म शत्रुमाथि एन्टिबडीको गोलाले प्रहार गर्छु । म हरेक सेकेण्डमा दुइहजार एन्टिबडी बनाएर शत्रुलाई सोझै प्रहार गर्नसक्छु । तपाईंँले देखिहाल्नुभयो ।”
सूजीले पनि आफ्नो परिचय दिइन्– “तपाईंहरुले थाहा पाइहाल्नुभयो म एटिन्बायटिक औषधी हुँ । यस शरीरको तल खुट्टामा घाउ लागेको छ र त्यहाँ हानिकारक किटाणु मार्न भनेर आएको । तपाईंहरुसंग भेटेर मलाई ज्यादै खुशी लागेको छ ।”
टि–हेल्परले सम्झाउँदै भन्यो– “लौ मित्रहरु, निकै अलमल ग¥यांै । यसरी त भएन । जाउँ अफ्ना आफ्ना काममा ।”
त्यसपछि सबै लागे आफ्नाआफ्ना दिशातिर ।
सूजी भने आफ्नै सुरमा मनमनै बोल्नलागिन्– “शरीर भित्र कस्ता अनेकता छन् र अनेकतामा कस्तो एकता छ । एउटा शरीर अंगहरुमा, अंगहरु सानासाना टिस्यूमा र टिस्यूहरु मसिना कोशिकामा विभाजित छन् । त्यति मात्र होइन प्रत्येक अंग, प्रत्येक टिस्यू र प्रत्येक कोशिकाहरुका आफ्नाआफ्नै एकएकवटा विशिष्ठ निर्धारित भूमिका पनि छन् । त्यस भूमिकामा पनि प्रत्येककोे प्रत्येकसंग विशिष्ठ कार्यगत सम्बन्ध छ । ठ्याक्कै कामीको आरनमा फलामको काम भइरहेको जस्तै । एउटाले खलाँती चलाएर आगो बालिरहेछ, अर्कोले चिम्टाले समाएर त्यही आगोमा फलाम तताइरहेछ र अर्कोले घन लिएर त्यसलाई ठोक्न तयार बसिरहेछ । एउटै मात्रको अनुपस्थितिले सबै काम लंगडो, अपूरो वा वेअर्थी हुने ।”
सूजीको अर्को मनले कुरा थप्यो– “अर्थात यी कोशिकाहरु एकाअर्कामा कार्यगत रुपमा सम्बन्धित भएर एउटाले अर्कालाई सघाउँछन् र उनको आफ्नो कार्यले पूर्णता पाउँछ । एकाअर्कामा वैमनस्य छैन । ठोकाबाजी छैन । सबै आफ्नाआफ्ना ठाउँमा बसेर आफ्नाअफ्ना भूमिका निभाइरेका छन् र त्यसैले शरीर गतिशील छ, संरक्षित छ अनि जीवित छ ।”
सूजी दड्डदास् भइन् र अरु सोचिन्– “यो त ठ्याक्कै हामी मान्छेहरुले चाहने गरेको एउटा पूर्ण व्यवस्थित सुसंगठित आदर्श समाज जस्तो पो रहेछ ।”
मनमनै बोलिरहेकी सूजी थाहै नपाई वाक्य फुटाएरै बोल्न लागिन्– “सबै अंगका उत्तिकै महत्व छ । सबैको भूमिका वा काम उत्तिकै महत्वपूर्ण छन् । कुनै कोशिका व्यक्तिगत उचनीचको भावले ग्रस्त छैन । मान्छेको समाजमा झैं व्यक्तिव्यक्तिका कामलाई आफ्नाआफ्नै प्रकारले उचनीचको दर्जा दिने प्रचलन छैन ।”
“टाउको वा हात वा खुट्टा वा पेटमा समानभावले रक्त संचालित छन् । समानरुपले सबै अंगहरुमा जीवकोशिकाहरु निर्मित छन् । हरेक अंगमा समानरुपले पौष्टिक तत्व र रक्षाशक्ति पुग्दछन् । त्यसैले सबै अंग पूर्णरुपले संचालित छ । सबैको उत्तिकै महत्व छ । एउटै मात्र अंगले काम गर्न छोड्नु भनेको सम्पूर्ण समाजरुपी शरीरकै अस्तित्वको लागि समस्या बन्दछ । कति स्वभाविक ढंगमा व्यवस्थित छ शरीर । यस्तै समाजको त हाम्रो कल्पना छ नी– एउटा पूर्ण व्यवस्थित सुसंगठित आदर्श समाज ।”
टि–हेल्परले सूजीलाई वाल्ल परेर हे¥यो । मानौं उसले सूजीका कुरालाई बुझ्दैबुझेन । उसले भन्यो– “एक्लै बोल्दैहुनुहुन्छ कि मलाई केही भन्दैहुनुहुन्छ ।”
सूजीलाई बल्ल एक्लै बोल्दैरहेछु भन्ने ज्ञान भयो र केही लज्जित भइन् । लाज लुकाउँदै हाँसेर टि–हेल्परलाई सोधिन्– “ल भन्नुहोस् त यो शरीरको खुट्टा सन्तुष्ट छैन वा हात सन्तुष्ट छैन भने शरीरको के हाल हुन्छ ?”
टि–हेल्पर– “लौ तपाईंले त हुनै नसक्ने अस्वभाभिवक कुरा गर्नलाग्नुभयो । एउटै शरीरका अंगहरुमा असन्तुष्टी कसरी हुन सक्छ । तपार्ईंको प्रश्नै मिलेन ।”
सूजी– “मानिलिनुहोस् हात वा खुट्टामा चाहिंदो ध्यान नपुगेर पक्षघात भएको छ । त्यस्तो अवस्थाको कल्पना गरेर जवाफ दिनुहोस् न ।”
टि–हेल्पर– “खुट्टामा पक्षघात भएको छ भने सम्पूर्ण शरीरले गति पाउँदैन । गति नपाएको शरीर मृतप्रायः हुन्छ । हातमा पक्षघात भएको छ भने आर्जन प्रयाप्त हुन सक्दैन । आर्जन प्रयाप्त हुन सक्दैन भने खाना प्रयाप्त हुन सक्दैन । खाना प्रयाप्त हुन सक्दैन भने पोषण प्रयाप्त हुन सक्दैन । पोषण प्रयाप्त हुन सक्दैन भने शरीरका प्रत्येक अंगमा शक्ति प्रयाप्त हुन सक्दैन । शरीर दुर्वल हुन्छ । क्षीण हुन्छ । अन्ततः मृत्यु नै हुन्छ । तपार्ईंले जुन स्थितिको कल्पना गर्नुभयो । शरीरको लागि अति नै भयंकर स्थिति हो ।”
सूजी– “यही कल्पना म हाम्रा समाजरुपी शरीरको लागि गर्दै थिएं । …अब म तपार्ईंलाई अर्को प्रश्न गर्दैछु– अव भन्नुहोस् त शरीरकै अस्तित्वको लागि त्यत्रो महत्व राख्ने हात र खुट्टामा पक्षघात हुन नदिन कसको दायित्व हुन्छ ?
टि–हेल्पर– “सम्पूर्ण शरीरको ।”
सूजी– “के टाउको र हातखुट्टाले समान महत्ता पाउनुपर्छ ?”
टि–हेल्पर– “एकदमै पाउनुपर्छ । जुन रगत टाउकोमा पुग्छ त्यही रगत हातखुट्टामा पनि पुग्नपर्छ । जुन पोषणतत्व टाउकोमा पुग्छ त्यही पोषणतत्व हातखुट्टामा पनि पुग्नपर्छ । जुन सुरक्षा व्यवस्था टाउकोमा पुग्छ त्यही सुरक्षा व्यवस्था हातखुट्टामा पनि पुग्नपर्छ । नत्र शरीर अपांग बन्दछ ।”
सूजीले फेरि हाँस्दै भनिन्– “टि–हेल्पर महोदय, शरीरको भित्री व्यवस्था त अति नै स्वभाविक छ र हरेक कुरा तपार्ईंले भनेझैं नियमित छ । तर शरीर बाहिरका कुरा अलि फरक छ । बाहिर मान्छेको समाजमा अनुहार मात्र राम्रो राख्ने संस्कृति छ । टाउको मात्रको ध्यान पु¥याए पुग्छ भन्ने छ । त्यसैले मान्छेहरुले अरु अंगकोबारेमा त्यति ध्यान पु¥याउँदैनन् । म हातकै मात्र उदाहरण दिएर तपार्ईंलाई केही भन्छु । मानिलिनुहोस् कि मान्छेहरुले हातलाई हेला गरेर सफा राख्दैनन् । त्यही फोहर हातबाट पेटमा अनेक खालका जुगाहरु पुग्छन् । अनि पेटका जुगाले सबै खानाका रसहरु खाइदिन्छन् । यसरी पौष्टिक तत्व जुगाहरुले खाइदिनाले सबैसबै अंगहरु कमजोर भइरहेका हुन्छन् । रोगी भइरहेका हुन्छन् ।”
टि–हेल्पर– “तपार्ईंका कुरा जति सुन्दैछु त्यति मान्छे भन्ने प्राणी नीकै मूर्ख छ भन्ने लाग्दै छ मलाई ।”
सूजी– “सबै मान्छेहरु त्यस्ता मूर्ख छन् भन्ने पनि मेरो भनाई होइन । कसमा कति ज्ञान छ, ज्ञान भएर पनि उसमा कति विकसित संस्कार छ, विकसित संस्कार भएर पनि उ कति जाँगरिलो छ, उ जाँगरिलो भएर पनि कति उत्तरदायी छ आदि कुराहरुमा भरपर्दछ ।”
सूजी निक्कै गंभीर देखिन्थिन्– “आफ्ना वैज्ञानिक प्रयोगबाट मान्छेहरुले धेरै कुराहरु हासील गरिसकेका छन् । अरु नयाँ कुराहरु पनि हासील गर्नेछन् । त्यसैले म विश्वस्त छु आफ्नै शरीर भित्रको स्वभाविक व्यवस्थालाई हेरेर पनि मान्छेहरुले आफ्ना समाजलाई व्यवस्थित बनाउनेछन् ।”
एउटा तत्व अघाडि आएर सूजीसंग हात मिलाउँदै भन्नलाग्यो– “अभिवादन मित्र, तपार्ईं त विद्वानै हुनुहुँदोरहेछ । तपार्ईंको कुरा सुनेर म निक्कै प्रभावित भएं । … मित्र, म बरबोटे कान्छोको बगंैंचामा फलेको सुन्तलाबाट बनेको तत्व भिटामीन–सी हँु । म शरीरका कोशिकाहरुलाई एकमुष्ठ बाँध्ने काम गर्दछु र रक्तका सानासाना नलीकाहरुलाई स्वस्थ राख्न मद्दत गर्दछु । साथै दाँत, हाड र अरु जोडनीका तन्तुहरुको विकासमा विशेष गरेर घाउ भएको बेलामा म सहयोेगी शीद्ध हुन्छु । एक किसिमले म तपार्र्ईं जस्तो नै बाहिरी तत्व हुँ ।”
सूजी– “म सूजी हुँ । मदननगर स्कूलमा ९ कक्षामा पढछु । म एन्टिबायटिक भएर यहाँ आएको छु । तपार्ईं त शरीरमा घाउ भएको बेलामा काम लाग्ने तत्व हुनुहुँदोरहेछ तल खुट्टामा घाउ भएको छ, लौन जाउँ त्यतै ”
भिटामीन–सी– “आत्तिन पर्दैन हामी आफ्ना खुशीले कता जान सक्छौं र ? यी यसरी नै बग्दै जानपर्छ रगतमा । धैर्य धारण गर्नुहोस् हामी त्यहाँ अवश्यै पुग्छौं ।”
अर्को तत्व आयो र हात मिलाउँदै भन्यो– “म भिटामीन–ए हुँ, बालकहरुलाई रतन्धो हुनबाट जोगाउँछु र शरीरमा झाडापखाला दादुरा र कुपोषण जस्ता रोगहरुसित लड्ने क्षमता बढाइदिन्छु । म तपार्ईंहरुकै करेसाबारीमा फलेको साग र पहेंलो फलफूलबाट बनेको तत्व हुँ ।”
एउटा सानो टि–हेल्पर हत्तारिंदै सूजीको छेउमा आयो र घृणा गर्दै साँक्कसुंक्क गरेर सुँघ्यो । औषधी भनेर उसले सूजीलाई चिनेन– अचम्मले हेर्दैै हिंड्यो ।
सूजीले भिटामीन–ए संग सोधिन्– “यसले मलाई किन चिनेन ?”
भिटामीन–ए– “यो नयाँ टि–हेल्पर हो । उसले औषधी देखेकै थिएन र चिनेन ।”
भिटामीन–सी ले जिस्कँदै भन्यो– “यसले एकै छिनमा बि र टि रक्तकोशिकाहरुलाई खवर गरेर तपार्ईंमाथि हमला गर्न पठाउँछ ।”
सूजी– “टि–हेल्परले शत्रु मित्र छुट्याउनमा गल्ती गर्ला र ?
भिटामीन–सी ले जिस्काउँदै भन्यो– “डराउनुभयो कि क्या हो ?”
सूजी– “किन डराउने म आखिर मित्रशक्ति हुँदै हुँ । अलि अप्ठेरो लागेको मात्र …”
एकै छिनमा हजारौं बि–रक्तकोशिका र टि–रक्तकोशिका भन्ने सेता रक्तकोशिकाहरु त्यता आए । सूजीलाई अत्यासै लाग्यो । के गर्ने के नगर्ने ? तर भिडले उसलाई वास्ता नै नगरी अघाडि बढ्यो । उनीहरु अन्तै कतै हत्तारिएर जाँदै थिए । कहीं कतै बाहिरी हानिकारक किटाणु वा शत्रुको प्रवेश भएको हुनुपर्छ । सूजीलाईृ आक्रमण गर्न उनिहरु आएका थिएनन् ।
भिटामीन–सी ले भन्यो– “तपार्र्ईं निश्चयनै तर्सनुभएको देखिनुभयो । उनिहरु तपार्ईंलाई हमला गर्न आएका थिएनन् । बालकनै भएपनि टि–हेल्परले कहिल्यै गलत सूचना दिंदैंन ।”
त्यसै बेलामा पहिले भेटेको टि–हेल्परले सूचना ग¥यो– “तल घाउमा हानिकारक किटाणु भन्दापनि जब्बरको हानिकारक भाइरस पसेको खबर आयो । सबै बि र टि रक्तकोशिकाहरु त्यहाँ जाँदैछन् । लौ एन्टिबायटिकजी, तपार्ईं पनि हिंडिहाल्नोस् । वित्यास प¥यो ।”
भिटामीन ए– “लौ, औषधीज्यू, हाम्रो त त्यो काम परेन”
सूजी भने पौडन नसक्ने थिइन् । तिनी रगतको बहाउसंगै बगेर मात्र जानुपर्ने भयो । हातखुट्टा हुने सबैले तिनलाई छाडेर गए । आफ्नो भाइको शरीरमा भाइरस पसेको थाहा पाउनासाथ तिनलाई निकै दुख लाग्यो । सोच्न लागिन्– “भाइको पनि बुद्धि नै छैन । उसले मैला हातले घाउ थिचेको थियो । त्यसैबाट पो पसेको हो कि ? कस्तो भाइरस पस्यो होला ?”
रगतमा ठूलै हलचल मच्चिरहेको थियो । सबै सेता रक्तकोशिकाहरु उतै दौडदै थिए । तर म्याक्रोफेजहरु भने त्यहीं वरीपरी मात्र घुम्दै थिए ।
सूजीले तुरुन्तै आग्रह गरिन्– “अहो म्याक्रोफेजजी तपार्र्ईं छिट्टै आघाडि बढ्नुस् शरीरमा भाइरस पसेका छन् रे । तपार्ईं त पौडन सक्नुहुन्छ गइहाल्नोस् न । खै म औषधी भएर पनि त्यहाँ छिट्टै पुगेर उपचार गर्न नसक्ने भएँ । यी यसरी बग्दै जानपर्छ ।”
म्याक्रोफेज– “म त स्थानीय रक्षक हुँ । यतैहुँदी हानिकारक किटाणु आउनसक्छन् । यतै झ्याप पार्न बस्नुपर्छ । किन आत्तिनुभएको ? टि र बि रक्तकोशिकाहरु पुगिसके होलान् तपार्र्ईं पनि जाँदै नै हुनुहुन्छ । आत्तिने काम नै छैन ।”
सूजी– “कस्तो भाइरस पसे होलान् शरीरमा ?”
म्याक्रोफेज– “यसै भन्न सकिन्न अलि कडै खाले हुनुपर्छ । साधारण भए त म जस्तै स्थानीय रक्षाटोलीले ठीक गरिहाल्थे । त्यही नसकेको हुँदा टि–हेल्परले बि र टि रक्तकोशिकाहरुको फौजलाई लिनआएको थियो ।”
सूजी आत्तिएर– “मलाई त छिट्टै जान मनलाग्यो । तपार्ईं यतै बस्ने भन्नहुन्छ । अरुले छाडिसके । कसले बाटो देखाउँछ मलाई ?”
म्याक्रोफेज– “तपार्र्ईं आत्तिनु पर्दैन । यो रगतको नदी त्यतै पुग्छ ।”
त्यसपछि म्याक्रोफेजले तिनलाई छोड्यो । सूजी रगतसंगै तलतिर बग्न लागिन् । तिनको मनमा अनेक प्रश्न आइनै रह्यो– “कस्तो खाले भाइरस पस्यो होला ? हिजो लगाएको औषधीले कसरी काम गरेन ?”
पछाडिबाट एउटा आवाज आयो– “हेलो आन्टीबायटिकजी के छ हालखबर, कसरी यता ?”
सूजीले फर्केर हेरिन् । नचिनेको तत्व प¥यो । उ जीवकोशिका होइन भन्ने प्रष्टै थियो । किनभने उनका पनि हात खुट्टा थिएनन् । आफू जस्तै बाहिरी तत्व लागेपछि सोधिन्– “के तपार्र्ईं पनि औषधी हुनुहुन्छ ? .. लौ न छिटो गर्नप¥यो शरीरमा भाइरस पसे अरे ।”
बाहिरी तत्व– “अब के छिटो नि ? म पनि तपार्र्ईं जस्तै आफै कहींंपनि जान सक्तिन यसरी नै बग्दै जानुपर्छ । जे होस् म औषधी चाहिं होइन ।”
सूजीले औषधी होइन भन्ने थाहा पाउनासाथ उनलाई वास्तै गरिनन् ।
त्यस तत्वले हाँस्दै भन्यो– “औषधी होइन भनेपछि म बेकामे हुँ भन्ने लाग्यो होइन तपार्र्ईंलाई ? बेकामे भए याँहाका रक्षाशक्तिले मलाई यसै राख्थे ? गुलियो पदार्थबाट निस्केको म ग्लुकोज हुँ । मलाई खाएर यहाँका कोशिकाहरुमा शक्ति आउँछ । म औषधी नभएर के भयो ? ज्यानमा तागत त दिन्छु । थाहा छ तपार्ईंलाई, तपार्ईं जस्ता एन्टिबायटिक आएर याँहाका कोशिकाहरु नातागत हुन्छन् ? तपार्ईंले हानिकारक किटाणु मात्र मार्ने हो र ? तपार्ईंका संसर्गमा आउने कति मित्रहरु त मर्दछन् र नमरे कमजोर त पक्कै हुन्छन् । म उनिहरुलाई नै तागत दिन्छु ।”
सूजी आफ्नो व्यवहार संझेर लज्जित भइन् । तिनले माफि माग्दै भनिन्– “मित्र मलाई थाहा थिएन । म याँहा नयाँ छु । त्यो घाउमा कस्तो भाइरस पस्यो होला भनेर म एकदमै चिन्तित छु । त्यसैले मेरो मन ठेगनमा छैन । मलाई माफ गर्नुहोस् ।”
ग्लुकोज– “कस्ता नै पस्यो होला र ? जस्तै भएपनि तपार्ईंको अघि को टिक्ने ?”
सूजी– “त्यसो भन्न मिल्दैन कोहीकोही त असाध्य तागतिला हुन्छन् । नास्नै सकिन्न ।”
ग्लुकोज– “त्यो त बुढाबुढीको शरीरमा पो त्यस्तो हुन्छ त । यो त बालकको शरीर हो नि, जति जीवकोशिकाहरु नाश हुन्छन् त्यो भन्दा बढीबढी जीवकोशिकाहरु बालकहरुको शरीरमा पैदा भइरहेका हुन्छन् । बढ्ने बालकको ज्यानमा केको चिन्ता ?”
सूजी– “तपार्ईंलाई थाहा छैन ग्लुकोजजी, कोहीकोही मार्नै नसकिने भाइरस पनि हुन्छन् । उल्टै तिनले शरीरको रक्षाशक्तिलाई नै नास गरेर ज्यानलाई खंग्रंग पारिदिन्छन् ।”
ग्लुकोज– “मलाई त झन खुल्दुली लागेर अयो । अब नसुनी नछोड्ने नै भएँ म त ।”
सूजी आजित भएर भन्न लागिन्– “त्यो आसाध्य भाइरसको नाम हो एचआइभी । यो अति नै सूक्ष्म भएकोले रेट्रो–भाइरसको कोटीमा पर्दछ । यो शरीरमा पसेपछि अरु थोकलाई हमला गर्दैन । सीर्फ यीनै रक्षाशक्तिका पहरेदार संचारकर्मी टि–हेल्पर रक्तकोशिकालाई नाश गर्दछ । अब सोच्नुहोस् त टि–हेल्परकै नाश भयो भने शरीरको हाल के हुन्छ ?
ग्लुकोज– “बाफरे, टि–हेल्पर भएन भने त शरीर भित्रको संचार प्रणाली नै नष्ट हुन्छ र त्यो बि र टि रक्तकोशिका भन्ने रक्षक रक्तकोशिकाहरुले शरीर भित्र कुनैपनि शत्रु पस्यो भने थाहा नै पाउँदैनन् । छेउमै शत्रु भएपनि शत्रु मित्र नै छुट्याउन सक्तैनन् । होइन ?”
सूजी– “हो, यसरी शरीरको रक्षाशक्तिलाई नै नष्ट गर्ने भएकोले त्यस भाइरसलाई रक्षाशक्तिनाशक भाइरस अर्थात अंग्रेजीमा ह्यूमन इम्यूनो–डिफिसियन्सी भाइरस८ भनिन्छ त्यसैलाई छोटकारीमा एचआइभी भनिन्छ ।”
ग्लुकोज– “अनि तपार्ईं जस्ता एन्टिबायटिकले पनि मार्नसक्नुहुन्न ?”
सूजी– “मार्न नसकिने होइन कडाकडा औषधीहरुले त्यस्तालाई अवश्यै मार्न सकिन्छ ? तर यो बाहिर रहे मात्रन मार्न सकिन्छ । यो त टि–हेल्परको खोल भित्र पसिहाल्छन् अनि के गर्ने ? आफ्नै शरीरको टि–हेल्परलाई नै नमारी त्यो मर्ने नै भएन । अनि हेर्नोस् त आफ्नै टि हेल्परलाई मार्न मिलेन, क्या गाह्रो छ ? ”
ग्लुकोज– “तपार्ईंले त अघि यो भाइरसले टि–हेल्परको नाश गर्छ पो भन्नुभएको थियो फेरि अहिले त उसको शरीर भित्र पस्छ भन्दै हुनुहुन्छ । मैले त कुरो बुझिंन ।”
सूजी– “पहिले यो भाइरस टि–हेल्परको शरीर भित्र पस्छ अनि त्यसैको शरीर भित्र रहेर हज्जारौंको संख्यामा आफ्ना सन्तति बढाउँछन् र पछि ती सवै एक समयमा टि–हेल्परको शरीर फुटाएर बाहिर निस्कन्छन् । उनीहरु फेरि तत्कालै नयाँ टि–हेल्पर भित्र पस्दछन् र भित्रभित्रै आफ्ना संख्या बढाउने काम गर्दछन् । हरेक टि–हेल्पर यसै क्रममा एकएक गरी मर्छन् ।”
ग्लुकोज– “बुझें, शरीर भरी यीनै भाइरसको साम्राज्य कायम हुन्छ । अन्तमा शरीरको प्रतिरक्षा प्रणालीले कत्ति पनि काम गर्दैन । अर्थात शरीर प्रतिरक्षाहीन अवस्थामा पुग्दछ ।”
सूजी– “हो प्रतिरक्षाहीन अवस्थामा पुग्दछ । यो अवस्थालाई छोटकारीमा एड्स भएको भनिन्छ । एड्स अर्थात अक्वायर्ड इम्यूनो डेफिसिएन्सि सिन्ड्रोम८८ । यो रोग लागेपछि शरीरको रोगसंग लड्ने क्षमता नाश भएर जान्छ । अनि साधारण भन्दा साधारण रोग लागेपनि कडा रुप लिन्छ र मान्छेलाई मारेरै छाड्छ ।”
ग्ुलकोज– “तपार्ईंलाई त यस्ता धेरै कुराहरु थाहा भएको रहेछ । कसरी थाहा पाउनुभयो ?”
सूजी– “अब तपार्ईंलाई के ढाँट्ने ? म मान्छे हुँ । मन्छेले यस्ता धेरै कुराहरु पत्ता लगाएका छन् । मैले ती नै कुराहरु पढेर थाहा पाएको हुँ । …. म यही शरीरकी दिदी हुँ । मेरो भाइलाई तल खुट्टामा घाउ लागेको छ र म एन्टिबायटिक भएर निको पार्न आएको हुँ ।”
ग्लुकोजले छक्क परेर सूजीलाई हेरिरह्यो । ………..
४
आखिरमा सूजी र ग्लुकोज घाउ भएको ठाउँमा पुगे । त्यहाँ ठूलो गाढा रातो रंगको पर्खाल लागेको थियो । भिटामीन–के हरुले राम्रो काम गरेका रहेछन् । एक किसिमको मसीनो रेसाले टम्म पारेर बाँध नै बाँधेका रहेछन्् । त्यो बाँधलाई राम्ररी हेरिन् । ती सबै राता र सेता रक्तकोशिकाहरुका मरेका कोशिकाहरु रहेछन् । बिचराहरुले ज्यानै छाडेर शरीरलाई बचाएका रहेछन् ।
तर भाइरस शरीर भित्र पसे भन्थे, खोइ त ती भाइरसहरु ? त्यसैबेलामा म्याक्रोफेजहरुमा हलचल भयो । त्यता भएका सबै म्याक्रोफेजहरु सूजीलाई खान खनिन लागे । तिनी चिच्याइन्– “ए म मित्रशक्ति एन्टिबायटिक हुँ ।” तर कसैले सुनेनन् । सूजीलाई आफ्नो रसायन बाध्य भएर छोड्नप¥यो । त्यसपछि खनिएका सबै म्याक्रोफेजहरु एन्टिबायटिकका रन्को खप्न नसकेर शिथिल भए । अनि भन्नलागे– “हो त रै छ त । यिनी त साँच्चै नै एन्टिबायटिक रहेछन् ।”
सूजी– “माफ गर्नुहोला भन्दाभन्दै तपार्ईंहरु ममाथि खनिन आइहाल्नुभयो । मेरोलागि अरु बाटो नै थिएन । तपार्ईंहरु लखतरान हुनुभयो । मसंग ग्ुलकोज पनि आउनुभएको छ । लौ उहाँलाई खाएर शक्ति हासिल गर्नुहोस् ।”
सूजीले बोल्न पाएकी थिइनन् कि सबै म्याक्रोफेज उतै झम्टिएर ग्लूकोज खान शुरु गरे । सबै एकैछिनमा स्वस्थ भए ।
सूजीलाई भने अर्कै धन्दा थियो– यतिखेरसम्म त टि–हेल्परहरु सूजीलाई सुँघ्न आइसक्नुपर्ने । के भयो ? किन आएनन् यति बेरसम्म पनि ?
सूजीले म्याक्रोफेजलाई सोधिन्– “खोई यता टि–हेल्परहरु म बाहिरीया आएपछि खबर लिन आइपुग्नुपर्ने होइन र ?”
म्याक्रोफेज– “खोइ के भयो निकै बेरदेखि उनिहरु देखिएनन् । यहाँ निकै थिए एक एक गरी गए तर फर्केर आएनन् ।”
वरीपरि बि र टि रक्तकोशिकाहरु निश्चिन्त घुमिरहेका थिए । कतै केही नभएको जस्तो ।
सूजीले एउटा टि–रक्तकोशिकालाई सोधिन्– “क्या हो ? शरीरमा भाइरस पसेको छ भन्छन् तपार्र्ईंहरुलाई टि–हेल्परको खबर किन आएन ? कस्तो निश्चिन्त ? क्या दिक्कलाग्दो, हाम्रो त तपार्ईंहरु कुरै खाने होइन, क्या फसाद ।”
टि–रक्तकोशिका– “महाशय, तपार्र्ईं को हुनुहुन्छ ? तपार्र्ईं अवश्य नै मित्र हुनुहुन्छ नत्र त टि–हेल्परले हामीलाई खबर गरिहाल्थे ।”
सूजी– “म मित्र नै हुँ …. तल भाइरसहरु पसेका छन् भन्छन्, तपार्ईंहरु आफ्नै च्यानल मात्र पर्खेर बस्नुहोस् । त्यतिन्जेलसम्ममा शरीरको हालत के भइसक्ने हो कुन्नी ?”
टि–रक्तकोशिका– “निश्चिन्त बस्नोस् केही भएको छैन, केही आएको छैन । आएको भए टि–हेल्परले खबर गरिहाल्थे ।
सूजी– “खोइ त तपार्र्ईंका टि–हेल्परहरु ?”
टि–रक्तकोशिका– “गए होलान् रखवारी गर्न । यता उति जाने गर्छन् ।”
यसै बेला केही पर शत्रुहरु देखिए । म्याक्रोफेजहरु शत्रु आएको देख्नासाथ आक्रमण गर्न गइहाले । तर शत्रु निकै बलिया रहेछन् । म्याक्रोफेजहरुले केही गर्न सकेनन् । उनीहरुले सूजीसंग आएर भने– “तपार्र्ईं पनि जानप¥यो लडन । हामीले मात्र सकेनौं”
त्यसपछि शक्ति हासिल गर्न ती म्याक्रोफेजहरु ग्लुकोज खानलागे ।
सूजी रगतको धारसंगै शत्रु भएको ठाउँमा पुगिन् । ती भाइरसहरु त नीर्धक्क घुम्दै थिए । सूजीले चिनिनन् यी कस्ता खालका भाइरसहरु थिए । जे जस्ता भएपनि शत्रु हुँदै हुन् । शत्रुलाई शत्रु भनेर चिनेपछि अरु के बुझिराख्नप¥यो मारे भइहाल्यो ।
तिनले आफ्नो रसायनले हमला गरिन् । तर उनिहरुलाई केही असर परेन । साँच्चै कडै खाले भाइरस रहेछ । साधरण एन्टिवायटिकले शिथिल पार्न नसकिने । म्याक्रोफेजहरु छेउमै भाइरसहरु औषधीको मारबाट शिथिल होउन् र हमला गरौंला भनेर पर्खिरहेका थिए । तर एन्टिवायटिकले पनि शिथिल गर्न नसकेको देखी अचम्भित भए । यो कस्तो खालको भाइरस हो ?
सूजीले माइक्रोस्कोपबाट कहिल्यै पनि हानिकारक किटाणु तथा भाइरसहरु हेरेकी थिइनन् । हेरेकी नै भएपनि तिनी विशेषज्ञ भएपो हानिकारक किटाणु वा भाइरसलाई चिन्थिन् ? तिनले चिन्न सकिनन् । के गर्ने होला भन्दै सोच्न लागिन् । छेउमै पहिले भेटेकै टि–रक्तकोशिका र बि–रक्तकोशिका डुल्दै आइपुगे ।
सूजीलाई थाहा थियो उनिहरुलाई यो खवर दिन बेकार छ । तिनी दुखी अनुहार लिएर उनिहरुलाई पकपकी हेर्न लागिन् ।
बि–रक्तकोशिकाले हाँस्दै भन्यो– “मलाई थाहा छ तपार्ईं के भन्न चाहानुहुन्छ । तर, सरी ”
त्यसै बेलामा परबाट एउटा टि–हेल्पर हान्निएर आयो सिट्ठी फुक्दै । बि–रक्तकोशिका तुरुन्त सजग भयो र एकाएक हज्जारौं एन्टिबडी बिस्फोट गरी भाइरसहरुमाथि प्रहार ग¥यो । तर एउटा भाइरस भने त्यस एन्टीबडीले भेट्न भन्दा अघावै भागेर त्यही सिट्ठी फुक्दै गर्ने टि–हेल्परको शरीर भित्र सुत्त प्रवेश ग¥यो ।
यो देखेर सूजीको दिमाग सुन्न भयो । बाल्ल परिन् । तिनको मुखबाट अनायाश निस्कियो– “एचआइभी”
यो त मानव शरीरको रक्षाशक्तिनाशक रेट्रोभाइरस कोटीको भाइरस थियो अर्थात एचआइभी । सूजीले तुरुन्तै त्यस टि–हेल्परलाई समातेर उसको शरीरबाट भाइरस निकाल्ने प्रयत्न गरिन् । औषधीको असरबाट टि–हेल्पर नै अलस तलस भयो तर त्यो भाइरसलाई निकाल्न सकिएन ।
शरीर भित्र भाइरसले आफ्नो आरएनए भन्ने बीज टि–हेल्परको शरीर भित्र डिएनएमा तत्काल हालिदियो । अव त्यो टि–हेल्पर रक्तकोशिका हेर्दा मात्र टि–हेल्पर थियो । तर अब त उ एचआइभीहरुको सूरक्षित गुँड बनि सकेथ्यो । अर्थात त्यो टि–हेल्परको शारीरिक खोल भाइरसको लागि एउटा सुरक्षित फ्याक्ट्री जस्तो बन्यो । त्यस खोल भित्र अनगिन्ती भाइरसहरु बन्दै गए । एक समयमा त्यो टि–हेल्पर रक्तकोशिका आफै फुटयो जसको फलस्वरुप उ चाहिं म¥यो र अनगिन्ती भाइरसहरु एकसाथ बाहिर निस्किए ।
वरिपरि भएका टि–हेल्परहरुले यो देख्नेसाथ सिट्ठी फुके । तर टि र बि रक्तकोशिका त्यहाँ आइनपुग्दै सवै भाइरस हान्निएर स्वस्थ टि–हेल्पर भित्र पस्न लागे । टि र बि रक्तकोशिका त्यहाँ आइपुग्दासम्ममा सवै भाइरसहरु टि–हेल्परका शरीर भित्र सुरक्षित भइसकेका थिए ।
अव त टि–हेल्पर नै शरीरको लागि खतराको खानी हुन लाग्यो ।
भाइरसहरु वरपर देखिएनन् तर अर्कै खाले किटाणुहरुको त्यहाँ प्रवेश देखियो । त्यसै बेलामा एउटा स्वस्थ टि–हेल्पर त्यहाँ आइपुग्यो । उसले ती किटाणुहरुलाई देख्ने बित्तिकै रक्षक र लडाकुहरुलाई खबर गर्न सिट्ठी बजाइहाल्यो । धन्य उसमा संक्रमण भएको रहेन छ ।
त्यो टि–हेल्परको सिट्ठी सुन्ने बित्तिकै थूप्रै टि–रक्तकोशिका र बि–रक्तकोशिकाहरु त्यहाँ हान्नीएर आए । टि–रक्तकोशिकाहरुले सोझै किटाणुहरुलाई हमला गर्न लागे भने बि–रक्तकोशिका आफै बमगोला सरह फुटेर एन्टिबडी बनाउँदै किटाणुहरु माथि जाइलागे । प्रत्येक बि–रक्तकोशिकाले एक सेकेण्डमा दुइ हज्जारसम्म एन्टिबडी बनाए । यसरी एन्टिबडी बनाउँदा रगतमा तापको श्रृजना हुनगयो । जतिजति एन्टिबडी बन्यो उति उति ताप बढ्दै गयो र जतिजति ताप बढयो उति उति रगतको प्रवाह पनि बढ्यो । शरीरमा ज्वरो आएको स्थिति बन्यो ।
ज्वरो आउनु भनेकै शरीरको प्रतिरक्षा प्रणालीले काम गरिरहेको सूचक हो । सूजी ढुक्क भइन् । तर तिनी धेरै बेर ढुक्क रहन सकिनन् । एकै क्षणमा एउटा शिथिल टि–हेल्परको शरीर बम फुटेझैं फुट्यो । यो देख्नासाथ त्यसबाट हज्जारौं भाइरसहरु निस्के । छेउछाउका टि–हेल्परहरुले जोरले सिट्ठी बजाउन लागे । सिट्ठीको आवाज सुनेर त्यहाँ टि–रक्तकोशिका र बि–रक्तकोशिकाको आइरो नै लाग्यो । जतिजति टि–हेल्परहरुको सिट्ठी बज्यो उतिउति रक्तकोशिका र बि–रक्तकोशिकाको आइरो नै लाग्यो र टि–हेल्परहरुमा माथि खन्निन लागे ।
तर यो स्थीति पनि धेरै वेर रहेन । ती सवै नवजात भाइरसहरु स्वस्थ टि–हेल्पर खोज्दै उनिहरुका शरीरमा प्रवेश गर्नलागे । जतिजति भाइरसहरु टि–हेल्परको शरीर भित्र प्रवेश गरे उतिउति टि–हेल्परहरुको सिट्ठी बज्न कम भयो । अनि जतिजति टि–हेल्परहरुको सिट्ठी बज्न कम भयो उतिउति टि–रक्तकोशिका र बि–रक्तकोशिकाको लडाई पनि कम हुँदै गयो । अन्तमा त त्यहाँ सिट्ठी बज्न नै बन्द भयो । टि–रक्तकोशिका र बि–रक्तकोशिकाले अव लडाई बन्द ग¥यो । अर्थात त्यहाँ भएका सवै टि–हेल्परहरुमा भाइरसको संक्रमण भयो र उनिहरु वेकामे भइसकेका थिए ।
अनौठो स्थीति भयो त्यहाँ । हानिकारक किटाणुहरु अव निर्धक्क थिए । उनिहरु रगतलाई नै विषाक्त गर्ने टक्सिन छाड्न लागे । रोक्ने कोही थिएनन् । रक्षक टि–रक्तकोशिका र बि–रक्तकोशिकाहरु त्यतै थिए । तर टि–हेल्परको सूचना नपाएको हुँदा उनिहरु निश्चिन्त थिए । मानौं त्यहाँ केहीपनि भएको नै छैन । शत्रु छँदै नै छैन ।
स्थानीय रक्षक म्याक्रोफेज भने टि–हेल्परको संकेत नभएपनि शत्रु चिन्नमा सक्षम थिए । उनिहरु तुरुन्तै ती हानिकारक किटाणुहरुमाथि जाइलागे । म्याक्रोफेजहरुले धमाधम किटाणुहरु खान थाले । किटाणुहरुको भागारे–भाग भयो । यो देखेर त्यहाँ बाहिरी आक्रमक एचआइभीहरु आए । भाइरसहरु म्याक्रोफेजहरु भन्दा बलिया थिए । म्याक्रोफेजहरुले उनिहरुलाई केही गर्न सकेनन् । उल्टै भाइरसहरु नै म्याक्रोफेजहरुका काँधमा चड्न पुगे । म्याक्रोफेजहरुले जंगली घोडा जस्तै भएर उफ्रने र उल्टने गरे । तर ती भाइरसहरुलाई आफूबाट झार्न सेकनन् । एकै छिनमा ती म्याक्रोफेजहरु सधिएको घोडा झैं देखिए । त्यसपछि त खुरु खुरु भाइरसहरुलाई बोकेर यता उति घुम्न पो लागे ।
सूजी एकदमै आत्तिइन् ।
त्यसै बेलामा एउटा स्वस्थ टि–हेल्पर त्यहाँ आइपुग्यो । म्याक्रोफेजबाट ओर्लिएर थुप्रै भाइरसहरु उनलाई हमला गर्न गए । सूजी अव त्यसै रमिता हेरेर मात्र बस्नेवाला थिइनन् । मद्दतको लागि तिनी अघाडि बढिन् । ती भाइरसहरुलाई रोक्न सूजीले आफ्नो रसायन साथ हमला गरिन् । तिनले केहीलाई रोक्न त रोकिन् तर भाइरसहरुको संख्या धेरै भएकोले तिनी असफल भइन् । तिनी टि–हेल्परलाई सतर्क गराउन चिच्याइन्– “सिट्ठी फुक्नुहोस् । शत्रुहरु तपार्ईंतिरै आउँदैछन् ।”
टि–हेल्पर तुरुन्तै सतर्क भयो । उनले आफनो सिट्ठी फुक्यो । सैयूँको संख्यामा टि–रक्तकोशिका र फुटेका बमगोला सरह बि–रक्तकोशिकाका एन्टिबडीहरु त्यहाँ आए । धुमधामको लडाई भयो । बमगोलाबाट सैयूं भाइरसहरु रन्थनिए । टि–रक्तकोशिकाको हमला र सूजीको रसायनबाट पनि सैयू रन्थनिए । टि–हेल्पर सिट्ठी बजाएको बजायै थियो । त्यो सिट्ठी सुनेर सैयूँको संख्यामा टि–रक्तकोशिका र बमगोलाका एन्टिबडी आएको आयै थिथो । भाइरसहरुको चिल्ली र बिल्ली भएकै हो । तर शत्रु रन्थनिएर मात्र लडाईं कहां जितिन्छ र ? यसो देख्दा त बिजय हाम्रै रक्तकोशिकाहरुको पक्षमा निश्चित जस्तो लाग्थ्यो तर के गर्ने शत्रु अति नै बाठो थियो ।
चिल्ली र बिल्ली भएकै अवस्थामा एउटा भाइरस ठूलो स्वरमा करायो– “पहिले त्यो संचारकर्मीलाई ठीक गर सबै त्यता जाउ । त्यसले सिट्ठी बजाएर अरुलाई खबर गरेर आजितै ग¥यो ।”
उसले यति भन्नु के थियो सबै भाइरसहरु उतै लागे । टि र बि रक्तकोशिकाहरुलाई यो नयाँ रणनीतिबारे केही थाहा भएन । टि–हेल्परलाई जोगाउनुको सट्टा भाइरसहरुलाई हमला गर्न मात्र लागिरहे ।
शिथिलनै भएर पनि धेरै भाइरसहरु त्यस टि–हेल्पर भित्र प्रवेश गर्न दौडे । अन्ततः एउटा भाइरस त्यस टि–हेल्पर भित्र पस्न सफल भयो । अनी त उसमा अनायास परिवर्तन आयो । उसले सिट्ठी नै बजाउन छोड्यो । उ शिथिल दखियो ।
एउटा टि–रक्तकोशिका आएर उसलाई झक्झकाउँदै सोध्यो– “खोई कहाँ छ शत्रु ? किन मरीमरी सिट्ठी बजाएको”
बि–रक्तकोशिका– “त्यसै त तिमीले बोलाएनौ, खोइ शत्रु ?”
टि–हेल्परले शिथिल स्वरमा भन्यो– “शत्रु ? कहाँ छ शत्रु ? मैले बोलाएँ र ?”
टि–रक्तकोशिका– “तिमी त छटायौ कि के हो ? …… लौ म त हिडें ”
बि–रक्तकोशिका– “म पनि हिडें ”
टि र बि दुवै रक्तकोशिका त्याँहाबाट हिड्न लागेको देखी सूजीले दुवैलाई रोक्दै भनिन्– “सुन्नुहोस् त एचआइभी यी टि–हेल्परहरुका शरीर भित्र पसेर लुकिरहेका छन् । त्यसैले तपार्ईंहरुले केही पनि देख्न सक्नुभएको छैन । अनि त्यहाँ उनीहरु लुकेका मात्र छैनन् । हज्जारौं हज्जारको संख्यामा सन्तति बढाउँदै पनि छन् । तपार्ईंहरुले केही गर्नप¥यो ।”
टि–रक्तकोशिकाले उल्टै सूजीलाई गाली ग¥यो– “के नचाहिंदो कुरा गर्दैहुनुहुन्छ । हाम्रै टि–हेल्पर माथि शंका गर्दैहुनुहुन्छ । तपार्ईं एन्टिवायटिकको रुपमा आएको कतै बाहिरी भेदी त होइन ?
बि–रक्तकोशिकाले थप्यो– “हो मलाई पनि शंकै लाग्यो । हामीहामी बिचमा लडाउने षडयन्त्र गर्दै हुनुहुन्छ तपार्ईं ।”
सूजी– “होइन कृपया मेरो कुरा सुन्नुहोस् । म टि–हेल्परलाई मार्नुहोस् भन्दै छुइनँ । उनीहरुलाई शत्रुको चपेटामा पर्नबाट जोगाउनुहोस् भन्दै छु । शत्रुहरु उनीहरुकै शरीर भित्र पस्नाले तपार्ईंहरुलाई भ्रममा पार्नका साथै संचारकार्य पनि रोक्न सफल भएका छन् ।”
ग्लुकोज– “हो मित्र म पनि साक्षी छु । भाइरसहरु टि–हेल्पर भित्र धमाधम पस्दैछन् । त्यसैले त हेर्नुहोस् न टि–हेल्परहरुको चालामाला छटाएको जस्तो छ र शिथिल देखिन्छन् ।”
सूजी– “हो उनीहरुले शत्रु देख्ने बित्तिकै सिट्ठी त फुक्दछन् तर तपार्ईंहरु आइपुग्दा नपुग्दै ती भाइरसहरु उनीहरु भित्र पसिसक्दछन् । त्यसैले तपार्ईंहरु त्यस ठाउँमा आईपुग्दा पनि केही देख्नुहुन्न ।”
टि र वि रक्तकोशिकाहरुले मुखामुख गरे । केही कुरा त पक्कै हो भन्ने उनिहरु दुवैलाई लाग्यो । तर उनिहरुले यस सम्बन्धमा के गर्न सक्छन् र ? टि–रक्तकोशिकाले भन्यो– “लौ तपार्ईंको कुरा हामीले मान्यौं । तर भन्नुहोस् त हामी के गर्नसक्छौ ?”
सूजी– “कमसेकम हामी सबै मिलेर टि–हेल्पर वरिपरी बसेर भाइरसको हमलालाई छेक्न सक्छौं ।”
टि–रक्तकोशिका– “हामी लडाकु हौं । हाम्रो काम लड्नु भिड्नु र मार्नु हो । तपार्ईंले भने झैं एकै ठाउँमा छेकेर बस्ने होइन । तपार्ईंले भने झैं त्यो आवश्यकता नै हो भने त्यस्तै बन्दोवस्त शरीरका अरु अंगले गरुन् वा नयाँ व्यवस्था गरुन् । वा तपार्ईं औषधीहरुले जे गर्नुपर्छ गर्नुहोस् । यो त हाम्रो कार्य क्षेत्र भित्र परेन ।”
बि–रक्तकोशिका– “हो हामीलाई हाम्रै काम गर्न दिनुहोस् ।”
टि र वि रक्तकोशिकाहरु दुबै हिंडे । सूजीको प्रयास विफल भयो ।
ग्लूकोज– “छोडिदिनुहोस् यी प्रयासहरु । यसै उसै अब यी भाइरसहरु शरीर भरी ढीलो चाँडो छाइनै हाल्छ । यिनीहरुलाई सोझै मार्न नसकिने हो भने अव बिरामी त मर्छ नै हामीले किन रोकटोक गरिरहने ?”
सूजी– “त्यसो होइन भाइरसलाई टि–हेल्पर भित्र पस्न दिएनौं भने टि–हेल्पर सूचना दिन सक्षम भइरहन्छ र टि र वि रक्तकोशिकाहरु कार्यरत हुन्छन् । अनि शरीर भित्र पस्ने रोगका किटाणुहरु मारिन्छन् । अर्थात शरीरको प्रतिरक्षा प्रणाली जीवित रहन्छ । जतिजति टि–हेल्पर मर्छन् प्रतिरक्षा प्रणाली उतिउति कमजोर हुँदै जान्छ । जति लामो समयसम्म प्रतिरक्षा प्रणाली जीवित रहन्छ त्यति समयसम्म शरीर जीवित रहन्छ । सास रहेसम्म आश हुन्छ भने झैं त्यतिन्जेलसम्म त एड्सको औषधी बनिहाल्छ कि भन्ने आश गर्ने ठाउँ रहन्छ ?”
ग्लूकोज– “त्यसै हो भने मान्छेहरुले टि–हेल्परलाई भाइरसहरुबाट सुरक्षित राख्न कुनै तरीकाको खोज गरेका छैनन् ?”
सूजी– “छ, जुडिभाइन वा एजेडटी भन्ने त्यस्तो औषधीको विकास गरिसकेको छ । त्यस औषधीले टि–हेल्पर र भाइरस बीच एउटा छेकेवार खडा गरिदिन्छ । तर त्यो त बाहिरै रह्यो नि । याँहा हमीले त त्यही काम अफैले गर्नप¥यो नी ।”
त्यसपछि सूजी आफै नै टि–हेल्परहरुलाई जोगाउन अघि परिन् । तर बिडम्बना, तिनी पुग्न भन्दा अघि नै टि–हेल्परलाई हमला गर्न सैयूँ भाइरसहरु अघाडि पुगिसकेका हुन्थे । तिनले आफ्ना रसायनहरु छोड्थिन् । सैयूँ भाइरसहरु लखतरान पनि पार्थिन् । सैयूँलाई त्यसरी रोक्थिन् पनि । तर तिनको केही लागेन । अन्ततः एउटा न एउटा भाइरस टि–हेल्परको शरीर भित्र पस्न सफल भइहाल्थ्यो । हेर्दाहेर्दै त्यतैहुँदी टि–हेल्परको संख्या कम हुन लाग्यो । सिट्ठीको आवाज पनि क्रमशः घट्दै गयो । सथसाथै टि रक्तकोशिका र बि रक्तकोशिकाहरुको आगमन पनि कम हुँदै गयो । एकछिन पछि त सिट्ठीको आवाज पुरै बन्द भयो ।
त्यसै बेलामा एउटा भाइरस करायो– “हुर्रे हाम्रो बिजय भयो ।”
अर्को अलि बुढो भाइरस गंभीर मुद्रामा बोल्यो– “तर साथीहरु, यो लडाईं नै हाम्रो अन्तिम लडाईं होइन । यस्तै लडाई हामीले छिनछिनमा दुइतीन महीनासम्म यस शरीर भित्र लड्न पर्नेछ । त्यसपछि मात्र सही मानेमा हामीले यस शरीरमा हाम्रा साम्रज्य खडा गरेका हुनेछौं ।
“ल जाउँ अव । हाम्रो काम त संचार माध्यमलाई नै ध्वस्त पार्नु हो । अरु केही गर्न पर्दैन । संचार प्रणाली नै ध्वस्त भएपछि हानिकारक फौेजहरु शरीरमा पसेको कुनैपनि रक्षकहरुलाई थाहै हुनेछैन र उनिहरुले एन्टिबडी बनाउने छैनन् जसले गर्दा बाहिरी फौजलाई शरीर खियाउन सजिलो पर्ने छ ।
बुढो भाइरसका कुरा सवैले एकचित्त भएर सुनि रहेका थिए । उ अरुलाई अझ उत्साहित गर्दै थियो– “हामीले बढीमा बढी स्थानीय रक्षक मेक्रोफेजको काँधमा चढेर संचारकर्मीहरु सामू पुग्नुपर्छ र उनीहरुको शरीरमा हाम्रा बंशबृद्धी गर्नुपर्छ । यसै मेक्रोफेजमै चढेर हामी शरीरको मष्तीष्कसम्म पुग्नसक्नेछौं र शरीरको स्नायु प्रणालीलाई नै अक्रान्त गर्नसक्ने छौं ।”
सूजी यो सुनेर डराउनुसम्म डराइन् । बुढो भाइरस अझै भन्दै थियो– “साथीहरु, हाम्रा सम्राज्य यो एउटै शरीरमा मात्र कायम रहेर त संसारकै मानवजातीको संहार गर्ने हाम्रो उद्देश्य कहिल्यै पुरा हुनेछैन । अतः जसरी हामी अर्को शरीरबाट यो शरीरमा स¥यौं त्यसरी नै अर्काे शरीरमा पनि हामीले प्रवेश गर्नुपर्छ । जसरी हुन्छ हामी अर्को शरीरमा रगतमै सर्नुपर्छ । रगतमै सरेर मात्र हामी जीवित रहनसक्छौं ।”
सवैतिर आँखा घुमाएर उसले फेरि भन्यो– “यो एउटा बालकको शरीर भएकोले यसमा हाम्रालागि अरुमा सर्ने यथेष्ठ बाटाहरु छैनन् । यस शरीरमा विर्य बनिसकेको छैन जहाँ बसेर हामी सजिलै अर्को शररीमा प्रवेश गर्न सक्थ्यौं । हामीले त रगतमै बसेर परिवारका अरुहरुमा वा उनका साथीहरुमा सर्ने मौका हेर्नुपर्छ ।”
एउटा नयाँ भाइरसले सोध्यो– “वीर्यबाट नसर्ने हो भने अरु तरीकाबाट पनि सर्न सकिन्छ र ?”
एउटा अधवैंशे भाइरसले भन्यो– “थुक, राल सिंगान र पसिनामा बसेर सर्ने होला नि हैन र ?”
बुढो भाइरस– “त्यही नै त भन्दैछु । अँह, तयसरी हुन्न । पहिले केही हाम्रा साथीहरुले थुक, राल सिंगान र पसिनामा बसेर अर्को शरीरमा सर्ने कोशिस गरेका थिए । तर यस माध्यमबाट अरुको रगतमा सर्न नमिल्ने हुँदा उनिहरु असफल भए र उल्टै आफै मरे । सम्झनु कि रगत नभएको ठाउँमा बाहिर घाम वा हावामा पर्ने बित्तिकै हामो्र मृत्यु हुन्छ ।”
एउटा नयाँ भाइरस– “बाफरेबाफ म त कहिल्यै राल, सिंगान र पसिनामा बस्दिनँ ।”
बुढो भाइरस– “बुझ्नु कि म यो शरीरको लागि मात्र रणनीति भन्दै छुइन । अरु शरीरको लागि पनि सुन र आफूले भेटे जति सबैलाई यो कुरा सुनाउनू । बालकहरुको शरीरबाट अरुमा सर्न त रगतै मात्र एउटा उपाय हो । हामी पसिसकेको बच्चाले आफ्ना शरीरमा घाउ पार्न सक्छन् वा भएको घाउ नै कोट्याउन सक्छन् र त्यसबेला औजारमा बसी हामी रगतसंगै सर्नुपर्छ ताकी अर्को बच्चाले घाउ कोट्याउँदा उनको रगतमा सर्ने मौका मिलोस् ।”
अधवैंशे भाइरस– “गर्भवति महिलाको शरीरमा कुनै हिसावले पुगियो भने त भित्रभित्रै क¥यमपच्याप पार्न सकिन्छ नि होइन र ?”
बुढो भाइरस– “एकदम ठीक । आमाको गर्भमा भएको बच्चालाई सजिलै झ्याप पार्न सकिन्छ । त्यस्तै तन्देरी तरुनीहरुका शरीरमा पनि हामीलाई निकै सजिलो हुनेछ । यस्ता शरीर पाएमा पुरुषको वीर्यमा र स्त्रीको योनीरसमा बस्ने गर्नू । जव उनिहरुले संभोग गर्छन् त्यसबेला घाउका छिद्रहरु हेरेर अर्को शरीरमा प्रवेश गर्नू । यो बुझ्नू कि अर्को व्यक्तिको रक्तप्रवाहमै नपुगिकन हामी सर्नसक्दैनौं ।”
सूजी उनीहरुका जाली कुरा सुनेर रिसले चुर भइन् र भाइरसहरु माथि खनिन लागिन् । एउटा भाइरसले अगाडी आएर अट्टाहास ग¥यो र भन्यो– “तेरो के तागत छ र हामी माथि जाइलाग्छस् ? हामी शरीर भित्रै यस्तो स्थिति बनाइदिन्छौं कि औषधी नै शरीरको लागि बीष बन्नेछ । हा.. हा… हा…”
तिनी हतास भईन् र रुन लागिन् । चिच्याउन लागिन् ।
ग्लुकोजले छेउमै आएर भन्यो– “तिमी नरोउ जबसम्म तिम्रो भाइ बाँचिरहनेछ तबसम्म म तिम्रो भाइलाई तागत दिइरहनेछु ।”
सूजीले रुँदै भनिन्– “केही फरक पर्दैन उ त मर्छ नै । दुइदेखि ५ वर्ष भित्रै भाइरसहरुले टि–हेल्परहरुलाई सखाप पारिसक्नेछन् र प्रतिरक्षाशक्तिको बिनाश भएर उ एडस् लागेको स्थितिमा पुग्नेछ । सानै रोग रुघाखोकीले पनि उ मर्छ ।”
ग्लुकोज– “कसरी स¥यो होला यस्तो रोग तिम्रो भाइलाई ?”
सूजी– “थाहा छैन कसरी स¥यो । यो रोग त विशेषगरी युवा युवतिहरुलाई लाग्नुपर्ने । यौनसंसर्ग गर्ने उमेरमा मात्र यो रोगदेखिनुपर्ने । के भएछ मेरो भाइलाई …. मेरो भाइ त आठै वर्षको मात्र छ ।”
भाइरस– “हा … हा .. म भन्छु कसरी स¥यो । तेरो भाइले यतिखेर एउटा सूइले घाउ कोट्याउँदै छ । त्यही सूईमा हामीहरु अरुको शरीरमा सर्ने नीहु खाज्दै बसेका थियौं । त्यो सूइमा हामी कसरी आयौं त भन्ने तेरो प्रश्न होला । सुन, त्यो सूइलाई एउटा एड्स भएको व्यक्तिले आफूलाई नशाको लागि सूई हाल्दा प्रयोग गरेको थियो र हामी त्यसैमा बसेर उसको शरीरबाट बाहिर आएका थियौं । अनि तेरो भाइले त्यो सूइले घाउ कोट्याउँदा हामी यो शरीर भित्र पस्यौं । हा .. हा .. हा …।”
ग्लुकोज– “अब के गर्ने एन्टिबायटिक ? तिम्रो भाइमा यो भाइरस सरेपछि त परिवारका अरु सबैलाई सर्ने भो नि ।”
सूजी– “त्यसरी सजिलै सर्दैन, एउटाको एचआइभी भएको रगत अर्काको आलो घाउ मार्फत रगतमा नसरुन्जेल यो सर्दैन ।”
ग्लुकोज– “संगै सुत्दा, अंगालो हाल्दा, हात मिलाउँदा, रोगीका लत्ता कपडा, खानाबाट सर्दैन ?”
सूजी– “सर्दैन, भनीहालें त्यो भाइरस रगतमा नै सरे मात्र सर्नसक्छ ।”
ग्लुकोज– “उसो भए जुम्रा, उपिया, कीरा, लामखुट्टेले सार्न सक्छ ? उसको त रगतसंगै सम्पर्क हुन्छ नि । मलेरिया त यसरी नै सर्छ भन्थ्यो नि … ।”
सूजी– “त्यसरी पनि यो रोग सर्दैन विज्ञानले प्रमाणित गरिसकेकोछ ।”
उनिहरुका कुरा सुनिरहेको एउटा भाइरसले भन्यो– “यो केटी निकै जान्ने रहेछ । यसले निकै पढेकी रहेछ । हामी मुर्खहरुलाई त जित्छौं । तर बुद्धि भएकाहरुसंग भने आजित भइसकेका छौं । हार खाइसकेकाछौं । यस्ता बुद्धी भएकाहरुले हामीलाई सर्न नदिने पुरै तरीका थाहा पाइसकेकाछन् । यिनीहरुले गर्दा ठाउँठाउँमा सर्न गाह्रो पारेको छ । कसरी होशियार हुने भन्ने कुरा प्रचार गरेर हैरान पारेकोछ । यस्ताहरुबाट बच्नू ।”
त्यसै बेलामा त्यहाँ हलचल भयो । उनीहरुले देखे सेतो रक्तकोशिकाहरुले रगत थुन्न बाँधेको बाँध फुटेर गयो । रगत ह्वात्त हुत्तिएर थुनिएको घाउबाट बाहिर गयोे । त्यही रगतसंगसंगै ग्लुकोज, सूजी र केही भाइरस पनि बगेर बाहिर आए । ग्लुकोज र सूजीले देखे भाइले श्यामेको घरबाट ल्याएको इन्जेक्सनको सूइले घाउ कोट्याउँदै थियो । सूजी चिच्याइन्– “ए मुर्ख, त्यो सूइले गर्दा तेरो शरीरमा एड्सको भाइरस पस्यो । अब तँलाई एडस् हुन्छ ।”
सूजी चिच्याइन् । तर भाइले के सुन्ने ? उसको घाउ चिलाइरहेथ्यो । त्यसरी घाउ कोट्याउँदा उसलाई झन संन्चो भइरहेथ्यो ।
ग्लुकोज– “त्यत्ति धेरै भाइरस पस्यो उसको शरीरमा तर उ त अझै स्वस्थ नै देखिन्छ । बरु के हो रुघा लागेको छ कि के हो ?”
सूजी– “यो रुघा लागेको जस्तो देखिनुको मतलब भाइरस पसेको पक्का हुनु हो । एड्सको भाइरस शरीरमा पस्ने बित्तिकै सो व्यक्तिलाई रुघा लागेको जस्तो लक्षण देखिन्छ । तर केही दिनमा नै त्यो लक्षण हराउँछ । त्यसपछि ५ वर्षसम्म कुनै लक्षण देखिन्न । ५ देखि १० वर्ष भित्र यसका विभिन्न लक्षण देखिन्छन् । जस्तै बिनाकारण वजन घट्ने धेरै दिनसम्म ज्वरो आउने, धेरै दिन झाडा लागिरहने, बढी पसिना आउने छालामा केन्सर देखिने आदि हुन्छ । भाइरस पसेर यस्तो पुरा लक्षण देखिसकेपछिको स्थितिलाई मात्र एड्स भएको भनिन्छ । त्यो भन्दा अघाडिको स्थितिलाई एचआइभी पोजिटिभ मात्र भनिन्छ ।”
रगत जम्दै गयो । सूजी र ग्लुकोज रगत संगै कचल्टिंदै गए । कचल्टिएको ठाउँमा पनि भाइ सन्दिपले सूईले घाउ कोट्याइ नै रहे । सूजी कहिले उँघो मुण्टो कहिले ठाडो भएर पल्टिइन् । तिनले फेरि चिच्याइन्– “ए मूर्ख किन तेरो बुद्धी आएन, किन त्यस्तो सूईले घाउ कोट्याउँछस् ?”
भाइको मायाँले तिनको मुटुमा भक्कानो फुटेर आयो । तिनी रुन लागिन् । तिन रुंदै थिइन् । तिनी एक्कासी बिउँझिइन् ।
ल, तिनी त बिउझंदा पनि त्यही रुपमा रुंदैनै थिइन् । छेउमा भाइ सन्दिप खेलिरहेको थियो । उसले झक्झकाउँदै सोध्यो– “के भयो दिदी, किन रोएको ?”
सूजीले आँखा खोलिन् । अघाडि भाइ थियो । तिनले वरपर हेरिन्– यो त अर्कै संसार थियो । तिनी जमेको रगतमा उँघो र उँभो भइरहेकी थिइनन् । छेउमा ग्लुकोज पनि थिएन । भाइको हातमा सूई थिएन । उसको घाउमा पट्टी बाँधिएको थियो । तिनले त सपना मात्र देखेकी रहिछन् । भाइ स्वस्थ थियो । उसमा एड्सको भाइरस सरेको थिएन । भाइलाई अंगालो हाल्दै तिनी फेरि रोइन् । तर यसपल्ट तिनी खुशीले रोएकी थिइन् ।
भाइले वाल्ल पर्दै दिदीको मुखमा हेरेर भन्यो– “के भयो दिदी ?”
सूजीले रुँदै र मुस्काउँद भनिन्– “केही होइन भाइ, तिमी धेरै बाँच्ने छौं । त्यो श्यामेको सूईसंग कहिल्यै नखेल्नू ।”
सुतिरहेकी पिंकी उठिन् र दिदीसंग ढेपिएर अंगालो हाल्दै भनिन्– “म पनि त्यो सूईसंग खेल्दिन है दिदी ।”
सूजीले दुबैलाई अंगालो हाले ।
आमा चिच्याइन– “लौ अब सुत ”
रेडियो नेपालमा एफ.एम. च्यानल बजिरहेको थियो । कुनै संचालकले अंग्रजीमा परर बोल्दै बिदेशी गीतको लागि भूमिका हाल्दैथियो । सुत्ने तरखरमा सूजीले रेडियो बन्द गरिन् । भाई सन्दिप चिच्यायो– “हुन्दिनुहोस् न दिदी, कस्तो मजाको प्रोग्राम आइरहेको छ ।”
तिनले भाइको अनुरोधमा फेरि रेडियो खोलिन् । उ बिदेशी धुनमा लट्ठ हुनलाग्यो । सूजीले उनलाई नेपाली गीतको लागि यत्ति लट्ठिएको कहिल्यै देखेकी थिइनन् । तिनले सोधिन् पनि– “तिमी नेपाली गीतमा यत्ति लट्ठ हुँदैनौनी कसरी बिदेशीगीतमा यत्ति लट्ठ ?”
भाइले गीतको सुरमा मन्टो हल्लाउँदै भन्यो– “नेपाली गीत त पाखे हुन्छनि दिदी ⁄”
सूजी स्तम्भित भइन् । भाइको यो परिवर्तनलाई तिनले कहिल्यै आँकेकी थिइनन् । भाइ अव बाहिरियाहरुको लहैलहीमा लट्ठिएर आफ्नै पहिचानलाई पाखे वा असभ्य मान्ने भइसकेछ । उसलाई बिदेशी भाइरसले डसिसकेछ । सायद उसलाई सँंस्कृतिक एड्स भइसकेछ । तिनको कल्पनामा अनुभूत भएका समस्त डरहरु फेरि एकैचोटि हावी भयो । यसपल्टको डर काल्पनिक थिएन ।
रेडियो फेरि अंग्रेजीमा बिदेशी गीत र त्यसैसंग संस्कृतिको गुण गाउँदै परर फलाक्न लाग्यो । तिनले त्यसलाई कर्के नजरले हेरिन् । के हुँदैछ यो देशमा ? यो देशको संचार माध्यमलाई, देशको टि–हेल्परलाई एचआइभीले डसिसकेको त होइन ? सूजीलाई लाग्यो – असंख्य सांस्कृतिक एड्सका भाइरसहरु टि–हेल्पर फुटाएर बाहिर प्रसारित भइरहेछ ।
तिनी जुरुक्क उठिन् र रेडियो बन्द गरिन् । रेडियो एकै झमटमा बन्द भयो । यसपटक सन्दिपको प्रतिरोध आएन । सूजीले उनीतिर हेरिन्– उ निदाइसकेको थियो ।
सूजी ओछ््यानमा फर्किइन् तर तिनी निदाउन नसक्ने भइन् । यता र उति ओल्टिने र पल्टिने गर्न लागिन् । बत्ती अझै निभेको थिएन । आमा पल्लो कोठाबाट कराईन्– “अझै सुतेका छैनौ कि के हो ?”
सूजी विस्तारै आछ्यानबाट उठिन् र आमाको कोठामा आइन् । आमाको छेउमै बसेर भनिन्– “आमा हाम्रा संचार माध्यमलाई एड्स लागेको तपाईंहरुलाई थहा छ कि छैन ?”
अमाले छोरीको मुखमा छक्क परेर हेरिन् । छोरीलाई आफ्नो ओछ्यानमा तानिन् र टाउको मुसार्दै भनिन्– “अहिले सुत यसबारेमा भोली कुरा गरौंला ।”
सूजी– “म सुत्नै सकिरहेको छुइन ।”
आमा अरु बढी छक्क परिन्– यो कलीलो उमेरमा सूजीलाई कसरी यस्तो बुद्धी आयो ? तिनले सोधिन् –“के भयो ?”
सूजी –“मनमा अनेक तर्कवितर्क आइरहेछन् ।”
आमा अब ओछ्यानबाट उठिन् र छोरीको चिउँडोमा मायाले समात्दै भनिन्– “छोरी, तिमीलाई निन्द्रा नलाग्ने समस्या छ हामीलाई निन्द्रा लाग्ने । हामी धेरै सुत्यौं । सुतेर धेरै समय बिगा¥यौं । आउ एकछिन् कुरा गरौं ।”
त्यसपछि अमा र छोरीले निकै अवेलासम्म छलफल गरिरहे । शहर चकमन्न थियो । परपरसम्मका शहरका घरहरुमा बत्ती निभेको थियो । एउटै सूजीको घर मात्र उज्यालोले धपक्क बलेको थियो । निदाएको शहरमा सूजीको घर मात्र जागा रहेको अलग्गै देखिन्थ्यो ।
XXX
एड्स सम्बधी विशेष जानकारी– एड्सको पहिलो रोगी १९८१ मा अमेरीकामा, दोश्रो १९८५ मा थाइल्याडमा भेटियो । हाल १६३ वटा देशमा फैलिएको पाईयो ।– एड्स अफ्रिकाको बनमा पाइने हरियो बाँदर “ग्रीन मंकी” बाट मानब जातिमा सरेको बताइएको छ ।– एड्स सम्बन्धि बढी ज्ञान लिन गुरु वा डाक्टरहरुसंग सोधपुछ गर्नोस् । |
सन्दर्भ ग्रन्थहरु
१. एड्स वर्ष–१ अंक २, ०४९ प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र, काठमाण्डौ
२. एड्स वर्ष–१ अंक ३, ०४९ प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र, काठमाण्डौ
३. एड्स शिक्षा, शिक्षकहरुकालागि श्रोत पुस्तिका ः शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयका लागि एड्स प्रिभेन्सन एण्ड कन्ट्रोल प्रोजेक्टद्वारा प्रकाशित, २०५०
४. एड्स ः प्राण घातक रोग ः संक्षिप्त जानकारी ः डा. बिजय लाल गुर्वाचार्य ः प्रमुख ः एड्स प्रिभेन्सन एण्ड कन्ट्रोल प्रोजेक्ट, स्वास्थ्य मन्त्रालय
५. आविष्कार ः एड्स और परिवार ः ड. बिजय कुमार श्रीवास्तव, डिसेम्बर १९९४ वंड्डलोर Scientific American October, 1994
६. Discover, Ham 1988, USA
७. खाद्य र पौष्टिक पदार्थ ः नानीहीरा कंसाकार, साझा प्रकाशन
८. Talking with Your Child about AIDS
९. Matching Approaches to HIV infection/AIDS Education with Childhood Development., ETR Associates, Santa Cruz, CA, USA.
१०. एड्स, प्रतिरक्षा प्रणाली रोग, अर्जुन देव भट्ट १९९०
* Human Immuno-deficiency Virus (HIV)
** Acquired Immuno- deficiency Syndromes (AIDS)
रक्तकोसिका स्वास्थ सम्बन्धि जानकारी दिलाउनु भएकोमा म धेरै आभार व्यक्त गर्न चाहान्छु।