कविता : यात्रा

~ओमप्रसाद घायल~Om Prasad Ghayal

जिन्दगीको गाडी लिएर
पश्चिम यात्रामा हिँडेको म
यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका
जस्केलोबाट हेर त
म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

हुनत यो जिन्दगीको यात्रा
तिमी र म
सँगसगै पुरा गर्ने एउटा सपना थियो
तर त्यो सपना सपनानै भएको छ ।
तिमी उहीँ छुट्यौ प्रिय
मेरो गाडी गुडिरर्‍हो
म तिमीलाई पर्खेर बसिरहन सकिन
सायद हाम्रो सहयात्रा टुट्यो यहीँबाट ।

प्रियदर्शिका
म सोचिरहेको छु
कति निर्दयी हुँदोरहेछ यो जिन्दगीको यात्रा
रोकेर पनि रोकन्न चाहेको वेला
नत छोडेर दौडिन सक्छु म तिम्रो सुन्दर गाउँतिर ।
यसरीनै कतै बाध्यतामा
कतै विवशतामा तिमीजसरीनै छोडेर हिँडिरहेको छु मैले
आफ्ना थुपै प्रियजनहरुलाई ।

प्रियदर्शिका
कहिले यो किनार, कहिले उ किनार
उदिन्दै फाल्दै
नदीले बगाएको वौरेठाजस्तो
मेरो जिन्दगीको गाडी
ठोकिँदै कुच्चिँदै कहिले ओरालो झरिरहेको छ
कहिले उकोलो चढिरहेको छ
म हेरिरहेको छु यही जिन्दगीको गाडीबाट
मान्छेका प्राकृतिक र अप्राकृतिक सभ्यताहरु

मैले खोजिरहेको छु यो मानव भूगोलमा
मान्छेका अग्ला हिमालहरु
मान्छेका हरियाली पहाडहरु
र, सैलुङ्गेको काखमा सुगन्ध छर्ने
थरीथरीका मानवगुराँसहरु ।
तर विडम्वनाको कुरा प्रिय
झनझन होचो हुँदैछ मानवकद
झनझन दुब्लो हुँदैछ मान्छेसंस्कृति……।

प्रियदर्शिका यो यात्रामा घरिघरि
म असन्तुष्ट छु मेरै नक्कली सपनाहरुप्रति
र तिनै भ्रामक सपना देख्ने आफ्नै अप्रिय आँखाहरुप्रति
लाग्छ किन देखिरन्छन् आँखाले
हुँदा नहँुदा सपनाहरु ?
वा किन परित्याग गर्न सक्दैनन् आँखाहरुले
आफैलाई तर्साउने सपनाहरु ?
यतिखेर म हराइरहेको छु प्रिय
कुरुप यादहरुको खण्डहरमा
किनकि, छाडि गएकाहरुको बेइमान यादलाई बचाएर
आँखाले जस्तै मुटुले पनि त मलाई दुखाइरहेको छ यो यात्रा ।
तरपनि उसरीनै हरक्षण र हरवखत
म जीवनको बस लिएर
हिँडिरहेकोछु पश्चिम यात्रामा
कहिले कुन घुम्तीमा धसिएको छ
कहिले कुन मोडमा पुगेर भासिएकोछ
यो जिन्दगीको गाडी ।

प्रियदर्शिका
कति छिचोलिनसक्नु छ यो सपनाहरुको जङ्गल
कति भयलाग्दो र डर लाग्दो छ
यो जीवनको काँडाघारीे यात्रा
र कति संवेदनाहीन छ यो मानवभूगोल ।
प्रत्येक दिन
वेइमानको पहाड मुन्तिरबाट
क्रमश डुविरहेको छ मेरो भरोसाको जून
तरपनि यो थोत्रो गाडीमा बसेर
पुरा गर्नुनै छ प्रियदर्शिका यो जिन्दगीको यात्रा
र म त्यही जिन्दगीको गाडी लिएर
यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रिय
जस्केलोबाट हेर त
म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

(स्रोत : रचनाकार स्वयंले Kritisangraha@gmail.com मा पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.