साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ ।
ठीक सात बजे काठमाण्डौको लागि बस गुड्ने भएकोले म आफ्ना केही सामानहरुसहित बसभित्र बस्छु र आफ्नो सिट खोज्दै सीटसम्म पुग्छु, सिटनेरै पुग्दा मेरा आँखाको दृष्टिपात एउटा पुरुष मान्छेमा पर्छ, म हतारिन्छु, अनायास । म अतालिन्छु । असह्यताको अनुभूतिले मुटु विझाउँछ । अनिष्ट र महाप्रलयको भूकम्प ……………. । म सिटबाट पछाडि हट्छु । हातगोडा थर्रर काँप्छन् । बस भयानक लाग्छ,‘ यस्तो भयानक बसभित्र बसेर म कसरी काठमाण्डौं पुग्न सक्छु ….?’
‘आफैमा प्रश्न गर्छु –‘यो कस्तो घातक संयोग †’ वैकल्पिक बाटोको कल्पना गर्छु । असम्भव ….. † मलाई काठमाण्डौ पुग्नु छ त्यो रातभरमा । तर काठमाण्डौका लागि त्यो नै अन्तिम बस भएका कारण म विवश छु यात्रामा । सन्त्रस्त उभिरहेकी छु, बस आफ्नो स्थानबाट गुडिसकेको छ ।
म काठमाण्डौ जाँदैछु –दाइलाई भेट्न र तीनवर्षका लागि विदाइ गर्न । किनकि दाइ भोलि दिउसो अमेरिका जाँदैहुनुहुन्छ । बसभित्र म डराइरहेकी छु, मभित्रकी दिव्यानी डराइरहेकी छे, तर किन र कोसँग डराइरहेकी छे, आफैलाई पत्तो छैन । कण्डक्टरले पटक–पटक मलाई आफ्नो सिटमा बस्न अनुनय गरिरहेछ, मैले आफ्नो सिटतर्फ हेर्छु, सिटको कुनापट्टि एउटा लोग्नेमान्छे झ्यालबाट आँखा छिराएर धाराप्रवाह बाहिर हेरिरहेछ । त्यो पुरुषमान्छे र त्यो सिट नै मेरा लागि असह्य लागिरहेको छ । म उसप्रति घृणाभावले हेरिरहेकी छु ।
कुनापट्टि झ्यालबाट आँखा छिराएर बाहिर हेरिरहेको लोग्नेमान्छे अकस्मात मतिर फर्किन्छ, एकक्षण आँखा गाडेर मेरो अनुहारमा घृणा, आक्रोश र विषमताले हेर्छ र पुन: आफ्ना आँखाहरु झ्यालबाट बाहिर छिराउँछ ।
वास्तवमा त्यो लोग्नेमान्छे विजयसागर हो, विजयसागर अर्थात् एक उद्योगपति, विजयसागर अर्थात् अभिमान पुरुष विजयसागर अर्थात् मेरो निवर्तमान श्रीमान । जसबाट आज म नातामुक्त छु । छ महिना पहिले हाम्रो सम्बन्धविच्छेद भइसकेको छ । समयको परिवहनमा आज विजयसागर मेरो पति छैन र पनि म किन डराइरहेछु, म उसकी पत्नी कसरी बनाइएँ र म जान्दिन तर आजीवन उसकी पत्नी भइरहन किन सकिन म त्यो जान्दछु ।
तिथिमिति मलाई याद छैन, मैले पिएन क्याम्पस पोखराबाट विविएसको पढाई सिद्धाएर घर आएकी थिएँ । घर आएपछि बुबाआमाले मलाई विवाह गर्न दवाव दिनुभयो र केही समयमै विजयसागरसँग मेरो विवाह सम्पन्न भयो । एउटा नामुद उद्योगपति भएका कारण विजयसागरले प्रशस्त पैसा कमाएको थियो । पैसाले ऊ घरपरिवारका प्रत्येक समस्याहरु समाधान गर्न सक्थ्यो …….. । त्यस्तो पैसावाल श्रीमान पाएकोमा म शुरु–शुरुमा निक्कै मख्ख पनि थिएँ ।
‘ऊ व्यस्त रहन्थ्यो, राती अवेरमात्र घर फर्किन्थ्यो । हामी श्रीमान् श्रीमतीबीच अन्र्तसम्बाद गर्ने मौका मिल्दैनथ्यो । फेरि पनि म खुशी नै थिएँ । किनकि एउटा उद्योगपति, अधिक जानपहिचान, वैठक, गोष्ठी, सेमिनार मलाई समय कसरी निस्कियोस् …….. ? यसरी नै चित्त बुझाउँदै गएँ, आफैले आफैलाई सम्झाउँदै गएँ र थुम्थुमाइरहेँ –जिन्दगीका हिस्सा–हिस्सा खुशीहरुलाई । एकदिन मैले आफूलाई सम्झें । विजयसागरसँग मेरो विवाह भएको पुरा दुईवर्ष वितेछ । म झझल्किएँ । उसले मलाई अझैसम्म समय दिन सकेको छैन । एउटा आवरणात्मक रुपमा हाम्रो निस्तो दाम्पत्य गुज्रिरहेकोमा म पछुताएँ । म विजयसागरकी प्रिय बन्ने रहरले उसको सामीप्यता चाहें, न्यानो माया, खुल्ला आत्मीयताको आश गरें, तर पनि ऊ उस्तै रह्यो, म उदास भएँ ।’
विजयसागर एउटा प्रेमी मनले मायाको न्यानोपन लिएर घरमा कुनै दिन फर्केन । हुँदा–हुँदा ऊ टन्न रक्सी पिएर मध्यरातमा धरमरिंदो घर भित्रिन थाल्यो । आफ्नो श्रीमानको सुखद उपस्थितिका लागि प्रतीक्षारत मेरा सपनाहरु विजयसागरको धरमरिंदो प्रवेशले क्षत विक्षत हुन थाले । तैपनि सम्हालिएँ । श्रीमान् विजयसागरको अन्र्तहृदय बुझ्ने प्रयास गरें, तर सबै निरर्थक सपनाजस्तै भैरहे –म भित्रकी दिव्यानीको समर्पण निस्सार हुँदै गइरहेँ । यसरी नै दिनप्रतिदिन उसको मानसिक प्रताडनाले म अरु निरीह बन्दै गएँ । आफ्नो श्रीमान्सँग एक असली दम्पत्ति भएर बाँच्ने अभिलाषा भित्रैबाट क्षीण बन्दै गयो । विवाहको औपचारिकता एउटा निस्तो सम्झौता मात्रै हामी श्रीमान् श्रीमतीमा रहिरह्यो । ‘मेरा संगिनीहरुले मलाई एउटा खानदानी घरकी बुहारी र उद्योगपतिकी श्रीमती भएकोमा डाह गर्थे तर एउटा सम्पन्नताभित्रको दरिद्रता कसैलाई थाहा हुँदैन्थ्यो भोग्नेलाई शिवाय ।’
थुप्रै कोशिस गरें, मैले विजयसागरको सामीप्यताको लागि । माया र समर्पणको वदलामा झर्कोफर्को, उच्चाट, वैमनश्यता । म सशंकित हुन थालें उसप्रति । ऊ असहज निर्दयी र शासक पुरुष महशुस हुन थाल्यो मलाई ।
विजयसागरका बाबुआमाको अपार माया ममता हँुदाहुँदै पनि, विजयसागरको प्रेमतृष्णामा म अत्यन्त भोकी थिएँ । जीवनको सुखद आरोहण र असल दाम्पत्यका निम्ति अरु सम्भावनाका बैकल्पिक बाटाहरु भेट्ने प्रयासमा म निरन्तर दौडिरहेकी थिएँ, ऊ मेरो होस्,मेरो प्यारको देवता होस् । विजयसागरको लागि मैले देखेका हरेक सम्भावनाहरुमा आफूलाइ उत्सर्ग गरिरहेँ । समय अरु अगाडि पुगिसक्यो ।
विजयसागर मसँग प्रेमले नबोल्नु, टन्न रक्सीले मातेर घरमा फर्किनु, केही रात घरबाहिरै विताउनुका परिणामहरु एकदिन मेरो अगाडि साक्षात्कार भए । म आफ्नै सपर्मणको विस्फोटनमा पड्किएर चकनाचूर भएँ –किनकि विजयसागर अरु दिव्यानीहरुको सामीप्यता र चरम वैंसका शारदीयाममा भरपुर थियो, आनन्दित थियो ।
यी सबैथरी घटना–दुर्घटनाहरुको साक्षात्कार पाएर मैले उसप्रति विद्रोहको शुरुवात गरें, तर त्यो विद्रोह पनि निकृष्ट र अर्थहीन थियो । त्यो अर्थहीन लडाई लडेर एक अभिमानी पुरुषलाई के जित्न सक्थें र बनाउन सक्थें आफ्नो प्यारको देवता । ऊ झन् मलाई एक अजिङ्गर समान लाग्न थाल्यो, मैले महशुष गरें, सम्भवत: एक दिन उसले मलाई निल्नेछ । किन उसको स्वतन्त्र बाटोमा बोझ बनेर उसको ढोका कुरिरहँु …….. ? म आफैसँग पनि हारें र अन्तिम विकल्प खोजें ‘मुक्ति’ केवल आफ्नो निजत्वको लागि ।
मुक्तिका लागि अदालतमा सम्बन्धविच्छेद गर्नुपूर्व मैले विजयसागरसँग त्यो कुराको जानकारी दिएँ ‘म तपाईसँग मुक्ति चाहन्छु ।’
‘के दिन सकिन र मैले तिम्रा लागि ?’ यही प्रश्न गर्यो क्यारे विजयसागरले ।
‘एउटी श्रीमतीका लागि आफ्नो श्रीमान्को माया नै सबैभन्दा ठूलो र अनमोल हुन्छ विजयसागर ज्यू, तपाई यही विषयमा गरीब रहनुभयो । एउटी नवविवाहित महिला हरेक दिन आफ्नो श्रीमान्सँग भविष्यका सपना विसाउन चाहन्छे, विचार साटेर खुशी बाँड्न चाहन्छे र चाहन्छे आफ्नो श्रीमान्को मायालु अंगालोमा दिनभरिको थकित शरीर समर्पण गर्न । तर म ती कुनै भाग्यवान महिलाको सूचीमा पर्न सकिन । अब म आफ्नो अपनत्वको लागि मुक्तियात्राको नयाँ बाटोमा लाग्दैछु ।’
‘नयाँ यात्राको निम्ति शुभकामना †’ कति सहजै भन्यो उसले । उसको भनाइबाट प्रष्ट हुन्थ्यो कि –यो मुक्तियात्राको निर्णयले विजयसागर जिन्दगीको नयाँ मोडमा नयाँ सम्भावनाहरु पाएर अरु प्रफुल्लित भइरहेको छ ।’
सम्बन्ध विच्छेदको कुरा थाहा पाउने वित्तिकै मेरा बाबुआमा, दाजुभाउजु करेण्ट लागेझैं हुनुभयो । “त्यसपछि एउटा अँध्यारो भयानकता र अभिशप्त जिन्दगीको खण्डहरमा शरणार्थीजस्तै मुक्तियात्राको मुसाफिरका रुपमा म रुपान्तरित भएँ । त्यसरी नै जिन्दगीभित्रका थुप्रै दुखान्त अनुभूतिहरुको मौषमले मलाई रुवाउँदै गयो, दुखाउँदै गयो, तड्पाउँदै गयो र क्रमवद्ध रुपमा हराउँदै गयो ।”
भावुकताको अन्धवेगमा म निकै बहकिएछु । अँध्यारोले रात क्रमश: खाइरहेछ । बसको गति एकनासले अगाडि हुँइकिएको छ । किनकिन मन स्थिर छैन अस्थिर छ । भयपूर्ण मुटुको स्पन्दन छातिभित्र उफ्रिरहेको छ, लाग्छ अरु नै कुनै कुराहरु सम्झेर विगत विर्सने प्रसास गरुँ र भूलूँ वर्तमानलाई । तर वास्तविकताको भयाभव पहाड बसिरहेछ मस्तिष्कमा र त्यही विगतको भयानकताले आज आफ्नै जिन्दगी चपाइरहेछ । आफ्नो वर्तमानको अगाडि म लाचार र नतमस्तक भएकी छु ।
आहत, छटपटी, सन्त्रासको बेचैन घडीसँगै यात्रा निकै अगाडि पुगेछ, मुग्लिन आएको जानकारी दियो कण्डक्टरले । होटलवाला चिच्याएर खाना खान आह्वान गरिरहेका थियो, यात्रुहरुलाई । चनाचट्पट र बदाम बेच्ने मधेशीहरु आफ्नै तालमा व्यस्त देखिन्थे । बस प्राय: खाली भइसक्यो, म ओर्लने दु:साहस गर्दिन …… । आफू शिवाय रित्तिएको बस देखेर सम्झना आउँछ –अक्सर जिन्दगी पनि त यस्तै हो । अक्सर मिल्दा मान्छेहरु भेटिन्छन्, छुटिन्छन् –यात्राले नै मान्छेलाई मिलाउँछ र यात्राले नै छुटाउँछ ।
एकजना साथीले एउटा भेटमा भनेकी थिई । लोग्नेविनाको जिन्दगी बडो निरर्थक र निस्तो पो हुन्छ । तँ कसरी विताइरहेकी छस् दिनहरु ? के पट्यार लाग्दैन ? त्यतिखेर उसको सवालमा अत्तालिएर भनेकी थिएँ –‘आफ्नो थोत्रो अभिमानको दास सम्झेर नारी संवेदनाको उपहास गर्ने पुरुष कंकालहरुको संगत नगरिकनै म एउटा प्रयाप्त जिन्दगी विताउन र बाँच्न सक्छु । म कुनै अशक्त र कायर आइमाई होइन ।’ मेरो यस्तो ठाडो जवाफले ऊ निकै दुखी भएकी थिई ……. ।
आज समय निक्कै अगाडि बढिसकेको छ, मेरो त्यतिखेरको क्षणिक आवेग र उत्तेजनाबाट मन निक्कै तरल भइसकेको छ । हिजोआज पुरुष सामीप्यताको क्षीण आभासमा मन तरङ्गित हुन खोज्छ तर लोग्ने मान्छेको रित्तो कंकाल मात्रको म संधै विपक्षमा छु । दिव्यानी र दिव्यानीमनहरुले कुनै सक्कली लोग्ने मान्छे जो नारी संवेदना भित्रको चाह र समर्पणको पुजारी होस्, एकअर्काको अस्तित्व स्वीकार गरोस् यस्तै पुरुषको आविस्कार चाहिरहेका छन् ।
बसभित्रको रिक्त भूगोलमा स्मृतिका रेखाङ्कनहरु भर्दा भर्दै खाना खाइसकेर यात्रुहरु बसभित्र छिर्दै थिए । त्यतिकैमा विजयसागर पनि भित्र छिर्यो नहेरु भन्दाभन्दै पनि एकपटक आँखाहरु उसको आँखामा पुगे ।मलाई देख्नेवित्तिकै गहिरो विस्मयको आहत् नजर र आक्रोशित आँखाको दृष्ट्रि उसले पुन: मतिर फ्याक्यो । म तुरुन्तै उसको विरोधाभाषपुर्ण नजरबाट पराजित भएँ र आँखा हटाएँ । एउटा भयंकर पहाडले थिचेजस्तो भारी भयो शरीर, भतक्क गलेँ । हातखुट्टा र थर्रर काप्यो एउटा सन्त्रास ।
मुग्लिनवाट बस गुडिसकेको छ, त्यो रात निद्रा पटक्कै छैेन, निदाउन निक्कै कसरत गरेपनि आँखामा निद आएन । विहान पाँच बजे बस कलंकी पुग्यो । म झरँे । बसबाट झरिसकेपछि पनि एक नजर पछाडी फर्केर हेर्न मन लाग्यो कतै बिजयसागर…….? अ हँ ऊ त्यहाँ थिएन, म ढुक्क भएँ । म पैदल यात्राबाटै दाइको डेरासम्म पुगेँ ।
केहीक्षणको बसाइपछिनै हामीहरु ट्याक्सी लिएर एयरपोर्ट पुग्यौ । दाइसँग छुट्टिने बेला आइसकेको थियो । दाइले गम्भीर भएर भन्नुभयो–‘मलाई सवैभन्दा ठूलो चिन्ता तेरै छ दिब्यानी । राम्रै केटासंग बिहे गरिदिएर पनि त खुशी रहन सकिनस्, सम्वन्धविच्छेद गरिस् । तँ आँफै पनि पढेलेखेकी छस् र आँफु र आफ्नो जिन्दगीलाई राम्ररी वुझेकीछस्–वाँकी जिन्दगीको बारेमा सोच्दै गर ।’
दाइको भनाइबाट रातभर बसभित्र भोगेको सन्त्रास र विजयसागर फेरि आँखामा प्रतिविम्वित भयो, छातीभित्र एउटा पीडायुक्त अनुभूति सलवलायो, तर पनि दाइको विदाइवखत कुनै प्रतिक्रिया गर्न चाहिन, रित्तो मुस्कान फिस्स हाँसेर टारिदिएँ ।
विमानस्थलमा विदाइका अन्तिम हातहरु हल्लाइए, स्वागत गर्नुमा र विदाइ गर्नुमा निकै ठूलो भिन्नता हुन्छ नै । मनभित्र एउटा विस्मय र आँखामा आँसु उमारेर भाउजु र म पुन: डेरातर्फ फक्यौं ।
म काठमाण्डौ छु । काठमाण्डौको नरमाइलो दिनचर्यामा मुस्किलले समय गुजार्नु शिवाय अरु कुनै उपलब्धीहरु मसँग छैनन् । मानसपटलमा जिन्दगीको मनोवैज्ञानिक सन्त्रास हुर्किरहेको छ । मलाई थाहा छैन, जिन्दगीले मसँग कस्तो भयानक बाजी खेलिरहेको छ । मलाई यत्ति थाहा छ, जिन्दगीसँग खेलेका प्रत्येक बाजीहरुमा म क्रमागत हारिरहेकी छु ।
कहिलेकाँही लाग्छ –आफ्नै बागलुङ फर्कूँ, तर भाउजुले काठमाण्डौ नै बसेर जागिर गर्ने सल्लाह दिइरहनु हुन्छ । दुईतीन वटा बोर्डिङ स्कूल्बाट जागिरको लागि अफर नआएको पनि होइन । एउटा अनिर्णयको बन्दीमा धुमिल–धुमिल भइरहेकी छु । कुनै सकरात्मक मानसिकता तयार गर्न सकिरहेकी छैन । “कस्तो विडम्बना निष्ठुरी समयको इरेजर आफ्नै हातमा समाएर विवशत् मेटिरहेछु –मैले आफ्नै भाग्यका रङ्गिन अनुहारहरु ।”
एउटा शनिवार अनुपमा मलाई भेट्न आउँछे । क्याम्पस पढ्दाको अति मिल्ने र आत्मीय सङ्गिनी हो अनुपमा । लगभग वर्षदिन पछिको दुई सङ्गिनीहरुको भेटले मन केही रोमाञ्चकारी हुन्छ । त्यही रोमाञ्चकताको एक पलमा मैले आफ्नो विगत सबै विर्सेर नयाँ स्तम्भमा संलाप गर्छु –उसँग । अनुपमा भन्दै थिई –‘ऊ आफू वालबालिका तथा समाज कल्याण मन्त्रालयमा अधिकृत भएको खवर ।’ सङ्गिनीको एउटा सुखद् समाचारले मनभित्र एउटा गौरव फूल्यो र समग्र महिला अपनत्वको नयाँ संरचनाको आविस्कार मैले अनुभूत गरें । हार्दिकताले बधाई दिएं अनुपमालाई ।
अनुपमाले मलाई पनि जागिर खान अनुरोध गरिरहेकी थिई, दोश्रो विवाह गर्न दवाव दिइरहेकी थिई तर वैवाहिक जिन्दगीको अंध्यारो सुरुङमा एउटा महिला हुनुको घातक प्रताडनाबाट मेरो जिजीविषा किन किन हिनताबोधको आत्महत्या गरिरहेको थियो –आँफूभित्रै ।
दोश्रो विवाहको उच्चारण मात्रै गर्दा पनि म स्तब्ध हुन्छु, र पुरुषहरुको अभिमानी दुनियामा एउटा आडम्बरी विजयसागर फेरि अगाडि उभिन्छ र आफू पुरुषहुनुको रवाफ प्रदर्शन गर्छ र अर्को रक्स्याहा विजयसागर मेरो नजिकमा ढलमलिन्छ । आफ्नो औकात प्रस्तुत गर्छ र मेरो मुक्तियात्राको बाटो अवरुद्ध गर्छ । पुरुषमान्छेहरुको संगतबाट तर्सिरहेको मेरो अन्र्तआत्मालाई मेरा कुनै आफन्तहरुले साहस र उर्जा दिन सक्दैनन् बरु अझै निरीह बनाउन उद्दत भइरहन्छन् ।
‘लोग्नेविनाको भविष्य आफ्नैहरुबाट अवहेलित हुन्छ ।’–भन्दै थिई अनुपमा । हिजोआज यो वाक्यले मलाई भित्रभित्र लुछिरहन्छ । किनकि बुबाआमा दाजुभाउजु र अरु आफन्तहरुको पनि त्यही वाक्य सुनिरहन विवश भएकी छु म ।’
फुर्सद मिलाएर कहिलेकांही आफ्नो घर र अफिसतिर आउन निम्ता दिंदै अनुपमा गई । ऊ गएपछि पनि मेरो मन मस्तिष्कभरि दुविधात्मक प्रश्नहरु आइरहे । म खचाखच प्रश्नहरुको भीडबाट मुक्त हुन सकिरहेकी छैन । मुक्तियात्राको बाटोमा सयौं काँडाघारीहरुको सामना गरिरहेकी छु ।
अनुपमाले भनेजस्तै मलाई विस्तारै आफ्नै बाबुआमाको घर साँघुरो लागिरहेको छ । लाग्छ मलाई मेरै परिवार अलि पृथक आँखाले हेर्न खोजिरहेका छन् । उनीहरुको चाहना थियो –“म आफ्नो लोग्नेसँगै बस्नुपथ्र्यो, मप्रति उसको कुनै माया, प्रेम र सद्भाव नभएपनि म आफ्नो पतिभक्त भएर घर खान सक्नुपथ्र्यो । कुनै पनि अवस्थामा सम्बन्धविच्छेद गर्नु हुन्थेन । तर म एउटी आइमाइ हुनुको नियति वलिदान चढाउन सकिन, आफ्नो भविष्य, एउटा सामन्तवादी पुरुष संस्कारको पर्खाल नाघेर स्वतन्त्र दुनियामा आएँ । त्यसैकारण मेरा बाबुआमाको घर मलाई साँघुरो हुन गयो ।”
‘लोग्ने नहुँदैमा संसार छैन, भविष्य छैन र केही छैन भन्ने दुनियाको अन्धो विश्लेषणमा दिव्यानी सहमत छैन, दुनियाको त्यो एकतर्फी र अन्धभक्त विश्लेषणले पुरुष अभिमानको पूजा गरिरहेको छ र नारी अस्तित्वलाई झनै कमजोर बनाएर परम्परावादी संस्कारको अँध्यारो शुरुङमा धकेलिरहेको छ । त्यसैले यो दिव्यानी अर्थात म त्यो विचारमा सहमत हुन सक्दिन ।’
प्रश्न र विचारहरुको तर्कवितर्कमा म आफूभित्रका सम्पूर्ण डर, त्रासहरु हराएर जान्छन्, एउटी दिब्यानीको भविष्य, सपना र लक्ष्य कुनै लोग्नेमान्छे नभएर दिव्यानी स्वयं हो भन्ने लाग्छ मलाई । म हिम्मतका साथ जिन्दगीको तेश्रो आयाममा रुपान्तरित भएर एउटा नयाँ जिन्दगी निर्माण गर्ने प्रतीज्ञा गर्दछु । विजयसागरहरुको अनुपस्थितिमा पनि दिव्यानी जिन्दगीको नयाँ घर निर्माण गर्नेछे । सफलताको उच्च शिखर आरोहण गर्ने दिव्यानीको यो नूतन परिकल्पनाले मलाई अब कहिल्यै हराउने छैन ।
बलेवा, बागलुङ
(स्रोत : रचनाकार स्वयंले Kritisangraha@gmail.com मा पठाईएको । )