१२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे
तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु
अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा ।
झण्डै पाँचदर्जन बर्षहरु त
कविताका पानाहरुमा
उसले यसरीनै रोपिरहेको छ–अक्षरहरुको वीउ
र भावनाको सियोले उनिरहेको छ–शब्दहरुको सप्तरङ्गी माला ।
तर, लेखेर पनि त तकदिर लेख्न सकिँदो रहेनछ कवितामा
नत जाली शव्दहरुको पर्खाल उभ्याएर
छेक्न सकिँदोरहेछ अभावको हूललाई ।
उफ् † यो गरिवीको वेचैन श्रृङ्खला
थाप्लोमा बोकेर विचरा बूढो कवि
चढिरहेको छ सङ्घर्षैसङ्घर्षको उकालो पहाड ।
आखिर
कविलाई सायद थाह छैन आफ्नै जीवनको मूल्य
वा राख्न जानेको छैन उसले आफ्नै मिहेनतको हिसावकिताव †
त्यसैले त जीवनको उत्तरखण्डमा यतिखेर
उ बडो लज्जित भइरहेको छ आफैसँग
श्रीमतीको च्यातिएको चोलीले
गिज्याइरहेको छ उसको स्वाभिमानलाई
छोराछोरीको आँसुले भिजिरहेको छ उसको तकिया
र मझेरीबाट भित्र हुनहुनिँदै छिरिरहेका छन् संकटका आँधी र हुण्डरीहरु ।
तरपनि यो बूढो कवि
किन बर्षौदेखि सिंगारिरहेको छ आफ्नै रगत निचोरेर
कविताका भित्ताहरु ।
लेख्दै जाँदा जीवनमा उसले बिर्सिएको आफ्नो उमेर
यतिखेर क्रमश:
सेताम्य भएको कपालले सम्झाइरहेको छ उसलाई
र ६० बर्षपछि आएर
दमको रोगले च्यापिएको छ उ आफै
ठिक यतिखेरै सकिएको छ घरमा
पक्षघातले थलापरेकी श्रीमतीको औषधि
यी तमाम पीडाहरुको साथमा
प्रत्येक अक्षरहरुमा बिझाइरहेको छ उसको जिन्दगी
र आफ्नै भावनाको दहमा डुवेर
मरिरहेका छन् उसका वैजनी सपनाहरु
कविलाई यतिखेर उसको ब्रह्मले
उसैलाई सोधिरहेको छ– अनगिन्ती प्रश्न
र प्रश्नहरुको जवाफमा
रुजु गर्दैछ उसले आफ्नो कवितालेखनको इतिहास ।
आफूले लेखेको कुनै कवितामा नून छर्केर
रासन अभावको वेला न सक्यो उसले एकछाक टार्न
नत दुईटा कविता सुनाएर थुमथुमाउन सक्यो
पक्षघातले थला परेकी श्रीमतीको बिलौना
अर्थात न दिन सक्यो कहिल्यै एउटा कविता वेचेर
छोराछोरीलाई ‘स्कुल टिफीन’
आखिर किन लेखिरहेको छ एउटा बूढो कवि
बर्षौदेखि यस्ता मूल्यहीन कविताहरु …… †
१२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे
तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु
अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा ।
बलेवा, बागलुङ
(स्रोत : रचनाकार स्वयंले Kritisangraha@gmail.com मा पठाईएको । )