~मोमिला~
शून्यबाट
फूलको बिम्ब झरेको छ
पत्थरको बस्तीमा
कांडा र फूलको दूरी
नजिक भएर पनि
कत्ति टाढा र मौन लाग्छ
एउटै बिछयौनामा
ववव
ग्रिक सभ्यताझैं
तिमी फक्रिएको क्षण
कांडाबीचको तिम्रो शालीन मुस्कुराहट सम्झेर
भगवानसंग वरदान माग्नै बिर्सेछु
आंसु त बेहिसाब लुकाएछौ नि
चर्केको ऐनामा तिम्रो बिम्ब
प्रेमझैं
अझ सुन्दर देख्दो रहेछु
कतै बेहद घाममा मुर्झाएर
तिमी नजरहरूमा छलिए पनि
आत्मीयताले अंध्यारोमै
चिन्न सक्ने भएछु
फूलसंग आंखा जुध्नु
साह्रै दुःखको कुरा
यहींबाट प्रारम्भ हुनेछन्
आगामी सुन्दर भूलहरू
(नोट : यो कविता कोरियन चित्रकार Chun, Heung-Soo को “Flower Image” नामक चित्रमा आधारित छ ।)
(स्रोत : Nepalikalasahitya)