~मोमिला~
मेरो कविताको रोमान्टिक मुर्र्च्छना
यो रात
शब्दको किनारबाट भागेर, म-
तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु
यतिखेर मलाई
भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ
शब्दसंग शब्दको टक्करमा
केवल शब्दकै आविष्कार
प्रकृतिको शालीन विद्रोह
यो रात
मलाई चित्रबस्तीमै मौन रहन देऊ
समयको भव्य सुस्केरा
यो रात
कतै पुगिन्छ कि भनेर
म तिम्रो चित्रमा
मेरो चेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछु
चित्रको षडङ्गमा
तिमी कहांनेर छौ ⁄
पीडाहरूको आतसबाजी
यो रात
म, तिम्रो पीडाको गन्धले
औधी पुलकित छु
दुइ ताराबीचको दूरीमा
कति पीडाहरू अटाउन सक्छन्
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात
यही दूरी मीठो लागेको छ
तारा बलेको यो मलामी रात ⁄
तिम्रो प्रेमको आकाश फैलिन
मलाई त्रि्रै समयको वेश्या हुने रहर छ
तिमीजस्तै, म
मेरो समयको आउटसाइडर’ हुं
…
तर सभ्यताको प्रेममय विश्राम
यो साइबर रात
सम्झेरै आत्महत्याको कुरा गर्नेछैन
रात त आखिर
उज्यालोमा छाया परेको न हो
(नोट : यो कविता प्रसिद्ध चित्रकार Vincent van Gogh को “The Starry Night” शीर्षकको चित्रमा आधारित छ ।)
(स्रोत : Nepalikalasahitya)