~राधेश्याम लेकाली~
जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल सन्देश पनि साहित्यले दिन सक्नुपर्छ । साहित्य जीवनको मार्गनिर्देश बन्न सक्नुपर्छ । आमपाठकसमक्ष पुग्ने साहित्यले अधिकांश पाठकको रुचिको विषय बन्न सक्नुपर्छ । साहित्यको विशिष्टीकरण पनि यही हुन सक्छ ।
समयसापेक्ष अभिव्यक्तिले युगको प्रतिनिधित्व गर्दछ । समाजको विशिष्टता थाहा पाउन यसबाट सहज पनि हुन्छ । यसैले साहित्यले समय समात्न सक्नुपर्छ । सिर्जनात्मक सोच सकारात्मक हुन सकेन भने त्यसले समाजलाई नकारात्मक प्रभाव पार्छ । यसैले स्रष्टाभित्र मानवीय मूल्य र मान्यताका लागि संवेदनाको खाँचो हुन्छ । यसैको परिपूर्तिले सामाजिक परिवेशमा सामाजिक न्यायका लागि लेखनमा इमानदारिताको लेपन लगाएर साहित्य सिर्जना गर्दा त्यस्तो साहित्य ओजस्वी हुन्छ, कालजयी हुन्छ ।
आज साहित्यको संख्यात्मक रूपमा उल्लेख्य वृद्धि भएको छ, राम्रो कुरा हो तर आजको साहित्यको स्तरीयताको प्रसङ्ग जोड्दा कस्तो मूल्याङ्कन भएको छ यो पनि गम्भीर बहसको विषय हो । साहित्य, कला र संस्कृतिका क्षेत्रमा राज्यको उदासीनता र सम्बद्ध निकाय र संस्थाहरूको फितलो दायित्य बहनले नेपाली साहित्यको स्तरलाई उकास्न सायद अझै धेरै समय कुर्नुपर्नेछ । विश्व साहित्यमा नेपाली साहित्यको स्थान स्थापित गर्न पनि सायद अझै समय लाग्नेछ ।
मुलुकमा जनआन्दोलनपछिको आमूल परिवर्तनको सुखानुभूतिभन्दा थप समस्या, पीडा र यातनाको अवस्था भोग्नुपरिरहेको वर्तमान अवस्थामा संविधानलेखन र शान्तिप्रक्रियामा नै बाधा परिरहेको छ । देशको यस्तो नाजुक अवस्थामा नागरिकको सुरक्षा, देशमा शासनको अवस्था, राज्य सञ्चालनको पारदर्शिता, विकास निर्माण, नागरिक राहत, मानवीय मूल्य र मान्यता स्थापितजस्ता विषयहरूको कुनै अवस्था तत्कालै सुढृढ हुने देखिँदैन । राज्यको चौथो अङ्ग पत्रकारजगत्ले नै असुरक्षा र असहयोगको स्थिति भोगिरहेको आसन्न अवस्थामा स्रष्टाहरूले कुनै राज्यबाट भरोसा राख्नु र भाषा, साहित्य, कला, सस्कृति र साहित्यिक पत्रकारिताको संरक्षण र विकासमा एकाएक परिवर्तन हुने र नेपाली साहित्यलाई विश्व साहित्यमा स्थापित गराउन पहल हुने कुरामा आशासम्म गर्न सकिन्छ तर भरोसा गर्न सकिँदैंन । आजसम्म धेरै स्रस्टाहरू आफ्नो जीवनको अन्तकालसँगै बिलाएर गएका छन् । तिनको बारेमा कोही कसैलाई चासो छैन । साहित्यका क्षेत्रमा काम गर्न पाएको संस्था प्रज्ञाप्रतिष्ठानमा धेरै लामो समयपछि दलहरूको राजनीतिक भागबन्डामा स्रष्टाहरूको नियुक्ति भएको छ ।
यस्तो संस्थामा योजनाबद्ध ढङ्गमा काम गर्न सक्ने खुबी भएका स्रष्टाहरूको नियुक्ति हुन सके उपलब्ध स्रोत र साधनको सही उपयोग भई साहित्यकार हरिहर शास्त्रीजस्ता स्रष्टाहरूको सही मूल्याङ्कन हुन सक्थ्यो । हास्य कवि विष्णु नवीनजस्ता स्रष्टाहरूले अकालमै अभाव र दरिद्रताको कारण मर्नुपर्ने थिएन । हो, नेपाली साहित्यका अनेकौंं नक्षत्रहरू कति घरहरूमा थुनिएका छन्, कति अगाडि भए पनि बेवास्ताको मारमा परेका छन् । केही मात्रामा, जसको पारिवारिक सहयोग छ उनीहरू एकाद चर्चामा आउने गरेका छन् । यस्तै परिवेशका स्रष्टा हुन् साहित्यकार हरिहर शास्त्री । झूटो मानप्रतिष्ठामा अलमलिएर मान्छे अनाहकमा दम्भको भारी बोकेर जीवरभर दौडधूप गर्छ । अन्ततः ऊ माटोमा मिल्छ तर अरूको मान र सम्मानका लागि हिँड्ने मान्छे अरूकै भारी बोक्छ, समाजको हितमा काम गर्छ ।
अन्ततः उसले मृत्युपछि मान, सम्मान र प्रतिष्ठा पाउँछ । आदर, सत्कार र पुरस्कार पाउँछ । यही दोस्रो चरित्रमा पर्ने साहित्यकार हुन्– हरिहर शास्त्री । आफ्ना रचनाहरूका माध्यमबाट मानवीय मूल्य र मान्यताको प्रखर चेतना स्थापित गर्न सफल साहित्यकार हरिहर शास्त्री अन्ततः विद्यमान सामाजिक परिवेशलाई विश्लेषण गर्न सफल मानिनुहुन्छ । मानवीय पीडा, आँसु, अभाव, दरिद्रता र असन्तुष्टिका छटपटीहरूलाई संवेदनशीलतवरमा आफ्ना रचनाहरूमा उतार्नु उनको विशेषता नै मानिन्छ । मानवीय मूल्य र मान्यताको कसीमा समाजको विकृति र विसङ्गतिहरूमा विह्वल बनेर एकले अर्कोमा गर्ने प्रताडना र पीडा प्रहारको विरुद्धमा साहित्यकार हरिहर शास्त्रीको सिर्जनाहरूको मूल्याङ्कन गरिनु उपयुक्त हुन्छ । देशमा प्रजातन्त्र, मानवअधिकार र सुशासनको सुढृढ स्थिति नभएको तत्कालीन अवस्थामा उनको रचनाहरूमा समयसापेक्ष विद्रोह र चेतनायुक्त अभिव्यक्ति प्रतिबिम्बित हुनु निश्चय पनि समयसापेक्ष प्रहार हुन् । यद्यपि उनले भोगेको परिवेश र वर्तमानको परिवेशमा भने तात्विक केही फरक छैन ।
सधैँ हँसिलो मुहार, उच्च विचार र समाजसेवीका रूपमा समेत परिचित साहित्यकार हरिहर शास्त्री अपार छवि र मनका धनी हुन् ।
उनको आत्मीय, सहृदयी व्यवहार र अरूको कुभलो नचिताउने बानीको प्रशंंसा आज पनि सँगातीहरू बताउने गर्नुहुन्छ । शिक्षाका प्रचारक शास्त्रीको मधुर बोली र कार्यशैलीबाट उनका धेरै सँगातीहरू प्रभावित रहन्थे । सिङ्गो मुलुकको प्रजातान्त्रिक एवम् आन्दोलनमा समर्थक भएर उभिने शास्त्री स्वयम् प्रजातान्त्रिक एवम् प्रगतिशील कविका रूपमा उभिएका छन् । उनको प्रगतिशील विचारलाई पुष्टि गर्ने अनेकौं रचनाहरू छन् । परम्परागत मूल्य र मान्यतालाई आधुनिकताको कसीमा हेरिनुपर्ने प्रगतिशील विचार राख्ने शास्त्री सबै कुरा वैज्ञानिक मापदण्डबाट हेरिनुपर्छ भन्ने वैज्ञानिक सोचराख्थे । राम्रो, उपयोगी परम्परालाई लिने, नराम्रो, खराब परम्परालाई जरैदेखि फाल्नुपर्ने उनको विचार रहेको छ । लेखकीय चेतनामा सचेत शास्त्री आफ्ना रचनाहरूमा चेतनाको लेपन लगाएर विकृति र सङ्गतिहरूलाई उजागर गर्ने शास्त्रीका कतिपय दृष्टिकोणहरूको अध्ययन–अनुसन्धान हुन बाँकी नै छन् ।
करिब दुई दर्जन आफ्ना साहित्यिक कृतिहरू र केही पाठ्यपुस्तकहरू छोडेर जाने शास्त्रीका तीन महाकाव्य, सात खण्डकाव्य, पाँच, काव्यसङ्गग्रह, दुई उपन्यास, एक कथासंग्रह एक प्रबन्धसंग्रह, एक जीवनी र एक निबन्धसंग्रह आदि कृतिहरू प्रकाशित रहेका छन् । नाटक विधामा समेत कलम चलाएका शास्त्रीले २०१० सालमा प्रकाशित जन विकास पत्रिकाको पनि अघोषित सम्पादक भएर काम गरेका थिए । गाना किताब छाप्न बाँकी रहेको स्वयम् शास्त्रीले रम्भा महाकाव्यको आफ्नो मन्तव्यमा उल्लेख गरेका छन् । वि.सं. २०४७ सालमा शास्त्रीको जीवनी, व्यक्तित्व र उनका साहित्यिक कृतिहरूको अध्ययन विषयमा डिल्लीराम रिमालले शोधपत्र तयार गर्नु भएको छ ।
हर्ष, उल्लास र रमणीय वातावरणमा भन्दा पीडामा बढी राम्रा कविता सिर्जना गर्न सकिन्छ । अभाव, दरिद्रता, अपमान, पीडा र विरहलेखनका लागि ऊर्जा हुन् । यिनै ऊर्जाहरूका साथ अथक संघर्ष गरी साहित्यकार हरिहर शास्त्रीले आफ्ना रचनाहरूमा पीडाहरू पोखेका छन् । त्यही पीडाका छटपटाइहरू शब्द महल बनेर शास्त्रीलाई सबैले सम्झने अद्वितीय अवस्था बनेको हो । लिङ्ग भेद हटाई दुवै नारीपुरुषमा समानता खोज्ने शास्त्री वर्गीय भेदको विपक्षमा उभिएका छन् । पीडाको वकालत गर्ने शास्त्री सम्पूर्ण दुःखकष्ट नाश हुनुपर्छ भन्ने पक्षमा छन् । सामन्ती परिवेशलाई भत्काउन आफ्ना पात्रहरूका माध्यमबाट विद्रोह गराउने पक्ष नै शास्त्रीको प्रगतिशील विचारको यथेष्ठ पुष्टि हो । यद्यपि शास्त्रीले भोगेको परिवेश र उनले राजा त्रिभुवन र राजा महेन्द्रको संरक्षकत्वका संस्थाहरू
क्रमशः संस्कृत भाषा प्रसारिणी समिति र नारी विद्या पीठमा योगदान गर्नु, सम्मान ग्रहण गर्नु, राजाको जीवनी, भ्रमण लेखेर महिमागान गर्नुजस्ता कार्यले शास्त्रीको राजनीतिक धरातललाई ढलमलाएको छ । एक अत्यन्त सफल लेखक शास्त्रीका रचनाहरू अत्यन्त परिष्कृत र परिमार्जित रहेको भने होइन । यद्यपि वैयक्तिक अनुभूति भने उच्च रहेको छ । आख्यानलेखनको तुलनामा अन्य काव्यात्मक अभिव्यक्ति अझ सशक्त, सफल र जीवन्त मान्न सकिन्न । शास्त्रीका कृतिहरू तुलनात्मक रूपमा परिष्कार र परिमार्जनका हिसाबले पूर्ण सफल नरहे पनि यिनको हौसला र प्रयास सराहनीय रहेको छ ।
नेपाली लेखकको दयनीय अवस्थाको चित्रण गर्नु, ग्रामीण–सहरिया दुवै वर्गको वर्णन गर्नु, स्पष्ट विचार अभिव्यक्त गर्नु, सरल र सुबोध भाषाको प्रयोग गर्नु, राष्ट्रियता, सुशासन, स्वतन्त्रता, शान्तिको वकालत गर्नु, सामाजिक विकृति र विसङ्गतिका विरुद्ध आवाज उठाउनु, असल विषयवस्तुको चयन गरी समयसापेक्ष विषयमा लेख्नु, नयाँ र पुराना पुस्ताबीचको द्वन्द्वलाई उल्लेख गर्नु, युगीन परिवेश वर्णन गर्नु, मानतावादी सोच प्रस्ट गर्नु आदि साहित्यकार हरिहर शास्त्रीका विशषेताहरू हुन् । शास्त्रीको लेखनको भाषाशैली सरल, सरस, सहज र प्रतीकात्मक रहेकै कारण उनको साहित्य सिर्जना क्लिष्ट नभएकाले पाठकवर्गलाई पढ्न र बुझ्न सहज भएको छ ।
विक्रम संवत् १९८० ज्येष्ठ शुक्ल तृतीयाका दिन काठमाडौँ टेबाहलमा जन्मिएका साहित्यकार हरिहर शास्त्रीको २०३४ पुस २४ गते वीर अस्पतालमा अल्पायुमै देहवसान भयो । उनको श्रीमती सावित्रीदेवीको पनि एक दशकपछि २०४४ कात्तिक १८ गते देहावसान भयो । शास्त्रीको फोक्सोको क्यान्सरबाट पचपन्न वर्षको उमेरमा निधन भएको हो ।
शास्त्रीले नेपाली साहित्यका विभिन्न विधाहरूमा शिक्षाका क्षेत्रमा र साहित्यिक कार्यक्रमहरूको संयोजनमा पुर्याएका समुचित योगदानलाई यस ग्रन्थमा समावेश गरिएका विद्वान्–स्रष्टा, अनुसन्धानकर्ता आदिका व्यक्त विचार र अभिव्यक्तिले अवश्य पनि उनको समुचित मूल्याङ्कन गर्न मद्दत पुग्नेछ र थप अनुसन्धानका लागि यो ग्रन्थ उपयोगी हुने हाम्रो विश्वास छ । निश्चय नै यो ग्रन्थले शास्त्रीको साहित्यिक योगदान, प्रकाशित कृतिहरूको शिल्प, शैली र विशेषतालाई व्याख्या विश्लेषण गर्न मद्दत पुग्नेछ भन्ने हामीलाई लागेको छ । साथै नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शास्त्रीजस्ता स्रष्टाहरूकाबारे जिम्मेवारी बोध गरेर नेपाल सरकार, प्रज्ञाप्रतिष्ठानजस्ता संस्थाहरूले अध्ययन, अनुसन्धान गराउन आवश्यक छ । राज्य यस दायित्वबाट पन्छिन कदापि मिल्दैन ।
कलासाहित्य सिर्जना, शिक्षामा योगदान र साहित्यिक कार्यक्रमहरूको संयोजनमा आफ्नो जीवनकालभरि सधैँ व्यस्त रहने शास्त्रीले आफ्नो आर्थिक स्थितिलाई सबल बनाउन र परिवारलाई यथेष्ठ समय भने दिन सकेनन । बरु परिवारलाई अभाव र दरिद्रतामा धकेलेर पुस्तक प्रकाशनमा जोड दिए । (सपनाको फूल खण्डकाव्यको केही शब्दमा उल्लेख ।) यो विडम्बना अधिकांंश शास्त्रीसँग मिल्ने हरेक स्रष्टाहरूको पीडा हो । यस्तो विडम्बनाबाट स्रष्टाका परिवार सधैँ प्रताडित हुन्छन् ।
पेसाले शिक्षक र कहिले सामान्य जागिरे जीवन बिताएका शास्त्री सधैँ जाँगरिला, क्रियाशील राष्ट्रिय चिन्तक र साहित्यप्रति समर्पित स्रष्टा हुन् । शास्त्रीको समग्र व्यक्तित्वकाबारे समुचित आकलन गर्ने प्रस्तुत ग्रन्थ एकमात्र आँखीझ्याल हो । उनले नेपाली वाङ्मयका क्षेत्रमा पुर्याएको अतुलनीय योगदानलाई यस ग्रन्थमा केवल प्रारम्भिक चर्चासम्म थालिएको छ । निश्चय पनि यस ग्रन्थबाट नवपुस्तालाई प्रेरणा मिल्नेमा भने हाम्रो विश्वास छ ।
शास्त्रीले भोगेको समाज, हुर्केको वातावरण र उनले बहन गरेको दायित्वको प्रतिफल, हामीलाई के दिए, उनको सिर्जनात्मक कृति र रचनाहरूको रोचक वर्णनसम्बन्धी यस ग्रन्थमा पस्किएका सामग्रीहरूले यथासक्य उजागरको प्रयास गरेका छन् । यद्यपि पं. शास्त्री नेपाली साहित्यमा स्वयम् नक्षत्रका रूपमा स्थापित भइसकेका साहित्यिक व्यक्तित्व हुन् ।
शास्त्रीका समकालीन सँगातीहरूमा वरिष्ठ साहित्यकारहरू कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पोखरेल, वसन्तकुमार शर्मा, बालकृष्ण सम, सोमनाथ घिमिरे व्यास, सोमप्रसाद शर्मा, भीमनिधि तिवारी, श्यामदास वैष्णव, धर्मराज थापा, गोमा, लीलाध्वज थापा आदि हुन् । यस ग्रन्थका लागि सबैभन्दा पछि पक्तिकारको आग्रहअनुसार वरिष्ठ निबन्धकार एवम् समालोचक कृष्णचन्द्र सिंह प्रधानले शास्त्रीका सम्बन्धमा आफ्ना उत्कृष्ट विचार लेख्नुभएको थियो । प्रधान आज हामी समक्ष रहेनन् सायद साहित्यलेखनमा यो नै उहाँप्रतिको अन्तिम लेख हुन सक्छ । विडम्बना प्रधानले यो ग्रन्थ हेर्न पनि पाउनु भएन । दिवङ्गत प्रधानप्रति हार्दिक श्रद्धासुमन ।
युगीन मूल्यका दृष्टिले हेर्दा नवीन चिन्तक, यथास्थितिप्रति विद्रोही भाव र परम्परावादी मूल्य–मान्यताभन्दा माथि उठेर वैज्ञानिक दृष्टिकोणबाट कवितामा चेतनाको विगुल बजाउन सफल स्रष्टाका रूपमा शास्त्रीलाई लिँदा उपयुक्त हुन्छ । उनको साहित्य सिर्जनाको जीवन्तताले नै भविष्य द्रष्टाका रूपमा समेत शास्त्रीलाई स्थापित गरेको छ । उनी कालजयी रूपमा स्थापित कवि हुन् ।
शास्त्रीले रचेका मेरो देश बाँचिरहोस् कवितामा उनले पोखेको राष्ट्रियताको भाव र स्वतन्त्रताका लागि व्यक्त गरेका ढृढताले नै उनी एक प्रगतिशील एवम् प्रजातन्त्रवादी मात्र नभएर प्रखर राष्ट्रप्रेमी कवि रहेको प्रमाणित हुन्छ । स्वतन्त्रताका पक्षपाती कविले उल्लिखित शीर्षकमा व्यक्त गरेका चमत्कारपूर्ण कविताका केही अंशः
अँध्याराहरूलाई कैदी बनाएर
किरणहरूको खेती गर्न
मैले एउटा बिहानी जन्माएको छु
अहिले यहाँ हिँड्न
कसैलाई छामछुम गर्नु पर्दैन ।
ढिँडोगुन्दु्रक खाएर भए पनि
म मेचीकालीमा सीप रोप्छु
एउटा वसन्त ल्याई
साराको गालामा गुराँस फुलाउँछु
देशलाई स्वर्ग पारी
स्वतन्त्रता र सार्वभौमिकता जोगाउँछु
आफूलाई उठाउँछु ।
काव्यमा स्वतन्त्रता र जीवन उन्मुक्ति खोज्ने कवि हरिहर शास्त्रीको कवितालाई समय सापेक्षका हिसाबमा अध्ययन गरिनु उपयुक्त हुन्छ । काव्यका माध्यमबाट शाश्वत मूल्यको आग्रह गर्ने कवि शास्त्रीले विद्रोहात्मक सन्देश दिनसमेत चुकेका छैनन् । मानवीय स्वतन्त्रताको महत्तालाई सर्वोपरी मान्ने कवि शास्त्री अस्तित्वबोधको चेतनायुक्त अभिव्यक्तिमा रमाउँछन् भने असल समाज र सुन्दर जीवन अस्तित्वको अपेक्षा पनि राख्छन् । स्रष्टाले तत्कालीन अवस्थामा भोगेको शोषण, दमन, अन्याय, अत्याचार आदिको चित्रण कवितामा उल्लेख रहेको छ ।
शास्त्रीका कृतिहरू मुद्राराक्षसका कारणले अशुद्ध रहनु, काव्यिक सङ्गठनात्मक, कविताको भाषा प्रयोग र भाव पक्षका दृष्टिले काव्य सिर्जनामा फितलो रहनु कवि शास्त्रीका काव्यिक कमजोरीहरू हुन् । यद्यपि शास्त्रीको काव्यिक संरचनामा स्वतन्त्र एवम् नवीनतम दृष्टिकोण उन्मुक्त शैलीगत अवधारणा स्पष्ट छ । शास्त्रीले स्वतन्त्रताको आग्रहमा आफ्ना रचना सिर्जनाका माध्यमबाट परम्पराप्रति असहमति जनाउँछन् । यथास्थितिको विच्छेदन गरेर नवीन सोचलाई अघि बढाउन खोज्नुमा शास्त्रीको प्रगतिशील विचारले काम गरेको छ । यो नै उनको आधुनिकताको कदम मान्न सकिन्छ । यथास्थितिप्रति विमति जनाई नवीन यात्रारम्भ गर्नु निश्चय पनि उन्मुक्त नवीन सौन्दर्यचेतको द्योतक मान्न सकिन्छ । यथास्थितिको विरोध, प्रजातान्त्रिक स्वतन्त्रताको वकालत, युगीनता, यथार्थ, तार्किक प्रस्तुति, प्रयोगशीलता, वैज्ञानिक, मापदण्ड र सौन्दर्यको आत्मसात्ले नै एउटा लेखकलाई जडसूत्रको माखेसाङ्लोबाट मुक्त गरेर आधुनिकताको स्थितिमा प्रतिस्थापन गर्छ । एउटा लेखक देश, जनता, राष्ट्रियता र प्रजातान्त्रिक स्वतन्त्रताप्रति इमानदार हुँदैन भने समयको चपेटामा बढारिएर जान्छ । जबकि यो विशेषताको मापदण्डमा शास्त्री खरो उत्रेका छन् ।
शास्त्रीले आफ्नो जनचाहनाप्रति महत्व दिँदै सामाजिक विषयवस्तुको धरातलमा नवीनताको प्रयोग गरेका छन् । महिला स्वतन्त्रताको वकालत गर्दै लिङ्गभेद, छुवाछूत, धर्म, जातजाति आदि असामाजिक कुरीतिप्रति तीव्र विरोधभाव प्रकट गरेका छन् । अझ उनी विधवा विवाहको वकालत गरेर सामाजिक भेदभावको अन्त्य गरी सामाजिक जागरणको शङ्खनाद गर्नसमेत चुकेका छैनन् । यिनै विषयवस्तुका दृष्टिले शास्त्रीका काव्यरचनाको मूल्याङ्कन गर्दा पनि ओजस्वी साबित गर्न सकिन्छ ।
कविताले मनहरू छुन सक्नुपर्छ । शास्त्रीका अधिकांश कविताहरूले मन छोएका छन् । हो कविताको पूरै अंशले प्रभाव नपार्न सक्छ तर सिङ्गो कविताको एक अंश वा एक हरफले प्रभाव पार्न सक्यो भने पनि त्यो सफल कविता मान्न सकिन्छ । उत्कृष्ट यस्ता अंशले कविताको रसास्वादनमा पाठकलाई बढी आनन्द आउँछ । शास्त्रीका गद्य र पद्य दुवै लेखनकला वजनदार रहे पनि पद्यतर्फ विशेष सफल मानिन्छ ।
सरल र सहज प्रस्तुतिमात्र होइन सहज भावसमेत शास्त्रीको विशेषता हो । भावनात्मक यथार्थ, कलात्मक प्रस्तुति, काल्पनिक सौन्दर्य, राष्ट्रको उन्नयन, नागरिक भलाइ आदिका लागि कलम चलाएका स्रष्टा शास्त्री कर्ममा विश्वास गर्ने कवि त हुन नै क्रुर राणाशासन भोगेकाले उनी खुला आकाशको सपना देख्ने कवि पनि हुन् । उनी स्वतन्त्रताका पक्षपाती भएकाले आर्थिक प्रलोभन, व्यक्तिगत लाभभन्दा पनि माथि उठेर स्वार्थ र फाइदाका षड्यन्त्रभन्दा पनि अझ माथि उठेर आफ्नो लेखकीय धर्म निर्वाह गरेका छन् । यसैले उनको साधना पनि सफल रहेको छ ।
आज आमनागरिकले कागजमा पूर्ण स्वतन्त्रता पाइसकेका छन् तर देश पराधीन बन्दै गइरहेछ । देशमा संविधानसभाको निर्वाचन र एक खर्बभन्दा बढी बजेट सकेर तोकिएको संविधानसभाको अवधि पनि समाप्त भइसकेको स्थिति छ तर पनि संविधानलेखन र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन कोही गम्भीर छैन । बाह्य शक्तिको षड्यन्त्र र गेम प्लानमा राष्ट्र जीर्ण बन्दै गइरहेको कोही कसैलाई वास्ता छैन । यति बेला राष्ट्रियताको सवाल गौण बन्न पुगेको छ । अराजकताको यस्तो आसन्न स्थितिमा नेपाली माटो र मुटुको परिचय लेख्ने गोपालप्रसाद रिमाल, भूपि शेरचन आदिसँगै हरिहर शास्त्रीजस्ता राष्ट्रिय सोचका कविको टड्कारो आवश्यकता महसुस गरिनु सायद अस्वाभाविक होइन ।
निश्चय पनि आफूले भोगेको राज्यको शासकीय स्वरूप र शासकवर्गको त्रूmरताको अवस्थालाई नागरिकको नैसर्गिक स्वतन्त्रता र प्रजातान्त्रिक अवस्थाकाबारे शास्त्री सचेत रहेको यथार्थ उनले आफ्ना रचनाहरूका माध्यमबाट व्यक्त गरेको दृढ विचारले स्पष्ट गर्छ । उनको क्रान्तिकारिता उनका अधिकांश सिर्जनाहरूमा यत्रतत्र उल्लेख भएको पाइन्छ । मानवीय स्वतन्त्रता शास्त्रीलाई प्यारो थियो । राष्ट्रियताले ओतप्रोत रहेका शास्त्री माटोलाई गर्वसाथ चिनाउने मात्र होइन स्वयम् माटोको टीका लगाउने कवि हुन् । सधैँ उज्यालोलाई छामेर अँध्यारोलाई भगाउने सन्देश दिने कवि शास्त्रीको साहित्यिक व्यक्तित्व ओझेलिएको स्थितिमा यता शास्त्रीमार्ग टोल उपभोक्ता समितिले देखाएको सक्रियता र यसअघिदेखि साहित्यिक पत्रकार संघले उनको नामको हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार समर्पण कार्यक्रम गरेर चर्चामा राख्ने प्रयासलाई यस ग्रन्थले थप अघि बढाएको छ ।
पाँच वर्षको उमेरमा बाबुको मृत्युले एउटा बालक उठ्न नपाउँदै एकतीस वर्षको उमेरमा फेरि आमाको मृत्युको पीडा बोध गरे । सामान्य जागिर र ट्युसनको भरमा घर चलाउने आर्थिक दरिद्रताले शास्त्री कत्ति पनि विचलित नभई घरव्यवहार चलाउन र आफ्ना
उत्तराधिकारीहरूलाई शैक्षिकलाभका हिसाबमा लायक पनि बनाए । सनातन धर्ममा विशेष आस्था राख्ने शास्त्रीको एकोहोरो र हक्की स्वभाव थियो । उनको स्वावलम्बी स्वभावले नै तत्कालीन सामाजिक अवस्थामा शास्त्रीलाई अलग पहिचान दियो । आज यही कारण हो कि झ्यालसम्म आइपुगेको एकमुठी जुनजस्तै प्यारो छन्– शास्त्री ।
शास्त्रीको योगदान उच्च रहे पनि कम प्रचारका कारण ओझेलमा रहन बाध्य रहेको स्वीकार्य पक्ष हो । उनले पुर्याएको संस्थागत योगदान उच्च रहेको छ । कहिलेकाहीँ संस्था व्यक्ति हुन्छ र व्यक्ति संस्था हुन्छ । शास्त्री व्यक्ति भएर पनि सिङ्गो संस्था भएको छ । उनले विभिन्न साहित्यिक कार्यक्रम, कवि सम्मेलन, निबन्ध प्रतियोगिता आदिको आयोजनामा सक्रियता देखाए भने विभिन्न संघ, संस्थाहरूमा जीवनभर क्रियाशील पनि रहे । नेपाल भाषा प्रकाशिनी समिति (२००३) मा सामान्य जागिरे, संस्कृत प्रसारिणी समिति (२००८) मा सदस्यसचिव, नारी विद्यापीठको स्थापनामा महत्वपूर्ण योगदान, दरबार हाईस्कुल (हाल भानु माध्यमिक विद्यालय) मा शिक्षक, साहित्य परिषद्को संस्थापक आदि उनको संस्थागत योगदान हो ।
वि.स.२०२६ सालमा साहित्यको सेवा गरेबापत उनलाई गोरखादक्षिणबाहु चौथोबाट सम्मानित गरियो । २०३१ सालमा प्रज्ञाप्रतिष्ठानबाट एक वर्षसम्मका लागि विद्वत्वृत्ति उपलब्ध गराइयो । यसअघि शास्त्रीजस्ता कर्मशील स्रष्टालाई प्रज्ञाप्रतिष्ठानको प्रवेशमा छेकबार लगाइएको थियो । उनले पाएको मासिक रु.७००। को विद्वत्वृत्ति पनि यसैको सोधभर्ना थियो । उनको हाल अप्राप्य पुस्तक समाजको चित्र (उपन्यास) लाई नेपाली भाषा प्रकाशिनी समितिले नगद रु. ७१०। पुरस्कार (२००७ मा) प्रदान गरेको थियो । यसैगरी २०२४ सालमा शिक्षा मन्त्रालयले समेत नगद पुरस्कारसहित सम्मान गरेको थियो । यसै वर्ष सरकारका तर्फबाट नेपाली भाषाको लुम्बिनी अञ्चलमा प्रचार गर्ने अवसरसमेत शास्त्रीले पाए । शास्त्री जनकपुर, धरान, विराटनगरलगायतका ठाउँहरूमा काव्य सम्मेलनहरूमा समेत सहभागी रहेका थिए ।
यसैगरी प्रज्ञाप्रतिष्ठानले नपत्याएको कवि प्रज्ञाकै कवि गोष्ठीमा समेत पुरस्कृत भए । बढी धु्रमपान गर्ने शास्त्रीको २००४ सालमा पहिलो रचना प्रकाशित भएपछि नै साहित्यिक यात्राको शुभारम्भ मानिन्छ ।
वि.स. २००३ सालमा वैवाहिक बन्धनमा बाँधिएका शास्त्रीले बनासरबाट २००४ सालमा साहित्य विषयमा शास्त्री उत्तीर्ण गरेपछि नै उनी हरिहर अधिकारीबाट हरिहर शास्त्री नामले परिचित हुन पुगे । शिक्षाको दुरावस्थाप्रति शास्त्री गम्भीर र चिन्तित रहन्थे । खासगरी महिला शिक्षामा उनको जोड थियो । यसैले नारी विद्यापीठको स्थापनामा उनले महत्वपूर्ण योगदान पुर्याए । निश्चय नै राजनीतिक क्रान्तिभन्दा सामाजिक क्रान्ति गाह्रो हुन्छ । यही दोस्रो अप्ठेरो अवस्थालाई नै शास्त्रीले आफ्नो रोजाइको मुख्य विषय बनाए ।
हरिहर शास्त्रीले नेपाली साहित्य र शिक्षाका क्षेत्रमा के कस्ता योगदान पुर्याएका थिए यसको रोचक वर्णन यस ग्रन्थमा प्रारम्भिक रूपमा समेट्ने प्रयास गरिएको छ । साथै आफ्ना सिर्जनाका माध्यमबाट नेपाली साहित्यको फाँटलाई शास्त्रीले पुर्याएको योगदानको उच्च मूल्याङ्कनको नतिजा पनि प्रस्तुत ग्रन्थ हो भन्ने लाग्छ । यद्यपि यो ग्रन्थमा शास्त्रीको सम्पूर्ण योगदानको समुचित मूल्याङ्कन गरेर सम्पूर्ण रहस्य खोल्नु भने सहज छैन ।
समाज सेवा र मानवधर्मप्रति आस्था राख्ने शास्त्रीले नेपाली वाङ्मयमा साहित्य सिर्जना गरेर शिक्षण र पाठ्यसामग्री पस्केर र साहित्यिक संस्थाहरूमा क्रियाशील रही कार्यक्रमहरू संयोजन गरेर पुर्याएको योगदान र अदम्य साहसको कदर आज यो ग्रन्थले अगाडि बढाएको छ । साहित्यिक पत्रकार संघद्वारा वि.स. २०४५ सालदेखि बर्सेनि प्रदान गरिने हरिहर शास्त्री– सावित्रीदेवी साहित्य पुरस्कारबाट आज नेपाली साहित्यका बाइस वरिष्ठ कविहरू सम्मानित भइसक्नुभएको छ । यो पुरस्कारको राशिका लागि शास्त्रीका कान्छा छोरा डा. विश्वदीप अधिकारी र बुहारी ज्योति अधिकारीले अक्षय कोष खडा गरिदिनुभएको छ । छोराबुहारीको समर्पणभावको प्रशंसा गर्नै पर्छ ।
शास्त्रीमार्ग टोल उपभोक्ता समितिले आफ्नो टोल विकासमा देखाएको उत्कृष्ट योगदानहरूमध्ये हरिहर शास्त्रीसम्बन्धी यो विशेष अङ्कको प्रकाशन पनि एक हो । यसअघि पनि यस समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकीका अवसरमा देवकोटासम्बन्धी विशेष अङ्क प्रकाशित गरिसकेको छ । यो टोलमा विद्वान्–विदुषीहरूको यथेष्ट बसोबासका कारण पनि यो टोलले भौतिक विकास मात्र नभएर बौद्धिक क्षेत्रको विकासमा समेत योगदान पुर्याउँदै आएको छ । शास्त्रीमार्ग टोल उपभोक्ता समितिका टोलवासीले एउटा स्रष्टाको नाममा टोलको नामकरण गर्नु नै सर्वप्रथम आफ्नो उत्कृष्ट विशेषताको पहिचान दिइसकेको छ भने अझ स्रष्टाहरूको विशेष अङ्क प्रकाशन गर्नु र उनीहरूको श्रद्धाञ्जली सभा, ज्येष्ठ नागरिक सम्मान, रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ, प्रकाशन आदिलगायतका कार्यक्रमहरू गरिरहनुले पनि यस टोलवासीको छविलाई अझ उठाएको छ । यो शास्त्रीमार्ग अझ सक्रिय, अझ सबल र अझ गतिशील रहोस् भन्ने शुभकामना छ ।
हरिहर शास्त्रीले नेपाली वाङ्मयका क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उत्कृष्ट कदर गर्दै शास्त्रीमार्ग टोल उपभोक्ता समितिले उनको विषयमा प्रस्तुत विशेष अङ्क प्रकाशित गरेर शास्त्रीको योगदानलाई सम्मान गर्न पनि पुगेको छ । नेपाली साहित्यलाई थप समृद्धशाली बनाउन शास्त्रीले गरेको योगदानको सायद यो नै सच्चा श्रद्धाञ्जली हो ।
अन्तमा, हाम्रो योजना, प्रतिबद्धता र उत्साहलाई सफल बनाउन यस ग्रन्थमा साहित्यकार हरिहर शास्त्रीको व्यक्तित्व, कृतित्वको विश्लेषण र मूल्याङ्कन गर्न प्रस्तुत सामग्रीहरूका लागि सबै विद्वान्, लेखक, स्रष्टाहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । समयाभाव, स्रोत र साधनको अभाव तथा देशको आसन्न विषम अवस्थाका कारण ग्रन्थलाई अझ प्रभावशाली बनाउन कतिपय विद्वान् स्रष्टाहरूका लेख÷रचना, टिप्पणी
आदि समेट्न सकेनौँ यसका लागि हामी क्षमाप्रार्थी छौँ । यद्यपि भविष्यमा हामीबाट हुन सक्ने अन्य कार्यहरूमा विद्वान्वर्गबाट सहयोगको अपेक्षा राख्दछौँ । हरिहर शास्त्रीजस्ता विशिष्ट स्रष्टासम्बन्धी यति उत्कृष्ट ग्रन्थलाई सम्पादन गर्ने जिम्मेवारी पंक्तिकारलाई सुम्पिएकोमा शास्त्रीमार्ग टोल उपभोक्ता समिति परिवार र यसका आसन्न अध्यक्ष डा. विश्वदीप अधिकारीप्रति हार्दिक कृतज्ञता प्रकट गर्छु । साहित्यकार हरिहर शास्त्रीप्रति हार्दिक श्रद्धाञ्जली ।
राधेश्याम लेकाली, अतिथि सम्पादक
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )