~मोहनबहादुर कायस्थ~
शब्दकोशमा ‘मति’ भनेको के रहेछ भनेर मन लगाएँ । यसको शब्दार्थ भनुँ वा भावार्थ रहेछ- बुद्धि, समझ, सम्पत्ति, ज्ञान, राय, मत, इच्छा आदि । एउटै शब्दको बृहत् माने लाग्दोरहेछ । दङ्ग परेँ । अब कस्तो भावार्थ बोकुँ र ज्ञान खुलासा गरुँ । मनमनमा रातभर कुरो खेल्यो र निष्कर्षमा पुग्न सोचे जस्तो त्यति सजिलो भएन । रात छर्लङ्ग बित्यो तर मनले केही ठम्याउन सकेन र एउटा ताप जागेर मनले विहृवल गर्यो ।
सानैमा नेवार भाषामा एउटा गीत सुनेथेँ-‘राजमती कुमती जी के वसा पिरती’ । अर्थात् एउटी युवतीप्रति प्रेमीले कोलाहल मच्चाएको प्रेमोद्वार । (यो के भने युवक राजमतीलाई राम्रो मति लेऊ र मसँग प्रेमोत्सर्ग गर । कुमार्गमा नजाऊ, कुमति नलेऊ ।) यस्तो प्यारो रोदनयुक्त गीतले मति शब्दको अगाडि ‘राज’ जोडेर एउटा अर्थ दिएको र ‘कु’ अगाडि राख्दा बेसोमती हुन पुग्ने, कुलत बोक्ने वा अस्वाभाविक माने लाग्ने पाएँ र झनै शब्दप्रति खेल खेल्न मन लाग्यो । नेवार समुदायभित्रको रीतिरिवाज झल्कने फिल्म ‘सिलू’ अर्थात् गोसाइँकुण्ड तीर्थस्थल जसमा श्रीमान् जान हुने तर श्रीमती साथमा लान नहुने परम्परालाई एउटा संस्कार देखाइएको छ । पूर्ण कथा चित्रित छ श्रीमती लान नहुने तर केटी जान्छे र दुःखान्त नाटक बन्छ र यही राजमती गीतको झलकको सबक पाइन्छ ।
रोचक शब्द बन्छ ‘मति’ को अगाडि श्री थपिँदा । ‘मति’ को अगाडि ‘श्री’ शब्द कुँद्न मन लाग्यो र शब्दावली केलाएँ । शब्दकोशभित्र पाएँ- श्री शब्दको माने हो लक्ष्मी, सरस्वती, बुद्धि, रुप, दीप्ति, यश, सजावट, सिङ्गार, गौरव, धन, सम्पत्ति, विभूति, ऐश्वर्य, शोभा, सौन्दर्य, कान्ति र चिठीपत्रमा सम्बोधन गर्दा लेखिने श्रीयुत, श्रीकान्त, श्रीरमेश जस्तो । त्यो बन्ने शब्द हो श्रीमती । मतिश्री भनिँदैन तर श्रीमती शब्दले श्रीमती अर्थात् श्रीमान्को स्त्रीलिङ्गी रुप पत्नी, स्त्रीहरूको नामको अघिल्तिर प्रयोग गरिने सम्मानसूचक शब्द, विवाहित नारी भनी चिनिन्छ । श्रीमान्की श्रीमती हुन्छ तर अदालती शब्दमा प्रयोग हुने ‘श्रीमान्’ की श्रीमती भने होइन । कति कुमारीहरू विवाहपश्चात् नै श्रीमती बन्छन्, अर्थात् कसैकी अर्धाङ्गनिी स्वभावैले बन्छन् । श्रीमान् बितिसक्दा वा जीवित अवस्थामा पनि श्रीमती बन्छन् । परन्तुसम्म अर्थात् नमर्दासम्म यो श्रीमती शब्दले नारीको गर्धनमा बेरिएर शङ्करको मालामा सर्प घुमेझैँ घुमेर बस्छ । यहाँ पनि कम अचम्म लाग्ने होइन, अति नै अचम्म लाग्छ । ‘मति’ मा कत्रो शक्ति रहेछ ‘श्री’ अगाडि लेखिँदा ।
‘मति’ अगाडि केही शब्दहरू जोडेर बच्चा जन्मँदा न्वारनमा नामकरण गरिने नाम निस्कन्छन्- राममती, राजमती, फूलमती, लालमती, बाग्मती, विष्णुमती, रुद्रमती, कुमति, सुमति, नौमति, रुपमती, भानुमती, इक्षुमती, बुङ्मती, मनमती, पानमती, बेसोमती, चनमती इत्यादि । धेरै छन् यस्ता शब्दहरू तर जति छन् ठीकै छन्, अनि ‘मति’ अगाडि शब्द थपिँदा अर्थको अनर्थ त हुँदैन र ? हुँदैन, झनै स्वाभिमान बन्ने देखिन्छ । रामको जस्तै मती भएको राममती, फूलजस्तै हल्काफुल्का, मनोरञ्जनप्रिय मती, फूलमती । माने लाग्छन् यसरी र कु अगाडि राख्दा शब्द कुरुप हुन जान्छ, माने नै अर्को अर्थमा नेगेटिभ भई अमान्य जस्तो बिटुलो हुन जान्छ । यसैमा सु अगाडि राख्दा सुमार्ग चित्रित हुन्छ । कु र सुमा कति भिन्नता रहेछ भन्ने पनि देखिन आउँछ । शब्दचित्रभित्रका शब्दावली बेजोडले बन्दो रहेछ र शब्दकोशभित्र मति शब्द कोचिएको रहेछ । ‘मति’ शब्दको माने जे जहाँ उपयुक्त हुन्छ त्यस्तै माने दिनका लागि विज्ञ-प्राज्ञले अनेक माने अर्थ्याउने तरङ्ग दिएका रहेछन् र शब्दकोशमा प्रयोगमा आएका रहेछन् ।
बोलीचालीमा छोरी हुर्केपछि बाआमाले शिक्षा दिन्छन्-छोरी, मति शुद्ध राख, नबिगार । मति बिग्रनु एउटा चिन्ताको विषय बन्दोरहेछ । मति बिगि्रनुले छोरीको हुर्कंदो अवस्थामा देखिने अनुशासन, शिष्टता, शालीनता, नम्रता, विनम्रता, सिद्धि, मङ्गलसिद्धि, तत्परता, अग्रसरता, विवेक, गुण इत्यादिमा नयाँ-नौलोपन भनूँ आफ्नै बन्दोरहेछ लिँडेढिपी पनि हुन सक्ने देखिएर नै बाबु-आमा-छोरी-छोराका चिन्तक भएर मति शुद्ध राख भन्ने उपदेश गरेका रहेछन् तर छोराछोरीका अगाडि देखिने यिनको मति भने आफ्नै प्रकारको हुन्छ र अर्कै आकार-प्रकार लिन्छ र तिनीहरू आफ्नै आफ्नै मस्तीमा हिँड्छन्, डुल्छन्, विहार गर्छन् । गिद्धे दृष्टि पनि मनमा उब्जाउँछन् र संस्कार-संस्कृतिभित्र कँजिन नचाहेर यसलाई तोडेर पनि हिँडिदिन्छन् ।
नारी नारीको बीच पनि ‘तेरो मति कस्तो भएको वा नभएको ?’ भनिन्छ यदि पत्यार नलाग्दो गरी उच्छृङ्खलता एकअर्कामा देखियो भने । त्यस्ता तिघ्रेसँग, बुद्धिभ्रष्ट-मतिभ्रष्टसँग पनि तिमीजस्ताले मन दिने हो भनी मति नबिगार, राम्रो सोच र गर भनी हित-अहितको विवरण-विश्लेषण गरिन्छ । कोही नारी त जन्मँदादेखि अरूको मतिमा खेलेर, अरूलाई नचाएर मजा लिन्छन् । केटीलाई ललाई वा फकाएर, उक्साएर पार लगाई पनि दिन्छन् । समाजमा विकृति, विसङ्गति थोपरिदिन्छन् तर फर्किने वा नफर्किने, लोभ-लालचमा पर्ने-नपर्ने, आरोह-अवरोहभित्र आफ्नै मनस्थितिको चञ्चलपनमा निहित रहन्छ । कसैले त्यस्ता मतिप्रतिको आत्मीयताभित्रको नारी वा पुरुषलाई दोष दिने ठाउँ छैन ।
अभद्र व्यवहार सुसंस्कारभित्र एउटा मति बिग्रेको चरणभित्र पर्दछ । सामाजिक प्राणी हो मानिस र यसले सभ्यता अँगालेर संस्कारभित्र नबसी हुन्न । बन्धन त्यो पनि सामाजिक बन्धनबाहिर बस्न थालेमा चारखुट्टे जनावर, पशु बन्न पुग्छ । पशु र मानवता फरक एउटा चिन्तन गर्न सक्ने अवस्थामा छ । मानिस चिन्तन गर्छ, पशुमा यो चेतना हुँदैन र छाडा रहन्छ । यसैले मानिस सामाजिक सभ्यताको पर्खालभित्र एउटा सभ्य मानिस भएर हिँड्छ, डुल्छ, सोच्छ, पढ्छ, लेख्छ, ज्ञान बटुल्छ, ज्ञानी बन्छ, दह्रो लट्ठी टेक्छ, विचार गर्छ, अहित कसैको गर्दैन, परोपकारी बन्छ र आफ्नो मतिलाई स्थिर आसनमा डेग नचल्ने गरी स्थापित गर्छ । स्वस्थ मस्तिष्क, स्वस्थ आहारविहारभित्र रम्छ । नक्कली मयूर बन्दैन, तर यति भन्दा-गर्दा पनि कोही कोही यस आचरणभन्दा पर पुगेका पनि पाइन्छन् । आफ्नो गति र मति आफ्नै कलाकौशलमा अल्झेर बस्छ मानवको अनि वरत्रपरत्र मतिको भत्र्सना हुन पुग्छ । राम्रो वा नराम्रो दुवै असर ऐनामा हेरेजस्तै छर्लङ्ग आफ्नोपना देखिन्छ र यसबाट शिक्षा ग्रहण गर्नुपर्ने हुन्छ ।
छक्क परेर मैले मत भनेको पट्ट िध्यान दिन थालेँ । मतको शब्दकोशमा माने रहेछ- विचार, राय, सम्पत्ति, आशय, अभिप्राय, भोट इत्यादि । यति धेरै माने लाग्दोरहेछ र त मान्य अमान्य भएर समाज बढ्दोरहेछ । मतगणना, मतमतान्तर, मतलबी, मतवाली यी शब्दहरूभित्र म पौडी खेल्दा गहिरो नदीमा हाम फालेझैंँ डुबेँ । एउटै विचार हुने नहुनेबीचको मतगणना, मतमतान्तर हुने क्रम हुँदा दुनियाँ कति मतलबी हुँदोरहेछ र कस्ता मतवाली पनि मानिस हुँदारहेछन् । गुण र दोषभित्र चन्द्रमाको घेरामा चाँदीको लहर भेटिँदोरहेछ । आफ्नो मात्र सोच गर्ने, अर्काको भलाई नचाहने यस्ता मतलबी मानव हुँदारहेछन् । कोही त जाँडरक्सी पिएर पनि समाजमा विसङ्गति निम्त्याउँदा रहेछन् र विनाकसैको दबाब मानिसमा निहित वाणी पनि सबैलाई चुमनीय नभएर आफ्नो आफ्नो मतको अग्राधिकारको खोजमा रहँदारहेछन् । यिनै विभिन्न दृष्टिकोणलाई समायोजन गर्न मानवले मानवहितका लागि, मानवकै लागि एउटा पं्रणाली चुनेर प्रणालीलाई संस्थागत गर्न मतगणनालाई श्रेयस्कर मानेका हुँदारहेछन् र मात्र राष्ट्रको समुन्नति हुँदोरहेछ । अनि यसै मत शब्दमा घोत्लिँदा व्यक्तिव्यक्तिको मतिको उपज र यसको व्याख्या हुन पुग्दोरहेछ ।
अर्को अर्थ नलागेमा मतिको रुपान्तरणमा मतिभ्रष्ट, मतियार र मतैक्यजस्ता शब्द अलङ्कारित रहेछन् । मति अगतिलो भए अर्थात् सज्जन व्यक्तिको आचरण दूषित भएमा उनको सोच, विचार, राय, सम्मति, बुद्धि, ज्ञान इत्यादि भ्रष्टको रूपमा परिणत हुने भएर मतिभ्रष्ट भनिने रहेछ । यस्ता मतिभ्रष्टका साथ लाग्ने बुद्धिमान् व्यक्तिहरूको यस दुनियाँमा कमी रहेनछ भन्ने हुन्छ । यस्तै मतियारको जमात समाजमा विकृत अवस्थाका मण्डले, ठग, भ्रष्ट, चोर, डकैत, ज्यानमारा, अर्काको हुर्मत लिने, विचलनमा पार्ने व्यक्तित्व पनि जग बसालेका रहेछन् र अपहरण भइरहेछ कसैको कहीँ-कतै । समाजमा बहुरङ्गी मानवमस्तिष्कलाई एउटै धारामा प्रवाह गर्न कठिन रहेछ, जसरी देशमा उच्चस्तरको संयन्त्र बन्न कर लागेको छ तर जब वाद र प्रतिवादका धेरै आँकुराहरू भेटिन्छन्, तिनमा मतैक्य हुन कठिन छ । थरीथरीका चाहनाभित्र वाद र विवादका कुराभित्र मतमतान्तर हुँदा मतैक्य असम्भव हुन पुग्दोरहेछ । यसरी मतबाट मतिभ्रष्ट शब्दको माने खुल्दोरहेछ ।
बुद्धिमती भन्ने शब्द हो कि होइन ? शब्द बन्छ कि बन्दैन ? रहस्यमय देखिन्छ । बुद्धिमान की श्रीमतीलाई बुद्धिमती भन्न मिल्छ कि मिल्दैन ? तर यो समाजभित्रका बुद्धिमती नकहलिने नारीभित्र पनि दुर्गाभगवती बन्ने चरित्र देखिन आउँछ र मौकाविशेष रणचण्डी नाच हृदय खोलेर असङ्गत वृत्तिले साथ दिएर समाजलाई कलुषित पारेको हुन्छ अवश्य । मतिको यो गाताभित्र विमति पाइन्छ तर धेरैको सहमतिभित्र लीलामती चियाएर रङ्गमञ्च हेर्दै, चहार्दै दिन गुजारेका भित्र पर्दछन् । धन्य मति र सम्मति !
देशमा साहित्यका अग्रजहरूले आफ्नो साधना अगाडि सारेर मृत्योपरान्त पनि एउटा जीवन्त हुने इतिहास छोडेका छन् । भानुभक्त, मोतीराम, राजीवलोचन जोशी, लेखनाथ, सम, देवकोटा आदिआदि । सबैका आ-आफ्ना चरित्रभित्र आ-आफ्ना मति झल्किन्छन् । देवकोटाको मति जाँच गर्दा क्रान्तिकारी, मानवतावादी, स्वच्छन्दतावादी, प्रजातन्त्रवादी सबै देखिन्छ भने अवसरवादीपन कहीँ कतै झल्कँदैन । धेरै भने कि भनी जाँच्दा पनि म यसै प्रसङ्ग जोड्छु कि देवकोटा १०४ वर्षे राणाकालीन युगभित्रको कठोर प्रशासन प्रणालीमा अल्झेको र राणाहरूका एकतन्त्री शासनका अनुयायी नभएको कारण देवकोटा देश छाड्ने मति निम्त्याउँछन् र भारतमा पलायनसम्म पनि हुन्छन् । सहिष्णुताभित्र घोर अन्याय सहन गर्नुपर्दा सुध्रने मति पनि निस्कँदोरहेछ ।
राजा त्रिभुवन आफैँ राजकाज छोडी भारतको शरणमा पर्ने मति अपनाए । राणासँग मिल्न सकेनन् । राणाको शक्ति हत्याउन सकेनन् । भारतकै बलबुतामा २००७ फागुन ७ गते राजा त्रिभुवनले प्रजातान्त्रिक नेपालको घोषणा गरे, संविधान दिने भने तर कहाँबाट राजाको मतिमा के दाग लाग्यो, संविधान बनेन र संविधानसभाको चुनाव गडगडायो । त्रिभुवनपछि राजा महेन्द्रले त एकतन्त्री शासन व्यवस्था भने हुने गरी पञ्चायत प्रणालीको वीजारोपण गरे । बहुदलीय व्यवस्थाप्रति घृणा गरी बन्देज गर्ने मति लिए र हृदयचापका कारण मृत्युवरण गरे ।
उता पार्टीका नेताहरू आफैँ आफैँ झगडा गर्ने तौरतरिकाको मति लिएर भाँडिए । राणाका चाकडीदार भारदारले देवकोटाका आफ्नै चेला भएर पनि देवकोटाप्रति सहानुभूति मात्र दिने मति गुरुभेटी पुस्तकमा देखाए । व्यक्तिहरू कति स्वार्थी बन्दारहेछन् भन्नै सकिन्न । देवकोटाले काव्य प्रतिष्ठान खोले, नेपाल ऐकेडेमी बनाउने मति लिए, मन्त्री बने अनि विश्वविद्यालय स्थापनाका लागि कीर्तिपुर क्षेत्र छाने । राम्रो मतिको राम्रै भन्नुपर्यो । ऐकेडेमीमा उनलाई सदस्य मात्र बनाइयो नेतृत्व दिइएन । कतिसम्म भने साहित्यकै लागि तासकन्द सम्मेलनमा पुगे, नेपालको इज्जत राखे तर उनलाई नसिहत दिई एक महिनाको तलब दिइएन । नसिहत दिने मति राजा महेन्द्रले लिए । बिन्तीपत्र तामेलीमा रहृयो । सिफारिस गर्नेको हालीमुहाली रहृयो ।
अन्तर्मनको यात्रा जोसुकैको आफ्नै पीडाभित्रको यातना झेलेको कहानी हुन्छ तर जगदीश घिमिरेले वर्णन गरें- ‘उनलाई उनकै निकटतम व्यक्ति गिरिजाबाबुले कृष्णप्रसाद भट्टराईलाई हराऊ भनी आदेश दिए ।’ यो के-कस्तो नेताहरू फुटाउने मति हो र अन्तर्मनको यात्राभित्र यस भनाइबाट घिमिरेजीलाई के कस्तो चिन्ता पर्नु परेछ । घिमिरेको मति धेरै किमती भएको पाएँ । मदन पुरस्कार पाए उनले तर गुरुभेटीले देखाइसकेको प्रमाण छ, राणाको पालाका भारदार, गुरु, पण्डित, सरदार, मीरसुब्बा इत्यादि खानगीकाले काङ्ग्रेसभित्र कलह मात्र जगाउँछन् । उही काङ्ग्रेस राजा मान्छ, उसैलाई पर राख्छ । शाही मति र गति ! मैले त काङ्ग्रेसको विकसित मतिभित्र के छ, बुझ्नै सकिनँ, सकिनँ ।
स्वार्थभन्दा माथि उठेर काम गर्नेको सङ्ख्या नामुद संस्था धेरै भए पनि कमै हुने रहेछ । स्वार्थस्वार्थले गर्दा अहंपना बढेर आफ्नो कुल अर्थात् वंश पनि नाश गर्नसम्म पनि व्यक्ति पछि नहट्ने जङ्गबहादुरको भण्डारखाल पर्वले देखाएकै इतिहास अद्यावधि छ । रणोद्दिपसिंहको हत्या गरी सत्ता हडपेको समूह र देवशमशेर पनि हुत्याइकन चन्द्रोदय भएको पनि मतिमति अर्थात् अहंको राजनीति हाबी भएको पाइन्छ । चन्द्रपछि भीम र लामो समय जुद्धोदयपश्चा्त पद्योदय र मित्र मोहनपछि त नेपालको प्रजातन्त्र उदायो तर फस्टाएन । वर्तमान अवस्थामा २५ पार्टीको नियतभित्र कम मतमतान्तर हुनुले व्यक्ति व्यक्तिको स्वार्थभित्रबाट जनताहरूले दुःख झेल्नुपरेको छ ।
अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस, जापान, चीन, भारत, इरान, अरब, पाकिस्तान, बङ्गलादेश जहाँ जस्तो अवस्थाको राज्य सञ्चालन हेर्दा पनि दलदलको अस्तित्व र उनकै दिग्दर्शनभित्र प्रगतिभन्दा बढी मानवीय पक्षको कुरा ओगटेको भए पनि नरसंहारको प्रत्यक्ष-अप्रत्यक्ष असर देखिन्छ । मानव स्वतन्त्र अभिव्यक्ति र स्वतन्त्र दिनचर्याभित्र मानव भने स्वतन्त्र वाक्स्वतन्त्रता चाहन्छ, तर देशभित्र-बाहिर सन्तुलनको नाउँमा यस्तो स्वतन्त्रताको कुरा सत्यताको मूल संयन्त्र भए पनि व्यवहारमा त्यस्तो देखिन्न र आजसम्म पनि एक देशले अन्य देशलाई नियन्त्रणमा राख्न अधिकार जमाउँछ । मध्यपूर्व अर्थात् खाडी क्षेत्रको तनावमा पश्चिमा मुलुक जसले मानवअधिकारको नारा दिन्छन्, उनीहरू नै असन्तुलनका पक्षधर भएका छन् । मानिसलाई झुण्ड्याई मार्ने वा सैनिक प्रयोग र बम प्रहार गरी शत्रु नाश गर्ने, अर्काको एकीकृत राज्य विखण्डन गरी मूल साँचो आफैँ कब्जा गर्ने दाउपेचको स्वार्थ उनीहरूमा यथावत् पाइन्छ ।
अरब देशको तेलमा लालयित छन् विकास र विलास चाहने राष्ट्रहरू । नेपालका हिमनदी र यसबाट अविरल वहने नदी एउटा प्रायश्चित्तको पथमा रहेको छ भने नेपाल, भारत, बङ्गलादेश पानीको विवादमा मुछिएका छन् । भारत-पाक तनाव उस्तै चर्को छ । इराक त खै कहाँ कसरी चलेको छ सद्दामलाई झुण्ड्याएपछि ! अफगानिस्तान उस्तै छ । जताततै सभ्यताको सुसंस्कृत मति पाउन दुर्लभ छ, मानिसको केवल स्वार्थले गर्दा र मानवचेतना उग्रभन्दा उग्र, भ्रष्टभन्दा भ्रष्ट हुन्छ, विलासी बन्दा र अत्याधुनिक भन्दाभन्दै अर्को पक्ष किनारा लाग्दा भयभीत अवस्था सिर्जना भएको छ । हेर्न पर जानुपरेन, अमेरिकाको ‘ट्वीन टावर’ सम्झे पुग्छ ।
नेपालको भूराजनीतिभित्र खण्डन, विखण्डन, जात, जाति, धर्म, भाषा, संस्कार, संस्कृति इत्यादिको उर्लंदो तनावभित्रको लहरभित्र वैदेशिक हस्तक्षेप निहित भएन कसरी भन्ने र नेपालीहरू उचालिएर थचारिएका छन् किन नभन्ने ? यसै सत्यतथ्यभित्र गौर गरेर मतिभित्र स्वाट्ट डुबेँ र पौडी खेलेर उक्त भीषण पोखरीबाट पार हुन शक्ति केन्द्रित गर्दै छु । कहीँ कतै मेरो मतिमा आँच नआओस् र सोच, खोज तथास्तु होस् मेरो । विमतिको कुरामा मन लगाउँदालगाउँदै देशबाट पिरोलिएर विदेशको रणनीति, राजनीति, कर्म, कुकर्म सोच्न पो पुगेँछु ।
प्रत्येक पलक जहीँतहीँ मति झल्किने र मन टल्किने सक्कली- नक्कली आवाजसँग तर्सिन पुग्ने अवस्था आएछ, जसरी मेरा अग्रज साहित्यकारहरू दरबारको छायाँमा लडन्तभिडन्त गर्न पुगे-पाण्डेहरू, आचार्यहरू, दीक्षित भएकाहरू र सम, लेखनाथलगायत चाप्लुसीभित्र दरबारमा पुगे, नवयुवतीझैँ पसे तर हाय ! देवकोटा दरबार छिरेर पनि भेडाको बीचको बाघझैँ आफ्नै स्वतन्त्र अभिव्यक्तिपट्ट िलागे र दरबारबाट बाहिरिए । यिनको पछाडि एकेडेमीका हूल सदस्य यिनकै सीआईडी खोजी-नीति गरेर अनुसन्धान गर्न पुगे । धन्य देवकोटा, पागल देवकोटा ! मति शुद्ध राख्नुपर्छ पछिका लागि एउटा दर्शन तेस्र्याउन जुन देवकोटाले पूर्ण गरे, गरे ।
घरिघरि मेरै मति पनि बाङ्गोटिङ्गो मात्र देख्ने गर्न पछि परेन । भ्रष्टहरू मौलाएका, अत्याचार गर्ने, धम्की दिने, ज्यान मार्ने, अपहरण गरी कुटपिट मात्र होइन, अत्यधिक पीडा दिने र बलात्कारभित्रका यौनपिपासुहरूले ज्यानै लिने, तर्साउने, भड्काउने, भत्काउने, विद्रोह गर्ने, विवादमा आउने, शोषण गर्ने-गराउने, फाइदाका लागि परपीडामा लाग्ने प्रवृत्तिका लठैतहरूको मतिप्रति रोष प्रकट गर्ने मति बन्न गएछ र मतिबारे सोच्दासोच्दा थकित बन्न पुगेँछु । देवकोटालाई झैँ पागल भनी राँची पुग्नु नपरोस् देवकोटाले झैँ प्रभु अलापी आफूलाई भेडो बनाऊ भन्नु नपरोस् । संयोग हो, देवकोटाको मति चन्द्रमा पुग्ने एक यात्री बने । गम्दागम्दै शाह खानदान विनाश भएको रातको हल्ला, होहल्ला त्यतिबेला मेरा कानमा पर्न आयो । जीवितमध्येका प्रति मति दान गर्न मन लाग्यो तर समय निकै गुज्रेछ, अब मति होइन अवनति हेर्दै छु तिनको । टाँसिएका लहरैका फोटोहरूमा धूलोमैलो, फाटेको वा कीरा लागेको यही सहिद दिवसको दिन सहिदको मतिपट्ट िअध्ययन र अनुसन्धान गर्दैछु ।
सहिदको पवित्र मतिलाई जेलनेल, हतकडी र झुण्ड्याइएको र मारेको दिव्यदृष्टिभित्रकाको मतिभित्र चहार्दैछु मेरो शोध पूरा गर्न, तर शोध भने सोचमा थिगि्रएर बस्न पुगेछ । खै मेरो मति ! अनि एकाबिहानै श्रीमतीलाई निद्राबाट जगाएर धुनी बाल्दै मनको बह कहँदै बिलाउँछु । विश्वब्रहृमाण्डमा छलकपटका कथनहरू रामायण, महाभारतलगायतका कथामा सबका मति देखिन्छन् र यसैलाई मति जोगाउन नैतिक शिक्षा दिएका छन् । यिनै साक्षरताका वचन पढाउने धृष्टता गरेको हुँ ।
(स्रोत : मधुपर्क २०६७ जेठ)